+
+
Shares

पाकिस्तानको कलश उपत्यका : प्रकृति र मानव सौन्दर्यको संगम

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १४ गते १२:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कलश उपत्यका पाकिस्तानको चित्रालमा अवस्थित छ, जहाँ प्राकृतिक सौन्दर्य र सांस्कृतिक जीवनशैलीको अनौठो मिश्रण पाइन्छ।
  • कलश समुदायका महिलाहरूको सौन्दर्यमा वंशाणुगत, वातावरणीय र जीवनशैलीका कारण प्राकृतिक चमक छ, जसलाई विज्ञानले पनि पुष्टि गरेको छ।

सुन्दरता कस्तो हुन्छ ? यो प्रश्नले मनमा एउटा यस्तो ठाउँको चित्र कोर्छ, जहाँ मनमोहक प्राकृतिक सौन्दर्य र त्यसमै रमाइरहेको मानिसको जीवनशैलीको जादूमय मिश्रण हुन्छ। पाकिस्तानको चित्रालमा अवस्थित कलश उपत्यका ठ्याक्कै यस्तै ठाउँ हो ।

इस्लामाबादबाट करिब ४०० किलोमिटर टाढा, हिमालयका सेता, हरिया पहाड र चिसो पानी बग्ने नदीहरूले घेरिएको यो उपत्यका आफैंमा कल्पनाको स्वर्ग बराबर छ ।

यहाँका मानिसहरु पनि विशेष सुन्दर देखिन्छन् ।  दुरदराज गाउँमा न शहरको जस्तो भव्य पार्लर । न त बोटक्स जस्ता बुढयौली रोक्ने कुनै सौन्दर्य सामग्री । बिनामेकअप । उनीहरूको सौन्दर्य विछट्टै प्राकृतिक छ । यहाँको पोशाक ‘चुपान चाव’ र मोतीले सजिएको टोपी ‘पैगन’ यहाँका महिलाले लगाउँछन् ।

यहाँको संस्कृति, परम्परा र जीवनशैलीले पनि यो ठाउँ  झनै विशेष छ ।

सौन्दर्यको रहस्य

एक मान्यता छ- यहाँका मानिसहरु सिकन्दरका वंशज हुन् । हजारौं वर्ष अघि यहाँ सिकन्दरको राज थियो । कलश समुदायले पनि आफूलाई सिकन्दर महान्काको वंशज भएको दाबी गर्छन् । करिब २३०० ईसापूर्वमा सिकन्दरले यो क्षेत्र जितेका थिए । र, उनका केही सिपाही यहीँ बसेर स्थानीयसँग मिसिए । उनीहरूसँग मिसिएपछि यहाँ मानिसहरु फरक खालका जस्ता देखिए ।

यो कथा केवल किंवदन्ती मात्र होइन, विज्ञानले पनि यसलाई पुष्टि गरेको छ ।

सन् २०१४ को एक अध्ययनले सो कुरा पुष्टि गर्छ । अध्ययनको दाबीअनुसार उनीहरूको डिएनए माइटोर्कोन्डियल पश्चिमी युरेसासँग जोडिन्छ । जो आजको दिनमा इजरायल, लेवनान र सिरियामा पर्छ ।

सन् २०१५ मा नेशनल लाइब्रेरी अफ मेडिसिनमा प्रकाशित अर्को अध्ययनले कलशलाई ‘जेनेटिक आइसोलेट’ भनेको छ, अर्थात् उनीहरूको डीएनए दक्षिण एसियाका अन्य समुदायभन्दा फरक र युरोपेली प्रभाव बोकेको छ । उनीहरूको गोरो छाला, रंगीन आँखा र विशिष्ट अनुहारको बनावटको कारण यही जीन मानिन्छ ।

तर, यो जनजातिको सौन्दर्यमा ‘जेनेटिक्स’ अर्थात् वंशाणुगतमा मात्र होइन । यहाँको शुद्ध हावा र पानीले पनि ठूलो भूमिका खेलेको छ । हिमालबाट बग्ने चिसो हावामा प्रदूषण हुँदैन, जसले छालालाई बिगार्ने ‘फ्री र्‍याडिकल्स’बाट जोगाउँछ । हिमनदीबाट आउने पानीमा म्याग्नेसियम र क्याल्सियम जस्ता खनिजहरू हुन्छन्, जसले छालालाई हाइड्रेटेड र स्वस्थ राख्छ ।

यस्तो खनिजयुक्त पानीले छालाको नरमपन र टेक्सचरमा सन्तुलन कायम राख्ने एक अध्ययनले देखाएको छ । कलश समुदायको खाना पनि पूर्णतः जैविक छ । उनीहरू खेतबारीमा उत्पादन हुने ओख्खर, खुर्पानी, स्याउ, ताजा तरकारी र दूधजन्य पदार्थ खान्छन् । यी खानामा भिटामिन सी, भिटामिन ई र अन्य एन्टिअक्सिडेन्टहरू हुन्छन्, जसले छालालाई चम्किलो र बुढ्यौलीको प्रक्रिया सुस्त पारिदिन्छ ।

