+
+
Shares

पोखरा सहकारीको साढे ८८ करोड हिनामिना : पक्राउ पर्ने ८ जना पुगे

पोखरा–९ नयाँ बजारमा रहेको सहकारीबाट पूर्व तथा वर्तमान सहकारीका पदाधिकारी तथा सञ्चालक र प्रवन्धसमेतको मिलेमतोमा रकम हिनामिना प्रकरणमा अध्यक्षसहित पदाधिकारी, प्रवन्धक, कर्मचारी बुधबार पक्राउ परेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १९ गते १४:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोखरा बचत तथा ऋण सहकारी संस्थाको ८८ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना प्रकरणमा ८ जना पक्राउ परेका छन्।
  • पक्राउ पर्नेमा अध्यक्ष सुरेन्द्रबहादुर गोदार, उपाध्यक्ष शम्भुराज बास्तोला, प्रबन्धक भीष्मप्रसाद गुरुङ लगायत पूर्व तथा वर्तमान पदाधिकारी छन्।
  • सहकारीको रकम व्यक्तिगत सम्पत्ति आर्जन र स्वार्थमा प्रयोग गरिएको वित्तीय विश्लेषक निर्मल गौतमले गरेको प्रतिवेदनले देखाएको छ।

१९ कात्तिक, पोखरा । पोखरा बचत तथा ऋण सहकारी संस्थाको ८८ करोड रुपैयाँभन्दा धेरै रकम हिनामिना प्रकरणमा पक्राउ पर्नेको संख्या ८ पुगेको छ।

पोखरा–९ नयाँ बजारमा रहेको सहकारीबाट पूर्व तथा वर्तमान सहकारीका पदाधिकारी तथा सञ्चालक र प्रवन्धसमेतको मिलेमतोमा रकम हिनामिना प्रकरणमा अध्यक्षसहित पदाधिकारी, प्रवन्धक, कर्मचारी बुधबार पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीकाअनुसार उपाध्यक्ष शम्भुराज बास्तोला पनि पक्राउ परेका छन् । योसँगै पोखरा बचत तथा ऋण सहकारी ठगी प्रकरणमा पक्राउ पर्नेको संख्या ८ जना पुगेको हो । सहकारीको ८८ करोड सत्तरी लाख ९८ हजार रुपैयाँ हिनामिना गरिएको वित्तीय विश्लेषक निर्मल गौतमले गरेको प्रतिवेदनमा उल्लेख छ ।

सहकारीका अध्यक्ष सुरेन्द्रबहादुर गोदार, उपाध्यक्ष शम्भुराज, प्रबन्धक भीष्मप्रसाद गुरुङ, सचिव दिलबहादुर केसी खत्री, ऋण संयोजकसमेत रहेका कोषाध्यक्ष हिरामणि दाहाल, सञ्चालक समितिका पूर्वसचिव ईन्द्रप्रसाद द्वा र सञ्चलक समिति सदस्य दोर्जे तामाङ पनि यसअघि नै पक्राउ परिसकेका छन्।

गोदार पोखराका इन्जिनियर हुन् । उनको नेतृत्वका र यसअघिका पदाधिकारीसमेतको संलग्नतामा प्रवन्धक गुरुङसहितको गठजोडबाट गलत ढंगले सहकारीको रकम व्यक्तिगत सम्पत्ति आर्जन र स्वार्थमा प्रयोग गरिएको आरोप छ ।

पूर्व तथा वर्तमान सहकारी पदाधिकारी तथा सञ्चालक र कर्मचारीलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको प्रहरीले म्याद थपका लागि जिल्ला अदालत कास्की उपस्थित गराउने कास्की प्रहरी प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।

सञ्चालक समितिका पदाधिकारी, ब्यवस्थापकसमेतका ब्यक्तिहरुको गठमेलमा सहकारीको सिद्धान्त र मूल्य मान्यताहरुको बर्खिलाप गरी बचतकर्ताहरुको हितविपरित रकम हिनामिना गरेको पाइएको छ ।

सहकारी संस्थालाई दुरुपयोग गरी बचत रकम अपचलन गरी कसुरबाट प्राप्त रकम हो भन्ने जानीजानी सोही रकमको ब्यवस्थापन गर्ने मनसायले पूर्वयोजना बमोजिम अपचलन भएको निश्कर्ष रजिष्ट्रारको कार्यालयले गरेको अध्ययन प्रतिवेदनले निकालेको छ । पदाधिकारीले व्यक्तिगत सम्पत्ति आर्जनमा सहकारीको रकम खर्च गरेको पाइएको छ ।

सहकारीको रकम हिनामिना गर्ने पूर्व तथा वर्तमान पदाधिकारी, सञ्चालक सदस्य र व्यवस्थापकलाई सहकारी ठगी र सम्पत्ति शुद्धीकरणमासमेत अनुसन्धान गर्न वित्तीय विश्लेषक निर्मल गौतमले गरेको प्रतिवेदनले सिफारिस गरेको छ ।

२०७८ भदौ ६ गते सुरेन्द्रबहादुरको नेतृत्वमा पछिल्लो सञ्चालक समिति निर्वाचित भएको थियो। त्यसअघि आशबहादुर गुरुङ, फणिन्द्रराज शर्मा, विजय महर्जन अध्यक्ष थिए । महर्जनकै अध्यक्षतामा २०५९ साल वैशाख १२ गते सहकारी स्थापना भएको थियो।

सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी जेठ ११ गते छानबिनको लागि पत्राचार गरेको हो। कास्की कार्यक्षेत्र रहेको सहकारी संस्थाले हाल कुल ३ हजार ५६ शेयर सदस्यहरुले कारोबार गरिरहेको सहकारीको सिस्टमको अभिलेख बमोजिम देखिन आएको छ।

रजिष्ट्रार कार्यालयबाट छानबिन प्रतिवेदनसहित पत्राचार भएपछि प्रहरी कार्यालय कास्कीले प्रक्रिया अगाडि बढाएको प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?