 
																			१३ कात्तिक, काठमाडौं । चीनले विद्युत् सवारीसाधन उद्योगका लागि दशकौँदेखि दिंदै आएको सरकारी अनुदान (सहुलियत) अन्त्य गर्ने स्पष्ट संकेत गरेको छ।
समाचार संस्था रोयटर्सका अनुसार, वर्षौँको ठूलो सरकारी सहयोगले देशमा ईभी उद्योगको तीव्र वृद्धि सम्भव बनाएको थियो । यही सहुलियतकै कारण विश्वकै दोस्रो ठूलो अर्थतन्त्र चीन ईभीको अत्यधिक उत्पादनको समस्यामा फसेको छ ।
चीनका शीर्ष नीति निर्माताहरूले हालै सार्वजनिक गरेको २०२६/२०३० को पाँच वर्षे राष्ट्रिय विकास योजनामा विद्युत् सवारीसाधन उद्योगलाई ‘रणनीतिक उद्योग’ को सूचीबाट हटाएका छन्। पछिल्लो एक दशकमा पहिलोपटक चीनले ईभी क्षेत्रलाई रणनीतिक उद्योगको सूचीबाट हटाएको हो ।
‘उद्योगलाई अब बजारले चलाओस्’
विश्लेषकहरूका अनुसार, यो कदमले बेइजिङले ईभी उद्योगलाई अब परिपक्व मानेको र यसलाई पहिलेको जस्तै आर्थिक सहयोग आवश्यक नरहेको ठानेको स्पष्ट गर्छ। यसपछि उद्योगको भविष्य बजारको प्रतिस्पर्धाले निर्धारण गर्नेछ।
सरकारको यो रणनीतिको अर्थ ईभी उद्योग अप्रासंगिक भएको भन्ने होइन। राष्ट्रपति सी जिनपिङ स्वयंले पनि यस क्षेत्रमा अत्यधिक प्रतिस्पर्धाको आलोचना गर्दै आएका छन् । तापनि चीन अझै पनि ईभी प्रविधि र ब्याट्री उत्पादनमा विश्व अगुवा नै हो ।
विश्व्यापी व्यापार र सुरक्षासम्बन्धी तनावहरू बढिरहेको बेला चीनले ईभीबाट स्रोतहरू अरू प्रविधिहरूमा केन्द्रित गर्ने उद्देश्य राखेको बुझिन्छ जहाँ चीन अझै बलियो हुन चाहन्छ ।
युरेसिया ग्रुपका चीन निर्देशक डान वाङ भन्छिन्, ‘यो आधिकारिक स्वीकृति हो कि अब ईभी उद्योगलाई प्राथमिकतापूर्ण नीति आवश्यक छैन। ईभी सब्सिडी क्रमशः अन्त्य हुँदैछ।’
उनी थप्छिन्, ‘चीनले पहिले नै ईभी प्रविधि र ब्याट्री क्षेत्रमा प्रभुत्व जमाइसकेको छ, त्यसैले यसलाई अझ प्राथमिकता दिनुपर्ने कारण छैन। अब को टिक्छ र को हराउँछ भन्ने बजारले नै तय गर्नेछ ।’
सहुलियतले ईभीमा रचेको इतिहास

यसअघिका तीनवटा पञ्चवर्षीय योजनामा विद्युत्, प्लग–इन हाइब्रिड र फ्युल–सेल सवारीसाधन गरी तीन नयाँ ऊर्जा सवारीसाधन (एनईभी) लाई ‘रणनीतिक उदीयमान उद्योग’ का रूपमा समावेश गरिएको थियो । त्यसैले सरकारले अटो निर्माता र उपभोक्ता दुवैलाई प्रोत्साहित गर्न अर्बौँ डलर बराबरको सहायता दिएको थियो।
यस सहयोगबाट चीनले बीवाईडी जस्ता अग्रणी कम्पनीहरूको नेतृत्वमा सशक्त आपूर्ति शृङ्खला निर्माण गर्न सक्षम भयो। हाल चीन विश्वको सबैभन्दा ठूलो एनईभी बजार बनेको छ । सन् २०२४ को जुलाईसम्म एनईभीले देशको कुल सवारी बिक्रीको ५० प्रतिशतभन्दा बढी ओगटिसकेको थियो, जुन नीति निर्माताको लक्ष्यभन्दा १० वर्ष अगाडि प्राप्त उपलब्धि हो।
तर तीव्र वृद्धिले उल्टो असर पनि ल्यायो । सरकारी लक्ष्यका कारण धेरै घरेलु ब्रान्डहरूले बजारको मागभन्दा बढी सवारी उत्पादन गरे, यसले अत्यधिक क्षमताको समस्या (ओभरक्यापासिटी) निम्त्यायो।
