 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भदौ २३ र २४ मा भएको जेनजी नवयुवा विद्रोहपछि सहकार्य र एकता प्रक्रियामा अघि बढेको छ।
- उपसभापति स्वर्णिम वाग्ले र डीपी अर्यालको संयोजनमा रास्वपा जेनजीका विभिन्न समूहसँग आन्तरिक परामर्शमा जुटेको छ।
- रास्वपा र कुलमान घिसिङ पक्षबीच पार्टी एकताको सम्भावना र चुनाव चिह्न तथा नामबारे छलफल भइरहेको छ।
१२ कात्तिक, काठमाडौं । सुरुमा त रास्वपालाई जेनजी विद्रोह खासमा के–कसरी भएको हो भनेर खुट्याउनै समय लाग्यो ।
केन्द्रीय समितिका केही युवा नेताहरू सडकमा उत्रिएका जेनजी नवयुवाको समर्थनमा माइतीघरदेखि बानेश्वरसम्म देखिए पनि सिंगो पार्टीले आत्मसात् गर्न सकेन ।
तर अहिले रास्वपा एकाएक सहकार्य तथा एकता प्रक्रियाको ढोका खोल्न अघि बढेको छ । भदौ २३ र २४ मा घटित नवयुवा विद्रोह तथा विध्वंसको बारेमा केही भर्चुअल बैठक तथा अन्तर्क्रियापछि रास्वपा यो नयाँ परिस्थितिलाई नेतृत्व लिने र सम्हाल्ने मनस्थितिमा पुगेको हो ।
सभापति लामिछानेको निर्देशन तथा दुई उपसभापति स्वर्णिम वाग्ले र डीपी अर्यालको संयोजनमा रास्वपा यतिखेर जेनजी युवा, बालेन समूह तथा कुलमान घिसिङ पक्षसँग आन्तरिक परामर्शमा जुटेको छ ।
विभिन्न पक्षसँग उच्चस्तरीय संवादका लागि संयोजक तोकिएका उपसभापति स्वर्णिम वाग्लेले कुलमान घिसिङ र बालेन समूहका प्रतिनिधि दुवैतर्फ एकसाथ छलफल गरेका छन् । उनले आफ्नो रविभवनस्थित कार्यालयमा केही जेनजी प्रतिनिधि बोलाएर छलफल गरेका छन् ।
जेनजीभित्र एउटै समूह नभएकाले रास्वपा कुन चाहिँ समूहसँग कुरा अघि बढाउने भन्ने द्विविधामा देखिन्छ । जेनजीको एउटा ठूलो समूहसमेतको समर्थनमा दुई दिनभित्र दल दर्ताको प्रक्रिया अघि बढिरहेको र त्यसमा आफ्नो दलबाट बाहिरिएकी सुमना श्रेष्ठसहितका नेता सामेल हुन लागेको तथ्यसँग रास्वपा नेतृत्व जानकार छ ।
तर जेनजीका अरू युवाहरूलाई नजिक्याउन रास्वपाकै नेताहरू सक्रिय देखिन्छन् ।
यी सबै छलफलबारे नख्खु कारागारमा रहेका सभापति लामिछाने, अनि पार्टीको उच्च तह जानकार देखिन्छ । वाग्लेले केही दिनअघि ऊर्जामन्त्री कुलमान घिसिङसँग राजधानीकै एक गोप्य ठाउँमा लामो डिनर वार्ता गरेका छन् ।
कुलमान घिसिङ रास्वपामा आउनसक्ने दाबी गर्दै पुकार बम नेतृत्वको एकता कार्यदलले छलफल चलाउँदै गर्दा उपसभापति वाग्लेले आयातित सभापति ल्याउन नसकिने सार्वजनिक अडान राखेका थिए ।
रास्वपाको एउटा पक्षले एकता भाँड्न उपसभापतिकै तहबाट अभिव्यक्ति आएको आरोप लगाए पनि वाग्ले र कुलमानबीच त्यसपछि समेत अरू केही चरणमा समेत कुरा भएको बुझिएको छ ।
‘कुलमान घिसिङले रास्वपासँग एकता हुने अवस्था आए उज्यालो नेपाल भन्ने नामलाई पार्टीकै नाममा थप्नुपर्ने शर्त राख्नुभयो, अनि चुनाव चिह्नका बारेमा पनि उहाँका आफ्ना भनाई थिए,’ उच्च स्रोतले भन्यो, ‘वाग्लेले उज्यालो नेपालको नारालाई पार्टीको चुनावी वाचापत्रको कभरमै समेटेर जान सकिने विकल्प दिनुभएको छ, उहाँले बरु कुलमान घिसिङका लागि आफ्नो उपसभापति पदसमेत त्याग गर्न सक्ने भन्दै अहिले सभापति पदको दाबी नगर्न आग्रह गर्नुभएको हो, आयातित भनेर ह्युमिलियट गर्न खोजेको होइन ।’
