News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं महानगरका मेयर बालेनले २४ भदौमा सेना प्रमुखसँग वार्ता गर्न तयार रहन आग्रह गरेका थिए तर संसद् विघटन हुनु पर्ने बताए।
- बालेनले प्रधानमन्त्री सुशीला कार्कीलाई दुईपटक भेटेर सरकारमाथि दबाब बढाउने गरी आफ्ना सरोकार राखेका छन्।
- सेनाले राजनीतिक संकट नियन्त्रणमा लिन दुई दिन समय लागेको र राष्ट्रपतिका स्वास्थ्य अवस्थाले पनि स्थिति साम्य पार्न बाधा पुर्याएको अनौपचारिक जानकारी छ।
कुनै बेला मैले भिडियो स्तम्भ चलाउँथें; जसको नाम थियो– च्या खानु भो ? यसपल्ट म चियाबाट कफीतर्फ सरेको छु। एस्प्रेसो अनलाइनखबरको ओपिनियन शट हो।
कतिपयले सोध्छन्, तिमी पत्रकार भएर किन विचार दिइराखेको ? खासमा मैले आफ्नो विचार दिएको होइन, विचार त तपाईंहरूभित्रै छ, जसलाई मैले जगाइदिएको मात्रै हो।
त्यसैले मेटाफोरिकल सेन्समा एस्प्रेसो हाम्रो ओपिनियन शट हो, आफ्नो सुविधा अनुसार यसको चुस्की लिंदै गर्नुहोला।
हुनत हेर्नुस् न, यहाँ मेटाफोरमा कुरा गर्ने वातावरण नै छैन। केही दिन अघिसम्म बालेनको किसान झैं फोहोर भन्ने प्रतीकमा पूरा विवाद मच्चियो।
बालेनले लेखेको कवितामा किसान झैं फोहोर भन्ने शायद प्रतीकात्मक उक्ति थियो, तर जनताले त्यसलाई प्रतीकमा बुझ्नै चाहेनन्। किनभने बालेन कहिले सिंहदरबार जलाउँछु भन्छन्; सेनासँग वार्ता गर, संसद् विघटन गर भन्छन्। बालेन जे सन्देश दिन्छन्, सिधा–सिधा बेरोकटोक दिन्छन्।
अनि उनको कविता र मेटाफोरलाई मान्छेले सिधै लिनपुगे। बालेन गल्ती गर्दैनन्, शायद दोष कविताकै हो।
अब एस्प्रेसोको पहिलो शटको मुद्दातर्फ आऊँ। कुमार नगरकोटीले २०५७ सालतिर एउटा कविता लेखेका थिए– नास्तिकहरु ईश्वर छैन भन्ने भ्रममा बाँच्छन्, आस्तिकहरू ईश्वर छ भन्ने भ्रममा।
काठमाडौंका मेयर बालेन यहीं उपत्यकाभित्रै होलान् तर कतै देखिंदैनन्। जबकि जेनजी आन्दोलनपछि देश उनकै एजेन्डामा हिंडेको छ।
जेनजी विद्रोहको दोस्रो दिन २४ भदौमा बालेनको स्टाटस आयो: सेना प्रमुखसँग वार्ता गर्न पनि तयार रहनुहोला। तर याद रहोस्; वार्ता गर्नुअघि संसद् विघटन भएको हुनुपर्छ।
जंगीअड्डाको उच्च सूत्रबाट यो लेखकले पत्तो पायो, बालेनले सेनासँग वार्ता गर भनेर जेनजी प्रदर्शनकारीलाई यस्सै मनमा फ्याट्ट आएर भनेको होइन रहेछन्। २४ भदौको दिउँसो प्रधानसेनापति अशोक सिग्देल स्वयंले उनलाई फोन गरी आग्रह गरेका थिए, अब आन्दोलनकारीलाई शान्त बन्न लगाउनुस्। हामी वार्ता गर्छौं।
बालेनले आफू जेनजी आन्दोलनकारीको प्रतिनिधि नभएको दाबी गरे पनि उनैले फेरि नवयुवालाई डुज् एन्ड डन्ट्सका लिस्ट नै फर्माइस गरेको त देखियो नै।
बालेनको शक्ति फेसबुकमा प्रमाणित छ। बस, ट्रक र माइक्रोहरूमा उनका तस्बिर छापिएका छन्। कुनै बेला जताततै टाँगिने चे ग्वेभारा झैं उनी नेपाली युवा आक्रोशका प्रतिनिधि स्वर बन्न पुगेका छन्।
बालेनको बोली जत्तिकै शक्तिशाली उनको मौनता छ। उनी बोल्दा जति प्रज्वलनशील छन्, नबोल्दा अझै विस्फोटक। त्यसैले मानिसहरूलाई उनले अल्फाबिटा कम्लेक्सका सञ्चालक थर्काउँदा जति स्वाद पर्छ, महानगरले गर्नैपर्ने नियमित सार्वजनिक सुनुवाइ नगरी एकला चलो रे शैलीमा हिंड्दिंदा उत्तिकै स्वाद पर्छ।
बालेनको उदय भएको थियो– कांग्रेस र एमालेले उम्मेदवारका नाममा मनलाग्दी थोपर्दा काठमाडौं महानगरका मतदाताहरूको विशाल विद्रोहबाट। छेवैको ललितपुर र भक्तपुरमा चिरीबाबु महर्जन र सुनिल प्रजापति दोहोरिएर मेयर चुनिंदा किन काठमाडौंमा बालेन रोजिन पुगे ? शायद यसको जवाफ उनले भन्दा बढ्ता ओली र देउवाले दिनुपर्छ।
तर अब बालेन चुनिएरै आइसकेपछि उनले आफ्नो भागको जवाफ भने आफैं दिनुपर्छ। यति बेला उनीमाथि प्रशंसाका सबै माला चुँडिने गरी आलोचना शुरु भएको छ। उनले संसद् विघटन गर, सेनासँग वार्ता गर भने।
जेनजीले सडकमा उनलाई खोजे उनी देखिएनन्। जेनजीले उनलाई आर्यघाटका चिताहरूमा बगिरहेका आँशु अनि समवेदनाहरूमा खोजे, उनी देखिएनन्। बालेन आऊ, प्रधानमन्त्री खाऊ, अहिलेको अराजकता र अशान्ति रोक भने, अहँ उनी त कतै देखिंदै देखिएनन्। केवल फेसबुकमा आक्कलझुक्कल भेटिए।
सरकार गठनमा निर्णायक भूमिका खेलेका बालेनले यस बीचमा प्रधानमन्त्री सुशीला कार्कीलाई दुईपटक भेटिसकेका छन्। याद गरौं उनी संघीय सरकारका प्रमुखलाई भेट्न यसअघि आनाकानी गर्दै आएका पालिका प्रमुख हुन्।
सरकारका एक मन्त्रीले अनलाइनखबरलाई बताए अनुसार केही दिनअघि उनले फेरि प्रधानमन्त्री कार्कीलाई भेटे। अघिल्लोपल्ट कुमार बेन सहित सौहार्द गफ गरी फर्केका उनी यसपल्ट एक्लै बालुवाटार गए। सरकारमाथि दबाब बढाउने गरी प्रस्तुत भएका उनले आफ्ना विभिन्न सरोकार प्रधानमन्त्री कार्कीसँग राखे।
कहिले नक्शामा ग्रेटर नेपाल खोज्ने, कहिले जुलुसमा फोहोर गरेको भनेर पार्टीहरूलाई पुर्जी काट्ने बालेन यो महाअग्निमा दमकल बनेर आएनन्। बरु महानगरका गाडीहरू विध्वंसका नाइकेहरूलाई पानीका बोत्तल पो बाँड्दै गरेका भेटिए।
याद गरौं, ७५३ पालिकामध्ये एक पालिकाको मेयर चुनिनेबित्तिकै बालेन सिधै सेनापति भेट्न जंगीअड्डा गएका थिए। जनप्रतिनिधिले सेनाप्रमुख भेट्नु आपत्तिजनक होइन, तर पालिकामा जितेका मेयरले अहिलेसम्मको कार्यकालमा किन नेपाल राज्यका अरू संस्थाहरूलाई खासै मान्यता दिने छाँट ल्याउँदैनन्, बरु जंगीअड्डातिर दगुर्छन् ?
