१७ कात्तिक, ओखलढुंगा । युगकवि सिद्धिचरण श्रेष्ठले ओखलढुंगाको अनुपम सौन्दर्य र विशिष्टतालाई समेटेर कविता कोरे– ‘मेरो प्यारो ओखलढुंगा…।’ कविका शब्दहरूले भनेझैं, ओखलढुंगा साँच्चै सुन्दर र मनमोहक छ ।
आज पनि यहाँको माटोको सुगन्ध, हरियाली फाँट र जीवनको सरल सौन्दर्य उत्तिकै जीवन्त छ । यद्यपि, यसको विशेषता र सुन्दरतालाई केवल शब्दमा बयान गर्न असम्भव छ ।
मैले फोटोग्राफीको यात्रा थाल्दा एउटा सपना थियो– कुनै दिन आफ्नै जन्मभूमिको हरेक कुनामा पुग्ने र ती गाउँ, फाँट, चौतारी, खोला–झरना तथा बादलबीच लुकेका सौन्दर्यहरूलाई क्यामेरामा कैद गर्ने । खुसीको कुरा, त्यो सपना अब बिस्तारै साकार हुँदैछ ।
पहाडमाथिबाट सूर्यको पहिलो किरण झर्दा रुम्जाटार उज्यालिन्छ । हरियाली टारहरूमा हावासँग खेल्ने धानका बालाहरूमा समृद्धिको सुगन्ध मिसिन्छ । बिहानको घाममा ती सुनौला बालाहरू टल्कँदा ओखलढुंगाको वास्तविक आत्मा झल्किन्छ ।
खोला र झरनाको मधुर आवाज यस ठाउँको प्राकृतिक संगीत हो, जुन शब्दभन्दा बढी बोल्छ ।
कवि सिद्धिचरण श्रेष्ठले ओखलढुंगाको आत्मालाई शब्दमा बाँध्ने प्रयास गरे । मैले भने त्यसलाई प्रकाश र रङको फ्रेममा कैद गर्ने प्रयास गरेको छु ।
हरेक क्यामेरा क्लिकमा मनले युगकविको त्यही कविता गुनगुनाइरहन चाहन्छ– ‘मेरो प्यारो ओखलढुंगा…।’









प्रतिक्रिया 4