
News Summary
Generated by OK AI. Editorially reviewed.- भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको एक महिना पूरा भएपछि विभिन्न समूहहरूमा विभाजित भएर चुनाव केन्द्रित रणनीति अघि बढाइएको छ।
- राजावादी निकट समूहले जेनजीको नाममा प्रदर्शन गर्ने योजना फिर्ता लिए पनि माइतीघरमा केही प्रदर्शनकारी पक्राउ परेका छन्।
- जेनजी आन्दोलनले भ्रष्टाचारविरुद्ध आवाज उठाएको भए पनि नेतृत्वविहीनताका कारण विभिन्न समूहमा छरपस्ट हुनु स्वाभाविक रहेको विश्लेषकहरूले बताएका छन्।
२४ असोज, काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको एक महिना पुग्यो । त्यही आन्दोलनको जगमा अन्तरिम सरकार गठन भएर चुनावको मिति घोषणा भइसकेको छ । तर, आन्दोलनका मुख्य नेतृत्वकर्ता जेनजी पुस्ता एक ठाउँ उभिन सकेका छैनन् ।
न एजेण्डामा स्पष्ट देखिन्छन्, न आन्दोलनकै भावनाअनुसार चुनाव केन्द्रित हुनसकेका छन् । समय जति बित्दै गयो, उत्तिकै उनीहरू टाढा छन् ।
आन्दोलनका आधारभूत उपलब्धि पनि हात नपारी झन् तितरबितर हुँदै गइरहेको आरोप उनीहरूमाथि छन् । हुँदाहुँदा विभिन्न स्वार्थ समूहले जेनजीको नाम भजाएर यसलाई अझ गिजोल्ने प्रयत्न गरिरहेका देखिन्छन् ।
जस्तो, बुधबार एकाएक चर्चामा आयो- एनटीइके-जी समूह । यो समूहले बिहीबार माइतीघरमा पुनः प्रदर्शन गर्ने भनेपछि यसबारे चर्चा सुरु भयो ।
यद्यपि, राजावादीनिकट मानिएको यो समूहले जेनजीका नाममा गर्ने भनेको प्रदर्शन अन्तिम समयमा आएर फिर्ता लियो ।
समूहले बिहान १० बजेबाट प्रदर्शन गर्ने अनुमति माग्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयमा आवेदन दिएको थियो । तर बुधबार उक्त कार्यक्रम रद्द गरिएको घोषणा गरिएको थियो ।
यो समूहले आन्दोलन फिर्ता लिएपनि आन्दोलनको चर्चा व्यापक भइसकेको थियो । त्यसैले बिहीबार बिहान १० बजेतिरैबाट माइतीघरमा फाट्टफुट्ट प्रदर्शनकारी देखिन थालेका थिए । तर, प्रहरीले जेनजीका नाममा प्रदर्शन गर्न आउने हरेकलाई पक्राउ गर्यो ।
त्यसरी सडकमा एक्लाएक्लै देखिएका हरेकले आफूलाई जेनजी बताइरहेका थिए । हुँदाहुँदा सामाजिक सञ्जालमा भाइरल डा. निकोलश भुसालजस्ता व्यक्तिसमेत आफूलाई जेनजी बताउँदै सडकमा देखिए । जो-जो माइतीघरमा आन्दोलनका लागि देखा परे ती पक्राउ भए ।
तर, यही प्रहरीको घेराबीचमा भने धर्ना दिइरहेको छ- द रेड च्याप्टर । यो समूहले पनि आफूलाई जेनजी भन्दै धर्ना दिइरहेको छ । विगत २५ दिन २४ रातदेखि यहीँ बसिरहेको उनीहरूको दाबी छ । ‘शहीद परिवार र घाइतेको उचित सम्बोधन’ गरिनुपर्ने उनीहरूको माग छ ।
यसरी बिहीबार मात्र सडकका दृश्य हेर्दा जेनजीका ‘बहुरङ्गी’ रूप देखिन्छन् । त्यसबाहेक सञ्जालमा भेटिएका जेनजीका अनेकौं समूह छन् ।
संघीय लोकतान्त्रिक गणतान्तिक धर्मनिरपेक्ष जेनजी समूहदेखि रेड जेनजीसम्मका नाममा विभिन्न गतिविधि भएका छन् ।
जेनजीको यो हिलोमा माछा मार्ने दाउ हान्न राजावादीले किन छाड्थे ? उनीहरूले पनि दुई दिनअघि मात्र बनाइहाले- जेनजी अलायन्स फर मोनार्की ।