अनुसन्धान संस्था जातो डाइनामिक्सका अनुसार, चीनमा सञ्चालनमा रहेका १६९ अटो निर्माता मध्ये ९३ कम्पनीको बजार हिस्सेदारी ०.१ प्रतिशतभन्दा कम छ।
चाइना इन्स्टिच्युट फर डब्ल्यूटीओ स्टडिजका डिन प्रोफेसर तु शिनक्वान भन्छन्, ‘राष्ट्रिय दृष्टिकोणले हेर्दा एनईभीमा अब यति धेरै ध्यान दिन आवश्यक छैन; त्यसले अझ बढी अति–उत्पादन हुन सक्छ।’
उनका अनुसार, यद्यपि एनईभी उद्योग राष्ट्रिय योजना सूचीबाट हटाइए पनि उद्योग मन्त्रालय र राज्य योजना बनाउने निकायहरूले यसको भविष्यको दिशा तय गर्ने थप नीति ल्याउने सम्भावना छ।
अब फोकस नवप्रवर्तन र गुणस्तरमा
चीनीयाँ नीतिनिर्माताहरूले लामो समयदेखि ईभी उद्योगलाई दीर्घकालमा आत्मनिर्भर बनाउने उद्देश्य राखेका थिए। त्यसैले पछिल्ला वर्षहरूमा सब्सिडी र कर छुटहरू क्रमशः घटाउँदै लगिएका छन्।
सन् २०२२ को अन्त्यमा उपभोक्ताका लागि ईभी खरिदमा दिइने राष्ट्रिय अनुदान अन्त्य गरिएको हो।

सन् २०२७ सम्म खरिद कर छुट पनि चरणबद्ध रूपमा हटाइने योजना छ। तर केही उद्योग संघहरूले यो प्रक्रिया विस्तारै अगाडि बढाउन आग्रह गरिरहेका छन्।
एक चिनियाँ नीति सल्लाहकारले नाम नबताउने सर्तमा भने, ‘ईभीहरू अब ‘उदीयमान उद्योग’ को सूचीमा नपरेको अर्थ यो होइन कि तिनीहरू महत्वपूर्ण छैनन्। हाम्रो निर्यात, अटो उद्योगको नाफा, आपूर्ति शृङ्खला र विश्व नेतृत्व हेर्नुहोस्, एनईभी अझै पनि अत्यन्तै महत्वपूर्ण छन्।’
तर यो औपचारिक परिवर्तनपछि अटो निर्माताहरूले अब बजार प्रतिस्पर्धामै आफ्नो भविष्य निश्चित हुने अवस्थाको सामना गर्नुपर्नेछ।
सन् २०२४ को पहिलो छ महिनामा सूचीबद्ध १७ चिनियाँ अटो कम्पनीमध्ये ११ कम्पनी मात्र नाफामा थिए।
चाइना प्यासेन्जर कार एशोसिएसनका महासचिव कुई डोङ्सु भन्छन्, ‘नयाँ योजना पहिलाभन्दा बढी लक्षित नीतिहरूमा केन्द्रित हुनेछ । उद्योगलाई सरकारी सहयोगबाट बिस्तारै स्वतन्त्र बनाउँदै लगिनेछ।’
अब ईभी निर्माताहरूलाई नवप्रवर्तनमा जोड दिनु र न्यून–गुणस्तरका सवारीसाधनको उत्पादन नियन्त्रण गर्नु आवश्यक हुनेछ।
काउन्टरप्वाइन्ट रिसर्चका विश्लेषक साओचेन वाङ भन्छन्, ‘चीनियाँ बजार विशाल छ। त्यसमा टिक्न प्रत्येक ब्रान्डले आफ्नो मौलिक बलियो पक्ष विकास गर्नुपर्छ। उदाहरणका लागि बीवाईडी र लिपमोटरले आपूर्ति शृङ्खला एकीकरण बढाएर उत्पादन लागत घटाएका छन्, जबकि शाओमी र हुवाएले आफ्नो ब्रान्ड प्रभाव र स्मार्ट प्रविधिका कारण उपभोक्ता तानेका छन्।’
रोयटर्सका अनुसार, चीनले अब ईभी उद्योगलाई ‘सरकारी प्राथमिकता’ भन्दा बढी ‘बजार–आधारित उद्योग’ बनाउने संकेत दिएको छ।
यसले सब्सिडी घटाउने, नवप्रवर्तनमा जोड दिने र अत्यधिक उत्पादन घटाउने नीति अपनाउने सम्भावना देखिन्छ । यसको अर्थ हो- अब चीनको ईभी उद्योगलाई साँचो अर्थमा बजारले नै चलाउनेछ .
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4