सेनाले स्थितिलाई ढिलै भए पनि नियन्त्रणमा लिन पहल गर्यो। जंगीअड्डाले अनलाइनखबरलाई दिएको अनौपचारिक जानकारी अनुसार विभिन्न पक्षसँग गृहकार्य र सहमतिको खोजी गर्दा झन्डै दुई दिन समय लागेको थियो। त्यसबेला राष्ट्रपति पौडेलको स्वास्थ्य समेत राम्रो नभएकाले स्थिति साम्य पार्न समय लागेको सेनाको दाबी छ।
ठिक त्यही बेला सेनाप्रमुख सिग्देलले राष्ट्रका नाममा सम्बोधन गर्दै थिए। बालेनको चाहना पनि सेना नै सक्रिय बनोस् भन्ने नै थियो। दुर्गा प्रसाईंदेखि हर्क साम्पाङसम्म, दृश्यका जेनजीदेखि नचिनिएका थुप्रै पात्रसम्म सेनाकै वरिपरि चक्कर लगाइरहेका थिए।
बालेनले त्यो बेला सिधै भन्न सक्थे, बरु संकट समाधान गर्न नागरिकले चुनेका राष्ट्रपतिसँग वार्ता गर। तुरुन्तै बन्ने नागरिक सरकारसँग कुरा गर। तर बालेनले त्यसो भनेनन्, उनले किन उल्टै सेना गुहारे ? के नेपालको राजनीतिक संकटमा सेना सहायक होइन, निर्णायक भएर आओस् भन्ने उनको चाहना हो ? मौनतामा अल्झिरहेका मेयर बालेनले कुनै दिन यसको जवाफ देलान्।
अनि विपत्तिमा समयमै बाहिर नआएको भनेर आलोचित सेनाले समयक्रममा आफ्नो जवाफ देला भन्ने पनि सँगसँगै अपेक्षा गरौं।
बालेनप्रतिको प्रश्न भने अझै पनि सकिंदैन, डिस्कर्डदेखि फेसबुक, इन्स्टाग्रामदेखि टेलिग्रामसम्म जहाँतहीं बालेनकै खोजी थियो, उनले किन तत्परता लिएनन् ? यदि उनी यो आन्दोलनमा म छँदै थिइनँ, हुँदै नभएको मान्छेले किन र कसरी अग्रसरता लिने भन्छन् भने अर्को प्रश्न स्वतः उठ्छ : उसोभए उनले किन संसद् विघटनको माग राख, सेनासँग वार्ता गर भने ?
बालेन अरू बेला सिधै बोल्छन्, अनि जनताले उनको कविताका मेटाफोरलाई चाहिं किन सिधै नबुझ्ने ? सिंहदरबार जलाउने आवेगलाई विवेकले माथ गर्ने सुवर्ण अवसर बालेनले खेर फाल्दैछन्। इतिहास निर्दयी छ, यसले कसैलाई पनि फर्केर पर्खेको हामीलाई सम्झना छैन। बालेन मात्रै इतिहासमा अपवाद हुन सक्दैनन्।
पुरानो समाप्त भएको र नयाँ नजन्मिएको यो शून्यतामा बालेनले शायद पार्टी खोल्नुपर्ने छ। जेनजीहरूलाई एकत्रित गर्नुपर्नेछ। कांग्रेस, एमालेको विकल्पमा उनी कस्तो देश बनाउन चाहन्छन् भन्ने प्रश्नको जवाफ दिने गरी देखिनु र सुनिनुपर्नेछ।
तर, बालेन अदृश्य तरिकाले सरकार चलाइरहेका छन्, राजनीतिमा देखिएको शून्यता पूर्ति गर्ने आँट गरिरहेका छैनन्। अर्थात् जनताले खोजेका बेला उनी भेटिएका छैनन्।
कुनै बेला क्षेत्रप्रताप अधिकारीले राजाको प्रशस्ति लेखेका थिए— चौतारीमा राजा भेटियो। कुनै फ्यानले भन्दिन सक्छ— फल्चामा बालेन भेटियो।
तर बालेन भने उही नगरकोटीको कविता जस्तै यहीं छन् तर कतै देखिंदैनन्। फेसबुकमा मात्रै भेटिने बालेनले यही शून्यतामा रमाइरहन बानी परे भने यस्तो शून्यतामा अनेकखाले शक्तिहरू खेल्नेछन् र देशलाई थप अराजक बनाइदिनेछन्।
बालेनले अब भन्नुपर्छ उनले चाहेको के हो ? के उनी दल खोलेर चुनावमा सहभागी भइरहेका छन् ? वा उनी प्रत्यक्ष निर्वाचित कार्यकारीको रहरमै बस्न चाहन्छन् ? उनी चुनाव चाहिरहेका छन् वा अरू नै केही ? वैकल्पिक राजनीतिलाई एकाकार बनाउन खोजिरहेका छन् कि छैनन् ?
बालेन यतै कतै छन् भने अब उनले या त दृश्यमा देखिने हिम्मत जुटाउनुपर्छ या मसँग हिम्मत छैन भन्ने घोषणा गर्नुपर्छ। पहिलो काम त जसरी गरे पनि हुन्छ। दोस्रो कामतिर झुकाव हो भने फेसबुकबाटै स्टाटस ठोकिदिए पनि हुन्छ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4