यो राजावादी जेनजीले पनि केही जेनजी आन्दोलनका घाइतेलाई जम्मा पारेको छ । यसको हर्ताकर्ता देखिएका स्वागत नेपाल पत्रकार सम्मेलन गराउँदै हिँडेका छन् ।
आन्दोलनका घाइते सुरेन्द्रजंग थापाले बोल्दै गर्दाको लाइभ भिडियो हाल्दै उनले लेखेका छन्, ‘आन्दोलनमा ५ गोली लागेका योद्धा राजसंस्थाको विकल्प नरहेको र आन्दोलन राजसंस्थाका लागि भएको बताउँदै, सुरेन्द्रजङ्ग थापा ।’
अनेक समूह सक्रिय हुँदै गर्दा यसको नाममा अराजकता पनि मच्चिरहेको छ । जेनजीका नाममा विभिन्न समूहले हप्ता असुलीदेखि हाइड्रोपावरमा सेयर माग्नेसम्म हर्कत गरेका छन् ।
तर, अर्कोतर्फ जेनजीका मुख्य स्टेकहोल्डर भने सत्ता समीकरण र चुनावी रणनीतिमा केन्द्रित हुनुपर्नेमा देखिन्छन् । उनीहरूको बल पनि त्यसैतर्फ भइरहेको देखिन्छ ।
यसमा जेनजी अगुवा रक्षा बम, युजन राजभण्डारी, तनुजा पाण्डेलगायतका समूह एकथरी छ । जो संगठिन हुन प्रयत्नरत छ ।
यो समूह संविधानलाई तत्काल चलाउन नहुने, बरु चुनाव केन्द्रित भएर आफूहरू अघि बढ्नुपर्ने सोच राख्छ ।
सोहीअनुसार आफ्ना गतिविधि गरिरहेको छ । घाइते र शहीद परिवारको उचित सम्बोधन गरिनुपर्ने र सरकारलाई सहयोग गरेर चुनावतर्फ देशलाई डोहोर्याउनु पर्नेमा यी समूह देखिन्छन् ।
त्यसबाहेक अमित खनाल (ऊर्जा), रिजन राना मगर (आदित्य) लगायतका समूहले ‘जेनजी मुभमेन्ट अलायन्स’ बनाएका छन् ।
यसभित्र मात्र १२ वटा भन्दा धेरै समूह छन् । इन्डिजिनियस जेनजी कलेक्टिभ, जेनजी मुभमेन्ट अलायन्स (नेसनल काउन्सिल), हाउ टु देश विकास, जेनजी पर्सा, मुस्लीम जेनजी नेपाल, नेवा: युग, न्यू वेभ, जेनजी मुभमेन्ट अलायन्स (डिस्ट्रिक्ट काउन्सिल्स फोरम), जेनजी चितवन, जेनजी डिजिटल दस्तकलगायतका समूह यसभित्र देखिन्छन् । यो समूहले आफूहरू संविधानका आधारभूत कुराप्रति कटिबद्ध रहेको बताएको छ ।
‘हामीले संविधानले संरक्षित गरेका चार आधारभूत उपलब्धिहरू– लोकतन्त्र, गणतन्त्र, संघीयता र समानुपातिक समावेशीकरणलाई नन्–नेगोसिएबल मानेर छलफललाई अघि बढाएका छौँ । यसमा सहमत जनाउने हरेक व्यक्ति र समूहसँग जोडिन वार्ता जारी राखेका छौँ,’ जेनजी अलायन्सका अगुवा रिजन राना मगर (आदित्य) ले भने, ‘अर्को महत्वपूर्ण कुरा, जेनजीहरू छरपस्ट हुनु अस्वाभाविक होइन, किनभने यो पुस्ता स्वतन्त्र विचार राख्छ र विभिन्न समूहमा छलफल गर्छ । त्यसैले छरिए भनेर चिन्तित हुन आवश्यक छैन ।’
यो अलायन्सभित्रको जेनजी इन्डिजेनियस समूहले त पछिल्लो समय आफूहरुमाथि प्रहार भइरहेकोले यसविरुद्ध उभिनुपर्ने बताइरहेको छ ।
समूहका संयोजक संग्रामसिंह किरातीले भनेका छन्, ‘हाम्रो विद्रोहले उठाएका अजेन्डा, मान्यता र मर्ममाथि श्रृंखलाबद्ध प्रहार भइरहेको छ । यो अत्यन्त निन्दनीय प्रवृत्ति हो ।’
किरातीका अनुसार २३ भदौमा भएको विद्रोह ‘जेनजी चेतनाको विद्रोह’ हो, जसमा सबै वर्ग, क्षेत्र, लिङ्ग र समुदायका युवाहरूको सहभागिता रहेको थियो । विद्रोहमा करिब ६० प्रतिशत आदिवासी जनजाति समुदायका युवाहरू सहभागी भएको दाबी यो समूहको छ ।
