+
+
Shares

प्रधानमन्त्री कार्कीको चुनावी ‘ब्लूप्रिन्ट’

‘हामी फागुनमै चुनाव गराउने, चुनाव नलड्ने’

प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार बालुवाटारमा सम्पादकहरूसँग साढे तीन घण्टा भलाकुसारी गरिन् । त्यहाँ, पछिल्ला दिनमा बढेको राजनीतिक दलसँगको संवाद, जेनजीहरूको बुझाइमा आएको परिपक्वता र शान्ति सुरक्षामा भइरहेको सुधारले तोकिएको समयमा चुनाव गराउने मनोबल बढेको देखियो ।

बसन्त बस्नेत दुर्गा खनाल बसन्त बस्नेत, दुर्गा खनाल
२०८२ कात्तिक १४ गते २३:५२

१४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको सरकारी निवासमा चुच्चे नक्सा सहितको निशान छाप थियो, राष्ट्रपति रामचन्द्र पौडेलको तस्वीर थिएन । शुक्रबार साँझ सम्पादकहरूले उक्त सवाल उठाउँदामात्रै उनलाई यो तथ्य हेक्का भयो ।

खासमा मूल बैठक कक्षमा राष्ट्रपति र उनी दुवैको तस्वीर छैन जो मुख्य सरकारी कार्यालयहरूमा अनिवार्य हुने गर्छ ।

राष्ट्रपतिबाट २७ भदौमा प्राप्त चिठीमा उनलाई एउटै कार्यभार छ– २१ फागुनमा चुनाव गराउने ।

ढाकाको पूरा बाहुले ब्लाउज, अनि साधारण सारी अनि चप्पलमा विभिन्न सञ्चारमाध्यमका दर्जनबढी सम्पादकसँग तीन घण्टाभन्दा लामो भलाकुसारी गरेकी प्रधानमन्त्री कार्कीले तुलनात्मक थोरै बोलिन्, धेरै सुनिन् ।

‘अरू कोठाहरूमा राष्ट्रपतिज्यूको तस्वीर छ, यहाँ रहेनछ,’ उनले सम्पादकहरूलाई प्रष्टीकरण दिइन् । अर्को प्रसंगमा उनले हाँस्दै थपिन्, ‘तपाईंहरूले गाली गरे पनि म दुःख मान्दिनँ । दुईचार आलोचना नगरी, मिडिया पनि त चल्दैन ।’

जेनजी विद्रोहपछि २७ भदौमा प्रधानमन्त्री बनेकी कार्कीले निर्धारित मितिमा चुनाव गराइछाड्ने प्रतिबद्धता जनाइन् । चुनावबाहेक आफ्नो ध्यानदृष्टि अन्त नभएको उनको भनाइ थियो । उनले यसका लागि निर्वाचन आयोग, सुरक्षा निकायलगायत सम्बन्धित मन्त्रालयहरू अनि सरोकारवालाहरूसँग राम्रोसँग समन्वय भइरहेको जानकारी दिइन् ।

तोकिएको मितिमा चुनाव हुन्छ कि हुँदैन, या बीचमा अर्को सरकार गठन भएर त्यसले चुनाव गर्ने हो भन्ने किसिमका आशंका दूर गर्न उनले सक्दो कोशिस गरिन् ।

‘मलाई त प्रधानमन्त्री बन्ने मन थिएन, मेरा श्रीमान् दुर्गाजीले पनि नबन्नु भन्नुभएको थियो,’ कार्कीले भनिन्, ‘राष्ट्रपतिले प्रधानमन्त्री बनिनौं भने म तिमीलाई मिडिया बोलाएर राष्ट्रघाती भन्दिन्छु । अब त बन्न करै लाग्यो । चुनाव गराउने बाहेक मसँग अरु मिसन छैन । जेनजीको भनाई पनि त्यही हो ।’

यसबीचमा सरकारले गरेका कतिपय कामबाट आशंका पैदा भएजस्तो देखिएपनि चुनावी मिसनमा शंका नगर्न उनले आग्रह गरिन् ।