ओख्खरमा पाइने ओमेगा–३ र एन्टिअक्सिडेन्टले छाला झोलिन कम गर्छ । प्रशोधित खाना र चिनीजन्य खानेकुराबाट टाढा रहनाले छाला बिग्रिन पाउँदैन । कलश समुदायका व्यक्तिले जंगली जामुन र जडीबुटीबाट बनेका अर्गानिक तेल र औषधि प्रयोग गर्छन् । यी जडीबुटीमा ‘एन्टिअक्सिडेन्ट’ र ‘एन्टी–इन्फ्लेमेटरी’ गुण हुन्छन्, जसले छालालाई पोषण दिन्छ । यी प्राकृतिक तरिकाले कृत्रिम सौन्दर्य सामग्रीको प्रयोगबिना नै उनीहरूको सौन्दर्यमा निखार ल्याउँछ । शरीर पनि स्वस्थ्य रहन्छ ।

उनीहरूको जीवनशैली पनि विशेष छ । खेतीपाती, घरायसी कामकाज र अत्यधिकमात्रमा आइरहने रीतिरिवाजको नाचगानले उनीहरूलाई फिट राख्छ । चिलम जोशी जस्ता पर्वमा नाच्नु उनीहरूको व्यायाम हो।

एक अध्ययन भन्छ, यस्तो गतिविधिले रक्तसञ्चार राम्रो हुन्छ, जसले छालालाई अक्सिजन दिन्छ । यहाँको तनावमुक्त जीवनले पनि उनीहरूको सौन्दर्य जोगाउँछ ।

अनौठो संस्कृति

कलश समुदायको संस्कृति पाकिस्तानको अन्य भागभन्दा विल्कुल फरक छ । उनीहरू प्रकृति र दिवंगत आत्माहरूको पूजा गर्छन् । आफ्नै रक्सी बनाउँछन् । त्यसकै तालसँगै पर्वमा आकर्षक रंगीन पोशाकमा रमाउँछन् ।

उनीहरूको सबैभन्दा ठूलो एक पर्व छ, चिलम जोशी । जुन वसन्त ऋतुमा (मे महिनामा) चार दिनसम्म मनाइन्छ । महिलाहरू रंगीन ‘चुपान चाव’ पोशाक र मोतीले सजिएको टोपी लगाएर सामूहिक नाचमा सहभागी हुन्छन् । पुरुष र महिलाहरूसँगै गोलो घेरामा नाच्छन्, जसलाई ‘चौ’ भनिन्छ ।

यी पर्वमा नाचगान र प्रेमको खुला अभिव्यक्ति हुन्छ । चिलम जोशीमा प्रेम प्रस्ताव राख्ने वा विवाह तोड्ने स्वतन्त्रता छ, जुन विश्वमै अनौठो परम्परा मध्ये पर्छ ।

महिलाहरूको स्वतन्त्रता

रूढीवादी मुस्लिम देशमा, जहाँ धेरै ठाउँमा महिलाहरू बुर्कामा सीमित छन्, कलश समुदायका महिलाहरूलाई उल्लेखनीय स्वतन्त्रता छ । उनीहरू आफ्नो पार्टनर छान्छन्, सम्बन्ध राम्रो नभए विवाह तोड्छन् र सामाजिक गतिविधिमा खुला रूपमा भाग लिन्छन् । यो स्वतन्त्रताले उनीहरूको व्यक्तित्व र सौन्दर्यलाई झनै आकर्षक बनाउँछ ।

पर्यटनको सम्भावना बोकेको ठाउँ

कलश उपत्यका पर्यटकहरूका लागि सम्भावना बोकेको आकर्षक ठाउँ हो । तर यहाँ पुग्न कठिन बाटो र मौसमी अवरोधहरू पार गर्नुपर्छ । तैपनि, उपत्यकाको रहस्यमय वातावरणले पर्यटकलाई लोभ्याउँछ । पर्यटक देख्दा स्थानीयहरूले पर्यटकलाई न्यानो स्वागत गर्छन् ।

यद्यपि, कलश समुदायको जनसंख्या केवल ३ देखि ४ हजार छ । आधुनिकीकरण र बाहिरी प्रभावले उनीहरूको संस्कृति संकटमा छ । सन् २०१९ मा युनेस्कोले कलश संस्कृतिलाई अमूर्त सांस्कृतिक सम्पदाको सूचीमा राख्ने प्रस्ताव राख्यो, र यो हाल स्वीकृत भएको छ ।

गरिबी र खेतीमा निर्भर भए पनि कलश समुदाय सधैं हाँस्दै र नाच्दै रमाउँछ । उनीहरूको यो रमाइलो स्वभाव र सकारात्मक जीवनशैलीले जो कोहीलाई प्रभावित पार्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?