 
																			१३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य विद्या तिमिल्सिनाले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले जेनजी आन्दोलनका क्रममा आक्रमणमा परेका सभापतिको स्वास्थ्य लाभको कामनासमेत नगरेको भन्दै आपत्ति जनाएकी छन् ।
ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकमा बिहीबार उनले जेनजी आन्दोलनपछि विकसित घटनाक्रमबारे छलफल गर्न बसेको बैठकबाट सभापति शेरबहादुर देउवाको स्वास्थ्य लाभको कामना नगरिएको भन्दै आपत्ति जनाएकी हुन् ।
‘कार्यसम्पादन समितिको बैठक बस्नु भयो । तर, सभापतिलाई स्वास्थ लाभको कामनासमेत गर्नु भएन,’ तिमिल्सिनाले भनिन्, ‘हाम्रो भ्रातृ संघ, शुभेच्छुक संघ धेरै छन् । तर, हाम्रो सभापति र हाम्रो नेताको संरक्षण गर्न सकेनन् ।’
उनले जेनजी आन्दोलनका क्रममा देश जल्नुका साथै पार्टी सभापति देउवामाथि कुटपिट हुने अवस्था आउनुको कारण खोज्नुपर्ने बेला विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन गरिनु उचित नभएको पनि बताइन् ।
‘देश २४ घन्टामा जलेको छ । हाम्रो सभापति र केन्द्रीय सदस्य लाई कुटेका छन्,’ नेतृ तिमिल्सिनाले भनिन्, ‘यस्तो अवस्थामा कसरी यो घटना भयो भनेर खोजतलास गर्नु त परको कुरा विशेष अधिवेशन गरौँ भनेर लाग्नु राम्रो होइन ।’
नेतृ तिमिल्सनाले केन्द्रीय कार्यसमिति बैठकबाट बिना कुनै हिच्किचाहट पार्टी एकता, आगामी निर्वाचन र महाधिवेशनबारे निर्णय गर्नुपर्नेमा जोड दिइन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4