 
																						१४ कात्तिक, काठमाडौं । भैरहवाको व्यस्त सडकमा भिड जम्मा भएको थियो । नेपाल विद्युत् प्राधिकरणको कार्यालय अगाडि उद्योगी र मजदुरहरूको संयुक्त विरोध प्रदर्शन चलिरहेको थियो ।
ट्रंकलाइन विवादमा उद्योगहरूमा विद्युत् लाइन काटिएको विषयले आक्रोशित भएका प्रदर्शनकारीले नारा लगाउँदै सरकारी नीतिको विरोध गरिरहेका थिए ।
त्यही क्रममा नेकपा एमाले निकट मजदुर संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय उपाध्यक्ष कमल गौतम मञ्चमा उभिएका थिए ।
६५ वर्षीय गौतम मजदुरहरूको तर्फबाट बोल्न थाले, तर त्यो भाषण अधुरै रह्यो ।

बोल्दाबोल्दै अचानक भुइँमा ढले । तुरुन्तै सहकर्मीले नजिकै रहेको मणिग्रामस्थित क्रिमसन अस्पताल लगे । तर उनको अस्पताल पुग्नु अगाडि नै मृत्यु भइसकेको थियो ।
उनको मृत्युको कारण थियो– अचानक मुटु चल्न बन्द हुनु, अर्थात् हर्ट अरेस्ट ।
०००
गत वर्ष राष्ट्रिय युवा संघको जिल्ला अधिवेशनमा यस्तै घटना भयो । स्वागत मन्तव्य दिएर मञ्चबाट ओर्लिएका पूर्वीनवलपरासीको कावासोती नगरपालिका–१ का वडाअध्यक्ष तवारक अहमद मियाँ एकाएक ढले । तत्कालै उपचारका लागि चितवन मेडिकल कलेज लगिए पनि मियाँ फर्किन सकेनन् । उनको मृत्युको कारण पनि हृदयाघात थियो ।
यस्तो अवस्थालाई चिकित्सकीय भाषामा ‘सडेन कार्डियक डेथ’ भनिन्छ ।
मुटुरोग विशेषज्ञका अनुसार हृदयाघात भएकामध्ये २५ प्रतिशतको अचानक मुटु चल्न बन्द (सडेन कार्डियक डेथ) हुन्छ । यस्तो अवस्थामा तत्कालै अस्पताल पुर्याउनुअघि सीपीआर (छातीको मध्य भागमा हत्केलाले दम दिने) गर्दा कतिपयलाई बचाउन पनि सकिन्छ ।
विश्वका धेरै देशमा विद्यालयदेखि नै सीपीआर तालिम दिइन्छ । तर नेपालमा यो अभ्यास अत्यन्त न्यून छ । चिकित्सकका अनुसार, आमनागरिकमा सीपीआरको आधारभूत ज्ञान फैलाउन सके अकाल मृत्युबाट धेरैलाई बचाउन सकिन्छ ।
अचानक किन मुटु चल्न बन्द हुन्छ ?
चिकित्सकका अनुसार मुटु मांसपेसीको डल्लो हो । यसले रगत पम्प गर्छ र शरीरभरि रक्तसञ्चालन गराउँछ । मुटुका मांसपेसीको बाहिरी भागमा रहेका तीनवटा कोरोनरी रक्तनलीमा प्रवाहित हुने रगतमार्फत ग्लुकोज र अक्सिजन प्राप्त हुन्छ । त्यसकारण मुटुलाई आवश्यक पर्ने ऊर्जा प्राप्त हुन मुटुका कोरोनरी रक्तनलीहरू स्वस्थ हुनु जरुरी छ ।
तर, यी रक्तनलीभित्र विभिन्न कारणबाट बोसो जमेर (कोलेस्टेरोल) साँघुरो हुने गर्छ । जसका कारण मुटुमा रगतको प्रवाहमा अवरोध उत्पन्न हुन्छ र मुटुका मांसपेसीमा पर्याप्त मात्रामा ग्लुकोज र अक्सिजन पुग्दैन ।
यदि रक्तनली पूरै बन्द भएको खण्डमा रगतको प्रवाह पनि पूरै बन्द हुन्छ र मुटुमा ऊर्जाको आपूर्ति ठप्प हुन्छ । मुटुमा ग्लुकोज र अक्सिजनको आपूर्ति नभएपछि मुटुको मांसपेसी क्षतिग्रस्त हुन थाल्छ र यो क्रम लम्बिँदै गएमा मांसपेसी मर्छ र काम गर्न छाड्छ । यो अवस्थालाई हृदायघात भनिन्छ ।
वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइरालाका अनुसार अचानक मुटु चल्न बन्द हुने मुख्य दुई कारण छन् ।

पहिलो– मुटुको रक्तनली ब्लक भएर हार्ट अट्याक हुनु ।
दोस्रो– हार्ट अट्याक नभई मुटुको चालमा अचानक गडबडी भएर पम्पिङ बन्द हुनु ।
डा. कोइराला भन्छन्, ‘अप्रत्यासित मृत्युको कारण मुटुको चालको गढबढी र मुटुको रक्तसञ्चार बन्द भएर हुनसक्छ ।’
उनका अनुसार सडेन कार्डियक डेथ कुनै लक्षण नदेखिएका स्वस्थ व्यक्तिमा पनि हुने गर्छ । मुटुबाहेक फोक्सोमा ठूलो क्लट जमेर वा अन्य कारणले पनि अचानक मृत्यु हुनसक्ने उनको भनाइ छ । यद्यपि, यस्तो घटना ‘रेयर’ मात्रै हुन्छ ।
गंगालाल अस्पतालमा कार्यरत वरिष्ठ मुटुरोग विशेषज्ञ डा. चन्द्रमणि अधिकारीका अनुसार, हृदयाघात हुँदा मुटुको नसामा रगतको सञ्चार तुरुन्तै बन्द हुन्छ । यसले मुटुको चालमा गम्भीर गडबडी (भेन्ट्रिकुलर फाइब्रिलेसन) निम्त्याउँछ, जसका कारण अचानक मानिसको मृत्यु हुने सम्भावना बढ्छ ।
डा. अधिकारी भन्छन्, ‘हृदयाघात भएकामध्ये करिब २५ प्रतिशत बिरामीमा सडेन कार्डियक डेथ देखिने गरेको छ ।’
मुटुको चालसम्बन्धी रोग र मुटुको बनावटको (स्ट्रक्चरल) समस्याले पनि यस्तो मृत्युको कारण बन्न सक्ने डा. अधिकारी बताउँछन् ।
चिकित्सकका अनुसार हृदयाघात देखिनुको प्रमुख कारण धूमपान, मदिरा सेवन, मोटोपन, मानसिक तनाव र मधुमेह हो । यस्तै, कोलेस्टेरोल (मुटुमा हुने बोसो), शारीरिक अभ्यासको कमी, तनाव, बाहिरी प्रदूषण र वंशाणुगत कारणले गर्दा मुटुको नली चाँडै बन्द हुने गर्छ ।
सानै उमेरदेखि धूमपान गरेमा खतरा झन् बढी हुन्छ । चुरोटमा हुने निकोटिनले नसाहरूको भित्री भागमा घाउ बनाइदिन्छ । जसले मुटुको नसामा बोसो र रगतको ढिक्का जम्न मद्दत पुर्याउँछ । त्यसरी रगतको ढिक्का जम्दै जाँदा नसा साँघुरिँदै जान्छन् र मुटुमा रगत सञ्चार गराउने नसा बन्द हुँदा हृदयाघात हुन्छ ।
युवामा मानसिक तनाव पनि हृदयाघातको अर्को कारण हो । शारीरिक श्रम गर्ने बानी घटेको छ । परिवार, कार्यालय अर्थ व्यवस्थासँग सम्बन्धित तनावले पनि हृदयाघात निम्त्याउन सक्छ ।
उमेरसँगै मुटु रोग वा हृदयाघातको जोखिम बढ्दै जान्छ ।
डा. कोइरालाका अनुसार उमेर बढेसँगै मुटुको रक्तनलीहरू साँघुरो हुँदै जाने बोसो वा क्याल्सियम जम्दै जाने र त्यसको कारणले हृदयाघात हुने सम्भावना बढ्छ ।
‘पछिल्ला दिनमा युवा उमेरका मानिसमा पनि हृदयाघात हुने गरेको छ । सानै उमेरमा धूमपान गर्ने, मोटोपना भएका र अस्वस्थकर जीवनशैली भएका युवामा हृदयाघातका घटना बढेका छन्,’ डा. अधिकारी भन्छन् ।
शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा हृदयाघात (हार्ट अट्याक) का बिरामी दिनहुँजसो १०/१२ जना आइपुग्छन् । त्यसमध्ये १५ प्रतिशत ४५ वर्षमुनिका हुने गरेका छन् ।
विज्ञका अनुसार मुटु स्वस्थ राख्न धेरै समय खर्चिनु पर्दैन । नियमित शारीरिक गतिविधि गर्ने, नुन चिनी र चिल्लोको सेवन सकेसम्म कम गर्ने, मोटोपना भएमा तौल घटाउने र तथा धूमपान र अत्यधिक मदिरा सेवन नगर्ने, मधुमेह, उच्च कोलस्टेरोल तथा उच्च रक्तचापलाई नियन्त्रणमा राखेमा मुटु स्वस्थ राख्न सकिन्छ ।

