
News Summary
Generated by OK AI. Editorially reviewed.- हमासले सन् २०२३ अक्टोबर ७ मा किबुज क्षेत्रमा आक्रमण गर्दा १६ नेपाली विद्यार्थीमध्ये १० को मृत्यु भयो र विपिन जोशी बन्धक बनाइयो।
- नेपाल सरकारका विभिन्न तहले विपिनको सकुशल रिहाइका लागि इजरायल, कतार, इजिप्ट र संयुक्त राष्ट्रसंघसँग कूटनीतिक पहल गरिरहेका थिए।
२७ असोज, काठमाडौं । प्यालेस्टाइनको मुक्ति र गाजापट्टीमा इस्लामिक राज्य निर्माणको लागि गठित विद्रोही समूह हमास सन् २००७ देखि इजरायलसँग युद्ध लड्दै आएको छ । हमासले पछिल्लोपल्ट सन् ७ अक्टोबर २०२३ मा किबुज क्षेत्रमा आक्रमण गरेको थियो ।
५० वर्षअघि ‘योम किपर’ युद्ध सुरु भएको दिन (६ अक्टोबर)को अवसर पारेर प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले आक्रमण गरेको थियो । उक्त आक्रमण सुरु गरेको दोस्रो दिन (७ अक्टोबर)भएको आक्रमणमा अध्ययनका लागि गएका १६ जना नेपाली विद्यार्थी पनि परेका थिए ।
इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत गएका उनीहरू सबै गाजा क्षेत्र नजिकै पर्ने दक्षिणी इजरायलको किबुज अलुमिम भन्ने स्थानमा बस्दै आएका थिए ।
आक्रमणको एक दिनपछि इजरायलस्थित नेपाली दूतावासले आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको पुष्टि गरेको थियो । मारिएका नेपालीसँगै रहेका नेपाली विद्यार्थी विपिन जोशीलाई हमासले बन्धक बनाएर लगेको थियो ।
हमासले बन्धक बनाएको एक महिनापछि (सन् २०२३ नोभेम्बर १७) विपिन गाजा क्षेत्रको अल शिफा अस्पतालमा देखिएका थिए । ३३ सेकेन्ड लामो उक्त भिडियोमा अन्तिमपल्ट देखिएका विपिन आज सोमबार जीवित नरहेको जानकारी इजरायली अधिकारीहरूले दिएका छन् ।
यसबीचमा विपिनलाई प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासको कब्जाबाट सकुशल रिहाइका लागि नेपाल सरकारका तर्फबाट भरपुर प्रयास भएको थियो । तथापि, विपिनलाई सकुशल स्वदेश फिर्ता ल्याउने प्रयास सफल भएन ।
विपिन छुटाउने पहल
हमासको आक्रमणमा परेका मृतकको शव र घाइतेको उद्धार तथा स्वदेश फर्किन चाहने नेपाली नागरिक ल्याउन तत्कालीन परराष्ट्रमन्त्री एनपी साउद १२ अक्टोबर २०२३ मा इजरायलको तेल अभिभ पुगेका थिए ।
तत्कालीन अवस्थाको स्मरण गर्दै उनले ठिक दुई वर्षपछि आइतबार फेसबुकमा लेखेका थिए, ‘त्यस समय घाइते र अन्य नेपाली नागरिकको उद्धार गरी फर्किने क्रममा पनि विपिनलाई साथमा लिएर फर्किन नपाउँदा मन अमिलो र असहज महसुस भएको थियो ।’
नेपाली कांग्रेसका नेता साउदले हमासले बन्धक बनाएका विपिनको रिहाइका लागि आफूले इजरायल, कतार, इजिप्ट, अन्तर्राष्ट्रिय रेडक्रस, संयुक्त राज्य अमेरिका लगायतका सरोकारवाला निकायहरूसँग सम्पर्क, संवाद र वार्ता गरेको पनि उल्लेख गरेका थिए ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि सन् २०२३ नोभेम्बर २५ (२०८० मंसिर ९) मा नेपाल भ्रमणमा रहेका कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल-मुरैखीसँगको भेटमा विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए ।
मानवीय सहायता परिचालन तथा बन्धक बनाइएकाहरूको रिहाइका लागि कतारको मध्यस्थतामा गाजामा युद्धबिराम चलिरहेको समयमा कतारी विदेश राज्यमन्त्री अल-मुरैखी नेपालको औपचारिक भ्रमणमा आएका थिए ।
