+
+
Shares

माओवादीभित्रको विद्रोहले मधेशमा २५ दिनमै ढल्यो सोनल नेतृत्वको सरकार

मुख्यमन्त्री सोनलले विश्वासको मत नपाएर सरकार ढल्नुमा प्रमुख कारण हो, नेकपा माओवादी केन्द्रको अन्तरद्वन्द्व ।

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८२ कात्तिक २२ गते २१:१०

२२ कात्तिक, जनकपुरधाम । मधेश प्रदेशमा लोसपा नेता जितेन्द्र सोनल नेतृत्वको सरकार २५ दिनमै ढलेको छ । सदनमा विश्वासको मत पाउने स्थिति नदेखेपछि मुख्यमन्त्री सोनलले राजीनामा दिएका हुन् ।

आज (शनिबार) उनले विश्वासको मत लिने दिन थियो । तर उनले विश्वासको मत नपाएर सरकार ढल्नुमा प्रमुख कारण हो, नेकपा माओवादी केन्द्रको अन्तरद्वन्द्व । यसैको कारण विश्वासको मत नपाउँदै मधेश प्रदेश सरकार ढल्न पुगेको छ ।

गत आसोज २९ गते पाँच दलको ५६ सांसदको समर्थनमा सोनल मुख्यमन्त्री नियुक्त भएका थिए । आज विश्वासको मतको लागि बोलाएको प्रदेशसभामा सरकारको मतको लागि चाहिने सत्ता पक्ष र अन्य एक सिटे नागरिक उन्मुक्ति पार्टीले समर्थन दिने निर्णय गरेको थियो । त्यसअनुसार सरकोको विश्वासको लागि ठ्याक्कै ५४ पुगेको थियो ।

तर, नेकपा माओवादी केन्द्रका युवा सांसद रहबर अंसारीले समय माग्दै विद्रोह गरे । सबै दलका नेताका प्रतिनिधिले आफ्नो धारणा राखे । त्यसपछि अंसारीले सभामुख रामचन्द्र मण्डलसँग समय मागे । सभामुखले ३ मिनेटको समय दिए । अंसारी पोडिएममा पुगेर सबै दल र सांसदको परीक्षण भइसकेपछि अब नैतिक धरातल सकिएको उद्घोष गरे । सरकार यहाँको सांसदले नभएर केन्द्रले बनाएको भन्दै उनले विश्वासको मत नदिने पनि घोषणा गरे । सभामुखले माइक काटेपछि उनले आफैसँग लगेको मोसो आफ्नै अनुहारमा दले । र माइक काटेपनि सदन, सरकार भ्रष्टाचारको विषय उठाएर बोलिरहे ।

यसपछि माओवादी केन्द्रकै सांसद माला कर्णले सदनमै उठेर आफू मुख्यमन्त्रीलाई विश्वासको मत नदिने घोषणा गरिन् । त्यसलगतै विश्वासको मत दिन मुख्यमन्त्री सोनलले प्रस्ताव गरे । मत विभाजन गरी विश्वासको मत लिने प्रक्रिया सुरु गर्न खोज्दा त्यस बेला नै नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादव र जसपा नेपालकी नेतृ सुरिता सिंहबीच सदनमै नोकझोक भए । यसपछि मतविभाजन प्रक्रिया केहीबेरका लागि सभामुख मण्डलले सारे ।

मुख्यमन्त्री सोनललाई विश्वासको मत पाउन संकट देखियो । उनले सभामुखसँग केही समयमा मागेर सत्ता दलमा छलफल गरे । सकभर माओवादी केन्द्रका विद्रोही सांसद अंसारी र कर्णलाई मनाउने प्रयास गरे । तर प्रयास विफल भयो । कर्ण मान्ने जस्तो भएपनि अंसारीले कुनैपनि हालतमा आफूले नदिने अडान लिए । सत्तापक्षमा छलफल चलिरहँदा सभामुखले मतविभाजनको लागि साढे ५ बजे पुन: बैठक अघि बढाए । तर प्रतिपक्ष एमाले र कांग्रेसका सांसद मात्र उपस्थित थिए ।

यो बीचमा लोसपाका सांसदहरू आएर यसो नगर्न सभामुखलाई आग्रह गरे । तर सभामुखले मत विभाजनको घण्टा बजिसकेकाले पक्ष र विपक्षमा हस्ताक्षर गर्न आग्रह गरे । प्रतिपक्षी सदन अघि बढाउन जोडबल गरे । सभामुख मण्डल रोकिएनन् ।  त्यसलगतै मुख्यमन्त्री सोनलसहित सत्ता पक्षका सांसद प्रदेशसभामा आए । उनले  अझै केही समय दिनुपर्ने र यसो गर्न उचित नभएको सभामुखसँग आग्रह गरे । तर, सभामखुले ३० मिनेट भन्दा बढी समय सत्ता पक्षको लागि पर्खेकाले अब रोक्न नमिल्ने र मत विभाजन घण्टी बजिसकेकाले पक्ष विपक्षमा हस्ताक्षर गर्न भने । त्यसपछि दुवै दलका सांसदबीच एकछिन भित्रै होहल्ला भयो ।

