 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले परमाणु हतियार परीक्षण थप गर्न अमेरिकी युद्ध विभागलाई निर्देशन दिएका छन्।
- रूसी सेनाका प्रमुख जनरल भ्यालेरी जेरासिमोभले शक्तिशाली 'बुरेवेस्तनिक' क्रूज मिसाइलको सफल परीक्षण गरेको बताएका छन्।
- रूसी राष्ट्रपति पुटिनले परमाणु नीति परिमार्जन गर्दै संयुक्त आक्रमणलाई परमाणु प्रतिकारको आधार बनाउने प्रस्ताव स्वीकृत गरेका छन्।
१३ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकासँग अरु देशभन्दा बढी परमाणु हतियार रहेको दाबी गर्दै थप परीक्षण अघि बढाउन निर्देशन दिएको बताएका छन् ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’ मा लेखेका छन्, ‘यो उपलब्धि मेरो पहिलो कार्यकालमा हासिल गरिएको हो, जतिखेर विद्यमान हतियारहरूलाई पूर्ण रूपमा आधुनिक र नयाँ बनाइयो ।’
परमाणु हतियारहरूको भयानक विनाशकारी शक्तिका कारण त्यसको प्रयोग गर्न आफूले नचाहेको तर त्यसको विकल्प नभएको बताए ।
ट्रम्पका अनुसार परमाणु हतियारको विकासमा रूस दोस्रो र चीन तेस्रो स्थानमा छन् । तर चीन पाँच वर्षभित्र अमेरिकासँग बराबरीमा पुग्न सक्ने बताए । त्यसैले आफूले अमेरिकी युद्ध विभागलाई थप परमाणु हतियार परीक्षण गर्न निर्देशन दिएको बताए ।
उनले भने, ‘अन्य देशहरूको परमाणु परीक्षण कार्यक्रमलाई ध्यानमा राख्दै मैले ‘डिपार्टमेन्ट अफ वार’ लाई अमेरिकी परमाणु हतियारको परीक्षण सुरु गर्न निर्देशन दिएको छु ।’ यो प्रक्रिया तत्काल सुरु हुने उनको भनाइ छ ।
रूसको मिसाइल परीक्षण
यसअघि २६ अक्टोबरमा रूसी सेनाका प्रमुख जनरल भ्यालेरी जेरासिमोभले रूसले परमाणु ऊर्जाबाट चल्ने शक्तिशाली ‘बुरेवेस्तनिक’ क्रूज मिसाइलको सफल परीक्षण गरेको बताएका थिए ।
टेलिभिजनमा प्रत्यक्ष प्रसारण भएको बैठकमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई जानकारी दिंदै उनले भनेका थिए, ‘हामीले परमाणु ऊर्जाले सञ्चालित मिसाइलको धेरै घण्टा लामो उडान सञ्चालन गरेका छौं । यस मिसाइलले १४ हजार किलोमिटर (८,७०० माइल) दूरी तय गरेको छ, जुन यसको अधिकतम सीमा होइन ।’
सन् २०१८ मा घोषणा गरिएको यो मिसाइल कम उचाइमा उड्छ । लामो दूरीसम्म मार हान्ने र मिसाइल डिफेन्स प्रणालीलाई समेत छल्न सक्ने भएकाले यसलाई शक्तिशाली मानिन्छ ।
रूसी सेनाका प्रमुख जनरल जेरासिमोभको दाबी अनुसार, यो मिसाइलले २१ अक्टोबरमा भएको परीक्षणमा १५ घण्टा हवाई उडानमा थियो ।
तर, पश्चिमा देश विशेषज्ञहरूले यसअघि नै रूसको सफल परीक्षण सम्बन्धी दाबीमाथि शंका व्यक्त गरेका थिए । यसअघि सन् २०२३ मा पुटिनले पनि सफल परीक्षणको दाबी गरेका थिए, तर त्यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।