‘म त प्रधानमन्त्री हुन तयारै थिइनँ । मेरो बुढो र मेरो लन्डन जाने टिकट थियो ४ असोजको,’ कार्कीले भनिन्, ‘ जेनजी आन्दोलनमा एक जना आफन्तले गोली खायो भनेपछि बुढाले म त सक्दिनँ, तिमी सिभिल अस्पताल जाउ भने । म डा. अभिषेकलाई लिएर त्यहाँ पुग्दा भतिजो त्यहाँ थिएन । ऊ केएमसीमा रहेछ । त्यही बेला जताततै गोली खाएका केटाकेटी देखें । एउटाले रुँदै भन्यो, ‘साथीसँग अँगालो मार्दै आन्दोलनमा गएको । उसले मेरै अघि गोली खायो । यहाँ ल्याइपुर्‍याउँदा प्राण गयो ।’

कार्कीले थप सुनाइन्, ‘त्यो दिनको भयावह अवस्था देख्दा जोकोही आक्रोशित हुन सक्थ्यो । म पनि आक्रोशित थिएँ । अरू सबैजना रोइरहेका थिए । म पनि रोएँ । बाहिर पत्रकार थिए, मलाई सोधिहाले । मैले त्यो दिनको हिंसामा दोषी सरकारविरुद्ध कडा बोलें । मलाई के थाहा, आफन्त हेर्न अस्पताल जाँदा देखेको दृश्यले मलाई जेनजीकी आमा बनाइदेला भनेर !

त्यसै क्रममा आफूलाई खोजिएको र समयले प्रधानमन्त्री बनाएको उनको भनाइ थियो ।

तर सुशीला कार्की जेनजी विद्रोहबाट विस्थापित नेताहरूसँग होइन, तत् तत् दलका अरू नेतासँग मात्रै संवाद गर्ने मुडमा छिन् ।

जेनजी विद्रोहले प्रधानमन्त्री बनाएकी सुशीला कार्कीले ठूला तीन दलका शीर्ष नेतासँग भेट्ने इच्छा नभएको बताएकी हुन्

कार्कीले युवा विद्रोहले तीन नेताको विकल्प खोजेको भन्दै आफूले युवाहरूको भावना सम्मान गर्ने बताइन् । केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्ड धेरै वर्ष शक्तिमा रहेकाले अब विकल्प खोजिनुपर्ने, त्यसका लागि ती दलहरूले नै अग्रसरता लिनुपर्ने उनको भनाइ छ ।

जेनजी युवाहरूले दलभित्र उनीहरूको विकल्पमा आउने नेताहरूसँग कुरा हुनुपर्छ भन्ने ठानेको भन्दै आफूले नवयुवाको भावना सम्मान गर्ने कार्कीको भनाइ छ ।

‘मैले कुरा नगरे पनि मन्त्रीहरू रामेश्वरजी, कुलमानजी, ओमजीहरूले कुरा गरिराख्नुभएकै छ । दलहरूसँग कुरा नगर्ने भन्ने होइन । लोकतन्त्रमा दलहरूसँगै कुरा गर्नुपर्छ । मैले पनि गरेकै छु,’ प्रधानमन्त्रीले भनिन्, ‘दलहरूसँग हाम्रो कुरा भइराख्छ । जेनजीले पनि दलसँग कुरा गर्नेबारे आपत्ति गरेका छैनन् । नियम कानुन संविधान राम्रोसँग बुझ्छन् जेनजीले । सुरुमा जस्तो कडा कुरा छैन ।’

दुर्गा प्रसाईंको समूहले चुनावमा आउनुपर्ने, आन्दोलनलाई अराजकतामा धकेल्ने प्रयास गर्न नहुने कार्कीको भनाइ छ । उनले जेनजी आन्दोलनसँगै बहिर्गमित तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली लक्षित सांकेतिक अभिव्यक्ति दिँदै आगामी चुनावबाट दुर्गा प्रसाईं आउन सक्ने आकलन गरेकी छन्

ओलीको नाम नलिई उनले झापामा यति बेला पुराना नेताको शक्तिमा ह्रास आएको भन्दै व्यवसायी तथा राष्ट्र राष्ट्रियता धर्म बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं शक्तिमा आउन सक्ने लख काटिन् ।

प्रधानमन्त्री कार्कीले भनिन्, ‘आन्दोलन गर्छु भन्दै हिँडेका छन्, दुर्गाजी । अराजक कुरा गर्न पाइँदैन । तर आफ्नै ठूलो समूह लिएर हिँडेका छन् । भव्य समूह छ उनको भन्ने सुन्दैछु । समर्थकहरू पनि तयार भएका देखिन्छन् । झापामा यति बेला पुराना नेताहरूको शक्तिमा ह्रास आएको छ । उनले चुनाव जित्न पनि सक्छन् ।’

७ मंसिरदेखि प्रसाईंले आन्दोलन घोषणा गर्छु भने पनि संविधानतः उनले गतिविधि गर्न पाउने, पहिलेझैं हातहतियार लिएर हिँडे मुलुकी अपराध संहिता अन्तर्गत प्रसाईंलाई कारबाही गरिने कार्कीले भनिन् । ‘हत्या हिंसाको कुरा, जबर्जस्ती हुन थाल्यो भने पुलिस ‘चुरा’ लिएर गइहाल्छ नि’ उनले भनिन्,’विना हातहतियार शान्तिपूर्ण रूपमा जे गरेपनि भयो । त्यस्तो भएन भन भने त मुलुकी अपराध संहिता कार्यान्वयनमा जान्छ ।’

बालेनबारे प्रधानमन्त्री : आफ्नो भन्छ, सुन्दैन

प्रधानमन्त्रीले खुलाइन्, उनी बालुवाटार आएयता काठमाडौं मेयर बालेनले दुईपल्ट भेटिसके । पहिलो भेटमा २३ भदौको युवा संहारका बेला प्रधानमन्त्री रहेका केपी ओली र गृहमन्त्री रमेश लेखक समात्ने एजेन्डा प्रमुख थियो । दोस्रो भेटमा चाहिँ उनले गृहमन्त्री ओमप्रकाश अर्यालप्रति विरक्ति पोखेको प्रसंग यति बेला चर्चामा छ ।

प्रधानमन्त्रीको सचिवालयले गृहमन्त्रीको राजीनामा मेयर बालेनबाट नमागिएको दाबी गर्दै बिहीबार प्रेस वक्तव्यमार्फत् खण्डन नै गर्‍यो ।

यद्यपि बालेनसँग सल्लाह नगरी तत्कालीन महानगर सल्लाहकार रहेका अर्याल गृहमन्त्री बनेको भन्दै उनको टिम रुष्ट छ ।

सुशीला र बालेनको सम्बन्ध र सम्पर्क कुन तहसम्म विकसित छ त ? प्रधानमन्त्रीले भनिन्, ‘५–६ पल्ट भेट भइसकेको छ । म प्रधानमन्त्री भएपछि पनि २ पल्ट भेट भइसक्यो । आज बिहान पनि फोनमा कुरा भएको थियो । बालेनलाई म छोरो भनी बोलाउँछु । उसले चाहिँ मलाई दिदी भन्छ । उसले गृहमन्त्रीको राजीनामा मागेको छैन ।’

तर अरूको नसुन्ने, आफ्नो मात्रै बोल्ने बालेन शैलीसँग उनले हैरानी व्यक्त गरिन् । ‘उसले बोलेको चाहीँ सुन्नुपर्छ हामीले बोलेको चाहीँ सुन्दैन ।’

चुनाव गराउने, तर नलड्ने

प्रधानमन्त्री कार्कीले भेट्दा शुक्रबार साँझ बालुवाटारमा मन्त्रीहरू रामेश्वर खनाल, ओमप्रकाश अर्याल, कुलमान घिसिङ, अनिल सिन्हा, जगदीश खरेल साथमै थिए ।

सुरुमा जगदीशमात्रै भए पनि बिस्तारै अरू मन्त्री थपिएका थिए । कुलमान पनि सम्पादक भेलामा छिरेपछि एक पत्रकारले प्रश्न थपे, ‘उहाँहरू चुनाव लड्दै हो ?’

प्रधानमन्त्री कार्कीले आफूहरू चुनाव लड्ने योजनामा नरहेको, बरु सफल चुनाव गराएर बिदा लिने भनिन् । उनले आफ्नो भनाईमा मन्त्रीहरू कायम छन् कि छैनन् भनी जाँच्न खोजिन् ।

‘म त लड्दिनँ, तपाईंहरु चुनाव लड्ने हो र ?’ कार्कीले मन्त्रीहरूतर्फ हेर्दै सोधिन्, ‘रामेश्वरजी लड्दिनँ भन्नुहुन्छ, कुलमानजी लड्नुहुन्छ कि ?’

अर्थमन्त्री रामेश्वर खनालले मुन्टो हल्लाउँदै नकारभाव जनाए । गृहमन्त्री अर्याल हाँसिरहे, कुनै भाव व्यक्त भएन । बरु प्रधानमन्त्रीले नै अर्यालको मनस्थिति खुलाउँदै भनिन्- ओमप्रकाशजी कतिबेर यो काम सकेर वकालतमै फर्किउँ भन्दैहुनुहुन्छ ।’

ऊर्जामन्त्री कुलमानले भने अनुहारलाई भावविहीन बनाउँदै भुइँतर्फ हेरिरहे । उनले आफ्नो बोल्ने पालोमा डेडिकेटेड र ट्रंकलाइनको विवादबारे स्पष्ट पार्ने कोसिस गरे तर चुनाव लड्ने विषयमा केही बोलेनन् ।

यति बेला कुलमानको तर्फबाट पार्टी दर्ता गर्ने तयारीसहित मुक्तसिंह लामा लगायतले घोषणापत्र विधान मस्यौदा गरिरहेका छन् । उनको उज्यालो नेपाल अभियानलाई पार्टी बनाउने तयारी छ भनी प्रसंगहरू चलेका छन् ।

उनले चुनाव लड्ने र राजनीतिक दलहरूको अवस्थाबारे पनि केही आफ्नो बुझाइ सेयर गरिन् । उनले नेतृत्व रूपान्तरण गरेर आए अहिलेका पार्टीहरू धेरै नखस्किने सम्भावना रहेको उनको धारणा थियो । ‘युवाहरू पोलिटिकल पार्टीमा आए भने धेरै ‘डिग्रेड’ हुँदैन होला’ उनले भनिन् ।

नेपाली राजदूतको आचरणमा प्रश्न

पूर्ववर्ति केपी शर्मा ओली सरकारले नियुक्त गरेका ११ जना राजदूत फिर्ता गरेको विषयमा अहिले सरकारको आलोचना भइरहेको छ । चुनावी सरकारले राजदूत फिर्ता बोलाउने निर्णय सही कि गलत भन्नेमा पनि प्रधानमन्त्री कार्कीले स्पष्ट पारिन् ।

उनले राजदूतहरूको आचरणको विषय आएपछि फिर्ता बोलाएको जानकारी दिइन् । राजदूत फिर्ताका तीन कारणहरू रहेछन् । एक, केही राजदूतले सम्बन्धित मुलुकहरूमा ‘यो सरकार धेरै टिक्दैन’ भनेर गरेको ब्रिफिङ । दोस्रो, आर्थिक अनियमितता । तेस्रो, अन्डर परफर्मेन्स ।

एक साता अघि राजदूतहरूलाई उनले भर्चुअल ब्रिफिङ गर्दै यहाँको अवस्थाबारे जानकारी गराउन र राम्रो काम गर्ने निर्देशन दिएकी थिइन् । तर एक सातामै फिर्ता बोलाउने निर्णय गर्नुपर्ने तीन कारण उल्लेख गर्दै उनले भनिन्,’हाम्रा केही राजदूतहरूले सम्बन्धीत मुलुकहरूमा बैठक गरेर यो सरकारको काम छैन । धेरै जाँदैन भन्दै ब्रिफिङ गरेको थाहा भयो । सरकारकै अस्तित्व नस्वीकार्ने कुरा गरेको थाहा भएपछि हामीले फिर्ता बोलायौं ।केहीका आर्थिक कुरा पनि जोडिए ।’

उनले तीन जना राजनीतिक नियुक्तिका महिला राजदूतको कामको भने प्रसंशा गरिन् । चीनका राजदूत फिर्ता बोलाउँदा भारतका किन फिर्तामा परेनन् भन्ने प्रश्नमा उनले पर्फर्मेन्सको कुरा जोडिन् । ‘भारतको मा केही पाएनौं’ उनले भनिन् ।

विदेशी दबाबको हल्ला

प्रधानमन्त्री कार्की नेतृत्वको सरकारमाथि विदेशी दबाब र हस्तक्षेप रहेको भन्नेहरूका अनेकौं टिप्पणी छन् । राजनीतिक र कूटनीतिक वृत्तमा उनको सरकारप्रति यो प्रकारको धारणा व्यापक पनि छ । जुन कुरामा कुनै सत्यता नरहेको उनले उदाहरणसहित पेश गरिन् ।

एउटा त उनले कुनै पनि विदेशी राजदूत र नियोग प्रमुखहरूलाई विगतमा प्रधानमन्त्रीहरूले जस्तो बालुवाटार स्थित निवासमा बोलाएर भेटेकी छैनन् । अर्को उनले सिंहदरबारका भेट पनि शिष्टाचारका लागि मात्र भएको दाबी गरिन् ।

बरु उनले अहिले पासपोर्टको समस्या आउने भएपछि त्यसलागि जर्मनीका राजदूतसँग चाहीँ सहयोग मागेको खुलाइन् ।

‘मेरा कुरा तपाईंहरू मान्नुहोस् वा नमान्नुहोस् मैले शिष्टाचार बाहेक कुनै भेट गरेको छैन’ उनले भनिन्,’जर्मनीका राजदूतलाई चाहीँ पासपोर्ट जनवरी सम्म दिनसक्ने गरी सहयोग गर्नुहोस् भनेकी हुँ ।’

यो किन भनियो भन्ने पनि उनले कारण स्पष्ट खुलाइन् । उनका अनुसार अहिले जम्मा १ लाख ७० हजार मात्र पासपोर्ट बाँकी छ । हरेक दिन कम्तीमा ६ हजार पासपोर्ट बनिरहेका छन् । केही महिनापछि यो स्टक सकियो भने वैदेशिक रोजगारीमा जानेहरूले नै यहाँ विद्रोह गर्नसक्ने अवस्था आउने भएकाले छिटो छपाईका लागि आग्रह गरेको उनले जानकारी दिइन् ।

‘पासपोर्ट नदिएमा यहाँ माइग्रेन्ट मुभमेन्टको खतरा छ,’ उनले भनिन्,’यहाँ रोजगारी छैन । विदेश जानेलाई पासपोर्ट दिने अवस्था पनि रहेन भने के होला भनेर मैले छिटो पासपोर्ट ल्याउनका लागि अनुरोध गरेकी हुँ ।’

जेनजीका बदलिएका रूप

जेनजीको प्रतिनिधिको रूपमा प्रधानमन्त्री बनेकी कार्कीले खास जेनजीहरू अहिले खुट्याउन थालेकी रहेछिन् । उनले सुरुका जेनजी र अहिलेका जेनजीमा आएको बदलावबारे पनि खुलेरै कुरा गरिन् ।

सुरुमा अनेथरी माग लिएर आउने जेनजीहरू अहिले यही संविधान, व्यवस्थाको कुरा गर्दै चुनावमा जानुपर्छ भन्ने बिन्दुमा आइपुगेका रहेछन् । यसले उनलाई चुनावमा जाने आत्मबल प्रदान गरेको रहेछ । जेनजीहरुको बुझाइ बदलिएकोमा उनले प्रसन्नता पनि व्यक्त गरिन् ।

‘डे वानका जेनजी र आजका जेनजीबीच आकाश जमिनको फरक छ’ उनले भनिन्,’अहिलेले हामीले भन्दा राम्ररी कानुनका कुरा गर्ने भएका छन् । बुझाइ कति राम्रो भएको छ । अस्ती २०/२१ वटा ग्रुपसँग कुरा भयो । उहाँहरूका कुरा देख्दा त रामचन्द्र पौडेल, शेरबहादुर देउवा युवा हुँदाका जस्ताको पनि देखेँ ।’

उनका अनुसार सुरुमा प्रत्यक्ष निर्वाचित कार्यकारी, अन्तरिम संविधान लगायतका अनेक कुरा आएका थिए । अहिले जेनजीहरूले त्यस्तो कुरा छैन । ‘अहिले जेनजी खारिँदै गएका छन्’ उनले भनिन् ।

लेखक
बसन्त बस्नेत

बसन्त बस्नेत अनलाइनखबरका प्रधान सम्पादक हुन् । उनका 'महाभारा' र 'सिमसारा' उपन्यास तथा '७२ को विस्मय : संविधान मधेस र नाकाबन्दी' सामयिक इतिहास गरी तीन किताब प्रकाशित छन् ।

दुर्गा खनाल

खनाल अनलाइनखबरका समाचार सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?