अतालिएका मुख्यमन्त्री सोनल माइक खोजे । अनि माइक भेटेपछि उनले आफू पदबाटा राजीनामा दिएको घोषणा गरे । राजीनामा घोषणा गरेर निस्केका सोनल सञ्चारकर्मीसँग कुरा गर्दै प्रदेशसभा विघटन गरेर संघीयता मास्ने खेलको प्रयास भएको प्रतिक्रिया दिए ।

‘मेरो र सरकारपक्षमा मतदान गर्ने सांसदहरू कोही पाँच मिनेट गएका छन्, कोही चियाखान क्यान्टिन गएका छन् । मैले सभामुखलाई अनुरोध गरे आधा घण्टा रोक्नुस्, हाम्रो माननीय आउँदै हुनुहुन्छ । तर रोक्नु भएन,’ उनले भने, ‘यो संघीयता र प्रदेशसभालाई डिजल्भ गर्ने खेल हुँदैछ भन्ने महसुस भयो ।’

उनले राजीनामा गरेर सरकार गठनको लागि मार्गप्रशस्त गरेको र फेरि वातावरण बनाएर सरकारको लागि दाबी पेश हुने बताए ।

उनको विश्वासको मत नपाउनुको अर्को पाटो हो- जनमत पार्टीको विभाजन विवाद ।

सोनल मुख्यमन्त्रीको दाबी पेश गरेकै दिन निवर्तमान मुख्यमन्त्री सतिशसिंह र पूर्व वनमन्त्री त्रिभुवन साह प्रदेश निर्वाचन कार्यालय पुगेर जनमत विभाजनपछि दीपक साह नेतृत्वको जनस्वराज पार्टीमा सनाखत गरेका थिए ।

जनमत अहिले सर्वोच्च अदालतको आदेशले यथास्थितिमै रहेको छ । तर सिंह र साहले पार्टीले आधिकारिकता पाएपछि मात्र सरकारलाई समर्थन गर्ने वा नगर्ने निर्णय लिने बताएका थिए । जनमतले भने दल विभाजन नभएकाले दुबै सांसद आफ्नै दलको भएको दाबी गर्दै आएका थिए । तर विश्वासको मत लिने दिनमा निवर्तमान मुख्मयन्त्री सिंह र पूर्वमन्त्री साह अनुपस्थित रहे । सिंहले मोबाइल नै स्वीच अफ गरेका थिए ।

जनमत पार्टीका सांसद अनुपस्थित हुँदा नै विश्वासको मत पाउने अवस्था बनेको थियो । तर माओवादीभित्रको विद्रोह नै यसपटक मुख्यमन्त्री सोनलले मत नपाउने मुख्य कारण बन्यो ।

मधेश प्रदेशसभामा १०७ सदस्य प्रदेशसभामा जसपाको हाल १८, जनमतको १३, माओवादी केन्द्रको ९, लोसपाका ८ र एकीकृत समाजवादीको ७ सांसद छन् । समर्थन दिने भनेको नागरिक उन्मुक्तिको १ सिट छ । तर दावी पेश गरेकै दिन जनमत विभाजन, कार्तिक ३० गते सपथ लिँदा जसपा नेपालका प्रदेश सांसद सरोज सिंह कुशवाहा भ्रष्टाचार मुद्दामा परेर निलम्बन हुँदा सरकार नैतिक संकटमा थियो ।

विश्वासको मतको लागि सरकार विस्तार रोकिएको थियो । मुख्यमन्त्री सोनलले आफ्नो ५७ विश्वासको मत पर्ने बताएका थिए । विश्वासको मत लिइसकेपछि विना विभागीय दुई मन्त्रीलाई मन्त्रालय तोक्ने, सरकार विस्तार गर्ने उनको तयारी थियो । उनलाई विश्वासको मत दिलाउन जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्त ठाकुर जनकपुर आएर खटिएका थिए ।  तर जनमत र माओवादी केन्द्रभित्रको आन्तरिक विवादले सरकार विस्तार गर्न नपाउँदै सोनाल नेतृत्वको सरकार ढल्न पुगेको छ ।

लेखक
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?