
News Summary
Generated by OK AI. Editorially reviewed.- खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौं उपत्यकाका ५३ मिठाई पसल अनुगमन गर्दा अधिकांश पसलका मिठाई अखाद्य वस्तु प्रयोग गरी बनाइएको पाइएको छ।
- अनुगमनमा केही पसलले एक पटक प्रयोग गरिसकेको तेल पुन: प्रयोग गरेको, भान्सामा झिँगा र साङ्लो भेटिएको र मिठाईमा कृत्रिम रङ जथाभावी प्रयोग भएको विभागले खुलाएको छ।
- विभागले गम्भीर कैफियत भएका पसललाई ७ दिनभित्र सुधार गरी प्रमाणसहित जानकारी दिन निर्देशन दिएको र सुधार नभए कारबाही गरिने बताएको छ।
३ कात्तिक, काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकामा सञ्चालित अधिकांश मिठाई पसलका मिठाई खान योग्य नभएको पाइएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले २४ असोजदेखि १ कात्तिकसम्म काठमाडौं, ललितपुर र भक्तपुरका ५३ मिठाई पसल अनुगमन गरेको छ । अनुगमन क्रममा अधिकांश पसलका मिठाईमा अखाद्य वस्तु प्रयोग गरेको पाइएको छ ।
कतिपय पसलले एक पटक प्रयोग गरिसकेको तेल फेरि प्रयोग गर्ने, तोकिएको मापदण्डभन्दा बढी रङ मिसाउने, भान्साको सरसफाइमा ध्यान नदिई फोहोर राख्ने र तयार पारिएका मिठाईमा पनि झिँगा तथा साङ्लो मरेको भेटिएको छ ।
तिहारलाई गुलियोको पर्वका रूपमा लिइन्छ । यो बेला विभिन्न प्रकारका मिठाई कोसेलीका रूपमा सहरदेखि गाउँसम्म पुग्छ । त्यही भएर मिठाई पसलेलाई मिठाई बनाउन भ्याइनभ्याइ हुन्छ । धेरै मिठाई माग हुने भएपछि पसलेले मिठाईको गुणस्तरमा ध्यान दिँदैनन् । उनीहरूले उपभोक्ताको स्वास्थ्यलाई नै हानि हुने गरी मिठाईका विभिन्न प्रकार तयार पारेको पाइएको हो ।
सरकारले तिहार लक्षित गर्दै उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखेर काठमाडौं उपत्यकाका मिठाई पसलहरूको अनुगमनलाई तीव्रता दिएको छ ।
तिहारमा अत्यधिक मिठाई किनबेच हुने भएकाले आम उपभोक्ताले अखाद्य वस्तु प्रयोग नगरुन् भन्ने सुनिश्चित गर्न गुण नियन्त्रण विभागको अगुवाइमा मिठाई पसल अनुगमन तीव्र पारिएको हो ।
विभागका प्रवक्ता बालकुमारी शर्माले केही पसलले एक पटक प्रयोग गरिसकेको तेल पुन: प्रयोग गरेको पाइएको र त्यसमा ‘टोटल पोलार मेटरियल’ (टीपीएम) को मात्रा ३५–४५ बढी रहेको भेटिएको बताइन् । यसका साथै धेरैजसो मिठाई पसलको भान्सा फोहोर रहेको र खाद्य स्वच्छतामा कमी देखिएको उनको भनाइ छ ।
