News Summary
Generated by OK AI. Editorially reviewed.- पाकिस्तानको राजधानी इस्लामाबादमा आत्मघाती विस्फोट हुँदा कम्तीमा १२ जनाको मृत्यु र २७ जना घाइते भएका छन्।
- विस्फोट अदालत भवन बाहिर मङ्गलबार मध्यान्न १२:३९ बजे भएको र आक्रमणकारीले प्रहरी सवारीलाई लक्षित गरेको गृहमन्त्री नकवीले बताए।
- गृहमन्त्री नकवीले घटनाको अनुसन्धान जारी रहेको र आक्रमणकारीलाई केही घण्टामा पहिचान गर्ने प्राथमिकता रहेको उल्लेख गरे।
२५ कात्तिक, काठमाडौं । पाकिस्तानको राजधानी इस्लामाबादमा अदालतबाहिर भएको आत्मघाती विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको छ । घटनामा २७ जना घाइते भएका छन् ।
इस्लामाबादको जी–११ क्षेत्रस्थित जिल्ला र सत्र अदालतको भवन बाहिर मङ्गलबार स्थानीय समय अनुसार मध्यान्न १२:३९ बजे आत्मघाती विस्फोट भएको पाकिस्तानी समाचार संस्था डनले जनाएको छ ।
विभिन्न देशका संसदीय प्रतिनिधि सहभागी अन्तरसंसदीय वक्ता सम्मेलन भइरहेका बेला विस्फोट गराइएको समाचारमा उल्लेख छ । पाकिस्तानका गृहमन्त्री मोसिन नकवीले अदालत बाहिर पत्रकार सम्मेलन गर्दै उक्त विस्फोट आत्मघाती भएको पुष्टि गरे ।
गृहमन्त्री नकवीका अनुसार घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको छ । प्रधानमन्त्री शाहबाज शरिफ स्वयं अस्पतालहरूसँग सम्पर्कमा रहेका गृहमन्त्री नकवीले बताए ।
‘आक्रमणकारी करिब १२ मिनेटसम्म अदालत बाहिर उभिएको थियो । उसले सुरुमा अदालतभित्र पस्ने प्रयास गर्यो, तर असफल भएपछि बाहिर रहेको प्रहरी सवारीलाई लक्षित गर्यो,’ नकवीले भने । घटनाको अनुसन्धान जारी रहेको उनले बताए ।

‘अहिलेको पहिलो प्राथमिकता आक्रमणकारी पत्ता लगाउनु हो, हामीले केही घण्टामा हामी उसलाई पहिचान गर्नेछौं,’ गृहमन्त्री नकवीले भने ।
राजधानी इस्लामाबादको मुटुमै घातक विस्फोट गराइएको भन्दै उनले अपराधीलाई कारबाही गरिछाड्ने बताए ।
सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा जलेको सवारीसाधनबाट आगो र धुवाँको मुस्लो उडिरहेको देखिन्छ ।
राष्ट्रपति आसिफ अलि जरदारीले सामाजिक सञ्जाल एक्स (पहिलेको ट्विटर) मार्फत् शोक व्यक्त गर्दै मृतक परिवारप्रति संवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
प्रतिक्रिया 4