+

नेपाली क्रिकेटमा छलाङ

२०८२ असोज  ३१ गते २१:२८ २०८२ असोज ३१ गते २१:२८

पछिल्ला केही वर्षहरूमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको नेपाली क्रिकेट टोलीले यस पटक भने लगातार विश्वकपमा स्थान बनाउँदै सारा नेपालीलाई खुशी दिएको छ ।

नेपाली क्रिकेटमा छलाङ

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले ओमानमा भएको आईसीसी टी२० विश्वकप एसिया-इएपी छनोटमा शीर्ष तीनमा रहेर २०२६ को टी२० विश्वकपमा तेस्रो पटक स्थान सुरक्षित गरेको छ।
  • नेपाल क्रिकेट संघका सचिव पारस खड्काले तेस्रो पटक विश्वकपमा पुग्दै इतिहास रचेको र नेपाललाई टेष्ट राष्ट्र बनाउने सपना नजिक रहेको उल्लेख गरेका छन् ।
  • नेपाली महिला क्रिकेट टोलीले आगामी जनवरी-फेब्रुअरीमा घरेलु मैदानमै ग्लोबल क्वालिफायर खेल्दै महिला टी२० विश्वकपमा स्थान बनाउने तयारी गरिरहेको छ।

३१ असोज, काठमाडौं । नेपालले तेस्रो पटक आईसीसी टी२० विश्वकपमा स्थान बनाएपछि नेपाली क्रिकेटको चर्चा फेरि एकपटक चुलिएको छ ।

ओमानमा भएको आईसीसी टी२० विश्वकप एसिया-इएपी छनोटमा शीर्ष तीनमा रहेर नेपालले २०२६ मा छिमेकी भारत र श्रीलंकामा हुने दशौं संस्करणको टी-२० विश्वकपमा स्थान सुरक्षित गरेको हो ।

यो सफलता नेपाली क्रिकेट मात्र नभएर नेपाली खेलकुदमै ऐतिहासिक बनेको छ । क्रिकेट टोली लगातार दोस्रो र समग्रमा तेस्रो पटक टी-२० विश्वकपमा छनोट भएको हो ।

कुनै पनि खेलको छनोट चरण पार्दै लगातार विश्वकपसम्म पुग्नु र त्यहाँ क्रिकेट जगतकै महारथी टिमहरूसँग प्रतिस्पर्धा गर्ने अवसर पाउनु चानचुने कुरा होइन ।

सन् २०१४ मा बंगलादेशमा भएको टी२० विश्वकपबाट डेब्यु गरेको नेपालले फेरि विश्वकप खेल्न एक दशक कुर्नुपरेको थियो । तर अहिले स्थिति फेरिएको छ ।

पछिल्ला केही वर्षहरूमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको नेपाली क्रिकेट टोलीले यस पटक भने लगातार विश्वकपमा स्थान बनाउँदै सारा नेपालीलाई खुशी दिएको छ ।

अहिले क्रिकेट नेपाली खेलकै पर्यावाची बनेको छ । सन् २०१४ मा बंगलादेशमा टी२० विश्वकप खेलेपछि नेपाली क्रिकेटमा छुट्टै क्रान्ती सुरु भएको थियो । त्यस बेला कप्तान रहेका पारस खड्का अहिले क्रिकेटको अभिभावक संस्था नेपाल क्रिकेट संघ क्यानमा सचिव छन् । पारसले खेलाडी करियरबाट व्यवस्थापनमा फड्को मार्दा रोहित पौडेलको पुस्ताको नेपालले लगातार दुई पटक विश्वकपमा स्थान बनाइसकेको छ ।

सन् २०१४ मा टी२० विश्वकप खेल्ने जुनियर खेलाडीको रुपमा रहेका सोमपाल कामीले लगातार दुई पटक विश्वकप खेले । यस पटक नेपालले छनोट खेल्दा टिमका सिनियर सदस्य रहेका उनी तेस्रो पटक पनि विश्वकप खेल्ने संघारमा छन् ।