विभागले अनुगमन क्रममा भेटिएका कैफियतलाई गम्भीरताका आधारमा वर्गीकरण गरेको छ । सामान्य कैफियतका लागि सुधार गर्न निर्देशन दिइएको छ, भने गम्भीर प्रकृतिका कैफियत (जसले स्वास्थ्यमा जोखिम पुर्याउन सक्ने) भेटिएका पसलहरूलाई ७ दिनभित्र सरसफाइ र सुधार गरी विभागलाई प्रमाणसहित जानकारी गराउन निर्देशन दिइएको उनले बताइन् ।
‘यदि सात दिनभित्र पनि सुधार नभए वा दोहोरिए कारबाही हुन्छ,’ उनले भनिन् ।
प्रवक्ता शर्माका अनुसार जरिबाना सम्बन्धी व्यवस्था प्रचलित कानुन बमोजिम हुनेछ । तत्काल २० हजार रुपैयाँसम्म जरिबाना गराउने अधिकार खाद्य निरीक्षकलाई छ, विशेषगरी जीवन जोखिममा पार्ने अवस्थामा । यद्यपि, हालसम्म तत्काल जरिबाना लगाइएको छैन । मुद्दा चलाउने प्रक्रिया थप अनुगमन र प्रयोगशाला रिपोर्टका आधारमा अघि बढ्ने उनले बताइन् ।
विभागले २४ असोजमा नागार्जुन नगरपालिका–४ र काठमाडौं महानगरपालिका–गौशालाका ७ वटा मिठाई पसल अनुगमन गरेको थियो । अनुगमनका क्रममा ६ वटा मिठाई पसललाई सरसफाइमा ध्यान दिन निर्देशन दिइएको थियो ।
यस्तै काठमाडौं गौशालास्थित श्री मारवाडी स्विट्स एन्ड नमकिनमा विभिन्न कैफियत फेला परेका थिए । विभागले पसलबाट करिब ३० थान समोसा र पकौडा नष्ट गर्नुका साथै सुधारका लागि निर्देशन दियो ।
विभागका अनुसार अनुगमन क्रममा उक्त पसलमा समोसा र पकौडा जस्ता खाद्य वस्तु पत्रिकामाथि भण्डारण गरिएको पाइएको थियो । यस्तै पसलमा कैफियत नियन्त्रणको व्यवस्था सन्तोषजनक नभएको, खाद्य वस्तु पूर्णरूपमा नछोपी भण्डारण गरिएको, फ्रिजको अव्यवस्थित प्रयोग भएको र कर्मचारीहरूको व्यक्तिगत सरसफाइमा पनि कमी देखिएको थियो ।
सबैभन्दा महत्त्वपूर्ण कैफियतका रूपमा प्रयोग गरिएको तेलको टीपीएम परीक्षण गर्दा १९ पाइएको थियो, जसले तेलको गुणस्तर मापदण्ड विपरीत रहेको संकेत गर्छ ।
यस्तै विभागले २५ र २६ असोजमा काठमाडौं र भक्तपुरका ८ मिठाई पसल अनुगमन गर्दा टोखा–६ मा अवस्थित श्री गणपति स्विट्समा सरसफाइ सन्तोषजनक नभएको, तयारी खाद्य वस्तु नछोपी भण्डारण गरिएको र लेबलविना खाद्य पदार्थ बिक्री गरिएको पाइएको थियो । मिठाई बनाउने कक्षमा साङ्लो समेत भेटिएको थियो । अनुगमन क्रममा करिब २० किलो न्यून गुणस्तरको रसबरी मिठाई र लेबलविहीन १० किलो गुँदपाक नष्ट गरिएको छ ।
सोही दिन टोखाकै प्रकाश स्विट्समा पनि डिस्प्लेमा राखिएका मिठाईमा उपभोग्य मिति उल्लेख नभएको, म्याद गुज्रिसकेको भेटिएको थियो । यस्तै उपभोग्य मिति गुज्रिसकेको स्टिम चाउमिन पनि फेला पारेपछि त्यसलाई नष्ट गरिएको थियो ।
भक्तपुर सुविधानगरस्थित धमला डेरी प्रडक्टमा गरिएको अनुगमनमा म्याद गुज्रिएकोे १० प्याकेट गुँदपाक र करिब ५ किलो लड्डु नष्ट गरिएको विभागले जानकारी दिएको छ ।
