News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान सम्झौताका लागि निकै उत्सुक रहेको दाबी गरेका छन्।
- इरान सरकारका प्रवक्ता फातिमा मोहजेरानीले अमेरिकासँग वार्ताका लागि ओमानले मध्यस्थता गरिरहेको बताए।
- इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाएईले अमेरिकाबाट कुनै सन्देश प्राप्त नभएको र अधिकार सुरक्षित नभए वार्तामा भाग नलिने बताएका छन्।
१७ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकासँग सम्झौता गर्न चाहेको दाबी गरेका छन् ।
अमेरिकी टेलिभिजन एबीएस न्यूजसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरान सम्झौताका लागि उत्सुक रहेको दाबी गरेका हुन् ।
उनले भने, ‘निश्चय नै उनीहरूले भन्ने छैनन्, उनीहरूले यस्तो भन्नु पनि हुँदैन, कुनै पनि कुशल वार्ताकारले यस्तो भन्दैनन् तर, इरान सम्झौताका लागि निकै उत्सुक छ ।’
हालैका दिनमा इरान र अमेरिकाबीच पुन: छलफल सुरु हुन सक्ने सम्भावनाका खबरहरू आएका थिए । इरान सरकारका प्रवक्ता फातिमा मोहजेरानीले आइतबार अमेरिकासँग वार्ताका लागि ओमानले मध्यस्थता गरिरहेकोले विदेश मन्त्रालयलाई सन्देश प्राप्त भएको बताइन् ।
ओमानका विदेशमन्त्री बद्र अल–बुसैदीले पनि शनिबार आफूहरू इरान र अमेरिकाले पुन: छलफल सुरु गरुन् भन्ने चाहेको बताए ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाएईले सोमबार भनेका छन्, ‘हालका दिनमा अमेरिकाबाट कुनै सन्देश प्राप्त भएको छैन र हामी त्यस्ता वार्तामा भाग लिँदैनौं जहा आफ्ना अधिकार सुरक्षित गर्न सकिँदैन ।’
यसअघि, इरानका विदेशमन्त्री अब्बास अरागचीले सोमबार अल जजिरालाई दिएको अन्तर्वार्तामा इरान वार्ताका लागि हतारोमा नरहेको प्रतिक्रिया दिएका थिए ।
इरान र अमेरिकाबीच पाँचौ पटकसम्म वार्ता भएको थियो । तर, १२ दिनसम्म युद्धका दौरान इजरायल र अमेरिकाबाट इरानमाथि आक्रमण भएपछि तेहरानले अमेरिकासँगको छलफल रद्द गरेको थियो ।
इरानको परमाणु कार्यक्रम रोक्न र सम्झौता गर्न अमेरिकाले इरानलाई दबाब दिँदै आएको छ । तर, इरानले भने परमाणु कार्यक्रम आफ्ना नागरिकको सुरक्षाको लागि भएको बताउँदै बन्द गर्न अस्वीकार गर्ने गरेको छ ।
प्रतिक्रिया 4