News Summary
Generated by OK AI. Editorially reviewed.- अखिल नेपाल फुटबल संघ (एन्फा)ले महासचिव किरण राईलाई निलम्बन गरिएको बारे कुनै आधिकारिक जानकारी नभएको बताएको छ।
- कार्यवाहक अध्यक्ष वीरबहादुर खड्काले महासचिव राईलाई स्पष्टीकरण नपाएपछि निलम्बन गरेको पत्र एन्फाको सचिवालयले नदिएको जनाएको छ।
- खड्काले अर्ली इलेक्सनको मागसहित नेतृत्वलाई जिम्मेवारी छाड्न आग्रह समेत गरेका थिए।
३ कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले महासचिव किरण राईलाई निलम्बन गरिएको बारे कुनै जानकारी नभएको बताएको छ ।
आइतबार कार्यवाहक अध्यक्ष वीरबहादुर खड्काले महासचिव किरण राईलाई पदबाट निलम्बन गरेपछि एन्फाले विज्ञप्ति जारी गरेर राईको निलम्बनबारे एन्फाको सचिवालयमा कुनै जानकारी नभएको बताएको हो ।
‘एन्फाका वरिष्ठ उपाध्यक्ष विरबहादुर खड्काले एन्फा महासचिव किरण राईलाई स्पष्टिकरण माग गरिएको भनि विभिन्न सञ्चार माध्ययमा आएको समाचार साथै मिति २०८२-०७-०२ मा पुनः वरिष्ठ उपाध्यक्षले महासचिवलाई निलम्बन गरिएको भनेर प्रकाशित भएको समाचारहरु प्रती हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ’ एन्फा प्रवक्ता सुरेश शाहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रस्तुत विषयहरुको सन्दर्भमा अखिल नेपाल फुटबल संघ एन्फाको सचिवालयलाई कुनै आधिकारीक जानकारी समेत नभएको र उक्त दुवै पत्रहरु एन्फाकार्यालय बाट प्रेषित नभएको साथै उक्त पत्र दर्ता, चलानी, संस्थाको छाप संघको आधिकारिक नभएको जानकारी गराउँदछु।’
यसअघि महासचिव राईलाई स्पष्टीकरण सोधेर तीन दिनभित्र जवाफ पेश गर्न भनेका खड्काले जवाफ प्राप्त नभएकाले राईको नाममा पत्र काटेर अर्को कार्यसमिति बैठकसम्मका लागि निलम्बन गरेका थिए ।
केही दिनअघि खड्काले पत्रकार सम्मेलन गरेर एन्फामा अर्ली इलेक्सनको मागसहित नेतृत्वलाई जिम्मेवारी छाड्न समेत आग्रह गरेका थिए ।
प्रतिक्रिया 4