
३१ असोज, काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले पार्टीले जेनजी पुस्ताको माग र उर्जालाई सम्बोधन गर्न नसके देशको नेतृत्व गर्न नसकिने बताएकी छन् ।
शुक्रबार सानेपामा जारी केन्द्रीय समितिको बैंठकमा बोल्दै उनले जेनजीहरूको माग र भावना अनुसार पार्टीलाई रुपान्तरण गरेर अघि बढ्नुपर्ने बताइन् ।
‘हालै, नेपाली कांग्रेसका जेनजी युवाहरूले देशमा सुशासन र पार्टीभित्र समयानुकूल परिवर्तनको स्पष्ट सन्देशसहित ९ बुँदे अपिल सार्वजनिक गरेका छन् । उहाँहरूको यो अपिल, कुनै आग्रह होइन, बरु परिवर्तनको अनिवार्य आवश्यकता बोकेको एउटा सचेत आवाज हो । उहाँहरू भन्नुहुन्छ, ‘सबै बदलिऔं, सबै मिलेर देश बदलौं । यो आह्वानलाई हामीले गम्भीरतापूर्वक लिनैपर्छ,’ उनले भनिन् ।
डा.संग्रौलाले देशभरका महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग राखिसकेकाले अब मंसिरभित्रै नियमित महाधिवेशन गर्नका लागि निर्वाचन कार्य तालिका सार्वजनिक गर्नुपर्ने बताइन् ।
‘देशभरिबाट महाधिवेशन प्रतिनिधि साथीहरूले विशेष महाधिवेशनको माग गर्दै पार्टीलाई निवेदन बुझाइ सक्नु भएको छ । उहाँहरूको भावनाको सम्मान गर्दै परम्परागत दलबाट आधुनिक दलका रूपमा नयाँ उर्जाका साथ अघि बढ्न, हामीले आउँदो मंसिर महिनाभित्रै नियमित १५ औं महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गर्नुपर्छ । सो महाधिवेशनमा कांग्रेसको नेतृत्वमा अहिलेसम्म मुलुकले प्राप्त गरेको उपलब्धिको समीक्षा गर्नुका साथै हाम्रा कमीकमजोरीबारे व्यापक समीक्षा गरिनुपर्छ,’ उनको भनाइ छ ।
कांग्रेस र अन्य दलहरूसँग भएको गठबन्धनका उम्मेदवारलाई सहयोग नगरेको भन्ने उजुरीका आधारमा या विद्रोही उम्मेदवार उठेको कारणबाट अनुशासन समितिबाट कारबाहीको सिफारिस भएका सबैलाई वर्तमान राजनीतिक परिस्थितिका आधारमा एक पटकका लागि आम माफी दिन समेत उनले प्रस्ताव गरिन् ।
त्यस्तै उनले फागुन २१ गते तोकिएको मितिमा मध्यावधि चुनाव हुन नसकेमा मुलुकअर्को संवैधानिक तथा सुरक्षा संकटमा फस्ने निश्चित भएकाले निर्वाचनलाई सुनिश्चित बनाउँदै लोकतान्त्रिक संविधानलाई सहज मार्गमा अघि बढाउने कार्यमा कांग्रेसले अग्रसरता लिनुपर्ने धारणा राखिन् ।
प्रतिक्रिया 4