त्यसबाहेक हामी नेपालका संयोजक सुदन गुरुङ नेतृत्वको जेनजी समूहले पनि आफ्ना गतिविधि गरिरहेको छ ।
पछिल्लो समय सडकमा तत्कालीन सरकारका नेतृत्व केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध जाहेरी दिने विषयमा पनि उनी अगाडि देखिए ।
सबैखाले जेनजी समूहले सामाजिक सञ्जालमा ‘एरेस्ट ओली, एरेस्ट रमेश लेखक’ अभियान चलाइरहँदा यो समूह शहीद परिवार लिएर प्रहरी परिसर भद्रकालीमै धर्ना दिन पुगेका थिए, जसविरुद्ध नेकपा एमालेको भातृसंस्था अनेरास्ववियुले काउन्टर उजुरीको प्रयाससमेत गर्यो ।
तर, हामी नेपालको यो समूह एजेन्डामा स्पष्ट देखिँदैन । विशेषगरी संयोजक सुदन गुरुङले घरी ‘संविधान फाल्ने कि जोगाउने दोधारमा छु’ भन्छन् त घरी के ! कुनै निश्चित मुद्दामा अडिग भएको देखिँदैन । जस्तो, केही समयअघि बालुवाटार पुगेर यो समूहले बहालवाला प्रधानन्याधीशको राजीनामा माग्यो ।
राजीनामा माग्नुको कारणबारे अनलाइनखबरले त्यसमध्येका एक सदस्य खेमराज साउदलाई प्रश्न गर्दा उनी अन्यौलमा देखिए । ‘अँ, हामीले राखेका त छौँ । तर, किन… रुक्नु है, म पछि सल्लाह गरेर यसबारे धारणा भन्छु तपाईंलाई,’ साउदले भने । यसले पनि उनीहरू आफ्नै मागमा अस्पष्ट र अन्योलमा रहेको देखिन्छ ।
अर्कातिर सामाजिक सञ्जालमा छाइरहेका छन्, मिराज ढुंगाना । उनी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखसहितको व्यवस्था नभए फेरि सरकारविरूद्ध सडकमा उत्रिने चेतावनी दिइरहेका छन् ।
केही समयअघि हिमालय टेलिभिजनको यक्ष प्रश्नमा दिएको अन्तर्वार्तामा उनले अब संविधान संशोधन गरेरै भए पनि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखसहितको व्यवस्थामा जानुपर्ने बताएका थिए ।
‘हाम्रो (जेनजी उमेर समूह) माग नै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हो । यही नै पूरा नभए त हामीले बनाएकै सरकारविरूद्ध सडकमा उत्रिनुपरे तयार हुन्छौं,’ प्रत्यक्ष निर्वाचित कार्यकारी खोजिरहेका उनी भनिरहेका छन्, ‘जेनजी आन्दोलन स्वार्थ समूहको कब्जामा पर्दा समस्या भयो ।’
तर, उनी भदौ २३ गते नै आन्दोलनमा सहभागी भएका थिएनन् । कतै प्रदर्शनमा देखिएनन् । स्रोतकाअनुसार भदौ २२ गते साँझ माइतीघरमा बसेको जेनजीको बैठकमा नै उनी आन्दोलनमा सहभागी नहुने भनेर उठेका थिए ।
‘मिराजजी हामीसँगको आन्दोलनमा सहभागी नहुने । बरु आफूले २३ गतेको साँझ छुट्टै आन्दोलन गर्ने बताउनुभएको थियो । उहाँ सडकमा पनि आउनुभएन,’ स्रोतले भन्यो ।
तर, अहिले ढुंगाना सुरक्षा थ्रेटका कारण त्यसबेला बाहिर ननिस्केको बताउँदै आफूलाई जेनजी अगुवाको रूपमा प्रस्तुत गरिरहेका छन् र मागहरू अघि सारिरहेका छन् । बेलामौकामा सरकारसँग संवाद गरिरहेका भेटिन्छन् ।
यसरी जेनजीका नाममा विभिन्न समूह थपिएका–थपियै छन् । विभिन्न विचार समूहहरु पनि यसभित्र जन्मन र छुटिन थालेका छन् । यसकारण पनि ठ्याक्कै कति समूह वा शक्ति यसको नाममा आइरहेका छन्, ठ्याक्कै भन्नसकिने अवस्था छैन ।
कति स्वभाविक ?
जेनजी आन्दोलनले नेपालको राजनीतिक परिदृश्यमा ठूलो परिवर्तन ल्याए पनि, यसमा देखिएको फुट र बहुल समूहहरूको उदय स्वाभाविक रहेको युवा राजनीतिक विश्लेषक नवीन तिवारी बताउँछन् ।
आन्दोलन नेतृत्वविहीन भएको कारणले गर्दा विभिन्न समूह त्यहाँ थिए । त्यसैले आन्दोलनपछि पनि त्यसको छाँया देखिनु अस्वभाविक नरहेको उनको तर्क छ ।
यो आन्दोलनले भ्रष्टाचारविरुद्धको मुद्दालाई साझा आवाज बनाएको थियो, जसको पीडा देशका सबै विचार समूहदेखि व्यक्तिले भोगिरहेका थिए । अर्कोतर्फ, तत्कालीन समयमा सामाजिक सञ्जाल प्रतिबन्ध फुकाउने माग पनि थियो । त्यसैले सबै समूहको लागि यी दुई कुरा साझा मुद्दा बन्दा विभिन्न खाले समूह आन्दोलनमा सहभागी भएका तिवारीले बताए ।
‘यी दुई मुद्दामा सबै समूहको साझा मुद्दा बन्यो । त्यसपछि आन्दोलनको क्रममा जसरी राज्यले दमन गर्यो, यसले पनि सबैलाई आक्रोशित बनायो र त्यसको न्यायिक निरुपणको आवाजमा फेरी सबै एकजुट बने,’ तिवारीले भने, ‘यी आधारभूत मुद्दामा सबै सहमत भएकाले एक ठाउँमा रहेर आन्दोलन गरे । सत्ता नै ढल्यो । त्यसपछि अहिले सतहमा छरपस्ट देखिएका जेनजी समूह त्यसकै रिफ्लेक्सन हो । अस्वाभाविक हैन ।’
तर, यसरी जेनजीहरू छरपस्ट हुनुभन्दा आधारभूत मुद्दामा एक भएर चुनावतर्फ देशलाई लानुपर्ने उनको तर्क छ ।
‘अब संविधान नै उल्टाउनेदेखि अन्य खेल खेल्नेलाई त केही भन्न सकिन्नँ,’ तिवारीले थपे, ‘तर, संविधान मान्छु भन्ने समूह अहिलेको लागि आन्दोलनपछिका आधारभूत तीन मागमा एक भएर चुनाव केन्द्रित हुन आवश्यक छ । नत्र पाएको यो अवसर पनि गुम्ने खतरा हुन्छ ।’
समाजशास्त्रका उपप्राध्यापक डा. दिपेश घिमिरे पनि जेनजीहरू अहिले विभिन्न समूहमा छरिनु अस्वाभाविक नरहेको बताउँछन् ।
उनकाअनुसार जेनजी आन्दोलन कुनै विचार समूह वा संगठनले भन्दा पनि पुस्ताले गरेको हो । पुस्ताहरू केही आधारभूत मागमा सहभागी भएका हुन् । त्यसैले अहिले ती समूह आ–आफ्नो समूहमा देख्नु स्वाभाविक रहेको उनले बताए ।
जेनजी पुस्तालाई डा. घिमिरेको सुझाव छ- ‘विभिन्न विचार समूहका सिङ्गै पुस्ता एकै ठाउँ एउटा पार्टी बनाएर आउने वा एकैठाउँ रहन सोचेजस्तो सहज नहोला । बरु यी सबैले आफ्नो विचारसँग मिल्ने पार्टी वा संगठनभित्र छिरेर त्यहाँ परिवर्तनको लागि दबाव सिर्जना गर्न आवश्यक छ ।’
प्रतिक्रिया 4