+
+
Shares

मधेश प्रदेश प्रमुख भण्डारी उपचारका लागि भन्दै काठमाडौं प्रस्थान

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २४ गते ६:३९
मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी । फाइल फोटो

२३ कात्तिक, काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी अस्वस्थ भएको भन्दै आज बिहानै काठमाडौं प्रस्थान गरेकी छन् । उनी बिहान चार बजेतिर मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित सरकारी निवासबाट काठमाडौंतर्फ प्रस्थान गरेकी हुन् ।

उनलाई मुख्यमन्त्री जितेन्द्र सोनलले बिदाइ गरे ।

प्रदेश प्रमुख भण्डारी निवासबाट बाहिरिएपछि पत्रकारहरुसँग कुरा गर्दै मुख्यमन्त्री सोनलले भने प्रदेश प्रमुख अचानक अस्वस्थ्य भएको र उपचारका लागि काठमाडौं जान लागेको बताए । भेटमा आफूले स्वास्थ्य लाभको कामना गरेर बिदा गरेको जानकारी पनि उनले दिए ।

‘मानव–मानव त हौं नि हामी, उहाँ प्रदेशको अभिभावक हुनुहुन्छ । उहाँलाई मैले स्वास्थ्य लाभको कामना गरेँ । उहाँलाई बिदा गरेँ,’ मुख्यमन्त्री सोनलले भने ।

उनले प्रदेश प्रमुख भण्डारी स्वस्थ भएपछि थप राजनीतिक प्रक्रिया अघि बढ्ने बताए । ‘उहाँको छिट्टै स्वास्थ्य लाभ होस्, त्यसपछि राजनीतिक प्रक्रिया अघि बढ्छ,’ मुख्यमन्त्री सोनलले भने ।

दबाबमा छिन् प्रदेश प्रमुख भण्डारी

सात दलको गठबन्धनबाट गत असोज २९ गते मुख्यमन्त्री नियुक्त भएका लोसपा नेता सोनलले विश्वासको मत नपाउने स्थिति बनेपछि कात्तिक २३ गते पदबाट राजनीनामा दिएका थिए ।

प्रदेश प्रमुख भण्डारीले उनको राजिनामा स्वीकृत गरिसकेकी छन् तर अहिलेसम्म नयाँ सरकार गठनका लागि आह्वान गरेकी छैनन् ।

उनले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मधेश प्रदेश सभाको सबैभन्दा ठूलो दलको नाताले एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गर्ने आशंका मुख्यमन्त्री सोनलसहित गठबन्धन दलका नेताहरुलाई छ । यही आशंकाका साथ गठबन्धनका नेता–कार्यकर्ताहरुले आइतबार प्रदेश प्रमुख कार्यालय र मधेश भवन अगाडि नाराबाजी गर्दै संविधानको धारा १६८ को २ बमोजिम नै सरकार गठन गर्न माग गरेका थिए ।

साथै शनिबार बेलुकी नै गठबन्धनका नेताहरुले प्रदेश प्रमुख भण्डारीलाई भेटेर छलफल गरेका थिए ।

प्रदेश प्रमुख भण्डारीलाई बिदा गरेर बाहिरिने क्रममा मुख्यमन्त्री सोनलसँग पत्रकारहरुले सात दलीय गठबन्धनका नेताहरुले दिएको दबाब र प्रदेश प्रमुख उपचारका लागि भन्दै काठमाडौं प्रस्थान गर्नुको सन्दर्भबारे जिज्ञासा राखेका थिए ।

त्यसक्रममा मुख्यमन्त्री सोनलले भने, ‘प्रदेश प्रमुख जीले हिजै राति हामीलाई आश्वस्त गर्नुभएको छ, म जुन काम गर्छु । खुल्ला पारदर्शी र तपाईंहरुसँग छलफल गरेर गर्छु, त्यसकारणले त्यस्तो आशंकाहरु केही छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?