+

रोनाल्डो बने विश्वकप छनोटमा सर्वाधिक गोल गर्ने खेलाडी

२०८२ असोज  २९ गते १४:१४ २०८२ असोज २९ गते १४:१४
रोनाल्डो बने विश्वकप छनोटमा सर्वाधिक गोल गर्ने खेलाडी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले विश्वकप छनोटमा सर्वाधिक ४१ गोल गर्दै नयाँ कीर्तिमान कायम गरेका छन्।
  • उनले हंगेरीविरुद्धको खेलमा दुई गोल गरेपछि पुरुष अन्तर्राष्ट्रिय फुटबलमा कुल १४३ गोल पुगेको छ।
  • पोर्चुगलले समूह ‘एफ’ मा पाँच अंकको अग्रता कायम राख्दै विश्वकपमा स्थान पक्का गर्न अझै सकेको छैन।

२९ असोज, काठमाडौं । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले विश्व फुटबलमा फेरि अर्को कीर्तिमान कायम गरेका छन्।

४० वर्षीय रोनाल्डोले मंगलबार विश्वकप छनोटअन्तर्गत हंगेरीविरुद्धको खेलमा दुई गोल गर्दै विश्वकप छनोटमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका हुन्। उक्त खेल २-२ को बराबरीमा टुंगिएको थियो।

२२औं मिनेटमा नजिकैबाट गरेको पहिलो गोलसँगै उनले ग्वाटेमालाका पूर्व खेलाडी कार्लोस रुइजको ४० गोलको कीर्तिमान तोडेका थिए । त्यसपछि पहिलो हाफको इन्जुरी समयमा दोस्रो गोल गर्दै रोनाल्डोले आफ्नो कुल गोल संख्या ४१ पुर्‍याए।

उनले अहिलेसम्म ५० विश्वकप छनोट खेलमा भाग लिँदै यो उपलब्धि हासिल गरेका हुन्। सर्वाधिक गोलकर्ताको सूचीमा अर्जेन्टिनका लियोनल मेस्सी ३६ गोलका साथ तेस्रोमा छन् ।

यससँगै रोनाल्डोको पुरुष अन्तर्राष्ट्रिय फुटबलमा गोल संख्या पनि बढेर कीर्तिमानसहित १४३ पुगेको छ।

७८औं मिनेटमा खेलबाट बाहिरिएका रोनाल्डोको टोली २-१ ले अघि रहँदा हंगेरीका डोमिनिक सोबोसलाइले इन्जुरी समयमा बराबरी गोल गरे।

यस बराबरीसँगै पोर्चुगलले अझै विश्वकपमा स्थान पक्का गर्न सकेको छैन, तर समूह ‘एफ’ मा पाँच अंकको अग्रता कायम राखेको छ।

क्रिस्टियानो रोनाल्डो
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय