 
																			१० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्रका आन्तरिक समस्यालाई समाधान गर्दै एकताबद्ध भएर अघि बढ्न नेपाली जनताले अपेक्षा राखेको बताएका छन् ।
तरुण दलले आयोजना गरेको चियापान समारोहलाई सम्बोधन गर्ने क्रममा उनले विगतमा पार्टीका तर्फबाट भएका कमी कमजोरीलाई स्वीकार्दै अघि बढ्नुपर्ने बताए ।
जेनजी आन्दोलनको क्रममा गम्भीर घाइते भएका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै अझै एकताबद्ध भएर अघि बढ्न सन्देश दिएको उनले बताए ।
‘नेपाली कांग्रेस आफ्ना बीचमा भएका समस्यालाई समाधान गर्दै, कतिपय विषयलाई थाति राख्दै बृहत एकताबद्ध भएर फेरि नेपाली जनताले, नेपालको माटोले, राष्ट्रले विगतको इतिहासको कालखण्डजस्तै नेपाली कांग्रेसबाट अपेक्षा गरेको छ, आशा गरेको छ,’ खड्काले भने, ‘हाम्रा विगतमा भएका कमीकमजोरीलाई स्वीकार्छौं भन्दै नेपाली कांग्रेस संविधान र परिवर्तनको रक्षाका लागि, अधिकारलाई रक्षा गर्ने कुरालाई शीरमा राखेर हामी एकताबद्ध भएर अघि बढ्छौं ।’
तरुण दलको स्थापना दिवस मनाउँदै गर्दा अझै धैर्य र संयम भएर जिम्मेवारीबोधका साथ अघि बढ्नुपर्ने बताए ।
‘आज हामी तरुण दलको स्थापना दिवस मनाउँदैछौं । यो क्षणमा सबै तरुण साथीहरूलाई अनुरोध गर्न चाहन्छु, अत्यन्तै जुझारुपनका साथ तर अनुशासित भएर, धैर्यता, संयमता र जिम्मेवारीबोधका साथ देशको रक्षाका लागि एकताबद्ध हुनुछ । तरुणले आफूलाई तिखार्नुछ,’ उनले भने ।
उनले सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवाको स्वास्थ्य निरन्तर सुधार हुँदै गएको जानकारी गराए ।
‘सभापतिज्यूले केन्द्रीय समितिको पहिलो बैठकमा आएर हामी सबैलाई, शुभेच्छुकहरूलाई प्रेरित गर्दै आफू आक्रमणको अवस्थाबाट उपचार गरिरहेको बेलामा अदम्य साहससहित जलेको पार्टी कार्यालयमा भएको बैठकमा आएर पार्टीको जिम्मेवारीमा रहेकालाई सन्देश दिनुभएको छ,’ खड्काले भने, ‘त्यो सन्देशले नेपाली कांग्रेसलाई ऊर्जा, हौसला दिएको छ ।’
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                .jpg) 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4