त्यसपछि २२ मंसिरमा तत्कालीन प्रधानमन्त्री प्रचण्डले विपिनको परिवारसँग भेट गरेका थिए । कैलालीको धनगढी विमानस्थलमा भएको भेटमा विपिनका आमाबुवाले उद्धारको पहलबारे सोधेका थिए ।
बुबा महानन्द जोशी र आमा पद्मा जोशीले छिटो उद्धार गरिदिन आग्रह पनि गरेका थिए । प्रचण्डले विपिनको सकुशल रिहाइका लागि अधिकतम कूटनीतिक पहल जारी राखेको बताएका थिए ।
विपिन बन्धक बनाइएको ४३औँ दिन (२ मंसिर २०८०) मा बुबाआमाले गृहजिल्ला भ्रमणमा रहेका तत्कालीन परराष्ट्रमन्त्री साउदसित कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा भेटेर छोराको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए ।
त्यसको १७ दिनपछि अर्थात् १९ मंसिरमा साउदले नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अल अन्सारीलाई परराष्ट्र मन्त्रालयमा बोलाएर विपिनको रिहाइका लागि पहल गरिदिन अनुरोध गरेका थिए ।
तत्कालीन परराष्ट्रमन्त्री साउदले मंसिर ८ मा कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल-मुखारीसँग मन्त्रालयमा भएको भेटमा विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए ।
उनले मंसिर ७ मा इजरायलका राजदूत हनान गोडरलाई मन्त्रालयमा बोलाएर जोशीको रिहाइका बारेमा कुरा गरेका थिए ।
साउदले सन् २०२३ डिसेम्बर १० देखि कतारमा सुरु भएको दोहा २१औँ फोरममा भएका उच्चस्तरीय भेटमा पनि विपिनको रिहाइको विषय उठाएका थिए ।
साउदले २२ मंसिर २०८० मा इजरायलका हमास-इजरायल युद्धमा बन्दी र बेपत्ता भएकाहरूका लागि कामको संयोजन गरिरहेका गल हिर्शसँग टेलिफोन संवाद गरी विपिनको रिहाइका लागि तदारुकता देखाउन अनुरोध गरेका थिए ।
२५ मंसिरमा साउदले र कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल-थानीसँगको शिष्टाचार भेटवार्तामा पनि विपिनको शीघ्र रिहाइका लागि थप सशक्त पहल गरिदिन अनुरोध गरेका थिए ।
विपिनको रिहाइका लागि राष्ट्रपति रामचन्द्र पौडेलले पनि पहल गरेका थिए । उनले ११ वैशाख २०८१ मा कतारका अमिर शेख तमिम विन हमाद अल थानीसँगको भेटमा विपिनको रिहाइका लागि आग्रह गरेका थिए । राष्ट्रपति पौडेलको निमन्त्रणामा उनी दुई दिने राजकीय भ्रमणमा नेपाल आएका थिए ।
विपिनका बुवा महानन्द र परिवारका सदस्यहरूले १४ साउन २०८१ मा तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भेट गरेका थिए । भेटमा राणाले विपिनको रिहाइका लागि सरकारले सक्दो प्रयास गरिरहेको बताएकी थिइन् ।
भेटमा राणाले विपिन हमास समूहको नियन्त्रणमा सुरक्षित रहेको जानकारी आफूले पाएकोसमेत बताएकी थिइन् ।
मन्त्री डा राणाले भनेकी थिइन्, ‘उहाँको अवस्थाका बारेमा हालै नेपालका लागि इजरायली राजदूतसँग मैले जानकारी लिएँ । उहाँले सो आक्रमणपछि नियन्त्रणमा लिइएकाहरू हमासको समूहमा सुरक्षित रहेको जानकारी पाएको मलाई बताउनुभएको छ ।’
कतारका राष्ट्रपति नेपाल भ्रमणका क्रममा आएको बेला उनीसँग नेपाल सरकारले विपिनको रिहाइका लागि पहलको आग्रह गरेको स्मरण गर्दै तत्कालीन मन्त्री राणाले आवश्यक सहयोग र पहलका लागि कतार सरकारसँग आग्रह गर्ने जानकारी पनि दिएकी थिइन् ।
Heartbreaking meeting with Padma and Pushpa, the mother and sister of Bipin Joshi — a Nepalese student abducted by Hamas on October 7. Israel stands with them in their pain, and we will not stop until every hostage is returned home. Bipin and all the hostages must be returned… pic.twitter.com/peA6miFAlp
