+
नेपाली क्रिकेट :

ओमानमा फेरिएको नेपाली क्रिकेटको भाग्य

२०८२ असोज  ३१ गते २१:२७ २०८२ असोज ३१ गते २१:२७

ओमानी भूमिमा नेपालको भाग्य परिवर्तन पनि यसपटक सम्भव भयो । यसअघि नमीठो विगत झेल्दै आएको ओमानमा यसपटक भने नेपालको भाग्य पनि फेरियो ।

ओमानमा फेरिएको नेपाली क्रिकेटको भाग्य

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली क्रिकेट टोलीले ओमानमा सम्पन्न आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटमा अपराजित रहेर उपाधि जित्न सफल भयो।
  • नेपालले ११ वर्षपछि आईसीसीको आयोजनामा हुने प्रतियोगिताको उपाधि जितेको हो र यसअघि सन् २०१४ मा डिभिजन ४ को उपाधि थियो।
  • नेपालले सुपर सिक्स चरणमा यूएई, कतार र आयोजक ओमानलाई पराजित गर्दै छनोट प्रतियोगिताको उपाधि जितेको हो।

३१ असोज, काठमाडौं । नेपाली क्रिकेट टोलीले ओमानमा सम्पन्न आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटमा अपराजित रहेर उपाधि नै जित्न सफल भयो ।

नेपालले आईसीसीको आयोजनामा हुने प्रतियोगिताको उपाधि ११ वर्षपछि जितेको हो । यसअघि सन् २०१४ मा भएको डिभिजन ४ को उपाधि नै नेपालको पछिल्लो उपाधि थियो ।

नेपालले लगातार दोस्रोपटक अनि समग्रमा तेस्रोपटक टी-२० विश्वकप खेलिरहँदा यसका पछाडि खेलाडीको मेहेनत, टिमको आत्मविश्वास र भाग्यको साथ तीनवटै कुराको गज्जब समिश्रण छ ।

विशेषत: विगतका समयमा महत्वपूर्ण खेलमा पुगेर चुक्दै आएको नेपालले यसपटक भने एक खेल पनि गुमाएन र अपराजित रहेर च्याम्पियन बन्दै विश्वकपको यात्रा तय गरेको हो ।

अर्कोतर्फ ओमानी भूमिमा नेपालको भाग्य परिवर्तन पनि यसपटक सम्भव भयो । यसअघि नमीठो विगत झेल्दै आएको ओमानमा यसपटक भने नेपालको भाग्य पनि फेरियो ।

ओमानमा विगत अनि फेरिएको भाग्य

यसपटक ओमानी भूमिमै अपराजित रहेर विश्वकपको टिकट काटेको नेपाली क्रिकेटका लागि यसअघिका प्रतियोगिता भने सम्झनलायक रहेको थिएन, महत्वपूर्ण खेलमा चुकेका हिसाबले ।

नेपालले पछिल्लोपटक एसीसी प्रिमियर कप २०२४ ओमानमा खेलेको थियो । त्यहाँ प्रतियोगिताको सेमिफाइनलमा पुग्ने बेलासम्म उपाधिको दाबेदारजस्तै रहेको नेपाली टोली सेमिफाइनलमा यूएईसँग पराजित भएको थियो ।

सेमिफाइनलमा पराजित हुनु भनेको आगामी एसिया कप क्रिकेटका लागि ढोका बन्द हुनु थियो । त्यसपछि भएको तेस्रो स्थानको खेलमा पनि नेपाल हङकङसँग पराजित भयो ।

त्यसैगरी त्यसभन्दा अघि २०२२ मा ओमानमै भएको आईसीसी टी-२० विश्वकप छनोट ए मा पनि नेपाल सेमिफाइनलमा यूएईसँग पराजित भएर विश्वकपका लागि छनोट हुन सकेको थिएन ।

यीबाहेक अन्य खेलहरूमा पनि नेपाल ओमानमा सुखद नतिजा निकाल्न सकेको थिएन । सन् २०१९ ओमानमा भएको पाँचदेशीय शृंखलामा २ खेल जित्दा २ मा पराजित भयो । उक्त शृंखलामा नेपालले हङकङ र नेदरल्यान्ड्सलाई हराउँदा आयरल्यान्ड र ओमानसँग पराजित भयो । ओमानसँग त ६४ रनमा अलआउट भएको थियो ।

