+
+
Shares
समीक्षा :

नेल्सन मन्डेलाको ‘लङ वाक् टु फ्रिडम’

यो देशका भुइँमान्छेहरूले तीसौं वर्षदेखि आफ्नो पसिनाको करले पालेका पिण्ड खाने उमेरका नेताहरूले यति सरल कुरा पनि अझै किन नबुझेका होलान् र कुर्सी नै बोकेर आर्यघाट पुग्छु भन्ने सोच बनाएर बसेका होलान् !

अमृता लम्साल अमृता लम्साल
२०८२ कात्तिक ३ गते ८:४२

भुइँमान्छेहरूले तीसौं वर्षदेखि आफ्नो पसिनाको करले पालेका नेपालका नेताहरूले यत्ति सरल कुरा पनि अझै किन नबुझेका होलान्; यी नेताहरूलाई नेल्सन मन्डेलाको जीवनी एक–एक प्रति पढ्न दिने पो हो कि !

‘एउटा नेताको हैसियतले मैले सधैं सिद्धान्तलाई पछ्याएँ। पहिले मैले (त्यो कुरा) ‘ग्रेट प्लेस’ मा ’रिजेन्ट’ले लागू गरेको देखें। मैले हरेक व्यक्तिले छलफलमा के के भन्छन् भनेर सुन्ने र त्यसपछि मात्रै आफ्नो विचार राख्ने गरें। कतिपय समयमा मेरो विचारले ती सबैका भनाइलाई प्रतिनिधित्व गर्दथ्यो। मैले सधैं ‘रिजेन्ट’ को पथलाई सम्झें, उनको भनाइमा एउटा नेता भनेको भेडा गोठालो जस्तै हो, जो जहिले पनि बथानको पछाडि बस्दछ। भेडा सबैभन्दा उपयुक्तलाई अगाडि पठाएर अरू उनीहरूको पछि लाग्छन्। उसले त्यतिबेला यो पनि महसुस गर्दैन कि, ऊ पछाडिबाट निर्देशित भैरहेको छ।’

शब्द–शब्दको अर्थ नलागे पनि नेल्सन मन्डेलाले आफ्नो आत्मकथा ‘लङ्ग वाक टु फ्रिडम’मा लेखेको वाक्यको भावार्थ यस्तै हुन आउँछ।

उपरोक्त भनाइले मन्डेलाको नेतृत्व गर्ने शैली कति सशक्त थियो भन्ने अनुमान लगाउन सकिन्छ। उनले त्यहाँ उल्लेख गरेको ‘रिजेन्ट’ भनेको उनको ‘कबिला’ थियो र ‘ग्रेट प्यालेस’ कबिलाको राजा बस्ने घर।

नेल्सन मण्डेला को हुन् भनेर राजनीतिमा रुचि राख्ने जमातलाई पक्कै चिनाउन नपर्ला। त्यसमा पनि हालसालै ढालिएको पुरानो सत्ताका नेताहरूलाई त मण्डेलाबारे पूरै ज्ञान पक्कै होला। तर, यहाँका नेताहरूलाई राजनीतिक सिद्धान्त पालना गरेर अगाडि बढ्ने माध्यमभन्दा पनि केवल आफ्नो स्वार्थ र शक्तिको खेल भैदियो/भैरहेछ। त्यसैले, १२ वर्ष भालुलाई पुराण सुनाए पनि अन्त्यमा, सीता कसकी जोई भन्ने जस्ता प्रश्न गर्न सक्नेहरूसँग यो प्रसंग जोड्नु नै बेकार छ।

सन् १९१८ जुलाई १८ मा जन्मिएर सन् २०१३ डिसेम्बर ५ मा यो धर्तीबाट विदा भएका मण्डेला, आफ्नो देश दक्षिण अफ्रिकालाई स्वतन्त्र र प्रजातान्त्रिक बनाउने संघर्षमा २७ वर्ष जेल बसेका थिए। उनलाई सन् १९६४ को ‘रिभोनिया ट्रायल’ द्वारा कारावास पठाइएको थियो। यदि विश्वका मानवअधिकारवादीहरू र अन्य देशको निरन्तर पहल नभएको भए शायद, त्यतिबेला पनि उनी जेलबाट छुट्थे या छुट्दैनथे यसै भन्न सकिन्न।

मन्डेला जेलबाट निस्किएपछि, सन् १९९१ देखि १९९७ सम्म अफ्रिकन नेशनल कंग्रेसको सभापति भए र १९९४ देखि १९९९ सम्म दक्षिण अफ्रिकाको प्रथम निर्वाचित राष्ट्रपति। त्यसपश्चात्, उनले फेरि राष्ट्रपति वा सभापति भएर पद ओगटेर बस्ने तृष्णा बोकेनन्। यी हरफहरू लेखिरहँदा यहाँका सत्तालोलुप नेताहरूका अनुहार आँखाअगाडि झल्झली आइरहेछन्।

मन्डेलासँग लिनुपर्ने अर्को महत्वपूर्ण पाठ शान्ति कायम गर्न शत्रुसँग पनि सहकार्य गर्न पछि हट्नुहुँदैन। उनले किताबमा लेखेका छन् , ‘यदि शान्तिको कामना गर्ने हो भने, शत्रुसँग पनि मिलेर काम गर्नुपर्छ।’

मण्डेलालाई, उनको बालककालमै अप्रत्यक्ष रूपमा राजनैतिक प्रशिक्षण प्राप्त भएको थियो। कारण, उनको जन्म ‘थेम्बु’ कबिलाको राजघरानामा भएको थियो र उनले नजिकैबाट नेतृत्व गर्ने कलालाई बालककालदेखि नै नजिकैबाट नियाल्ने मौका पाएका थिए।

उनको जीवनी पढ्दा लाग्छ, यदि उनको विवाह उनको परिवारले एउटी आकर्षण गर्न नसक्ने युवती (उनले यही शब्द प्रयोग गरेका छन) जो, कबिलाको सरकार सम्हाल्ने कुरामा चाख राख्थिन्, उनीसँग तय नगरिदिएको भए उनी त्यहाँबाट भागेर हिंड्थे/हिंड्दैनथे। यदि हिंड्दैनथे भने राजनीतिमा लाग्थे लाग्दैनथे ! यो सम्भावनालाई ‘अनुमान’को उकेरा मात्रै दिन सकिन्छ।

उनी कानूनको विद्यार्थी हुँदा तत्कालीन स्वतन्त्रता आन्दोलनमा संलग्न ओलिभर ताम्बुको निकट बन्न पुगे र त्यहींबाट उनको राजनैतिक भविष्यको खाका कोरियो। उनलाई राज्यले कम्युनिष्ट भएर सत्ता फाल्न खोजेको आरोप लगायो, र ऐतिहासिक ‘रिभोनिया ट्रायल′ मार्फत सन् १९६३ मा उनी समेत अफ्रिकन नेसनल कंग्रेसका आठ जनालाई दोषी ठहर्‍याएर जेल हाल्यो।

उक्त मुद्दामा मण्डेलाले आफ्नो बहस आफैं गरेका थिए। उनले त्यहाँ भनेका कुराहरू इतिहासमा स्वर्ण अक्षरले लेखिएको छ। त्यसको एक टुक्रा यस्तो थियो–
‘मैले गोरा जातिले जमाएको प्रभुत्वसँग लडें र काला जातिको प्रभुत्व विरुद्ध पनि लडें।…. मैले सधैं प्रजातान्त्रिक र खुला समाजको इच्छा राखें, जुन समाजमा सबै जना सँगसँगै समानता तथा खुसीका साथ बस्न सकुन्।….यसका लागि म मर्न परे पनि तयार छु।’

त्योभन्दा पहिले पनि राज्यले उनलाई पटक–पटक मुद्दा लगाइसकेको थियो।

त्यस बीचमा उनलाई सिध्याउन राज्यले अनेकौं षड्यन्त्र रच्यो। उनकी तत्कालीन पत्नीमाथि अनेक अत्याचार गरियो। उनको आमाको देहान्त हुँदा होस् वा परिवारका अन्य दुःखद् घटना आइपर्दा वा खुसीका क्षणहरूमा उनी कहिल्यै परिवारको साथमा हुन पाएनन्। तर उनी हारेनन्, संघर्ष गर्दैरहे। जेलभित्रै बसेर कानूनका किताबहरू पढिरहे! जेलरले थाहा नपाउने गरी अन्य कैदीहरूलाई कानूनी सल्लाह प्रदान गर्दै रहे।

जेलबाट छुट्नुभन्दा अगाडि तात्कालीन गोरा सरकारसँग गर्न लागिएको ‘नेगोसिएसन’ पनि सुरुमा उनको एक्लो निर्णय थियो। त्यसको खाका कोरिसकेपछि मात्रै उनले आफ्ना अन्य साथीहरूलाई जानकारी गराएका थिए र अन्त्यमा, उनी २७ वर्षको बन्दी जीवनबाट रिहा गरिए।

मन्डेलासँग लिनुपर्ने अर्को महत्वपूर्ण पाठ शान्ति कायम गर्न शत्रुसँग पनि सहकार्य गर्न पछि हट्नुहुँदैन। उनले रंगभेदको पक्षधर साउथ-अफ्रिकाका सातौं तथा अन्तिम राष्ट्रपति एफ डब्ल्यु डी क्लर्क, जसको विरुद्धमा उनी स्वतन्त्रताको लडाईं लडिरहेका थिए, उनलाई र आफूलाई सन् १९९३ को शान्तिका लागि नोबेल पुरस्कार दिएपछिको आफ्नो मनमा उठेको तर्कनालाई दुनियाँ सामु यसरी राखेका छन्,

‘मलाई अक्सर मानिसहरू सोध्छन्, मैले कसरी मिष्टर क्लर्कसँग संयुक्त रूपमा पुरस्कार लिन राजी भएँ, जबकि मैले उनको बारेमा धेरै नकारात्मक टिप्पणी गरेको थिएँ भनेर। हुनत म अहिले पनि ती टिप्पणीहरूलाई कायमै राख्दछु, तापनि म भन्न सक्छु, उनले शान्ति प्रक्रियामा गम्भीर भूमिका निभाएका थिए। …..यदि शान्तिको कामना गर्ने हो भने, शत्रुसँग पनि मिलेर काम गर्नुपर्छ।’

मन्डेलाले  किताबमा भनेका छन्, ‘कुनै पनि राष्ट्रको मूल्याङ्कन, यसले आफ्ना सर्वोच्च नागरिकहरूप्रति कस्तो व्यवहार गर्छ भन्ने आधारमा होइन, बरु यसले सर्वसाधारण नागरिकहरूप्रति कस्तो व्यवहार गर्छ भन्ने आधारमा गरिनुपर्छ।’

यी त भए विश्वकै ‘राजनेता’को रूपमा स्थापित व्यक्तिको राजनैतिक सुझबुझको एउटा सानो झलक ! उनको राजनैतिक जीवनका बारेमा हामी जस्ता आला–काँचाले बोल्नु वा मूल्यांकन गर्नु भनेको सूर्यलाई दियोको उज्यालो देखाउनु जस्तै हो।

पारिवारिक पक्ष

मन्डेला जति राजनैतिक रूपमा परिपक्व थिए, त्योभन्दा पनि दोब्बर बढी पारिवारिक जीवनमा अन्याय गरेका छन् भन्दा अत्युक्ति नहोला। यसको सबैभन्दा ठूलो उदाहरण उनले आफ्नी दोस्री पत्नी विनी मन्डेलासँग सम्बन्ध विच्छेद गरे। दुई जनाको कुरा नमिलेर सम्बन्ध विच्छेद गर्नु कुनै ठूलो कुरो थिएन, तर उक्त पुस्तकमा व्यक्त गरिएका अभिव्यक्ति पढ्दा उनले अफ्रिकन नेसनल कंग्रेस र उनका अनुयायीहरूको आलोचना खप्न नसकेर विनी मन्डेलासँग छुट्टिएको हो कि जस्तो भान हुन्छ। होइन भने, राजनीतिमा लागेपछि महिला या पुरुष सबैलाई अनेक लाञ्छना लागेकै हुन्छ।

नेल्सन मन्डेलालाई पनि हिंसात्मक आन्दोलन गरेको, हतियार भित्र्याएको आदि आरोप लागेकै हो र स्पष्ट रूपमा उनी आफैंले उक्त पुस्तकमा लेखेका छन् कि आफू संलग्न पार्टीको अनुमति विना नै उनले छुट्टै निकाय खडा गरेर चे-ग्वेभारा र माओको गुरिल्ला युद्धको अनुकरण गर्न खोजेकै हुन् र त्यसका लागि हतियार पनि भित्र्याएको कुरो पनि आफैंले लेखेका छन्।

जेहोस्, उनको राजनैतिक जीवनलाई चारचाँद लगाउनमा विनी मन्डेलाको ठूलो हात छ भन्ने कुरा उनकै लेखाइबाट पनि थाहा हुन्छ। उनले आफ्नो आत्मकथा ‘लङ्ग वाक टु फ्रिडम’ मा लेखेका छन्, ‘मैले रबिन आइल्यान्डमा बिताएको दुई दशकको अवधिमा उनी (विनी मन्डेला) मलाई व्यक्तिगत रूपमा साथ तथा ‘कम्फर्ट’ दिने व्यक्ति थिइन्। कम्रेड नोमाजामो (विनी मन्डेला) ले हाम्रा सन्तानहरूलाई हुर्काउने ठूलो दायित्व आफैंले सम्हालिन्। उनले तत्कालीन सरकारले उनीमाथि लादेको अनेक आरोपलाई पनि झेल्दै गइन्। तर, त्यसबाट उनी आफ्नो स्वतन्त्रता संघर्षबाट कत्ति पनि विचलित भइनन्। उनको त्यो गुणबाट प्रभावित भएका कारण उनीप्रति मेरो आदर, प्रेम र स्नेह रहिरहनेछ।’

नेल्सन मन्डेलाको उक्त भनाइको भावार्थ उनले सन् १९९२ को अप्रिल १३ तारिखको दिन साउथ अफ्रिकाको जोहान्सबर्गमा तत्कालीन पत्नी विनी मन्डेलासँग छुट्टिने निर्णय गरे पश्चात् प्रेस कन्फरेन्समा पढेर सुनाएका थिए।

नेल्सन मन्डेलाको पारिवारिक जीवन एक हिसाबले असफल नै थियो भन्दा पनि हुन्छ। यसको खुलासा उनी आफैं गर्दछन् –

‘स्वतन्त्रता सेनानीहरूको पारिवारिक जीवन अस्थिर हुन्छ।’ उनले उक्त कुरा आफ्नी छोरी जिन्जीको विवाहमा भनेको भनेर आत्मवृत्तान्तमा लेखेका छन। उनी अगाडि लेख्छन्, ‘हामी हाम्रा बच्चाहरूलाई हाम्रो सहयोग विना नै हुर्किएका देख्छौं। जब हामी आयौं, मेरा बच्चाहरूले भने, ‘हामीले सोचेका थियौं, हाम्रा एक बाबु छन् र उनी एक दिन फर्किएर आउनेछन्, तर उनी आएर पनि हामीलाई एक्लै छाडेर हिंडे। किनकि, अहिले उनी देशका पिता बनिसकेका छन्। देशको पिता हुन पाउनु ठूलो गर्वको कुरा हो तर परिवारको बाबु बन्न पाउनु भनेको खुशीको कुरो हो। तर त्यो खुशी पाउनु मेरो लागि टाढाको कुरो भइसकेको थियो।’

मन्डेलाको आत्मकथामा ती सबै तथ्यहरू पढिसकेपछि यो मस्तिष्कमा ठूलो घनले ठोके झैं भयो। कारण, ती कुराहरूले हिन्दु मिथकको ‘रामराज्य’का राजा रामको झझल्को दिलायो। जसरी राजा रामले आफ्नो राजनैतिक छविलाई टल्किएको ऐना झैं सफा राख्नका लागि गर्भवती सीतालाई त्यागेर वनमा पठाएका थिए, त्यसैगरी नेल्सन मन्डेलाले पनि जीवनभरि उनको लडाइँलाई साथ दिएकी विनी मन्डेलालाई त्यागिदिए।

मण्डेलामा मानवमा हुने गुण, अवगुण सबै थिए। तापनि उनले देशका लागि गरेको त्यागले उनलाई विश्वकै धरोहरका रूपमा परिचित गरायो। उनले किताबमा भनेका छन्, ‘कुनै पनि राष्ट्रको मूल्याङ्कन, यसले आफ्ना सर्वोच्च नागरिकहरूप्रति कस्तो व्यवहार गर्छ भन्ने आधारमा होइन, बरु यसले सर्वसाधारण नागरिकहरूप्रति कस्तो व्यवहार गर्छ भन्ने आधारमा गरिनुपर्छ।’

यो देशका भुइँमान्छेहरूले तीसौं वर्षदेखि आफ्नो पसिनाको करले पालेका पिण्ड खाने उमेरका नेताहरूले यति सरल कुरा पनि अझै किन नबुझेका होलान् र कुर्सी नै बोकेर आर्यघाट पुग्छु भन्ने सोच बनाएर बसेका होलान् ! बरु ती सबैलाई एक-एक प्रति ‘लङ्ग वाक् टू फ्रिडम’ लगिदिने हो कि !

लेखक
अमृता लम्साल

लेखक सामाजिक अभियन्ता, लेखक एवं पत्रकार हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?