नेपाली क्रिकेटको पछिल्लो एक दशक उतारचढाव रहेपनि पछिल्ला वर्षहरूमा अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले ठूलो सफलताहरू आत्मसाथ गर्दै आएको छ ।

टी२० विश्वकप खेले, ओडिआई मान्यता जोगाउने, लिग टु मा १२ मध्ये ११ खेल जित्दै अविश्वसनिय प्रदर्शन गर्ने, टेष्ट राष्ट्र वेष्ट इन्डिज विरुद्ध टी-२०आई सिरिज जित्ने नेपाली क्रिकेटमा ठूला सफलताहरू हुन् ।

त्यसमा पनि नेपालले लगातार टी२० विश्वकपमा स्थान बनाएपछि अब विश्ले नेपाली क्रिकेटलाई हेर्ने नजरमा परिवर्तन हुने पक्का छ ।

नेपाल टी२० विश्वकपमा छनोट भएर आएपछि विश्वकपअघि नै ३रेलु मैदानमै टेष्ट राष्ट्रसँग दुईपक्षीय सिरिज खेल्ने क्यान अध्यक्षले चतुर बहादुर चन्दले यसअघि नै बताइसकेका छन् ।

केही समयपछि नेपालको फ्रेन्चाइज लिग नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण सुरु हुँदैछ ।

गत वर्ष नेपालको यू-१९ महिला क्रिकेट टोलीले यू१९ महिला विश्वकप खेल्दै इतिहास रचिसकेको छ । यस्तै नेपालको सिनियर महिला टोलीले पनि पहिलो पटक टी-२० महिला विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाएर इतिहास बनाएको छ ।

अब महिला टी-२० विश्वकपमा पुग्नका लागि नेपाली महिला टोलीले आगामी जनवरी-फेब्रुअरीमा घरेलु मैदानमै ग्लोबल क्वालिफायर खेल्दैछ । त्यसबाट शीर्ष चार टोली इंग्ल्याण्डमा अर्को वर्ष हुने महिला टी२० विश्वकपमा छनोट हुनेछ । नेपाली टोली अहिले त्यही मिसनको तयारीमा छ ।

नेपाली क्रिकेटको इतिहास

नेपालमा क्रिकेट खेल भित्रिएको एक शताब्दी भन्दा लामो भएपनि अन्तर्राष्ट्रिय क्रिकेटको इतिहास त्यति लामो छैन ।

सन् १९२० मा राणा शासन कालमा बेलायतबाट क्रिकेट नेपाल भित्रिएको हो । सन् १९४६(२००४ सालमा) नेपाल क्रिकेट संघ (क्यान) को स्थापना भएपछि नेपालमा क्यानको संस्थागत विकासको सुरुवात भयो । तर त्यसको चार दशकसम्म पनि नेपाली क्रिकेट केन्द्रबाट खासै बाहिर फैलिन सकेन ।

सन् १९८८ मा पहिलो पटक इन्टरनेशनल क्रिकेट काउन्सिल (आइसीसी)को एफिलियट नेशनको मान्यता पाएपछि नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय सत्रमा फड्को मार्‍यो । त्यसको दुई वर्षपछि सन् १९९० मा एसीसीको सदस्य भएको नेपालले १९९६ मा आइसीसीको एसोसिएट नेशनको मान्यता पायो।

त्यसपछि अन्तर्राष्ट्रिय स्तरमा नेपालले क्रिकेट खेल्न थाल्यो । आईसीसीसँग जोडिएको साढे तीन दशक र अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको तीन दशकमा नेपाली क्रिकेटमा विभिन्न आरोह अवरोह पार गर्‍यो । यसबीचमा दुई पटक टी२० विश्वकप खेल्नु र ओडिआई मान्यता पाउनु नेपालको अहिलेसम्मको ठुलो सफलताको रुपमा रह्यो ।

सन् १९९६ मै नेपालले मलेसियामा भएको एसीसी ट्रफी खेल्दै अन्तर्राष्ट्रिय क्रिकेटमा इन्ट्री मारेको थियो । बंगलादेशसँग पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको नेपालले सोही वर्ष जापानलाई हराउँदै पहिलो जित हात पारेको थियो ।