भक्तपुरकै सिद्धिलक्ष्मी मिठाई तथा दही भण्डारमा तेलको टीपीएम परीक्षण गर्दा २४.५ पाइएको र कृत्रिम रङ जथाभावी प्रयोग गरिएको भेटिएको थियो । त्यसपछि विभागले उक्त तेल र कृत्रिम रङ प्रयोग गरिएको पिठो नष्ट गरेको छ ।
२७ असोजमा विभागले गोकर्णेश्वर नगरपालिका–६ स्थित श्री बाल गणेश स्विट एन्ड चाट हाउसमा अनुगमन क्रममा पसलमा चरम लापरबाही र अखाद्य वस्तु प्रयोग पाइएपछि झिँगा परेको २२ किलो रसबरी र १ किलो पेडा नष्ट गरेको छ ।
विभागका अनुसार उक्त पसलको सरसफाइको अवस्था अत्यन्तै फोहोर रहेको पाइएको थियो । पसलमा कैफियत सुधारको कुनै पनि प्रयास नगरिएको र कामदारहरूको व्यक्तिगत सरसफाइ पनि पर्याप्त नभएको भेटिएको थियो । साथै, मिठाई खुला ठाउँमा बनाउने गरिएको पनि अनुगमन टोलीले भेटेको थियो ।
विभागले पेडाको नमूना परीक्षण गर्दा त्यसमा स्टार्चको मात्रा अत्यधिक पाइएको थियो ।
त्यस्तै तीनकुने र बानेश्वरका दुई ठूला मिठाई पसलमा सरसफाइको चरम अभाव, अखाद्य वस्तु प्रयोग र स्वास्थ्यमा प्रतिकूल असर पार्ने क्रियाकलाप फेला परेका छन् ।
विभागले अनुगमन क्रममा करिब ७ किलो तेल, २ किलो लालमोहन र ५ किलो लिट्टी तथा सेलर रोटी नष्ट गर्नुका साथै सम्बन्धित पसललाई तत्काल सुधारका लागि कडा निर्देशन दिएको छ ।
साङ्लो सहितको लालमोहन
काठमाडौं–३२ तीनकुनेमा रहेको जय भगवान स्विट्समा गरिएको अनुगमनमा कृत्रिम रङ जथाभावी प्रयोग भएको, भान्सामा साङ्लोको प्रकोप रहेको भेटिएको थियो । अझ चिन्ताजनक कुरा, तयार गरिरहेको लालमोहनमै साङ्लो पाइएको थियो ।
विभागले साङ्लो पाइएको करिब २ किलो लालमोहन नष्ट गरेको छ । विभागले भान्सा व्यवस्थित गरी सरसफाइमा विशेष ध्यान दिन, खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०७९ बमोजिम खाद्य स्वच्छता कायम गर्न र देखिएका कैफियत ७ दिनभित्र सुधार गरी कार्यालयमा जानकारी गराउन निर्देशन दिएको छ ।
यस्तै काठमाडौां–१० नयाँ बानेश्वरस्थित अम्बाला स्विटमा पनि विभागको अनुगमन टोलीले गम्भीर कैफियत फेला पारेको छ । उक्त पसलले प्रयोग गरेको तेलमा टीपीएम परीक्षण गर्दा ३५ पाइएको थियो । यसका अतिरिक्त भान्साका खानेकुरामा साङ्लो भेटिएको थियो ।
विभागले टीपीएम बढी भएको करिब ७ लिटर खाने तेल र सोही तेल प्रयोग गरेर बनाइएको अन्दाजी ५ किलो लिफ्टी र सेलर रोटी नष्ट गरेको हो ।
विभागले २९ असोजमा अनुगमन गर्दा काठमाडौं–३ नारायणगोपाल चोकमा रहेको जगदम्बा स्विट्स एन्ड चाट हाउसमा सरसफाइको चरम अभाव, अखाद्य तेलको प्रयोग र साङ्लोको संक्रमण भेटिएपछि करिब १ किलो बर्फी र ४ लिटर तेल नष्ट गरेको छ ।
