+
+
Shares

दलहरूलाई राष्ट्रपतिले भने- संविधान जोगाउन चुनावमा लाग्नुस्

‘सरकारले सुरक्षाको प्रत्याभूति दिनुपर्छ’

पौडेलले राजनीतिक दलहरूमा कुनै द्धिविधा र अस्पष्टता भए बैठकमा राख्न आग्रह गर्दै निर्वाचनबाहेक अन्य विकल्प खोज्न थालियो भने यसले देशलाई कहाँ पुर्‍याउँछ भन्ने पनि सोच्न आग्रह गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २४ गते १९:२६

२४ असोज, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले देश, जनता लोकतन्त्र र संविधानको रक्षाका लागि निर्वाचन एक मात्र विकल्प भएको बताउँदै फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा केन्द्रीत हुन दलहरूलाई आग्रह गरेका छन् ।

राष्ट्रपति पौडेलले शुक्रवार शीतल निवासमा आह्वान गरेको अन्तरिम सरकारसहितको सर्वदलीय बैठकमा उक्त आग्रह गरेका हुन् ।

उनले शान्ति सुरक्षाको आवश्यक प्रवन्ध गरी  निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउने विश्वास आम नागरिकलाई दिलाउन सरकारलाई सुझाव दिनुभएको प्रेस सल्लाहकार किरण पोखरेलले बताए ।

राष्ट्रपति पौडेलले लोकतन्त्रको रक्षाका लागि सबै मिलेर निर्वाचन सम्पन्न गराउनुपर्ने बताए ।

पौडेलले राजनीतिक दलहरूमा कुनै द्धिविधा र अस्पष्टता भए बैठकमा राख्न आग्रह गर्दै निर्वाचनबाहेक अन्य विकल्प खोज्न थालियो भने यसले देशलाई कहाँ पुर्‍याउँछ भन्ने पनि सोच्न आग्रह गरे ।

उनले पार्टीहरूले पनि कन्फ्युजन सृजना नगरी जेन्जीको माग पनि आफूहरूले पुरा गर्ने भनेर जनतामा जान आग्रह गर्दै दलहरूको सुरक्षाको चिन्तालाई सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताए ।

बैठकमा सहभागी राजनीतिक दलका नेताहरूले लोकतन्त्रमा विश्वास गर्ने राजनीतिक दलहरू निर्वाचनमा जान सधैँ तयार रहेको बताउँदै अहिलेको सुरक्षा व्यवस्थाले निष्पक्ष र स्वतन्त्र वातावरणमा निर्वाचन हुने विषयमा संसय पैदा भएको बताएका थिए ।

उनीहरूले यो शंका र संसय हटाएर निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने विश्वास दिलाउन सरकारले सक्नुपर्ने बताएका थिए ।

अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले दलहरूको सहभातिाविना निर्वाचन नहुने विषयमा सरकार प्रष्ट जानकार रहेको भन्दै स्वतन्त्र निष्पक्ष र भयरहित निर्वाचन गराउन सरकारले शान्ति सुरक्षाको प्रवन्ध गर्ने विश्वास दिलाए ।

जेनजीहरू हामीहरू सबैको छोरा नाती भएकाले उनीहरूले किन आज यस्तो असंतुष्टी व्यक्त गरे भन्ने बुझेर परिवर्तनलाई आत्मसात गर्दै अगाडि बढ्न दलहरूलाई आग्रह गरेका थिए ।

बैठकमा अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीसहित सबैमन्त्री सहभागी थिए ।

त्यस्तै, बैठकमा नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा, नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, सचिव बर्षमान पुन सहभागी थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यबहाक सभापति डिपी अर्याल र सहमहामन्त्री विपिन कुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रवक्ता ज्ञानेन्द्र शाही र मिना लामा, नेकपा एकिकृत समाजवादीबाट उपाध्यक्ष राजेन्द्र पाण्डे र  महासचिव धनश्याम भुषाल सहभागी थिए ।

त्यस्तै, जनता समाजवादी पार्टीबाट रेनु यादव, जसपा नेपालबाट विद्युत बज्रचार्य र प्रकाश अधिकारी, जनमत पार्टीबाट चन्द्रकान्त राउत र डा जय कुमार राउत, लोकतान्त्रिक समाजवादी पार्टीबाट ज्ञानेन्द्र झा र सर्वेन्द्रनाथ शुक्ला, नागरिक उन्मुक्ती पार्टीबाट रेशम चौधरी र नेपाल मजदुर किसान पार्टीबाट सुनिल प्रजापती, सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?