त्यसको दुई वर्षपछि नेपालले सन् १९९८ मा एसीसी ट्रफीको दोस्रो संस्करण आफैं आयोजना गरेको थियो ।

सिनियर टिमले विश्वकप खेल्न लामो समय कुर्नुपरे पनि जुनियर टिमले भने सन् २००० मै यू-१९ विश्वकप खेलेको थियो । सन् २००० को दशकमै नेपालको यू-१९ पुरुष राष्ट्रिय टिमले यू१९ विश्वकप खेल टेष्ट राष्ट्रका टिमहरूलाई समेत पराजित गरेको थियो । यू१९ विश्वकपमा नेपाल जायन्ट किलर बनेको थियो ।

नेपालको महिला क्रिकेट टिमले सन् २००७ मा एसीसी वुमन्स टुर्नामेन्टबाट अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेको थियो । महिलाको पनि जुनियर टिमले नै सिनियरभन्दा पहिले विश्वकप खेलेर इतिहास बनाइसकेको छ ।

नेपालको सिनियर पुरुष टिमले सन् २००६ मा एसियाका एसोसिएट टिमहरूबीच भएको एसीसी फास्ट ट्रयाक कन्ट्रीज टुर्नामेन्टको उपाधि जितेको थियो ।

सन् २०१० मा डिभिजन ५ को उपाधि जितेपछि नेपाली क्रिकेटले आईसीसीको टुर्नामेन्टको उपाधि पहिलो पटक जित्यो । त्यसपछि नेपालले सन् २०१२ मा युए२सँगै संयुक्त रुपमा एसीसी ट्रफीको उपाधि जितेको थियो ।

नेपालले आईसीसीको प्रतियोगिता पछिल्लो पटक सन् २०१४ मा आईसीसी डिभिजन थ्री को उपाधि जितेको थियो ।

डिभिजन ५ देखि डिभिजन १ सम्मको यात्रा तय गर्दै आईसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसमेत खेलिसकेको नेपालले वान डे वर्ल्ड कप क्वालिफायर पनि चार पटक खेलिसकेको छ । तर वान डे वर्ल्ड कपमा भने नेपाल छनोट हुन सकेको छैन ।

नेपालले डिभिजन ५ र डिभिजन ४ को उपाधि एक-एक पटक जित्दा डिभिजन ३ मा दुई पटक च्याम्पियन बनेको थियो । यस्तै एकपटक डिभिजन २ को उपविजेता बनेको थियो ।

यस बीचमा आईसीसीले क्यानलाई निलम्बन गर्दा त्यसको घाटा पनि नेपाली क्रिकेटले व्यहोर्न परेको थियो । क्यानमा सरकारी हस्तक्षेप भएको  र विधान अनुसार निर्वाचन नभएको र भन्दै आइसीसीले सन् २०१६ अप्रिलमा क्यानलाई निलम्बन गरेको थियो ।

त्यसको साढे तीन वर्षपछि २०१९ मा आईसीसीले शसर्तसहित क्यान निलम्बन फुकुवा गरेको थियो । निलम्बनको समयमा पनि अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरू खेल्न छुट पाएको नेपालले त्यही बीचमा सन् २०१८ मा पहिलो पटक वान डे इन्टरनेशनल (ओडिआई) स्ट्याटस प्राप्त गरेको थियो ।

त्यसको ६ वर्षपछि नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा ठूलो उपलब्धिहरू हात पारिसकेको छ ।

नेपाल लगातार टी-२० विश्वकपमा छनोट भएपछि सपना वास्तविकतामा परिणत भएको बताएका थिए ।

यस्तै क्यान सचिव पारस खड्काले तेस्रो पटक विश्वकपमा पुग्दै इतिहास रचेको र नेपाललाई टेष्ट राष्ट्र बनाउने सपना नजिक रहेको बताएका छन् ।

नेपालको अबको लक्ष्य टेष्ट मान्यता प्राप्त गर्ने र टी२० जस्तै ओडिबईमा पनि लगातार विश्वकप खेल्ने रहेको छ ।

नेपाली क्रिकेटको महत्वपूर्ण उपलब्धी:

नेपाली क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय