News Summary
Generated by OK AI. Editorially reviewed.- बंगलादेशमा सुरु भएको काभा कप पुरुष भलिबलको पहिलो खेलमा नेपाल तुर्कमेनिस्तानसँग ३-० ले पराजित भएको छ ।
- नेपालले तेस्रो सेटमा २१-१६ को अग्रता बनाएपनि जोगाउन नसक्दा टाईब्रेकमा पुगेर सेट गुमाएको थियो ।
- नेपाली टोलीमा ८ नयाँ खेलाडी थिए, जसमा ५ खेलाडीले अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए ।
५ कात्तिक, काठमाडौं । बंगलादेशमा आजदेखि सुरु भएको काभा कप फर मेन (काभा कप पुरुष) भलिबल प्रतियोगिताको पहिलो खेलमै नेपाल पराजित भएको छ ।
ढाकास्थित इन्डोर हलमा आज बिहान भएको खेलमा नेपाल तुर्कमेनिस्तानसँग सोझो सेटमा पराजित भएको हो ।
अन्तर्राष्ट्रिय भलिबलमा कम अनुभवी र नयाँ खेलाडीहरु रहेको नेपाली टिममा अनुभवको कमी देखिँदा पहिलो खेलमै पराजित भएको हो ।
तुर्कमेनिस्तानले नेपाललाई २५-२२, २५-१८, २७-२५ ले हरायो ।
पहिलो सेटमा २२-२२ को स्थितीमा तुर्कमेनिस्तानले लगातार तीन अंक जोड्दै सेट आफ्नो पक्षमा पारेर अग्रता लिएको थियो । दोस्रो सेट सहजै २५-१८ ले आफ्नो पक्षमा पारेपछि तुर्कमेनिस्तानले २-० को अग्रता बनायो ।
तेस्रो सेटमा नेपालले सुरुवात देखि राम्रो अग्रता बनाएको थियो । एक समयमा २१-१६ को अग्रता बनाएको नेपालले त्यसलाई कायम राख्न सकेन । तुर्कमेनिस्तानले उत्कृष्ट पुनरागमन गर्दै २२-२२ मा बराबरी गरेपछि तेस्रो सेट २४-२४ हुँदै टाईब्रेकमा पुगेको थियो र तुर्कमेनिस्तानले २७-२५ ले आफ्नो पक्षमा पारेको हो ।
नेपालले दोस्रो खेलमा बिहीबार घरेलु टोली बंगलादेशसँग खेल्नेछ ।
५ खेलाडीको डेब्यु
यस पटक नेपाली टोलीमा ८ नयाँ खेलाडी समावेश थिए । जसमध्ये पहिलो खेलमै ५ खेलाडीले अन्तर्राष्ट्रिय खेलमा डेब्यु गर्ने अवसर पाए ।
रविन नगरकोटी, पहल गहतराज र सन्तोष राईले पहिलो सेटमा पहिलो रोजाईँमै खेल्दै डेब्यु गरेका थिए ।
यस्तै दोस्रो सेटमा सुनिल बोहराले पहिलो रोजाईँमा खेल्दै डेब्यु गरे । दोस्रो सेटमै अर्जुन नेपालले रविन नगरकोटीलाई रिप्लेस गर्दै सिनियर टोलीमा डेब्यु गरे । अर्जन यू२० टोलीका कप्तान हुन् । उनकै कप्तानीमा नेपाली यु२० पुरुष टोलीले गत वर्ष श्रीलंकामा काभा यू२० पुरुष भलिबलको उपाधि जितेको थियो ।
प्रतिक्रिया 4