+
+
Shares

हिरो बन्ने सपना बोकेर काठमाडौं छिरेका सुरेश जब गाउँ फर्के…

ठूलो पर्दामा नदेखिए पनि नाँच्ने गाउने काम उनले गरिरहेकै थिए । आज फर्केर हेर्दा हिरो बन्ने आफ्नो सपना पूरा भएको उनी सुनाउँछन् ।

सापेक्ष सापेक्ष
२०८२ असोज २९ गते १०:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुरेश थारूले सन् २०१५ मा काठमाडौं छोडेर उदयपुरको चौदन्डीगढी नगरपालिका-५, बेलहामा फर्किएर कलाकर्म गरिरहेका छन्।
  • उनी बेल्टारमा श्रीपञ्चमी आर्ट एन्ड ग्लो नामक सानो पसल सञ्चालन गर्दै चित्रकला, भित्ते लेखन, संगीत र म्युजिक भिडियो निर्माणको सेवा दिइरहेका छन्।

आजभन्दा १० वर्षअघि सन् २०१५ मा सुरेश थारूले फरक निर्णय लिए– गाउँ फर्कने । त्यसअघि उनी काठमाडौं सिनामंगलमा कलासम्बन्धी पसल चलाइरहेका थिए । कमाइ ठिकठाक थियो ।

तुलनात्मक रूपमा राम्रै भविष्य थियो । अवसरहरू धेरै थिए । उनी ती सबैलाई थाती राखेर उदयपुरको चौदन्डीगढी नगरपालिका-५, बेलहामा रहेको आफ्नो घर फर्किए ।
अहिले उनी मोफसलमा बसेर कलाकर्म गरिरहेका छन् ।

बेल्टार बसपार्कनजिकै उनको सानो पसल छ– श्रीपञ्चमी आर्ट एन्ड ग्लो । त्यहाँबाट नगरभित्र र नगरबाहिरका क्षेत्रहरूमा उनले चित्रकला, भित्ते लेखन, शिला लेखन, संगीत, म्युजिक भिडियो निर्माण, मूर्तिकला जस्ता सम्पूर्ण कामको सेवा दिइरहेका छन् ।

थारू समुदायमा गायकको रूपमा पनि उनले परिचय बनाएका छन् । आफ्नै स्वर, निर्देशन र अभिनयमा अहिलेसम्म १०० जति थारू गीत निकालेको उनी सुनाउँछन् । विभिन्न ठाउँमा लाग्ने मेलाहरूमा गाउन पनि निम्ता आउने गर्छ सुरेशलाई। गीत गाउन बेल्टारबाट सिरहा, सप्तरी, सुनसरी लगायतका ठाउँमा जाने गरेको छन् ।

उनी आफ्नै जन्मथलोमा राम्रैसँग रमाइरहेका छन् ।

स्थानीय बजारमा कला सामग्री नपाइँदा र स्थानीयहरूबीच कला चेतना अत्यन्त कम हुँदा केही समस्या हुने गरेको उनको दुखेसो छ ।

काठमाडौं सपना

सुरेशको कला यात्रा स्कुले जीवनबाटै सुरु भएको थियो । बेल्टार बजारमा अवस्थित ज्योति मा.वि. मा पढ्दा ताका उनी साथीहरूको पोर्ट्रेट बनाउने गर्थे । लेखन कार्य (भित्ते लेखन, बोर्ड लेखन) पनि उनले त्यहीँबाट सुरु गरेका थिए ।

२०५० को दशकको सुरुतिर उनलाई उत्पातै ‘हिरो’ बन्ने रहर जाग्यो । त्यसका लागि उनले ज्यान पनि बनाए । मार्सल आर्ट र डान्स पनि सिके । अनि २०५४ सालतिर काठकाडौं छिरे । जतिबेला उनी १६ वर्षका थिए ।