रूसबारे अमेरिकी आशंका
ट्रम्पले अमेरिकासँग सबैभन्दा धेरै परमाणु हतियार भएको बताएका छन्, तर सन् २०२२ का तथ्यांकअनुसार रूस नै पहिलो स्थानमा रहेको छ ।
गत वर्ष रूसी राष्ट्रपति पुटिनले रूसको परमाणु नीति परिमार्जन गर्ने प्रस्ताव स्वीकृत गरेका थिए । नयाँ नीतिअनुसार, यदि कुनै देशले आफूसँग परमाणु हतियार नभए पनि कुनै परमाणु हतियारसहितको देशसँग मिलेर रूसमाथि आक्रमण गर्छ भने त्यसलाई संयुक्त आक्रमण मानिनेछ ।
अमेरिका र बेलायत सहित नेटोका ३२ देशहरू मिलेर युक्रेनको पक्ष लिएको रूसको आशंका छ ।
रूसी परमाणु नीति अनुसार, यदि रूसमाथि मिसाइल, ड्रोन वा हवाई आक्रमण भएमा रूसले आफ्ना परमाणु हतियार प्रयोग गरेर प्रतिकार गर्न सक्छ ।
साथै यदि कुनै देशले नयाँ सैन्य गठबन्धन बनायो, पुरानो गठबन्धन विस्तार गर्यो, रूसको सीमानजिक सैन्य संरचना निर्माण गर्यो वा सैन्य गतिविधि बढायो भने पनि रूसले परमाणु हतियार प्रयोग गर्न सक्नेछ ।
अमेरिकालाई रूसको चेतावनी
रूसले यसअघि पनि अमेरिका र अन्य पश्चिमी देशहरूलाई परमाणु युद्धको जोखिमबारे चेतावनी दिएको थियो ।
गत वर्ष मार्चमा पुटिनले भनेका थिए, ‘रूस परमाणु युद्धका लागि तयार छ । यदि अमेरिकाले आफ्नो सेना युक्रेन पठायो भने स्थिति नियन्त्रणबाहिर जानेछ ।’
विशेषज्ञहरूका अनुसार, यद्यपि कुनै देशले आफ्नो परमाणु हतियारको वास्तविक संख्या सार्वजनिक गर्दैन । ‘फेडेरेसन अफ अमेरिकन साइन्स्टिस्ट्स’ (फास) का अनुसार सन् २०२२ सम्म रूससँग करिब ५,९७७ परमाणु हतियार थिए, जुन संख्या अमेरिका, बेलायत र फ्रान्सका हतियारहरू जोड्दा पनि धेरै हो ।
यीमध्ये केही निकै ट्याक्टिकल हतियार पनि छन्, जसलाई सीमित क्षेत्र लक्षित गर्न बनाइन्छ । साना आकारका यी परमाणु मिसाइललाई क्रूज मिसाइलमार्फत प्रहार गर्न सकिन्छ ।
ट्याक्टिकल हतियारको विस्फोट शक्ति करिब १ किलोटनसम्म हुन सक्छ, जबकि अमेरिकाले जापानको हिरोशिमामा प्रयोग गरेको बम १५ किलोटनको थियो । अहिलेसम्म यस्ता ट्याक्टिकल परमाणु हतियारको प्रयोग कहिल्यै गरिएको छैन ।
पश्चिमी देशका विशेषज्ञहरूले भने पुटिनका बयानहरू बढी प्रचारात्मक मात्र हुने दाब गर्छन् । पुटिनले यस किसिमका अभिव्यक्तिबाट विश्व समुदायमा प्रभाव र दबाब सिर्जना गर्ने प्रयास गर्ने उनीहरूको तर्क छ ।
तर यदि रूसले परमाणु हतियार प्रयोग गर्यो भने, चीनले ‘पहिले प्रयोग नगर्ने’ आफ्नो नीतिअनुसार रूसलाई साथ नदिन पनि सक्ने दाबी समेत विश्लेषकहरू बताउँछन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4