
२४ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी प्रतिनिधिहरूलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी अघि बढाएकी छिन् । प्रधानमन्त्री कार्यालय निकट स्रोतका अनुसार, आगामी सोमबारसम्म शपथ गर्नेगरी चार जना नयाँ मन्त्री नियुक्त हुन लागेका हुन् ।
शुक्रबार साँझ अनलाइनखबरलाई प्राप्त जानकारी अनुसार, मन्त्रीहरूको नाम टुंगो लागिसकेको छ ।
जेनजीहरूको प्रतिनिधित्व गरेर नयाँ मन्त्री हुनेहरूमा गणपतिलाल श्रेष्ठ, बब्लु गुप्ता, रामजी राम र टासी ल्हाजोम रहेका छन् । श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन, गुप्ता युवा तथा खेलकुद मन्त्रालय, रामलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र टासीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको हो ।
प्रधानमन्त्री निकट अर्को एक स्रोतले भने टासीको नाममा प्रधानमन्त्री सुशीला कार्कीले थप छलफल गरिरहेकी छिन् । श्रेष्ठ देशका सम्पदाहरू जोगाउनुपर्ने तर्क अघि राख्दै हिँडेका अभियान्ता हुन् ।
भूकम्पपछिको पुनर्निर्माणका क्रममा रानीपोखरी र पशुपति क्षेक्रमा कंत्रिट हाल्ने प्रयास, बालगोपालेश्वर मन्दिरमा सिमेन्ट र रडको प्रयोगदेखि खुलामञ्चको व्यापारीकरण विरुद्ध उनले आवाज उठाउँदै आएका थिए ।
त्यस्तै, गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिने तय भएको छ ।
गुप्ताले कोभिडकालमा नि:शुल्क खाना अभियान चलाए, कपडा बैंक स्थापना गरे । अहिले ‘हन्ड्रेड ग्रुप’ मार्फत ११० जना विद्यार्थी पढाइरहेका उनी बिरामीका लागि रगत खोज्ने सारथि समेत हुन् । उनी जेनजी आन्दोलनका अगुवामध्ये हुन् ।
रामजी रामलाई भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइँदैछ । रामजी रौतहट जिल्लाकै चमार समुदायबाट पहिलो डाक्टर बनेका व्यक्ति हुन् ।
एमबीबीएस चौथो वर्षमा पुग्दा समेत कलेजले अतिरिक्त शुल्क मागेर उनलाई हैरान पारेको थियो । हैरानी र सास्ती खेप्दै डाक्टर बनेका रामलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो ।
श्रेष्ठ, गुप्ता र राम अनलाइनखबरले प्रत्येक वर्ष आयोजना गर्ने ४० मुनीका ४० मा पनि छनोट भएका थिए ।
टासीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ ।
हुम्लाको लिमि भ्यालीस्थित नाम्खा गाउँपालिकामा जन्मिएकी उनी जलवायु परिवर्तनको मुद्दामा पैरवी गर्ने गर्छिन् । आफू जन्मेको गाउँमा परेको दु:खलाई हेर्दै उनले काठमाडौंमा गैर सरकारी संस्थाको सहयोगमा पढ्दैगर्दा यो मुद्दामा बोल्न थालेकी थिइन् ।
टासीले भारतस्थित दिल्ली विश्वविद्यालयको हिन्दु कलेजबाट स्नाताक तह अध्ययन गरेकी छन्।
त्यस्तै, जेनजी आन्दोलनमा भाग लिएका अन्य युवाहरूलाई प्रधानमन्त्रीको सचिवालयमा राख्नेगरी तयारी भएको पनि स्रोतले बतायो ।
गत २३ र २४ भदौमा भएको आन्दोलनपछि बनेको अन्तरिम सरकारको प्रधानमन्त्रीको रुपमा सुशीला कार्की छिन् । उनी २७ भदौमा प्रधानमन्त्री नियुक्त भएकी थिइन् ।
त्यसपछि उनले दुईपटक मन्त्रिपरिषद् विस्तार गरिसकेकी छिन् ।
अहिले उनीसहित ८ सदस्यीय मन्त्रिपरिषद् छ ।
प्रतिक्रिया 4