News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले यूएईसँग ४ विकेटले पराजित हुँदै आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत लगातार चौथो हार बेहोरेको छ।
- नेपालले दिएको २४० रनको लक्ष्य यूएईले ५ बल बाँकी छँदा ६ विकेटको क्षतिमा पूरा गर्यो।
- लिग २ को तालिकामा अमेरिका शीर्ष स्थानमा छ भने नेपाल सातौं स्थानमा छ।
१९ कात्तिक, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत यूएईमा सम्पन्न ओडिआई शृंखलामा नेपालले लगातार चौथो हार बेहोरेको छ । बुधबार भएको शृंखलाको अन्तिम खेलमा नेपाल यूएईसँग ४ विकेटले पराजित भएको हो ।
नेपालले दिएको २४० रनको लक्ष्य यूएईले ५ बल बाँकी छँदा ६ विकेटको क्षतिमा पूरा गर्यो । यूएईका लागि मुहम्मद शाहदादले सर्वाधिक ९६ रन बनाए । त्यस्तै मुहम्मद वासीमले ७६ रन बनाए । शाहदाद र वासीम मिलेर चौथो विकेटका लागि १४७ रनको म्याच विनिङ साझेदारी गरेका थिए ।
नेपालका लागि करण केसीले १० ओभरमा ५८ रन दिएर ३ विकेट लिए । सन्दीप लामिछानेले १० ओभरमा ३५ रन दिएर १ विकेट लिए । ललित राजवंशीले १० ओभरमा ४८ रन दिएर १ विकेट लिए । नन्दन यादवले पनि १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २३९ रन बनाएको थियो । नेपालका लागि भीम सार्कीले सर्वाधिक ४८ रन बनाए । कुशल मल्लले ४५ रन बनाए । दीपेन्द्रसिंह ऐरीले ३७, आसिफ शेखले ३४ तथा आरिफ शेखले ३० रन बनाए ।
यूएईका ध्रुव पराशरले १० ओभरमा २८ रन दिएर २ विकेट लिए । जुनेद सिद्दिकीले १० ओभरमा ३६ रन दिएर २ विकेट लिए । मुहम्मद जवादुल्लाहले पनि २ विकेट लिँदा जाहिद अलीले १ विकेट लिए ।
पहिलो खेलमा नेपालले अमेरिकासँग १०६ रनको लज्जास्पद हार बेहोरेको थियो । त्यस्तै दोस्रो खेलमा बिहीबार यूएईसँग ५ विकेटले पराजित भएको थियो भने तेस्रो खेलमा अमेरिकासँग ४ विकेटले पराजित भएको थियो ।
लिग २ को तालिकामा हाल अमेरिका २४ खेलमा ३६ अंक जोडेर शीर्ष स्थानमा छ भने नेपाल २० खेलमा १२ अंक जोडेर सातौं स्थानमा छ । यूएई २० खेलमा १० अंक जोडेर पुछारमा छ ।
प्रतिक्रिया 4