विगतमा लोडसेडिङ अन्त्यको प्रयासमार्फत् राष्ट्रव्यापी चर्चामा आएका विद्युत प्राधिकरणका पूर्वकार्यकारी घिसिङले त्यही सफलतालाई आफ्नो राष्ट्रिय राजनीतिक महत्वाकांक्षासँग जोड्न खोजेका छन् । वाग्लेले त्यो नारालाई लाक्षणिक रूपमा अबको नेपालको समृद्धि र आर्थिक सफलतासँग जोड्दै उज्यालो नेपाल भन्न सकिने विकल्प दिएका थिए ।
‘उपसभापतिज्यूले विगतमा बीपी कोइराला जेलमा छँदा कृष्णप्रसाद भट्टराईले आठ वर्ष कार्यवाहक सभापति चलाएको अनि महाधिवेशन नहुँदासम्म लामै कार्यवाहक चलाएको इतिहास सम्झाउनुभयो, अहिले पार्टी सभापति लामिछाने राजनीतिक पूर्वाग्रह तथा प्रतिशोधवश जेलमा राखिएकाले यही अवस्थामा उहाँको विकल्प खोज्न नहुने उहाँको भनाइ हो,’ रास्वपाका एक शीर्षस्थ नेताले भने, ‘अरू पदमा समेटिएर रास्वपासँग एकतामा जाने वा नजाने भन्नेबारे कुलमानजीले साथीहरूसँग छलफल गर्ने भन्नुभएको छ ।’
खासमा घिसिङको प्राथमिक योजना भने रास्वपासँग एकता गर्ने भन्ने छैन । यद्यपि वाग्लेले अब छोटो समयमा सबै जिल्ला र पालिकामा संगठन तथा प्रभाव पुर्याउन कुनै पनि नयाँ दललाई सहज नहुने भन्दै साझा विचार र लक्ष्यमा बाँधिएर अघि बढ्न आग्रह गरेका छन् ।
घिसिङ यति बेला भारतमा रहेकाले नयाँ दल नै बनाएर जाने वा अरूसँग सहकार्य गर्ने भन्ने कुरा अड्किएको छ । उनको प्रस्तावित नयाँ दल दर्ता प्रक्रियाका लागि विधान, घोषणापत्र लेखन तथा प्राविधिक बौद्धिक सहयोग दिइरहेका प्राध्यापक मुक्तसिंह लामाले अझै केही दिन लाग्ने बताए ।
‘एकता सहकार्य कोसँग हुन्छ भन्ने कुराका लागि त कुलमानजीसँगै कुरा गर्नुहोला, तर आफ्नै दल बन्न सक्छ भन्ने मानेर प्रस्तावित पार्टी नामका लागि १५–१६ वटा विकल्पमा छलफल भइरहेको छ,’ लामाले भने, ‘समूहले छलफल तथा तयारी गरिरहेको छ । अहिले सबै कुरा भन्न सकिने अवस्था छैन । उज्यालो नेपाल नाम अरू कसैले लिइसके पनि त्यो खारेज भइसकेको जस्तो पनि देखिन्छ । त्यो नै हाम्रो दलको नाम पनि हुन सक्छ ।’
रास्वपाले हिजो मंगलबार बालेन साह निकट पक्षसँग लामो वार्ता गरेको थियो । वाग्लेसहित केही नेता त्यसमा सामेल थिए भने बालेन पक्षबाट सुशील ढकालसहित केही युवा सामेल थिए ।
उनीहरूले सहकार्यका सम्भावनाबारे खुलेर कुरा गरेको बुझिएको छ ।
असोज तेस्रो साता नख्खु कारागार गएर कुमार बेनले रवि लामिछाने स्वयंसँग छलफल गरेका छन् ।
लामिछानेले जेनजी विद्रोहले दल तथा राजनीतिक संरचनामा ठूलो पुनसंरचना माग गरेको भन्दै सानातिना आकांक्षा र पदीय लेनदेनमा नअड्किई एकता वा गठबन्धन वा कुनै पनि मोडालिटीको विकल्पमा खुला छलफल गर्न बेनलाई आग्रह गरेका थिए ।
लामिछानेले पार्टीको महत्त्वपूर्ण निर्णयमा वाग्ले तथा अर्यालसँग गरिने छलफल आफूलाई मान्य हुने पनि बेनलाई बताएका छन् । तर बालेन पक्ष भने रास्वपाले यसअघि संसदीय चुनावमा महत्त्वपूर्ण सिटहरू जितिसकेको लिगेसी देखाउँदै आफूहरूलाई दबाबमा राख्न खोजेको बुझाईमा छ ।
‘घण्टी चिह्नको मोह देखियो, अनि आफ्ना नेताहरूलाई प्राथमिकता बढी दिन खोजेको देखिन्छ,’ बालेन पक्ष भन्छ, ‘अहिले युवाको सपना साकार पार्न मिलेर जाने बेला हो । यो बुझ्न चाहिँ राजनीतिमा समय लाग्ने रहेछ ।’
वाग्लेको टिमले उच्च स्तरीय संवादका लागि विभिन्न दल तथा पक्षसँग कुरा गरिरहेकै बेला जेनजी सहितको पुस्तासँग संवाद गर्न गठन भएको पुकार बमको कार्यदलले विभिन्न पक्षसँग वार्ता तथा अन्तर्क्रिया गरिरहेको छ ।
