१९ कात्तिक, काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले नेताहरूबारे कस्तो नीति अवलम्बन गर्ने भनेर प्रतिबद्धता सार्वजनिक गरेको छ ।
विभिन्न १० वटा कम्युनिस्ट घटकहरू मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेको छ ।
काठमाडौंको भृकुटीमण्डपमा आयोजित कार्यक्रमकाबीच एकता घोषणा कार्यक्रममार्फत नवगठित पार्टीको २३ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ ।
जसमा नेताहरूबारे कस्तो नीति अवलम्बन गर्ने भन्ने विषय समावेश छ ।
नेताहरूबारे तीन वटा प्रतिबद्धता छ ।
पहिलो : पार्टीका सबै नेता तथा कार्यकर्ता उत्पादन र श्रम कार्यमा संलग्न हुने ।
दोस्रो : कम्युनिष्ट आचरण, अनुशासन र नैतिकताको कडाइका साथ पालना गर्ने ।
तेस्रो : सादा एवं सरल जीवनशैली र पारदर्शी कार्यशैली अवलम्बन गर्ने ।
पार्टी जीवनको सन्दर्भमा मुख्यत: दुई वटा प्रतिबद्धता छन् ।
पहिलो : विगतका कामको समग्र समीक्षा गरेर भएका कमी कमजोरीहरू सच्च्याउँदै कार्यशैलीमा व्यापक सुधार, पुनर्गठन र रुपान्तरण गर्दै अघि बढ्न तत्पर रहने ।
दोस्रो : पार्टीमा आन्तरिक लोकतन्त्रको सुदृढीकरण गर्न र नेतृत्व विकास एवं हस्तान्तरणको वैज्ञानिक विधि निर्माण गरी लागु गर्न तत्पर रहने ।
जनताका सुख दु:खमा जोडिँदै देश र जनताका आवाज जोडदार रूपमा उठाउने, जेनजी पुस्ताका मुद्दा र आकांक्षको संवोधन गर्न प्रतिबद्ध रहने लगायतका विषय समेत प्रतिबद्धता पत्रमा समावेश छ ।
स्वतन्त्र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न, रोजगारी सिर्जना गर्न र गरिबीको अन्त्य गर्न विशेष पहल गर्ने प्रतिबद्धता जनाएको छ ।
वर्तमान नेपाली समाजको आर्थिक सामाजिक र सांस्कृतिक रूपान्तरण गर्न कृषि, स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग, पर्यटन र जलविद्युतको विकासलाई प्राथमिकतामा राखेर विशेष योजनाका साथ देशको विकास गर्न अग्रसर हुने भनिएको छ ।
प्राकृतिक स्रोत र साधनको संरक्षण एवं दिगो उपयोग गर्ने गरी विकासका अभियान सञ्चालन गर्ने र जलवायु परिवर्तन र पर्यावरणमैत्री विकास योजना निर्माण तथा विपद् व्यवस्थापन गर्न प्रतिबद्ध रहने विषय समावेश छ ।
अनुसन्धान र विकासलाई उच्च प्राथमिकतामा राखी देशको समग्र विकाश कार्य अघि बढाउने प्रतिबद्धता जनाइएको छ ।
हेर्नुहोस् २३ बुँदे प्रतिबद्धता :

प्रतिक्रिया 4