News Summary
Generated by OK AI. Editorially reviewed.- रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टी छाडेर नयाँ दल दर्ता गरी २५ वर्षीय जेनजी युवा कवीर सोबलाई अध्यक्ष बनाएका छन्।
- कवीरले जेनजी आन्दोलनपछि देश संक्रमणकालीन अवस्थामा पुगेको भन्दै पार्टी अध्यक्ष हुन तयार भएको बताए।
- पार्टीले थरूहट आन्दोलनको पहिचान, प्रतिनिधित्व र जेनजी युवालाई जिम्मेवारीमा समेट्ने योजना बनाएको जनाएको छ।
१३ कात्तिक, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) छाडेर नयाँ दल दर्ता गरेका रेशम चौधरीले पार्टीमा जेनजी युवालाई अध्यक्ष बनाएका छन् ।
जेनजी आन्दोलनपछि भएको परिवर्तनलाई आत्मसाथ गर्दै रेशमले नागरिक उन्मुक्ति पार्टी, नेपाल (नाउपाने)को अध्यक्षमा २५ वर्षीय जेनजी युवा कवीर सोबलाई अध्यक्ष बनाएका हुन् । रेशम भने पार्टीको संरक्षक बसेका छन् ।
रेशमसहित पार्टीका नेताहरू दल दर्ताको प्रयोजनका लागि एउटै रंगको पोसाकमा लगाएर बिहीबार निर्वाचन आयोग पुगेका थिए।
रेशमले आफ्नो पार्टीको लागि अध्यक्ष बनिदिन आग्रह गरेपछि २५ वर्षीय कवीर तयार भएका हुन् । उनले अनलाइनखबरसँग भने, ‘देशव्यापी रुपमा जेनजी आन्दोलनपछि राजनीतिक उथलपुथल भयो । देश संक्रमणकालीन स्थितिमा पुग्यो । उहाँले जेनजी आन्दोलनलाई समर्थन गरेको र देशको चिन्ता व्यक्त गर्दै अध्यक्ष बन्न आइदिनुपर्यो भन्ने आग्रह अनि देश संकटमा परेको बेला युवाहरू आउनुपर्छ भन्ने भावका साथ म पार्टी अध्यक्ष हुन तयार भएँ ।’
हुन त कवीर अहिले विद्यार्थी नै हुन् । उनले नेपाल कमर्स क्याम्पसबाट बीबीएसमा स्नातक पूरा गरेका छन् । यसअघि उनले बाँकेको कोहलपुरस्थित गोरखा युनाइटेबाट प्लस टु गरेका हुन् भने कक्षा १० सम्मको पढाइ टीकापुरको गणेशबाबा माविमा गरेका हुन् ।
कवीर कैलालीको टीकापुर नगरपालिका-१ बासिन्दा हुन् ।
उनका बुवा सामान्य किसान हुन् भने उनकी आमाको आमा सिलाइकटाइको आफ्नै सानो व्यवसाय छ । उनी भन्छन्, ‘यसअघि मेरो परिवारको कुनै पनि व्यक्ति राजनीतिमा थिएन। आमाको टेलरिङ सानो व्यवसाय छ भने बुवा सामान्य किसान हुनुहुन्छ । उहाँ बैतडीमा काम गर्नुहुन्छ ।’

