News Summary
Generated by OK AI. Editorially reviewed.- बिहार विधानसभा चुनाव २०२५ मा एनडीए गठबन्धनले २०० भन्दा बढी सिट जितेर ऐतिहासिक विजय हासिल गरेको छ।
- महिला मतदाताको अभूतपूर्व सहभागिताले नितिश कुमारको नेतृत्वमा रहेको सरकारलाई ठूलो समर्थन दिएको छ।
- एनडीएले विकास र स्थिरताको वाचा गर्दै जातीय सन्तुलन कायम राखेर विपक्षी महागठबन्धनलाई पराजित गरेको छ।
२८ कात्तिक, काठमाडौं । बिहार विधानसभा चुनाव २०२५ मा एनडीए गठबन्धन ऐतिहासिक विजयोन्मुख छ । चुनावी नतिजा अनुसार, एनडीए गठबन्धनले २०२ सिट प्राप्त गर्दा विपक्षी महागठबन्धन जम्मा ३४ सिट मात्र जितेको छ।
राज्यका २४३ सिटमध्ये सबैभन्दा धेरै बीजेपीले ८९ सिट जितेको छ। सहयोगी दल जनता दल युनाइटेडले ८५ सिट पाएको छ।
एनडीएमा समावेश चिराग पासवानको लोक जनशक्ति पार्टी (रामविलास) लाई १९ सिट प्राप्त भएको छ।
जीतनराम माँझीको हिन्दुस्तानी अवाम मोर्चा (सेक्युलर) ले पाँच सिट जितेको छ। उपेन्द्र कुशवाहाको पार्टी राष्ट्रिय लोक मोर्चा चार सिट जित्न सफल भएको छ।
राष्ट्रिय जनता दलको प्रदर्शन निकै निराशाजनक रह्यो। महागठबन्धनको नेतृत्व गरिरहेको पार्टीले जम्मा २५ सिटमा चित्त बुझाउनु परेको छ।
त्यस्तै, सहयोगी दल कांग्रेसले छ सिट पाएको छ।
भारतीय कम्युनिस्ट पार्टी (माले) लिबरेशनले दुई सिट प्राप्त गरेको छ भने असदुद्दीन औवेसीको पार्टी एआईएमआईएम पाँच सिट जित्न सफल भएको छ।
इन्डियन इन्क्लुसिव पार्टी, माकपा (सीपीआईएम) र बहुजन समाज पार्टीले एक-एक सिट प्राप्त गरेका छन्।
कस्तो रह्यो मतदाताको मनोविज्ञान ?
कसरी सम्भव भयो यो नतिजा ? यसलाई बुझ्न चुनावमा प्राप्त अंक केलाएर मात्रै पुग्दैन । बिहारको सामाजिक-आर्थिक-राजनीतिक पृष्ठभूमि खोतल्नुपर्ने हुन्छ । बिहारका नागरिक के चाहन्छन् ? उनीहरूको खास पहिचान के हो ? यसलाई नखोतली एनडीएले १५ वर्षपछि बिहारमा फर्काएको शक्तिशाली नतिजा बुझिंदैन ।
भारतीय सञ्चार माध्यमहरूले एउटा किस्सालाई महत्व दिएर प्रसारण गरिरहेका छन् । बिहारको एक अत्यन्त पिछडिएका वर्ग (ईबीसी) बाहुल्य गाउँमा युवा मतदाताहरूले भनेछन्, ‘हामीलाई पुरानो तरिकाको मासु-भात वाला चुनाव चाहिँदैन। हाम्रो गाउँमा सडक बनेको छ, बिजुली आएको छ र महिलाहरूलाई साइकल मिलेको छ। नेता बदल्दा यी कामहरू रोकिनेछन्, त्यसैले हामी काम गर्नेलाई नै चुन्नेछौं ।’
यो एउटै किस्साले पनि त्यहाँको चुनावी नतिजाको रहस्य खोतल्न सघाउँछ गर्छ । किनकि चुनावी परिणामपछि विश्लेषकहरू नेताको जिततर्फ बढी ध्यान दिन्छन् तर बुझ्नुपर्ने हुन्छ- मतदाताको सोच र समझदारीको बदलाव ।
मोदी-नितिश गठबन्धन
सन् २०१० मा एनडीएले कीर्तिमानी २०६ सिट जितेको थियो । त्यतिबेला जेडीयूले ११५ सिट जित्दा बीजेपीको पोल्टामा ९१ सिट परेको थियो । उक्त चुनावमा एनडीएले विकास र स्थिरताको वाचा दिएको थियो।