पुकारको नेतृत्वमा रहेको कार्यदलमा सोविता गौतम, क्रान्तिशिखा धिताल, गणेश कार्की तथा ज्वाला संग्रौला सदस्य छन् । यो पाँच सदस्यीय कार्यदलले जेनजीका विभिन्न समूह सहित अन्य दलका नेताहरूसँग पनि संवाद गरेको छ ।
उच्च संवाद समितिका संयोजक रहेका डा. स्वर्णिम वाग्लेले विश्वासको वातावरण जागृत भएको, तर छलफल टुंगोमा पुगिनसकेको भन्दै केही दिन पर्खन आग्रह गरे । उनले आफ्नो समितिले शीर्षस्थ तहमा तथा पुकार बमको समितिले जेनजीसहितका विभिन्न पक्षसँग कुरा गरिरहेको भन्दै सकारात्मक परिणामको अपेक्षा गरिएको सुनाए ।
‘अहिले वैकल्पिक राजनीति तथा नयाँ परिस्थितिमा जानुपर्ने आग्रह गर्ने सबैजसो साथीहरूसँग केही चरणमा कुरा गरेका छौं,’ डा. वाग्लेले अनलाइनखबरसँग भने, ‘भेटघाटका पहलहरू हामीले नै लिएका छौं, कतिपय जेनजी र दल खोल्न आकांक्षी मित्रहरूले हामीलाई समेत खोज्दै आउनुभएको छ । नयाँ परिस्थितिलाई सम्हाल्ने तत्परतासहित वार्ताहरुले गति लिएका छन् ।’
वाग्लेले शुक्रबार एक बजे सिंहदरबारमा सामूहिक रूपमा समेत सहकार्य र एकताका विकल्पहरूमा छलफल गरिने जानकारी दिए ।
कार्यदलका एक सदस्यका अनुसार सुशासनको मुद्दा उठाएका जेनजीहरू सहकारीको रकम अपचलनमा कारागारमा रहेका रविलाई स्वीकारेर पार्टीमा सहभागी हुन सकिन्न भन्ने विचार राखेका छन् । रास्वपाले भने लामिछानेबाट त्रुटि हुन सक्ने भए पनि विगतको सरकारले साँधेको प्रतिशोध बिर्सन नहुने भन्दै पुराना दललाई सबक सिकाउन पनि मिल्नुपर्नेमा जोड गर्यो ।
रास्वपा सैद्धान्तिक रूपमा नयाँ धारका युवा तथा विभिन्न पक्षसँग मिल्नुपर्ने आह्वानसहित अघि बढेको देखिन्छ । पार्टीभित्रैको ठूलो समूह सभापति लामिछानेको विकल्प खोज्न यति बेला तयार देखिँदैन । वाग्ले, सोविता गौतम लगायत नेताले रविको विकल्प अहिले सोच्न नसकिने बताएका छन् ।
गौतमले पार्टी सचिवालय बैठकपछि भनेकी छन्, ‘कोही व्यक्ति पार्टीमा प्रवेश गरेर भइरहेको संगठनमा हालीमुहाली गर्न सकिने कल्पना गर्न सकिँदैन ।’
दोस्रो पक्ष भने लामिछानेलाई प्रस्तावित एकीकृत दलको संरक्षक वा सर्वोच्च नेता मानेर अर्को व्यक्तिलाई सभापति मान्नुपर्ने जिकिरमा छ । यी बिन्दुमा कुरा नमिलेर एकता प्रक्रियाका संवाद अघि बढाउन नसकिएको नेताहरूले बताएका छन् ।
‘बालेन आएमा रवि दाइले उहाँलाई सभापति मान्न तयार हो, तर बालेन नै सभापति हुन चाहँदैनन्,’ वार्ता टोलीका एक नेताले भने, ‘सभापतिको आकांक्षी अरू वैकल्पिक नाममा भने रवि दाइको खासै इच्छा छैन ।’
एकता प्रक्रिया अघि नबढे बृहत् गठबन्धन बनाएर नयाँ वैकल्पिक पार्टीहरूको साझा चुनावी अभियान बनाउन सकिने सम्भावनातर्फ समेत रास्वपाले ढोका खुला गरेको छ ।
एकता वार्ता अभियानमा सक्रिय कार्यदलमध्येका एक सदस्य गणेश कार्कीले बृहत्तर सहकार्य अहिलेको आवश्यकता भए पनि व्यक्तिका निहित स्वार्थ हावी हुँदा प्रगति अड्किएको दुखेसो गरे । ‘आफ्नो आफ्नो स्वार्थ बिसाएर एकजुट हुनुपर्ने हो, तर विभिन्न परिस्थितिवश त्यो वातावरण बनेको छैन,’ उनले भने, ‘तर कुनै न कुनै किसिमको सहकार्य हुनैपर्छ ।’
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4