 
																			१३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजन केसीले जेनजी आन्दोलनका क्रममा भएको आक्रमण र लुटपाटलाई शीर्ष नेताहरूले गरेको मूल्यांकनबारे प्रश्न गरेका छन् ।
केन्द्रीय कार्यसमितिको बिहीबारको बैठकमा उनले आन्दोलनका क्रममा पार्टीका नेताहरूको घरमा आक्रमण र लुटपाट भएको भन्दै त्यसका प्रति शीर्ष नेताहरूको मूल्यांकनबारे प्रश्न गरेका हुन् ।
‘जेनजी आन्दोलनमा छानी छानी नेपाली कांग्रेसका कार्यकर्ताका घरहरू जलाइएका छन् । लुटिएका छन् । यो सम्बन्धमा पार्टीका नेताहरूले कसरी यसलाई हेरिरहनुभएको छ,’ केसीले भने, ‘कसरी मूल्यांकन गरिरहनुभएको छ । अब हामीले कसरी ऊर्जा प्राप्त गर्न सक्छौँ । भन्ने सम्बन्धमा पार्टीका नेताहरूलाई नै प्रश्न गर्न चाहन्छु ।’
पार्टीको नेतृत्व कसले लिने भन्ने विषय भोलिको कुरा भएको भन्दै उनले विगतमा आफूहरूले जनतालाई कति सन्तुष्ट पार्न सकियो भनेर पनि प्रश्न गरे ।
‘भोलिको सभापति हुने, को उपसभापति हुने, कसले पाउने भन्ने पछिको कुरा हो । तर, हिजोका दिनमा हामीले जनतालाई सन्तुष्ट पार्न सक्यौं ? जनताले हाम्रो कसरी मूल्यांकन गरिरहेको रहेछ ? के हामीले शासन सञ्चालन राम्रो गरेका रहेछौं ?,’ नेता केसीले प्रश्न गरे ।
उनले २४ भदौमा सभापति शेरबहादुर देउवामाथि सांघातिक आक्रमण भएको बताए । ‘आदरणीय सभापतिज्यूप्रति म आभार व्यक्त गर्न चाहन्छु । अत्यन्त दर्दनाक अकल्पनीय घटना घट्यो,’ उनले भने, ‘तपाईंप्रति म हृदयदेखि नै भावनात्मक रुपमा समवेदना व्यक्त गर्न चाहन्छु ।’
केसीले मुलुकको विषम् परिस्थितमा संविधानको रक्षा गरेको भन्दै सम्मान व्यक्त गरे । ‘सम्मानीय राष्ट्रपतिज्यू अत्यन्त विषम परिस्थितिमा जनताको संविधानलाई जीवित राख्न सफल हुनुभयो,’ उनले भने, ‘सम्मानीय राष्ट्रपतिज्यू प्रति पनि म अत्यन्त आभार व्यक्त गर्न चाहन्छु ।’
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4