— יצחק הרצוג Isaac Herzog (@Isaac_Herzog) August 17, 2025
हमास समूहले ३४ जना बन्दीलाई मुक्त गर्न लागेको समाचार सार्वजनिक भएपछि २६ पुस २०८१ मा तत्कालीन परराष्ट्रमन्त्री राणाले हमाससँग मध्यस्थता गरिरहेका कतार र इजिप्ट सरकारलाई विपिनको रिहाइमा सहयोग गरिदिन आग्रह गरेकी थिइन् ।
नेपालका लागि इजिप्टका राजदूत नोहा हमदी अहमद एलगेबलीसँग मन्त्रालयमा भएको शिष्टाचार भेटका क्रममा उनले इजिप्ट सरकारसमक्ष उक्त आग्रह गरेकी थिइन् ।
राणाले सोही दिन नेपालका लागि कतारका राजदूत मिसाल मोहम्मद अल अन्सारीसँग फोन सम्पर्क गरी विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गरेकी थिइन् ।
राणाले १ माघ २०८१ मा राणाले कतारका विदेश राज्यमन्त्री डा. मोहम्मद बिन अब्दुलाजिज अल-खुलाइफीसँग टेलिफोन वार्ता गरेर हमास समूहको नियन्त्रणमा रहेका विपिनको रिहाइको लागि पहल गरिदिन आग्रह गरेकी थिइन् । इजरायल र हमासबीचको शान्तिवार्तामा कतारले मध्यस्थता गरिरहेको थियो । विदेश राज्यमन्त्री अल-खुलाइफी एक प्रमुख वार्ताकार थिए ।
विपिनको रिहाइका लागि संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय एवं क्षेत्रीय मञ्चहरू र बैठकहरूमार्फत आग्रह गरिरहेकी राणाले १ माघ बेलुकी इजरायलका विदेशमन्त्री गिडियन सारसँग पनि फोनवार्ता गरेकी थिइन् ।
२१ माघमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले हमासको नियन्त्रणमा रहेका विपिनको रिहाइका लागि पहल गर्न इजरायलसँग आग्रह गरेका थिए । शिष्टाचार भेटका लागि आएका नेपालस्थित इजरायली राजदूत श्मुलिक आरी बाससँग उनले विपिनको रिहाइका लागि पहल गर्न आग्रह गरेका हुन् ।
२२ माघमा इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले इजरायलका राष्ट्रपति इसहाक हर्जोगसँगको टेलिफोन संवादमा विपिनको रिहाइबारे कुराकानी गरेका थिए । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर राजदूत पण्डितले इजरायलका राष्ट्रपति हर्जोगसँग संवादबारे जानकारी सार्वजनिक गरेको थियो ।
संवादका क्रममा राष्ट्रपति हर्जोगले इजरायलले नेपाली विद्यार्थी विपिन जोशीसहित हमासले बन्धक बनाएकाहरूको उद्धारका लागि सबै प्रयासहरू गरिरहेको भनेको परराष्ट्र मन्त्रालयले उल्लेख गरेको थियो ।
विपिनको सकुशल रिहाइका लागि विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले अरब संसद्का अध्यक्षलाई पत्र पठाएका थिए । २५ माघ २०८१ मा अरब संसद्का अध्यक्ष मोहम्मद अहमद अल-यमाहीलाई लेखिएको पत्रमा विपिनको सकुशल रिहाइका लागि विशेष पहल गरिदिन अनुरोध गरिएको थियो ।
पत्रमा सभामुख घिमिरेले नेपाल र अरब लिगबीचको सौहार्द्रपूर्ण सम्बन्धको स्मरण गर्दै विपिन जोशीलाई सकुशल स्वदेश फर्काउन अरब लिगले सहयोग पुर्याउने विश्वास व्यक्त गरेका थिए ।
विपिन रिहाइका लागि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गत २८ फागुनमा इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुसैन खालिलसँग संवाद गरेका थिए । संवादका क्रममा उनले हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिनको रिहाइका लागि थप पहल गरिदिन आग्रह गरेका थिए ।