तर यसपटक भने कथाले अर्कै ‘ट्‍वीस्ट’ बोकेको थियो जसको अन्त्य नेपालका लागि सुखद हुनेवाला थियो । नेपालले भाग्य परिवर्तनको नयाँ कथा रचेर नमीठो विगतको पाना पल्टाउन सफल भयो ।

इंग्ल्यान्डदेखि अस्ट्रेलियामा गएर खेलेको अनुभवदेखि २ पटकको विश्वविजेता वेस्ट इन्डिजसँग खेलेको अनुभवले बढाएको आत्मविश्वास मैदानमा पनि देखियो ।

त्यही आत्मविश्वास अनुसारको प्रदर्शनका साथ नेपालले अन्तत: ओमानमा बेहोर्दै आएको निराशालाई चिर्दै नेपाली क्रिकेट समर्थकलाई खुसी पनि दियो ।

चूनौती पूरा गर्दै रचिएको इतिहास

ओमानको नमीठो विगतसँगै अर्को एउटा चूनौती पनि नेपालको सामू थियो । यसपटकको छनोट प्रतियोगिता अलि फरक फर्म्याटमा भएको थियो । ९ टिम सहभागी रहेर एसिया तथा इस्ट एसिया पेसिफिक छनोट नाम दिइएको प्रतियोगितामा दुई चरणमा खेलहरू भए ।

३-३ टोलीलाई ३ समूहमा विभाजन गरिएको थियो र शीर्ष २ टोलीहरू अगाडि बढेर सुपर सिक्स खेल्ने प्रावधान थियो ।

नेपालले समूह चरणमा जापान र कुवेत दुवैलाई हरायो । यहाँ एक खेल मात्र गुमाउँदा पनि अफ्ठ्यारो हुनसक्ने अवस्था थियो । तर नेपालले समीकरणतर्फ ध्यान दिएन र आफ्नो उत्कृष्ट प्रदर्शन कायम राख्दै दुवै खेल जितेको थियो ।

सुपर सिक्समा नेपालको पहिलो भेट नै यूएईसँग भयो । विभिन्न प्रतियोगितामा नेपाललाई स्तब्ध बनाइसकेको यूएई नेपालका लागि चिरपरिचित प्रतिद्वन्द्वी थियो । हार बेहोरे अगाडिका खेलहरूमा नेपाललाई कठिन मोडको सामना गर्नुपर्ने हुन सक्थ्यो ।

यूएईसँगको खेल साँच्चै रोमाञ्चक भइदियो पनि । एक समय सहज जिततर्फ अघि बढिरहेको यूएईविरुद्ध नेपालले पुनरागमन गरेर खेललाई रोमाञ्चक बनायो र १ रनले जित्यो ।

त्यसपछि कतारसँगको खेलमा पनि हारको नजिक पुगेको खेलबाट नेपालले पुनरागमन गर्‍यो र यस खेलमा ५ रनले विजयी भयो । यी दुई जितले नेपालको विश्वकप लगभग पक्का गरिसकेको थियो ।

तेस्रो खेलमा ओमानसँग खेल्नुअघि नै अन्य टोलीबाट आफुअनुकुल नतिजा आएपछि नेपाल विश्वकप खेल्ने पक्का भयो । तर नेपालको लक्ष्य यतिमै रोकिने थिएन ।

नेपाललाई छनोट प्रतियोगिताको उपाधि पनि जित्नु थियो । तेस्रो खेलमा नेपालले आयोजक ओमानलाई नै हरायो, पहिलेभन्दा सहज तरिकाले ।

र अन्तिम खेलमा सामोआमाथि पनि जित निकाल्दै नेपालले सम्पूर्ण चूनौती पन्छाएर छनोट प्रतियोगिताको उपाधि नै जित्न सफल भयो ।

नेपाली क्रिकेट टोली

धेरै कमेन्ट गरिएका

लेखक
प्रतिक भट्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय