+
+
Shares

चिया सिड्स : मेसोअमेरिकादेखि हाम्रो भान्सासम्म

मेक्सिको र ग्वाटेमालाको रैथाने वनस्पति चिया सिड्सको प्रयोग नेपाली भान्सामा पनि पौष्टिक आहारयुक्त खाजाका रुपमा हुन थालेको छ । नेपालमा आयात गरिने चिया सिड्स भारतमा उत्पादन गरिएको हो । यदि स्वदेशमै चिया सिड्सको उत्पादन हुनसक्छ भने स्थानीय पालिकाहरुले ध्यान दिउन् । 

कमल मादेन कमल मादेन
२०८२ कात्तिक १७ गते १२:३९
Photo Credit : कमल मादेन

कोभिडताका चिया सिड्स (Chia seeds) को चर्चा खुबै थियो । यसलाई खाजाका रूपमा सेवन गर्दा शरीरलाई अनेकन् फाइदा हुने चर्चा चलेको थियो । सिड भनेको बीउ हो । सुरुमा चिया सिड्स भनेको त पिउने चियाकै बीउ होला कि भन्ने भ्रम भयो । पछि थाहा भयो– यो पिउने चियाको नभई अर्कै वनस्पतिको बीउ हो । यसको बीउ त तोरीभन्दा सानो, रायो सागको बीउ जत्रो तर अण्डाकार, चिल्लो सतह र हल्का सेतो सतहमा खैरा–काला धर्साहरु र केही चाहिं हल्का सेतो हुँदोरहेछ ।

काठमाडौं उपत्यकाको बसाइ । शारीरिक परिश्रम यसै पनि कम हुन्छ । यसकारण उमेर ढल्कँदै गएपछि, विभिन्न रोगबाट बच्न के कसरी सकिन्छ भनेर चिन्ता त यसै भइहाल्छ । त्यसमा कुनै खानेकुरा खाएर शरीर स्वस्थ रहन्छ भने किन नखाने भन्ने हुन्छ नै । करिब आठ–नौ महिनाअघि हामीले घरमा चिया सिड्स खान शुरु गरेपछि यो कुन वनस्पतिको बीउ हो भन्ने खुल्दुली मनमा चलिरहन्थ्यो । यसै क्रममा जीवनसँगिनी सीताले यसको बोट कस्तो हुन्छ भनेर गमलामा छरेको, चिया सिड्स सजिलै उम्रियो।

यसको पात “सिलाम” भनिने वनस्पतिको पातसँग निकै हदसम्म मिल्ने रहेछ । वनस्पतिको पहिचानमा रुचि राख्नेहरुका निम्ति वनस्पति प्रजाति चिन्ने ठूलै हुटहुटी हुन्छ । यसक्रममा ठ्याक्कै प्रजाति वा वंश नचिनिए पनि प्रजातिसम्वद्ध परिवार चिन्न सक्नु चाहिं पहिलो खुड्किलो हो ।

संसारभर फूल फुल्ने वनस्पतिका ४१६ परिवार, १३ हजार बढी वंश र करिब ३ लाख प्रजाति पहिचान भएका छन् । पात र डाँठका आधारमा चिया सिड्स घरमा रोपिने तुलसी सम्बद्ध परिवार ल्यामिऐसी (Lamiaceae) अन्तर्गत पर्ने अनुमान लगाएँ । बोट एक–डेढ मिटरभन्दा अग्लो भई तिहारदेखि नीलो–बैजनी रंगका स–साना फूलहरू फुलिरहेका छन् । पछि छरेका बिरुवा बढ्दै छन् ।

फूलमा ५ वटा पुष्पदल जोडिएर ट्यूब आकृति बनेको छ । त्यो पुष्पदलको ट्यूब शून्य दशमलव ६ से.मी. जति लामो छ । पुष्पदलको ट्यूबको टुप्पोमा ३ वटा धारिला चुच्चा छन् । पुष्प पत्रको आधा लम्बाइ पनि जोडिएको छ ।

पुष्पपत्रको जोडिएको भाग चाहिं पुष्पदलको ट्यूबभित्र रहेकाले बाहिरबाट देखिंदैन । पुष्पदलभित्र रहेको पुष्पपत्रको ट्यूब हल्का सेतो र पुष्पदल बाहिरका पुष्पपत्र बैजनी रंगमा दुई भागमा विभक्त छन् ।

फूलको अगाडितिरको भाग जिब्रो आकारको छ । जिब्रोको मध्यभागको दुवैछेउ भित्रपट्टि पसेको छ । जिब्रो जस्तो आकारको फेदमा अगाडि-पछाडि फर्केका दुईवटा समानान्तर देखिने सेता धर्सा छन् । पुष्पपत्रको पछिल्लो भागमा रौंले ढाकेको आकृति ठडिएको छ र वयस्क फूलमा भाले प्रजनन् अंगका स–साना २ वटा आकृति जिब्राको टुप्पातिर ढल्किएको छ ।

यो वनस्पति साल्विया (Salvia) वंशको हो । साल्विया ल्याटिन भाषाको ‘साल्वस’(Salvus) शब्दबाट बनेको हो । यसको अर्थ ‘स्वस्थ’ वा ‘सुरक्षित’ भन्ने हुन्छ ।

स्वीडेनका कार्ल लिन्नियसले चिया सिड्सको वैज्ञानिक नामकरण सन् १७५३ मा साल्विया हिस्पानिका (Salvia hispanica) गरेका रहेछन्। लिन्नियसले यसको नमूना स्पेनबाट प्राप्त गरेका थिए । ल्याटिन भाषाको ‘हिस्पानिया’बाट ‘हिस्पानिका’ बनेको हो । ‘हिस्पानिया’को अर्थ स्पेनसँग सम्बन्धित भन्ने हुँदोरहेछ । यो लेखमा यही वनस्पति उपभोगको इतिहास सहित यो के कति स्वास्थ्यका लागि लायदायक छ भन्ने चर्चा गर्ने जमर्को गरेको छु ।

मेसोअमेरिकी सभ्यता

चिया सिड्स् अन्नबाली होइन । यो तेलबीउ बाली (Oilseed crop)हो । मैले यहाँ सर्वप्रथम यो वनस्पति कुन सभ्यताका मानिसले उपभोग गर्ने गरेका थिए भन्ने कुरा जोड्न चाहें । यो वनस्पति अमेरिकी महाद्वीपअन्तर्गत मेक्सिको र ग्वाटेमालाको रैथाने वनस्पति हो।

यसको अर्थ चिया सिड्स एसिया, युरोप, अफ्रिका वा अष्ट्रेलियाको नभई नयाँ संसारको वनस्पति हो । अमेरिकी महाद्वीपहरु १५औं शताब्दीको अन्त्यतिर पत्ता लागेकाले युरोपियनहरुले त्यसलाई नयाँसंसार र अन्य महादेशलाई पुरानो संसार भने । अहिले पनि यस्तो लेख्ने प्रचलन कायमै छ । यो कुरा यहाँ यसकारण पनि उल्लेख गर्न चाहें किनकि अमेरिकी महाद्वीपहरुका मध्य भागलाई मेसोअमेरिका र त्यहाँ भएका सभ्यताहरुलाई नयाँ संसारको प्राचीन सभ्यता वा मेसोअमेरिकन सभ्यता भनिन्छ ।

प्राचीनकालमा मेसोअमेरिकन सभ्यता भव्य थिए । त्यहाँ एक होइन, अनेकन् सभ्यताहरु थिए । तिनीहरु के कसरी संरक्षण गरी राखिएका छन् भनेर सचित्र थाहा दिलाउने एक पुस्तक फाबियो बोर्बन सम्पादित तथा ह्वाइट स्टार पब्लिसरबाट सन् २००१ मा प्रकाशित ‘लस्ट सिभिलाइजेसन : रिडिस्कोभरिङ द ग्रेट कल्चर्स अफ द पास्ट’ (पृ. २७८–२४४) पनि हो।

क्रिस स्कार सम्पादित तथा थेम्स एण्ड हड्सन प्रकाशनबाट सन् २०१८ मा प्रकाशित द ह्युमन पास्ट : वर्ल्ड प्रिहिज्टोरी एण्ड द डिभलपमेन्ट या ह्युमन सोसाइटिज शीर्षक पुस्तक मेसोअमेरिका अन्तर्गत एज्टेक सभ्यता (Aztec civilization) का बारेमा चर्चा छ (पृ. ६२९–६३४) ।