राजनीतिमा प्रवेश गर्नुको कारणबारे कवीरले भने, ‘राजनीतिमा प्रवेश गर्ने कारण भन्ने कुरा हुँदैन । जेनजी त देशले मागेको पुस्ता हो । जेनजी आन्दोलनपछि हामीले हाम्रो देश हामीले नै बनाउन पाउनुपर्छ भनेर एकजुट हुन जरूरी छ। त्यसकारण जब जब देश संकटमा जान्छ, तब तब युवाहरू आउनुपर्छ । देशले मागेको अवस्थामा मजस्ता युवाहरू राजनीतिमा आउनु परेको हो ।’
रेशम चौधरी पहिला टीकापुर क्षेत्रको राजनीति गरिरहँदा आफूले नजिकबाट नियालिरहेको उनको भनाइ छ । ‘उहाँ टीकापुरमा आउँदा, गीत गाउँदा र राजनीतिक योजनाहरू बनाउँदाको हरेक गतिविधिलाई मैले पछ्याउने गरेको थिएँ । किनकी उहाँ हाम्रै क्षेत्रबाट चुनाव जित्नुभयो । टीकापुरलाई आधुनिक सहर बनाउँछु भनेर बारम्बार भन्नुयो । आफ्नै एफएम चलाउनुभयो,’ उनी भन्छन्, ‘ हरेक क्षेत्रमा अगाडि र सफलता देखेर हामी युवाहरूमा नयाँ केही गर्नुपर्छ भन्ने सन्देश प्रवाह भइरहन्थ्यो । त्यसकारण मेरो मत र मन पनि नाउपाकै पक्षमा हुन्थ्यो । मैले सदस्य चाहिँ लिएको थिइनँ।तर, सक्रिय भएर सहयोग गरिरँहे ।’
उनका अनुसार अब पार्टी दर्तापछि केही दिनमै केन्द्रीय समिति बैठक बसेर नयाँ कार्यदिशा तय गर्ने, पार्टीको योजना, नीति बनाउने रहेको उनले बताए ।
उनले भने, ‘पार्टी दर्तापछि तत्कालै केही दिनमै पार्टीको केन्द्रीय समिति बैठक बसेर पार्टीको नीति, योजना र पदाधिकारी तथा निर्वाचनबारे छलफल गर्छौं ।’
उनले पार्टीका संरक्षकसमेत रहेका रेशमलाल चौधरीको मार्ग निर्देशन अनुसार पार्टी सक्रिय र गतिशील भएर अगाडि बढ्ने जिकिर गरे । ‘अब नाउपाने पार्टी संरक्षकको सल्लाह बमोजिम सक्रिय र गतिशील भएर अगाडि बढ्छ । देशको वर्तमान परिस्थितिबारे छलफल गरी निर्णय लिन्छ ।’

उनले अब पार्टीले जेनजी आन्दोलनलाई कसरी संस्थागत गर्ने भन्ने विषयमा छलफल गर्ने, थरूहट आन्दोलको पहिचान र प्रतिनिधित्व, भौगोलिक, सांस्कृतिक सहितको पहिचानलाई समेटेर पार्टी अगाडि बढ्ने बताए ।
‘हामी जेनजी आन्दोलनलाई संस्थागत, थरूहट आन्दोलको पहिचान र प्रतिनित्व, भौगोलिक, सांस्कृतिक सहितको पहिचानलाई समेटेर पार्टीलाई थप गतिशील बनाउँछौं,’ उनले सुनाए।
उनका अनुसार यो पार्टीमा थुप्रै जेनजी युवाहरू पार्टीमा रहेको र चाँडै जेनजी युवाहरूलाई स्थान दिने बताए । ‘पार्टी अध्यक्ष म भइहालें । अब पार्टीको पदाधिकारी तथा सक्रिय सदस्यहरूमा पनि जेनजी युवाहरूलाई जिम्मेवारीमा समेट्नेछौं ।’
पार्टीको निर्णयहरू केही दिनमै पत्रकारसम्मेलनमार्फत् समेत जानकारी दिने उनले सुनाए।
नागरिक उन्मुक्ति पार्टीको चुनाव चिह्न जाँतो प्रस्ताव गरिएको छ ।
पार्टीमा डा. सीके राउत नेतृत्वको जनमत पार्टी परित्याग गरेका अब्दुल खान आएका छन् । अब्दुलसँगै थप पाँच जना केन्द्रीय नेता पनि जनमत छोडेर रेशमको पार्टीमा आएका छन् ।
टीकापुर घटनापछि भूमिगत रुपमा भारी मतले चुनाव जितेका रेशमले जेलमै हुँदा श्रीमतीलाई अध्यक्ष र आफू संरक्षक भएर पार्टी खोलेका थिए ।
पछिल्लो समय विभिन्न राजनीतिक मुद्दाहरूमा श्रीमतीसमेत रहेकी पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठसँग उनको विवाद बढिरहेको थियो । श्रेष्ठ र चौधरीबीच विवाद बढेपछि रेशमले छुट्टै नयाँ पार्टी बनाउने घोषणा गरेका थिए ।
तस्वीरहरू : चन्द्रबहादुर आले/अनलाइनखबर




प्रतिक्रिया 4