 
																						१४ कार्तिक, सुर्खेत । लगातारको हिमपात पछि उपल्लो डोल्पामा चार दिनदेखि सञ्चार सेवा अवरुद्ध भएको छ । हिमपातका कारण नेपाल टेलिकमको टेलिफोन सेवा चार दिन देखि अवरुद्ध भएको स्थानीयले बताएका छन् ।
पछिल्लो समय पाँच दिन देखि लगातार परेको हिमपातका कारण जनजीवन कष्टकर बन्नुका साथै सञ्चार सेवा समेत अवरुद्ध भएको शे–फोक्सुन्डो गाउँपालिकाका–५, भिरेलकी पेमा गुरुङले जानकारी दिइन् ।
‘नेपाल टेलिकमका टावरले घाम लागेपछि मात्रै काम गर्छन् । चार दिन देखि गाउँमा फोनको नेटवर्क छैन,’ गुरुङले अनलाइनखबरसँग भनिन, ‘म आजै सदरमुकाम दुनै झरेको छु । गाउँमा त कतै पनि सम्पर्क हुन सकेको छैन ।’
माथिल्लो डोल्पामा वर्षौं पुराना टेलिकमका टावरले राम्रोसँग सेवा नदिएको उनले गुनासो पोखिन् । अहिलेको समयमा गाउँमा मोटर बाटो पुग्नु त परको कुरा सामान्य सञ्चार सेवा समेत पुग्न नसकेको उनले बताइन् । जसले गर्दा वर्षौँदेखि सर्वसाधारणहरू मारमा परेको छन् ।
उक्त गाउँपालिकामा फोक्सुन्डो ताल समेत रहेको छ । देशका अधिकांश पर्यटकीय क्षेत्रमा फाइभजी सेवा जडान गरिए पनि उपल्लो डोल्पामा भने नियमित फोन सेवा समेत सञ्चालन हुन सकेको छैन ।
डोल्पामै पर्ने डोल्पोबुद्ध र छार्काताङ्सोङ् गाउँपालिका पनि फोन सम्पर्कबाट अलग भएका छन् । डोल्पोबुद्ध गाउँपालिकामा चार दिनदेखि नमस्तेको फोन सेवा छैन । ‘निरन्तर हिमपातले बाटोघाटो बन्द छ । फोन सुविधा नहुँदा पर्यटकहरूसमेत समस्यामा परेका छन्,’ स्थानीय स्वास्थ्यकर्मी सुनिता गौतमले बताइन् ।
उपल्लो डोल्पा क्षेत्रमा हालसम्म तीन फिट धेरै हिउँ जमेको बताइएको छ । बाक्लो हिउँ जमेपछि जनजीवन कष्टकर हुनुका साथै पशु वस्तु चरिचरणमा समेत समस्या उत्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यालय डोल्पाले जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रमा पदयात्रा गर्न रोक लगाएको छ । चार दिन देखि निरन्तर वर्षासँगै हिमपात भइरहेकाले यस समयमा पदयात्रामा ननिस्कन सूचना जारी गरिएको प्रमुख जिल्ला अधिकारी भीम राज कोइरालाले जानकारी दिए ।
शे–फोक्सुन्डो गाउँपालिका–८ मा पर्ने फोक्सुन्डो ताल र उपल्लो डोल्पा क्षेत्रमा अहिले स्वदेशी तथा विदेशी पर्यटक भित्रिरहेकाले यात्रा रोक्न प्रशासनले आग्रह गरेको उनको भनाइ छ ।
मौसम सफा नभएसम्म पदयात्रा नगर्न र पदयात्रामा निस्किसकेका पर्यटकलाई यथास्थानमा सुरक्षित रूपमा बस्न पनि आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी कोइरालाले बताए । फोक्सुन्डो ताल क्षेत्रमा बाक्लो हिउँ जमेर बाटो अवरुद्ध भएपछि नेपाली सेना र प्रहरीको संयुक्त टोलीले हिउँ फालेर बाटो खुलाएको प्रशासनले जनाएको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4