एज्टेक सभ्यता मेसोअमेरिकाको सबैभन्दा शक्तिशाली र त्यहाँका आदिवासीको अन्तिमको सभ्यता हो । यो सभ्यताको उत्पत्ति सन् १३४५ तिर मेक्सिको उपत्यकामा भएको थियो, जहाँ एज्टेक नामक आदिवासी समूहले तिनको राजधानी टेनोच्टिट्लान  (Tenochtitlan) स्थापना गरे, जुन अहिलेको मेक्सिको सिटी हो । एज्टेक समुदायको एज्टेक सभ्यता सन् १५२१ सम्म अस्तित्वमा थियो ।

एज्टेक सभ्यतामा चिया सिड्स अत्यधिक उत्पादन गरिन्थ्यो । त्यो सभ्यतामा चिया सिड्सलाई मुख्य बालीमध्ये एक मानिन्थ्यो । उनीहरुको खेती प्रणालीमा मकै, फर्सी, राजमा र चिया चार वटा प्रमुख अन्न थिए । ती चार बालीलाई पवित्र चार बाली मानिन्थ्यो । एज्टेक किसानहरुले मेक्सिकोको केन्द्रीय उपत्यकामा, विशेष गरी भिजेको र समथर भूभागमा चिया सिड्सको खेती गर्थे ।

चिया सिड्सको नियमित सेवनले रोग लाग्दैन भन्ने भ्रममा रहनुहुन्न । योसँगै कुन खाद्य पदार्थ कति खानुपर्छ भन्ने हेक्का राख्नुपर्छ र शारीरिक व्यायाम आवश्यक पर्छ । सबै कुरामा सावधानी अपनाउँदा रोगहरु लाग्ने सम्भावना कम हुने मात्रै हो।

चिया सिड्सको सेवनले दीर्घकालीन ऊर्जा प्रदान गर्थ्यो, त्यसैले सैनिक र दूतहरुले लामो यात्रामा चिया सिड्स खान्थे । एज्टेकहरुले यसलाई ‘जीवन दिने बीउ’ भनेर मान्थे । यसबाट निकै धेरै घण्टासम्म तृप्त राख्ने भएकाले यो युद्धमा जानुअघि वा लामो यात्रा अघि ऊर्जाको स्रोतको रुपमा प्रयोग हुन्थ्यो ।

अचम्म चाहिं चिया शब्द पनि अज्टेक र माया सभ्यता अन्तर्गत प्राचीन नाहुआल (Nahualt) भाषाको ‘चियान’ शब्दबाट बनेको रहेछ । नाहुआल भाषामा ‘चियान’को अर्थ तेलयुक्त वा तेल दिने बीउ भनिने रहेछ । यसैबाट पछि अंग्रेजीमा चिया भन्ने शब्द बन्न पुगेछ ।

तर, जब सन् १५२१ मा स्पेनीहरुले एज्टेक साम्राज्य जिते स्पेनीहरुले एज्टेक धर्मसँग सम्बन्धित बालीहरुमा रोक लगाए । कारण, चिया एज्टेक धर्मसँग जोडिएको थियो । तर, गाउँ र पहाडी क्षेत्रमा बस्ने आदिवासीहरुले चिया सिड्सलाई तिनको सांस्कृतिक सम्पदा मान्दै गुप्त रूपमा जोगाए । मेसोअमेरिकामा चिया सिड्स माया सभ्यतामा पनि उपभोग हुन्थ्यो । माया सभ्यता ईसापूर्व २००० मा सुरुआत भई ९औं शताब्दीबाट विलय शुरु भएको थियो ।

चिया सिड्स सुपरफुड

बीसौं शताब्दीको अन्त्यतिर, पोषण विज्ञ र वनस्पति वैज्ञानिकहरुले चिया सिड्समा असाधारण पोषक तत्वहरु फेला पारे । यसमा ओमेगा–३, फाइबर, प्रोटिन, क्याल्सियम, म्याग्नेसियम, आइरन र एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइने तथ्य बाहिर आयो । यी तत्वहरुले मुटु, मस्तिष्क र पाचन प्रणालीका लागि अत्यन्त फाइदाजनक भूमिका खेल्छन् भन्ने कुरा वैज्ञानिक रूपमा प्रमाणित भयो ।

विशेषत: ओमेगा–३ भनेको एक किसिमको फ्याटी एसिड्स हो । यो मानिसको शरीरका लागि अत्यावश्यक बोसो (Essential fatty acid) हो । यो मुख्यत: माछाको तेल (जस्तै साल्मन, सार्डिन), फ्ल्याक्स सिड्स (आलस) आदिमा पाइन्छ । चिकित्सकहरुका अनुसार यसले मुटु स्वस्थ राख्छ, रगतको दबाब नियन्त्रणमा मद्दत गर्छ, मस्तिष्कको विकास र स्नायु प्रणालीको कार्यमा महत्वपूर्ण भूमिका निभाउनुका अतिरिक्त दृष्टि र मानसिक स्वास्थ्यका लागि उपयोगी हुन्छ ।

सन् १९८० र १९९० को दशकपछि, अमेरिका, क्यानाडा र युरोपमा स्वास्थ्य जागरुकता र प्राकृतिक आहारप्रति रुचि तीव्र रुपमा बढ्यो । त्यसक्रममा चिया सिड्सले बजारमा नयाँ पहिचान पायो । यसलाई स्मूदी (Smoothie), इनर्जी ड्रिङ्क, बिस्कुट, दही आदि जस्ता विभिन्न उत्पादनहरुमा प्रयोग गर्न थालियो । मेक्सिकोमा परम्परागत रुपमा पिइने ‘चिया फ्रेस्का’ विश्वभर लोकप्रिय पेय पदार्थ बन्न पुग्यो ।

हिजोआज चिया सिड्सलाई २१औं शताब्दीको अद्भुत पौष्टिक आहार (Superfood of the 21st Century) मानिएको छ । भन्नलाई त चिया सिडस् हृदय रोग, मधुमेह, मोटोपना र उच्च रक्तचाप नियन्त्रणमा उपयोगी हुन्छ । यो वास्तवमै हो वा व्यापारका लागि मात्र भनिएको हो, आफैं परीक्षण गरेर मात्र पत्याउन उपयुक्त होला । यस्तै भनाइका कारण हिजोआज चिया सिड्स फिटनेस, भेगन र स्वास्थ्यप्रेमी समुदायको दैनिक आहारा बनेको छ ।

सेवन तरिका

चिया सिड्सका सेवन विधि अनेकन् छन् । हामीले चाहिं यसको सेवनविधि थाहा पाउन युट्यूबको सहारा लियौं ।

हेरिएको सामग्रीमा दैनिक एक जनालाई बिहानको खाजाका निम्ति २ टेबलचम्चा भए पुग्ने बताइएको थियो । त्यो ठिकै रहेछ । हामी परिवारमा ४ जना छौं । त्यसैले ८ टेबल चम्चा सिसाको बटुकामा राखेर दुई टेबल चम्चाका निम्ति एक कपजति पानीका दरले ४ कप जति पानी मिसाउँछौं । अलिकति बढी भयो भने पनि केही हुन्न । त्यसपछि चम्चाले केहीबेर चलाइरहनुपर्छ ।

केहीक्षणमै, चिया सिड्स वरिपरि पारदर्शी लेदो जस्तो बन्छ । त्यसलाई १५/२० मिनटपछि सेवन गर्नु उपयुक्त हुन्छ । राति तयार गरे, बिहान उठेर बनाइरहने झन्झट हुँदैन । राति तयार गरेको चिया सिड्सलाई फ्रिजमा राख्ने गरेका छौं । फ्रिजमा राखेको चिया सिड्स २–३ दिनसम्म बिग्रँदैन । फ्रिज छैन भने बिहान वा जतिखेर खाने हो, त्यसभन्दा २०/३० मिनटअघि बनाउन सुरु गर्नुपर्छ ।

चिया सिड्सको स्वाद खासै हुँदैन । न मीठो, न नमिठो । यसको स्वाद आलस (Flaxseeds) जस्तो हुन्छ । यसलाई जुनसुकै खानेकुरामा मिसाएर खाँदा यसबाट मिसाइने खानेकुराको स्वाद हराउँदैन ।  दही राखेर खाँदा स्वादिलो हुन्छ । फलफूल मसिनो काटेर मिसाएर खाँदा अझ राम्रो । काजु, नट्स वा बदाम, ओखर मिसाएर खाँदा झनै राम्रो । यदि यिनीहरु छैन र अलि बढी खाजा खाने हो भने मकै, जौ, फापर आदिको सातु मिसाएर खाँदा अडिलो हुन्छ । सुगरका रोगीका लागि त सातु मिसाएर खानु अति उत्तम ।

चिया सिड्स सुख्खा खाँदा घाँटीमा अड्किन सक्छ । यस्तै, यो धेरै परिमाणमा एकैचोटि खानु स्वास्थ्यका लागि हानिकारक हुन्छ । किनभने, धेरै खाँदा पेट फुल्ने र ग्याष्ट्रिक हुन सक्छ । रक्तचाप घटाउने वा रगत पातलो पार्ने औषधि सेवन गर्नेले यो खानअघि चिकित्सकसँग सल्लाह गर्नु राम्रो हुन्छ । यस्तै, एलर्जी भइरहने व्यक्तिले पनि यसमा सावधानी अपनाएर खानु राम्रो हुन्छ ।

क्यालोरी

यहाँ अलिकति मानिसलाई आवश्यक पर्ने शक्ति अर्थात् ऊर्जाबारे चर्चा गरौं ।

जब हामी खाना वा खाजा खान्छौं, त्यसबाट शरीरले ऊर्जा प्राप्त गर्छ । त्यो ऊर्जा क्यालोरीमा मापन गरिन्छ । क्यालोरी भनेको त्यो ऊर्जा हो, जसले शरीर चलाउँछ, सोच्न, हिंड्न, सुत्न, काम गर्न सक्षम बनाउँछ । त्यति मात्र होइन, ऊर्जा हृदय, मस्तिष्क, फोक्सो चलायमान बनाउन आवश्यक पर्छ ।

शरीरको तापक्रम कायम राख्न ऊर्जा चाहिन्छ । मांसपेशी चलाउन अर्थात् काम गर्न ऊर्जा आवश्यक पर्छ । कोषभित्र रासायनिक प्रतिक्रिया चलाउन ऊर्जा चाहिन्छ । वैज्ञानिक मान्यताअनुसार एक क्यालोरी ऊर्जाले १ ग्राम पानीको तापक्रम १ डिग्री सेन्टिग्रेटले बढाउँछ । शरीरले आवश्यक भन्दा बढी क्योलोरी पायो भने त्यो बोसोको रूपमा शरीरमा जम्मा हुन्छ, कम पायो भने शरीर कमजोर र थकाइ लाग्ने हुन्छ ।

चिया सिड्सले उच्च क्यालोरी त दिने नै भयो, त्यस अतिरिक्त प्रोटिन, फ्याट, कार्बोहाइड्रेट, खनिज, फाइबर पनि उत्तिकै हुन्छ भन्ने अनुसन्धानात्मक लेखहरुबाट थाहा पाइन्छ । जसअनुसार, प्रतिग्राम चिया सिड्सले ४.९ क्यालोरी ऊर्जा उपलब्ध गराउँछ । जबकि १ ग्राम मासुले २.५ क्यालोरी, १ ग्राम अण्डाले १.५५ क्यालोरी (सेतो १ ग्राम =०.४८ क्यालोरी, १ ग्राम पहेँलो = ३.२२ क्यालोरी) र १ ग्राम दूधले ०.६ क्यालोरी उपलब्ध गराउँछ ।

सामान्यत: वयस्क पुरुष वा महिलाले दुई टेबल चम्चा खाजाका रुपमा खान उपयुक्त मानिन्छ । दुई टेबल चम्चामा लगभग २८ ग्राम चिया सिड्स हुन्छ । यति चिया सिड्सले १३७.२ क्यालोरी उपलब्ध गराउँछ । यति भनेको लगभग ५४ ग्राम मासुले उपलब्ध गराउने क्यालोरी बराबर हो ।

चिया सिड्समा फाइबर पनि हुन्छ । फाइबर सिधै पच्दैन । आन्द्रामा भएका ब्याक्टेरियाले फाइबरको केही भाग किण्वन (Ferment) गर्दा केही मात्रामा फाइबरबाट पनि ऊर्जा निस्कन्छ ।

यस्तै, चिया सिड्समा क्याल्सियम, आइरन, म्याग्नेसिया र फस्फोरस जस्ता खनिजहरु पनि पाइन्छ । क्याल्सियम हड्डी बनाउनका लागि अत्यावश्यक हुन्छ । आइरन रगतमा पाइने हेमोग्लोबिनको मुख्य तत्व हो, यसको सहायताले फोक्सोबाट शरीरको विभिन्न भागमा अक्सिजन पुग्छ । यसको कमीले एनेमिया, थकान र कमजोरी हुन्छ । म्याग्नेसियम शरीरभित्रका सयौं जैविक–रासायनिक प्रतिक्रियामा संलग्न हुन्छ । फस्फोरसले क्याल्सियमसँग मिलेर हड्डी र दाँत बलियो बनाउँछ र शरीरको ऊर्जा उत्पादनका लागि भूमिका निभाउँछ ।

अन्त्यमा, चिया सिड्सको नियमित सेवनले रोग लाग्दैन भन्ने भ्रममा रहनुहुन्न । योसँगै कुन खाद्य पदार्थ कति खानुपर्छ भन्ने हेक्का राख्नुपर्छ र शारीरिक व्यायाम आवश्यक पर्छ । सबै कुरामा सावधानी अपनाउँदा रोगहरु लाग्ने सम्भावना कम हुने मात्रै हो ।

मेसोअमेरिकामा उत्पादन भएको चिया सिड्स स्वास्थ्यका लागि फाइदाजनक छ भन्ने वैज्ञानिक अनुसन्धानबाट पुष्टि भएको हो । तर, अन्य देशमा फलाइएको चिया सिड्स मेसोअमेरिकामा उत्पादन भएकै जस्तो कारगर नहुन पनि सक्छ । जस्तो, मुस्ताङको स्याउ जति मिठो हुन्छ, त्यही स्याउ अन्य जिल्लाको मिठो हुँदैन ।

हिजोआज नेपालमा आयात गरिने चिया सिड्स भारतमा उत्पादन गरिएको हो । मेसोअमेरिका र भारतको हावापानी फरक छ । दक्षिणएसियामा उत्पादन हुने चिया सिड्स मेसोअमेरिकाकै जस्तो स्वास्थ्यवर्द्धक नहुन सक्छ । यसैले, हामीकहाँ आयात हुने चिया सिड्सबाट प्रतिग्राम के कति क्यालोरी प्राप्त हुन्छ, त्यसबारे अनुसन्धान हुनुपर्छ । यो काम नेपाल एकाडेमी अफ साइन्स एण्ड टेक्नोलोजी (नास्ट) खुमलटार, ललितपुरले गर्नुपर्छ ।

एक अपुष्ट समाचारअनुसार हालैका वर्षमा चितवन, मकवानपुर लगायत जिल्लामा चिया सिड्स खेती गर्न शुरु गरिएको छ । यो समुद्री सतहबाट ८००–१८०० मिटर भौगोलिक उचाइसम्म घमाइलो र पानी नजम्ने भूभागमा हुन्छ भन्ने लेखिएका छन् । भारतमा मध्यप्रदेश, राजस्थान, कर्नाटक, तामिलनाडु र हिमाञ्चल प्रदेशमा खेती गरिएका छन् । यदि नेपालमा उत्पादन भएको चिया सिड्समा मेसोअमेरिकामा उत्पादन गरेकै हाराहारीमा क्यालोरी प्राप्त हुन्छ र अन्य उपयोगी खनिज सहित ओमेगा–३ पनि पाइन्छ भने यसको उत्पादन के कसरी गर्न सकिन्छ, यसतर्फ सरोकारवाला लाग्नुपर्छ । यसका निम्ति चुरे र मध्य पहाडी क्षेत्रका पालिकाहरुले ध्यान दिंदा राम्रो ।

लेखक
कमल मादेन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?