नेपालका इजरायलस्थित राजदूत धनप्रसाद पण्डितले गत १ भदौमा विपिनकी आमा पद्मा र बहिनी पुष्पालाई इजरायलका राष्ट्रपति आइज्याक हर्जोगसँग भेटवार्ता गराएका थिए ।
भेटका क्रममा इजरायली राष्ट्रपतिसँग विपिनकी आमा पद्माले छोराको शीघ्र रिहाइका लागि पहल गरिदिन आग्रह गरेकी थिइन् ।
बहिनी पुष्पाले पनि राष्ट्रपति हर्जोगसँग आफ्नो दाइ विद्यार्थीका रूपमा आएको र निदोष भएको भन्दै हमासको बन्धकबाट मुक्त गराउन अपिल गरेकी थिइन् ।
राजदूत पण्डितले पनि राष्ट्रपतिसमक्ष विभिन्न तवरबाट पहल गरेर विपिनको स्थितिबारे जानकारी गराउन अनुरोध गरेका थिए । जवाफमा इजरायली राष्ट्रपति हर्जोगले विपिनको रिहाइका लागि कोसिस भइरहेको जानकारी गराएका थिए ।
त्यसको एक दिनअघि जोशी रिहाइका लागि नेपाली समुदायले इजरायलको राजनधानी तेलअभिभमा प्रदर्शन गरेको थियो । आमा पद्मा र बहिनी पुष्पा पनि रिहाइका लागि दबाब दिन उक्त प्रदर्शनमा सहभागी भएका थिए ।
इजरायलमा रहेका नेपालीहरू झण्डासहित त्यहाँ पुगेका थिए । त्यस क्रममा विपिनकी बहिनी पुष्पा र आमा पद्मा प्ले-कार्डसहित सहभागी भएका थिए । राजदूत पण्डितले विपिनकी आमा र बहिनीलाई इजरायलका सांसद अध्यक्ष अमिर ओहानासँग पनि भेटवार्ता गराएका थिए ।
इजरायलबाट फर्किएपछि पद्मा र पुष्पाले प्रधानमन्त्री र राष्ट्रपतिसँग भेटेका थिए । विपिनकी आमा र बहिनीसँगको भेटको दुई दिनपछि राष्ट्रपति पौडेलले जोर्डनका राजा अबदुल्ला द्वितीयसँग विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए ।
गत १० भदौमा राष्ट्रपति पौडेलले जोर्डनका राजालाई पत्र पठाउँदै विपिनको अवस्था पहिचान, सुरक्षित रिहाइ तथा स्वदेश फिर्तीको लागि यथाशक्य पहल गरिदिन आग्रह गरेका थिए ।
राष्ट्रपति पौडेलले शीतल निवासमा भएको भेटमा आमा र बहिनीसँग विपिनको रिहाइका लागि आफूले थप प्रयास गर्ने बताएका थिए ।
पद्मा र पुष्पाले ५ असोजमा अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग पनि भेट गरेका थिए । भेटका क्रममा प्रधानमन्त्री कार्कीसँग विपिनकी आमाले छोराको शीघ्र रिहाइका लागि आवश्यक कूटनीतिक पहल गरिदिन आग्रह गरिन् ।
बहिनी पुष्पाले पनि आफ्नो दाइ निर्दोष रहेको उल्लेख गर्दै उनलाई यथाशीघ्र फिर्ता बोलाई सहयोग गरिदिन अनुरोध गरेकी थिइन् ।
जवाफमा प्रधानमन्त्री कार्कीले विपिनको रिहाइको लागि कुनै कसर बाँकी नछोड्ने प्रतिबद्धता जनाएकी थिइन् । उनले हमाससँग नजिक रहेका राष्ट्रहरुसँग कुरा गरेर विपिनको रिहाइको लागि हरसम्भव प्रयास गर्ने वचन दिइन् ।
प्रधानमन्त्री कार्कीलाई भेटेको तीन दिनपछि ८ असोजमा विपिनको रिहाइका लागि प्रयास गर्न आमा र बहिनी अमेरिका गएका थिए । विपिनको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्ने उनीहरूको उद्देश्य थियो ।
उनीहरू विदेशमै रहेको बेला सोमबार हमासले युद्धविरामको सहमति पालना गर्दै २० बन्धक रिहा गर्यो । रिहा गर्नुअघि इजरायलका सैन्य अधिकारीहरूले नेपाली राजदूत धनप्रसाद पण्डितलाई विपिन जीवित नरहेको जानकारी गराएका छन् ।
इजरायली अधिकारीहरुले नै यो सूचना दिए पनि परिवारजनले भने अझै आश मारेको छैन । हमासले रिहा गर्ने अन्य व्यक्तिहरू पनि बाँकी रहेकाले अझै आश रहेको उनका दाजु किशोर जोशीले बताएका छन् ।
प्रतिक्रिया 4