सीपीआरले बचाउन सक्छ ज्यान
अचानक मुटु बन्द भएर व्यक्ति बेहोस भएको समयमा सही रूपमा छातीमा बेस्सरी थिचेर बन्द मुटु वा फोक्सोलाई पुनः सञ्चालन गर्ने सिपलाई सीपीआर (कार्डियो पल्मोनरी रिससिटेसन) भनिन्छ ।
त्यस्तै, विद्युतीय झड्का दिएर मुटुलाई ब्युँताउने काम डेफिब्रिलेटोर नामक उपकरणले गर्छ ।
कुनै पनि व्यक्तिलाई कतिबेला अचानक हृदयगति रोकिन सक्छ भन्ने पूर्वानुमान गर्न सकिँदैन । सही तरिका र समयमा गरिने सीपीआर जीवनदायी बन्न सक्छ । हृदयाघात वा श्वासप्रश्वासमा आइपर्ने अपर्झटमा तुरुन्तै अस्पताल लैजाँदा पनि बीचको समयमा सीपीआर आवश्यक हुन्छ ।
यसबारे हरेक व्यक्तिमा ज्ञान जरुरी हुन्छ । कतिपय देशहरूमा सार्वजनिक सवारी चालक, प्रहरी, सामुदायिक व्यक्ति वा विद्यालय तहदेखि नै यस्तो सिप सिकाइएको हुन्छ ।
तर, नेपालमा सामान्य व्यक्तिलाई मात्र नभई कयौं चिकित्सक तथा स्वास्थ्यकर्मीसमेत सीपीआर सिपमा अब्बल छैनन् ।
सडेन कार्डियक डेथ भएको मानिसमा घटनास्थलमै सीपीआर दिए बाँच्ने सम्भावना रहने मुटुरोग विशेषज्ञ डा. कोइराला बताउँछन् ।
‘म्यासिभ हार्ट अट्याक भएर मुटु पूरै बन्द भएको अवस्थामा सीपीआरले मात्र काम नगर्न सक्छ, तर कोसिस भने गर्नैपर्छ,’ डा. कोइराला भन्छन् ।
अस्पताल पुर्याउने क्रममा सीपीआर दिएर बाँच्न सफल भएका उदाहरणहरू धेरै भएको उनको अनुभव छ ।
‘ढलेको व्यक्तिको नाडी छाम्ने, सास फेरेको वा नफेरेको हेर्ने र बोलाउँदा प्रतिक्रिया नदिए सीपीआर सुरु गर्नुपर्छ,’ डा. कोइराला भन्छन् ।
डा. अधिकारी पनि घटना भइसकेपछि तत्काल सीपीआर (कार्डियोपल्मोनरी रिससिटेसन) दिएमा कतिपयको ज्यान बचाउन सकिने बताउँछन् ।
‘घटनास्थलमा सीपीआर जान्ने व्यक्ति उपस्थित भए र तुरुन्तै प्रक्रिया अपनाइए बचाउन सम्भव हुन्छ,’ डा. अधिकारीले अनुभव सुनाए ।

सर्वसाधारणमा सीपीआर गर्ने आत्मविश्वासको अभाव र डर मुख्य समस्या रहेको डा. कोइराला औल्याउँछन् ।
नेपाल मेडिकल काउन्सिलका पूर्वअध्यक्ष डा. कोइराला भन्छन्, ‘स्वास्थ्यकर्मीमा समेत सीपीआर तालिम अपर्याप्त छ । काउन्सिलले डाक्टरलाई तालिम दिने भए पनि पब्लिक अवेयरनेस मल्टि–सेक्टरको काम गर्नुपर्ने देखिन्छ ।’
संसारभरि एयरपोर्ट, मल, पार्कजस्ता भिडभाड हुने ठाउँमा ‘अटोमेटेड एक्सटर्नल डिफिब्रिलेटर’ (एईडी) मेसिन राख्ने प्रचलन छ । मानिसहरू ढलेर पल्स र सास बन्द भए एईडीले मुटुको चाल सामान्य बनाउँछ ।
नेपालमा यस्तो अभ्यास नभएकोमा चिन्ता व्यक्त गर्दै डा. कोइराला भन्छन्, ‘स्कुल, मल, एयरपोर्ट र भिडभाड हुने ठाँउमा एईडी राख्ने र फ्रन्टलाइन कर्मचारी (शिक्षक, सुरक्षाकर्मी) लाई तालिम दिनुपर्छ ।’
‘एक जनाको मृत्यु हुँदा मात्रै सबैलाई तर्साउने सन्दर्भ उल्लेख गर्दै डा. कोइराला भन्छन्, ‘नियमित जाँच र सीपीआर सिकेमा धेरैको ज्यान बचाउन सकिन्छ । यो जिम्मेवारी सबैको हो ।’
तर, नेपालमा मेडिकल तथा नर्सिङ स्कुलहरूमा समेत उचित सामग्रीसहितका स्किल ल्याबको अभाव, उचित रूपमा सिकाउन सक्ने प्रशिक्षकको कमीजस्ता कारणले धेरै चिकित्सकले समेत यस्तो सिप सिक्न पाएका हुँदैनन् ।
त्यसमा पनि गम्भीर अवस्थाका बिरामीको यो विधिबाट उपचार गर्दा ज्यान जोगाउन नसके बिरामी पक्षबाट आरोप लाग्ने वा आक्रमण हुने त्रासमा समेत चिकित्सक तथा स्वास्थ्यकर्मी सीपीआरबाट पन्छिने गरेको चिकित्सकहरू स्वीकार्छन् ।
चिकित्सा शिक्षा तथा स्वास्थ्य शिक्षा पढाउने विश्वविद्यालय तथा कलेजहरू थुप्रै भए पनि त्यहाँ सीपीआर सिपको परीक्षण भने हुँदैन । लामो समयदेखि चिकित्सा विषय पढेका जनशक्तिले सम्बन्धित काउन्सिल दर्ता गर्दा लाइसेन्सिङ परीक्षामा ज्ञानसँगै सिपको पनि परीक्षा हुनुपर्ने आवाज उठे पनि अहिलेसम्म त्यस्तो व्यवस्था लागु हुन सकेको छैन ।
नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. सतिशकुमार देव चिकित्सकहरूका लागि सीपीआर तालिमलाई अनिवार्य बनाउने विषयमा पटक–पटक छलफल गर्दै आएको बताउँछन् ।
पाँच वर्षे योजनाअन्तर्गत सीपीआर तालिमलाई अनिवार्य गरी लाइसेन्स परीक्षामा सामेल गर्ने तयारी भइरहेको डा. देवले बताए ।
‘पहिले नै सीपीआर तालिमलाई वैकल्पिक रूपमा अपनाएका थियौं । तर अहिले काउन्सिलको सर्भर ह्याकको कारणले यसमा केन्द्रित भएका छौं,’ डा. देव भन्छन्, ‘अब हामी सीपीआर तालिमलाई अनिवार्य गर्न अगाडि बढ्छौं ।’
अहिले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले दर्ता हुनु अगाडि सम्बन्धित काउन्सिलले लिने ज्ञानको परीक्षण हुने परीक्षा उत्तीर्ण गरेपछि मात्र दर्ता हुन पाउँछन् । तर काउन्सिलसँग सिपको परीक्षण गर्नसक्ने क्षमता र पूर्वाधार नै छैनन् ।
काउन्सिलले सीपीडी कार्यक्रम सञ्चालन गर्दै आएको भए पनि अनिवार्य बनाउन नसकेको डा. देवले स्वीकार गरे ।
‘कार्यक्रमहरू चलिरहेका छन्, तर अनिवार्य छैनन् । अस्पतालले चिकित्सकलाई अल्पकालीन तालिम दिइरहेका छन्,’ डा. देव भन्छन् ।

स्वास्थ्यकर्मीसँग छैन सीपीआरको सिप
त्रिभुवन विश्वविद्यालय स्वास्थ्य विज्ञान अध्ययन प्रतिष्ठान (आईओएम) का पूर्वडिन डा. जगदीशप्रसाद अग्रवाल सीपीआरको सिप सकेसम्म सबैमा र कम्तीमा चिकित्सक तथा नर्सहरूलाई हुनैपर्ने बताउँछन् ।
‘विश्वविद्यालयहरूले पनि सीपीआरको सिप दिएर यसको परीक्षण गरेका हुँदैनन् । एनेस्थेसिया, आकस्मिक वार्ड र आईसीयूमा कार्यरत स्वास्थ्यकर्मीहरूका लागि यसबारे तालिम दिइरहने हुँदा उनीहरूमा यसको सिप हुने र अन्यको सन्दर्भमा कतिले आफ्नै इच्छाले सिक्ने गरेका छन्,’ डा. अग्रवाल भन्छन् ।
नेपालका विश्वविद्यालयहरूले सीपीआरको सिद्धान्त पढाए पनि परीक्षण गर्ने व्यवस्था नगरेको उनी बताउँछन् ।
उनले काठमाडौं विश्वविद्यालय तथा त्रिभुवन विश्वविद्यालयमा पनि चिकित्साशास्त्रका विद्यार्थीहरूले सीपीआर सिकिसकेका छन् कि छैनन् भनेर प्रयोगात्मक परीक्षा लिने नगरिएको बताए ।
‘पढाइ हुन्छ, सैद्धान्तिक रूपमा सिकाइन्छ । चिकित्सकहरूले विभिन्न ठाउँहरूबाट पनि सुनेको वा गरेको, देखेको हुन सक्छन्, तर आफैं संलग्न भएर गर्नुपर्दा गर्न सक्छन् त ? निपूर्ण भएको स्थिति छैन,’ उनले भने ।
हाल मेडिकल काउन्सिलमा सीपीडी (कन्टिन्युइङ प्रोफेसनल डेभलप्मेन्ट) मा सीपीआर तालिम पनि राखिएको भए पनि अनिवार्य भने गरिएको छैन ।
सीपीआरको सिप भएमा तत्काल मुटु बन्द भएर मृत्युको मुखमा पुगेका मानिसलाई ब्युँताउन र नयाँ जीवन दिन सकिन्छ ।
कम्तीमा सार्वजनिक ठाउँ वा स्वास्थ्यकर्मीमा मात्रै यो सिप हुने र अचानक मुटु र फोक्सो बन्द भएर ढलेका मानिसलाई सीपीआरको पहुँच बढाउन सकेमा अकाल मृत्युबाट जोगाउन सकिन्छ ।
‘सीपीआरको तालिम नभएको व्यक्तिलाई काउन्सिल दर्ता गरेर चिकित्सक लाइसेन्स दिनुहुन्न तर हामीले अहिलेसम्म पनि यसको व्यवस्था गर्न सकेका छैनौं,’ डा अग्रवालले भने ।
अन्य देशमा सामान्य नागरिकलाई पनि प्राथमिक उपचार गर्नसक्ने ज्ञान हुनुपर्छ भनेर तालिम दिने गरिएको छ ।
‘कमजोर शिक्षा प्रणाली, नियमनकारी निकायमा संवेदनशिलताको अभावले स्वास्थ्यकर्मीले पनि राम्ररी सिक्न सकेका छैनन्,’ डा. अग्रवाल भन्छन् ।

त्रिवि शिक्षण अस्पताल, धरानको बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपाल आर्मी स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सबैमा सीपीआरबारे पढाइ हुने गरेको छ । तर कलेजहरूमा तालिमको व्यवस्था गरिएको छैन ।
उनीहरूले तालिम लिएको प्रमाणपत्र हेरेर मात्र नेपाल मेडिकल काउन्सिलले दर्ता गरे सुधारको सम्भावना रहेको डा. अग्रवाल बताउँछन् ।
ज्ञानको परीक्षण विश्वविद्यालयले गरे पनि सिप काउन्सिलले परीक्षण गर्नुपर्ने व्यवस्था छ । तर अहिलेसम्म पनि लागु भएको छैन । सीपीआर सिप परीक्षणलाई काउन्सिलहरूले छिट्टै व्यवस्थापन गर्नुपर्ने डा. अग्रवालको भनाइ छ ।
 
                









 
                     
                                     
                                 
 
 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4