तर उनले सोचेजस्तो केही भएन । खानै पर्थ्यो, उनले सिनामंगलमा कला पसल खोले । त्यहाँबाट उनी ब्यानर र बोर्डहरू लेख्ने काम गर्थे । पसल ठिकठाक चल्न थालेपछि उनले बारहरूतिर नाच्न पनि थाले । त्यहाँ बेलाबेला गाउने पनि गर्थे । यो समयसम्म उनले हिरो बन्ने सपना त्यागिसकेका थिए ।

ठूलो पर्दामा नदेखिए पनि नाँच्ने गाउने काम उनले गरिरहेकै थिए । आज फर्केर हेर्दा हिरो बन्ने आफ्नो सपना पूरा भएको उनी सुनाउँछन् ।

काठमाडौं जिन्दगी कमाइ ठिकै भए पनि बचत शून्य बराबर थियो । खर्च अत्यधिक भइरहेको थियो।

पसलको र आफू बस्ने कोठा भाडामै कमाइको धेरै रकम खर्च हुन थालेपछि उनले फरक निर्णय लिए– गाउँ फर्कने । गाउँमा फर्केर काम गर्न थालेको १० वर्ष भइसकेको छ।उनी बेलाबेला काठमाडौं आउजाउ गरिरहन्छन् ।

बेल्टारमा कला जीवन

बेल्टार फर्केपछि उनले कलासम्बन्धी कामलाई निरन्तरता दिए । तर मोफसलको कला क्षेत्र काठमाडौंको तुलनामा कमजोर रहेको पाए । काठमाडौंमा उनलाई कामको कमी हुँदैनथ्यो । दैनिक केही हजार कमाइ हुन्थ्यो । तर यता भने त्यो नरहेको उनी सुनाउँछन् ।

‘यहाँ प्रायः होडिङ, बोर्ड लेखनको काम मात्र चल्छ । पोर्ट्रेट वा ल्यान्डस्केप आर्टको बजार छैन’ सुरेश सुनाउँछन्, ‘स्केचहरूको अर्डर भने कहिलेकाहीँ आउँछन् । आकार हेरेर ५०० देखि १५०० रुपैयाँसम्म लिन्छु,’

त्यसबाकेक उनलाई दशैं, तिहार, कृष्ण जन्माष्टमी, छठ जस्ता चाडपर्वमा विभिन्न देवीदेवताको मूर्ति बनाउने काम आउँछ । यो काम भने सिजनअनुसार हुने उनले बताए । उनी यी कलामा मात्र सीमित छैनन् ।आफ्नै सुरेश थारु नामक युट्युब च्यानल खोलेका छन् । जसमा उनले थारु गीतहरू र सर्ट मुभीहरू राखेका छन्।

‘थारु बिग्रल दारुमा’ नामक सर्ट मुभी त्यसको उदाहरणमा हो । यसमा थारु समुदाय कसरी रक्सीका कारण बिग्रिरहेका छन् भनेर देखाइएको सुरेशले सुनाए । यसरी धेरैले भविष्य बनाउन जाने ठाउँबाट गाउँ फर्केका सुरेश मोफसलमा बहुप्रतिभाली बन्न कोसिस गरिरहेका छन् । अनि उनलाई गाउँ नै फर्केकोमा कुनै पश्चताप पनि छैन ।

भाग्यवश उनी अहिले आफ्नो ठाउँको जनप्रतिनिधि पनि बनेका छन् । उनी वडा नं. ५ का वडा सदस्य समेत हुन् । तर सक्रिय राजनीतिमा नआउने उनले जनाए । बरु त्यसको सट्टा आफ्नै गाउँमा ठूलो रिसोर्ट सञ्चालन गर्ने उनले बताए ।

असलमा स्वदेशमै अझ गाउँमै काम गरेर राम्रो जीवनशैली अपनाउन सकिन्छ अनि सफल हुन सकिन्छ भन्ने कुराको आफू उदाहरण बन्न खोजिरहेको उनको भनाइ छ ।

लेखक
सापेक्ष

सापेक्ष अनलाइनखबरमा कला, मनोरञ्जन विधामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?