 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल वायुसेवा निगमका निवर्तमान अध्यक्ष युवराज अधिकारीले अवकाशअघि ४५ जनालाई विनाप्रतिस्पर्धा करारमा भर्ना गराएका थिए।
- ती कर्मचारीलाई अधिकारी निकट ग्राउन्ड सपोर्ट विभागका निर्देशक डोलेश्वर कोइरालाले हाजिर गराएका छन्।
- नेवानि कर्मचारी संघले भर्ना प्रक्रियामा भ्रष्टाचारको आरोप लगाउँदै ती कर्मचारीलाई हाजिर नगराउन माग गरेको छ।
११ कात्तिक काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि) का निवर्तमान अध्यक्ष युवराज अधिकारीले विनाप्रतिस्पर्धा करारमा भर्ना गरेका ४५ जनालाई संस्थानले हाजिर गराएको छ ।
अधिकारीले आफू अवकाशमा गइसकेपछिको मितिबाट हाजिर गर्ने गरी ती ४५ जनालाई करारमा भर्ना गरेका थिए । उनीहरू अधिकारीका आफन्त र पार्टी कार्यकर्ता हुन् ।
ती कर्मचारीलाई अधिकारी निकट भनेर चिनिने ग्राउन्ड सपोर्ट विभागका निर्देशक डोलेश्वर कोइरालाले मंगलबार हाजिर गराएका हुन् ।
नेवानि स्रोतका अनुसार कर्मचारीहरू तथा निगममा क्रियाशील ट्रेड युनियनहरूको विरोधबीच उनीहरूलाई हाजिर गराइएको हो । ती कर्मचारीलाई भर्ना गर्ने क्रममा नेवानिका कर्मचारी एवं ट्रेड युनियनका सदस्यहरू र प्राविधिक उपप्रबन्ध निर्देशक समेत रहेका कोइरालाबीच विवाद भएको थियो ।
नेवानिका निवर्तमान कार्यकारी अध्यक्ष अधिकारीले आर्थिक लाभ लिएर प्रतिस्पर्धा नै नगराइ कर्मचारी भर्ना गरेको आरोप लागेको छ । अवकाश हुन एक महिना पनि बाँकी नरहँदा अधिकारीले ८ असोजमा करारमा नियुक्तिका लागि कर्मचारी छनोट गरेको भन्दै ४५ जनाको नाम गोरखापत्रमा प्रकाशन गरेका थिए ।
त्यसबारे अनलाइनखबरमा समाचार प्रकाशित भएपछि केही समय उनीहरूको नियुक्ति रोकिएको थियो । तर, तिहारअघि उनले ती कर्मचारीलाई नियुक्तिपत्र बाँडेका थिए, जसमा ११ कात्तिकदेखि नेवानिमा हाजिर हुने भन्ने मिति उल्लेख थियो । जबकि, अधिकारी स्वयं ७ कात्तिकदेखि अवकाशमा गइसकेका छन् ।
अधिकारीले त्यसअघि पनि विनाप्रतिस्पर्धा नाम मात्रैको अन्तर्वार्ता लिएर २ सयभन्दा बढी करार र ज्यालादारीका कर्मचारी भर्ना गरेका थिए । त्यसमध्ये अवकाश जान एक महिनामात्रै बाँकी हुँदा उनले लिखित परीक्षा समेत नलिई ४५ कर्मचारी भर्ना गरेका थिए ।
अवकाशमा जाने बेला संस्थालाई दीर्घकालीन आर्थिक भार पर्ने खालको कुनै पनि निर्णय गर्न नमिल्नेमा उनले तेस्रो, चौथो र पाँचौं तहका कर्मचारीलाई नियुक्तिपत्र बाँडेका हुन् ।
नेवानिले १ असोज २०८२ मा चौथो (खरिदार) र पाँचौं (नासु) तहमा २५ कर्मचारी करारमा भर्ना गर्ने गरी सूचीसहित गोरखापत्रमा सूचना प्रकाशन गरेको थियो ।
त्यस्तै ६ असोजमा २० जना जुनियर ग्राउन्ड इक्विपमेन्ट अपरेटर (तेस्रो) तहका कर्मचारी भर्ना गर्न छनोट सम्बन्धी सूचना नेवानिले निकालेको थियो । तिनै कर्मचारीलाई मंगलबारदेखि हाजिर गराइएको निगमको ग्राउन्ड सपोर्ट विभागका निर्देशक कोइरालाले अनलाइनखबरलाई बताए ।
‘नियुक्तिपत्र लिएर आएका कर्मचारीलाई हाजिर नगराउने वा उनीहरूको नियुक्ति बदर गर्ने अधिकार मसँग छैन, मानव संसाधन विभागले दिएको नियुक्तिपत्र लिएर आएका कर्मचारीलाई हामीले हाजिर गराएका हौं,’ उनले भने ।
यसअघि नियुक्तिपत्र पाएका कर्मचारीलाई हाजिर नगराउनू भनेर कतैबाट पनि नआएकाले उनीहरूलाई हाजिर गराइएको निगमका प्रवक्ता सुवास डाँगीले बताए ।
निगमका निवर्तमान अध्यक्ष अधिकारीले प्रतिस्पर्धा नै नगराइ भर्ना गरेका कर्मचारीलाई हाजिर नगराउन ट्रेड युनियनले माग गरेकोमा विभागीय प्रमुखले उनीहरूलाई हाजिर गराएको नेवानि कर्मचारी संघ उपाध्यक्ष नेत्र राउतले बताए ।
‘यी कर्मचारी भर्ना गर्ने क्रममा जुन गतिविधि भएको छ, त्यो लज्जास्पद छ, निगम व्यवस्थापनले पैसा लिएर कर्मचारी भर्ना गरेको आरोप पनि लागेको छ,’ राउतले भने, ‘यस्तो अवस्थामा ती कर्मचारीलाई हाजिर नगराउन हामीले भनेका थियौं, तर ग्राउन्ड सपोर्ट विभागका निर्देशकले मान्नुभएन, बरु विरोध गर्ने युनियनकर्मीलाई कारबाही नै गर्नुभयो ।’
निगमले वरिष्ठ प्राविधिक पदमा ११ र प्राविधिक पदमा १३ कर्मचारी छनोट गर्ने सूचना १ असोजमा प्रकाशन गरेको थियो । ५ असार २०८२ मा प्रकाशित सूचना बमोजिम अन्तर्वार्ता गरी तीन वटै तहमा कर्मचारी छनोट गरिएको नेवानिले जनाएको छ ।
लोक सेवा आयोगको संगठित संस्थाका कर्मचारीको सेवाका सर्त सम्बन्धी कानुन, बढुवा र विभागीय कारबाही सम्बन्धी व्यवस्था सामान्यतया संगठित संस्थाले अस्थायी वा करारमा नियुक्ति गर्न पाइँदैन ।
तर, संगठनलाई आवश्यक कार्यालय सहयोगी र श्रेणीविहीन पदहरूमा कर्मचारी नियुक्ति गर्नुपरे मात्रै करार वा दैनिक ज्यालादारीमा राख्न पाइने व्यवस्था छ । त्यसरी अस्थायी वा करारमा कर्मचारी नियुक्ति गर्दा प्रतिस्पर्धाका आधारमा गर्नुपर्ने व्यवस्था समेत छ ।
तर, तत्कालीन अध्यक्ष अधिकारीले तेस्रो, चौथो र पाँचौं तहमा अत्यधिक मात्रामा कर्मचारी भर्ना गरेका छन् । विगतमा विभिन्न पार्टीका मन्त्री बन्दा उनीहरूलाई रिझाउन पार्टीका कार्यकर्तालाई करार र ज्यालादारीमा नियुक्ति दिलाउने गरेका थिए । त्यसरी भर्ना भएका पार्टीका कार्यकर्ताहरू २ सयभन्दा बढी भएको नेवानि स्रोत बताउँछ ।
अहिले जेनजी आन्दोलनले सत्ता परिवर्तन गरेको र सरकारले सुशासन कायम गर्ने प्रतिबद्धता पनि गरेको अवस्थामा अधिकारीले ठूलो रकम उठाएर तेस्रो, चौथो र पाँचांै तहका कर्मचारी लोक सेवा आयोगको अनुमति, लिखित जाँच लगायत प्रक्रिया नै पूरा नगरी भर्ना गरेको स्रोतले बतायो ।
नेवानिले अहिले चार जहाजले मुस्किलले उडान गरिरहेको छ । दुइटा वाइड बडी र दुई न्यारो बडी जहाज खरिद गर्दा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणसमेत नेवानिले तिर्न सकेको छैन ।
तर, नेवानिमा १ हजार ४ सयभन्दा बढी कर्मचारीले काम गरिरहेका छन् । त्यसमध्ये आधाभन्दा बढी विभिन्न समयमा राजनीतिक नियुक्ति पाएका पार्टीका कार्यकर्ता रहेको सम्बद्ध स्रोत बताउँछ ।
सरकार र पर्यटनमन्त्री फेरिएपिच्छे नेवानिमा ज्यालादारी र करारका कर्मचारी थपिने गरेका छन् । तर, यसपालि भने सरकार र मन्त्री हटेको मौका छोपी तत्कालीन कार्यकारी अध्यक्ष अधिकारीले आफूअनुकूल मानिसलाई नियुक्तिपत्र दिएर अवकाशमा गएका हुन् ।
अधिकारीले मात्रै भर्ना गरेका दैनिक ज्यालादारी तथा करारका कर्मचारीका लागि मासिक ६० देखि ७० लाख रुपैयाँ खर्च हुने गरेको स्रोत बताउँछ । अधिकारीले नयाँ आउने मन्त्रीलाई रिझाउने औजारका रूपमा कर्मचारी भर्ना गर्ने गरेको नेवानि स्रोत बताउँछ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4