 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल फिल्म एन्ड कल्चर एकेडेमीद्वारा आयोजित काठमाडौं हरर फिल्म फेस्ट २०२५ अक्टोबर ३१ देखि कमलपोखरीस्थित रुसी सांस्कृतिक केन्द्रमा सुरु भएको छ।
- फेस्टिभलमा १५ देशका २५ चलचित्र प्रदर्शन हुँदैछन् र नोभेम्बर २ सम्म चल्नेछ भने तीन मुख्य पुरस्कार प्रदान गरिनेछ।
- चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले हेलोविन र नेपालका परम्परागत चाडबीच समानता रहेको उल्लेख गर्नुभयो।
काठमाडौं । पश्चिमा मुलुकमा धुमधामपूर्वक मनाइने पर्व हेलोविनको अवसरमा ‘काठमाडौं हरर फिल्म फेस्ट २०२५’ सुरु भएको छ ।
हेलोवीन हरेक वर्ष अक्टोबर ३१ मा मनाइने पर्व हो । फसल मौसमको अन्त्य र जाडोको सुरुवातको छेकोमा सेलिब्रेसन गरिने यो पर्व मृत्यु र आत्त्मिक संसारसँग सम्बन्धित छ ।
नेपाल फिल्म एन्ड कल्चर एकेडेमीद्वारा आयोजित ३ दिने फेस्टिभल कमलपोखरीस्थित रुसी सांस्कृतिक केन्द्रमा चल्नेछ । एकेडेमीले रुसी दूतावास र केन्द्रको सहकार्यमा फेस्टिभल गरेको जनाएको छ ।
महोत्सवले नेपाली चलचित्र क्षेत्रमा नयाँ विधा डर, रहस्य र कल्पनाको कलालाई अघि बढाउने उद्देश्य राखेको एकेडेमीका उपाध्यक्ष शिव पुरीले बताए ।
महोत्सव निर्देशक रसिक पाठकले हरर सिनेमाको भावनात्मक र कलात्मक गहिराइबारे भने, ‘दशकौँदेखि नेपाली चलचित्रले प्रेम, समाज र अध्यात्मलाई अन्वेषण गर्दै आएको छ तर आज हामी नयाँ क्षेत्रमा प्रवेश गरेका छौँ । डर, रहस्य र कल्पनाको ।’
उनले अघि भने, ‘हरर केवल भूत र छायाँको कुरा होइन, यो आफैंभित्र र वरिपरि रहेका अज्ञातसँगको सामना हो ।’

पाठकका अनुसार, हेलोविनको दिनमा सुरु भएको महोत्सवले नेपाली कथाकार र अन्तर्राष्ट्रिय हररप्रेमीबीच सांस्कृतिक सेतु निर्माण गर्ने लक्ष्य राखेको छ ।
मुख्य अतिथि तथा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले हेलोविन र नेपालका गठेँमंगल र गाईजात्राजस्ता परम्परागत चाडबीच समानता रहेको बताए ।
‘संसार एउटै हो, डर र साहसजस्ता भावनाहरू सार्वभौमिक हुन्’ उनले भने, ‘भौतिकताले भरिएको यो युगमा पनि यस्ता उत्सवले मानवीय सम्बन्धलाई जोगाइराख्छन् र सृजनात्मक सम्बन्ध बलियो बनाउँछन् ।’
डीसीले स्वतन्त्र फिल्म फेस्टिभलको सञ्जाल विस्तार गर्न बोर्डले छिट्टै नेपालभरका महोत्सव आयोजकबीच सहकार्य बढाउने पहल गर्दै गरेको जानकारी दिए ।
निर्देशक तुलसी घिमिरेले महोत्सवलाई ‘उत्कृष्ट पहल र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सांस्कृतिक आदानप्रदानको उत्कृष्ट प्लेटफर्म’ भएको बताउँदै प्रशंसा गरे ।

उनले भने, ‘रसियन हाउस र एनएफसीएका बीचको यस्ता सहकार्यले सिर्जनात्मक विकास र सांस्कृतिक समझदारीमा अर्थपूर्ण योगदान पुर्याउँछन् ।’
जुरी सदस्य राजभाई सुवालले सहभागीलाई सबै चलचित्र हेर्न र सिकाइको अवसर नछुटाउन आग्रह गरे ।
“यस्ता महोत्सव चलचित्रप्रेमीका लागि अमूल्य हुन्छन । प्रत्येक कथाबाट केही न केही सिक्न सकिन्छ’ उनले भने । अन्य जुरी सदसयमा अलेक्जान्द्रा एनबर्ग (स्विडेन), यास्मिन बुचफार (मोरोक्को) र होसम फहमी (जर्मनी) छन् ।
महोत्सव ओपनिङ रुसी फिल्म ‘शमन’ बाट गरियो, जसलाई मिखाइल मर्जलिकिनले निर्देशन गरेका हुन् । महोत्सवमा १५ देशका २५ चलचित्र प्रदर्शन हुँदैछन्, जुन ८० भन्दा बढी प्राप्त आवेदनबाट छनोट गरिएका हुन् । यी चलचित्रमा मनोवैज्ञानिक, अलौकिक र सांस्कृतिक आयामका कथा समेटिएका छन् ।
महोत्सवले नोभेम्बर २ सम्म प्रदर्शन जारी राख्नेछ । समापन समारोहमा ३ मुख्य पुरस्कार सर्वोत्कृष्ट फिचर फिल्म, सर्वोत्कृष्ट लघु चलचित्र र सर्वोत्कृष्ट यूथ फिल्म (३० वर्ष मुनिका निर्देशकका लागि) प्रदान गरिनेछ ।
दर्शकले खल्ती एपमार्फत टिकट खरिद गरी रसियन हाउस, कमलपोखरीमा प्रदर्शन हेर्न सक्नेछन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
     
     
     
     
     
                
प्रतिक्रिया 4