त्यसैगरी सोही दिन अनुगमन गरेका अन्य पसलमा बढी टीपीएम पाइएका खानेतेल नष्ट गर्नुका साथै सरसफाइमा विशेष ध्यान दिन र भान्सालाई साङ्लोमुक्त बनाउन कडा निर्देशन दिएको छ ।
३० असोजमा विभागले ७ वटा पसल अनुगमन गरेको थियो । अनुगमन क्रममा विभागले काठमाडौं–३० ज्ञानेश्वरस्थित श्री शिव फुड्स प्रालिमा सरसफाइ अभाव, कामदारको हेलचेर्क्याइँ र म्याद गुज्रेका मिठाई समेत फेला परेका थिए ।
विभागले करिब २ किलो म्याद गुज्रेको ‘बल्ला’ मिठाई नष्ट गर्नुका साथै पसललाई तत्काल सुधारका लागि कडा निर्देशन दिएको छ ।
विभागले तिहारपछि पुन: अनुगमन गर्ने प्रवक्ता शर्माले बताइन् । उनका अनुसार अनुगमन केवल काठमाडौं उपत्यकामा मात्र नभई देशका ४२ कार्यालय मार्फत पनि भइरहेको छ । गुनासोका आधार र लक्षित गरेर पनि अनुगमन हुने गरेको उनको भनाइ छ ।
ठूला चाडमा भएन प्रभावकारी अनुगमन
तिहारजस्ता ठूला पर्वको मुखैमा बजार अनुगमन प्रभावकारी नहुँदा उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलबाड भइरहेको उपभोक्ता अधिकारकर्मीहरूले बताएका छन् ।
मिठाई पसलहरूमा फोहोर, साङ्लो, झिँगा र अखाद्य रङ प्रयोग व्यापक भेटिएको भन्दै अनुगमनको ‘साँचो अर्थ’ मा काम नभएको उनीहरूको भनाइ छ ।
उपभोक्ता अधिकारकर्मी कृष्ण भण्डारी मार्सेलीले बजारमा अखाद्य रङ प्रयोग गरिएका र खान अयोग्य मिठाईको बिगबिगी भए पनि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यसतर्फ पर्याप्त ध्यान नदिएको आरोप लगाए ।
अनुगमनको अवस्था केन्द्रमा पनि सन्तोषजनक नभएको र जिल्ला तथा प्रदेशस्तरका कार्यालयहरूले त झन् अनुगमन नै नगरेको उनी बताउँछन् ।
‘स्थानीय निकायहरूलाई खाद्य पदार्थ, फलफूल, तरकारी, माछामासुको नियमन गर्ने स्पष्ट कानुनी अधिकार छ,’ मार्सेलीले भने, ‘तर, उनीहरूले त्यो अधिकार प्रयोग गरेर अनुगमन गरेका छैनन्, देखाउनका लागि गरेजस्तो मात्रै छ ।’
यो बजारको परिस्थितिले स्थानीय तहका सरकारहरू पनि परिवर्तित सन्दर्भमा बजारमा सुशासन कायम गर्न र आम उपभोक्ताको हितमा चाडपर्व केन्द्रित बजार अनुगमन गर्न सकिरहेका छैनन् भन्ने देखाएको उनको भनाइ छ ।
मार्सेलीले तीनै तहका सरकार उपभोक्ता हितका लागि बजार व्यवस्थित गर्न असफल देखिएको र यसले गर्दा चाडपर्वको समयमा उपभोक्ताहरू अस्वस्थकर र गुणस्तरहीन खाद्य वस्तु उपभोग गर्न बाध्य भएको बताए ।
उनले अनुगमन थप प्रभावकारी बनाउन र दोषी व्यवसायीलाई कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
प्रतिक्रिया 4