सन् २०२५ मा एकपटक फेरि २०१० दोहोरिएको छ । मोदी-नितिशको गठबन्धनले फेरि नतिजा निकालेको छ । सिट संख्या झन्डै दोब्बर बनाउँदै नितिश कुमार यस चुनावका एक ठूला विजेता साबित भएका छन् । सन् २०२० मा जम्मा ४३ सिटमा जित हासिल गरेको जदयूले ४१ सिट बढाएर ८५ स्थानमा जित निकालेको छ ।
बिहारको विविधता प्रतिनिधित्व गर्ने हरेक मतदाता वर्गले यही गठबन्धनलाई अनुमोदन गरेको छ । सहरदेखि गाउँका मतदातालाई पनि रिझाएको छ ।
निर्णायक बनेका महिला मतदाता
सामान्यतः लगातार २० वर्षसम्म सत्तामा रहँदा मतदाताले मत बदल्नुपर्ने हो । तर, यस्तो भएन । उनले त बरू आफ्नो शक्ति डबल गरे ।
यो नतिजा आउनुका पछाडि महिला मतदाताको साथ महत्वपूर्ण रहेको विश्लेषकहरूले बताएका छन् । चुनावमा महिला मतदाताको अभूतपूर्व सहभागिताले केही नतिजा दिंदैथियो । राजनीतिक हल्लाहरूमा दबिने सीमान्तकृत महिला आवाजले चर्कोगरी हल्ला गरेका छन् ।
ब्यालेटमा महिलाको उपस्थितिले हामी बदलिन चाहन्छौं, बदलिएका छौं भन्ने सन्देश पनि दिएको छ । कसरी ? सबैभन्दा महत्वपूर्ण पक्ष हो- महिला मतदातामा नितिशको छवि। उनको सरकारले चुनावभन्दा ठीक अघि बिहारका महिलाहरूको खातामा दस-दस हजार रुपैयाँ पठाएको थियो।

बितेको दुई दशकमा उनले नीतिहरूको केन्द्रमा महिला राखे । चुनावमा ५० प्रतिशत महिला आरक्षण सुनिश्चित गरे । बिहार पुलिसमा ३५ प्रतिशत पद महिलाका लागि आरक्षित गरे ।
बिहारमा मदिरा निषेधदेखि महिलामाथि हुने घरेलु हिंसा न्यूनीकरण गर्न अनेकौं काम गरे । स्कुले छात्राहरूलाई साइकल दिने योजना पनि जनताले निकै मन पराएका छन् । तब न उनीहरूले सडक, बिजुली, पानी र महिला सुरक्षाजस्ता मुद्दाको पक्षमा मत व्यक्त गरे । यो एकप्रकारले एनडीएले बनाएको महिला केन्द्रित नीतिहरूको प्रतिफल हो ।
यी सबै नीतिहरूको व्यवहारिक कार्यान्वयनले महिला सशक्तीकरण भएको छ । मतदानमा उनीहरूको अभूतपूर्व सहभागिता यसैको नतिजा थियो । सबै जाति र क्षेत्रका महिला मतदाताहरूले नितिशको नेतृत्वमा रहेको सरकार र प्रधानमन्त्री मोदीको पक्षमा ठूलो संख्यामा मतदान गरेको स्पष्ट देखिन्छ।
बदलिएको बिहार राजनीति
मोदी-नितिश दुवै सत्ता विरोधी लहर (एन्टी-इन्कम्बेन्सी) बाट एनडीएलाई जोगाउन सफल भएका छन् । केन्द्रमा स्थिरता छ, राज्यमा अस्थिरता ठिक हुन्न भन्ने नारालाई उनीहरूले कुशलतापूर्वक फ्रेमिङ गर्न सके।
यो गठबन्धनलाई उनीहरूले ‘डबल-इन्जिन’ को रूपमा प्रस्तुत गरे । यो अपिलले मतदाताको मनमा विकास र स्थिरताका लागि केन्द्र र राज्यमा एउटै सत्ता आवश्यक छ भन्ने विश्वास बलियो बनाइदियो।
जनअपेक्षाअनुसार परिवर्तन भइरह्यो भने मतदाताले एउटै सत्ता शक्तिको निरन्तरता दिइरहन्छन् । बिहारको चुनावी नतिजाको एउटा शक्तिशाली सन्देश यो पनि हो ।
यो नतिजाले महागठबन्धनलाई ठूलो नोक्सानी भएको छ । उनीहरू नयाँ र शक्तिशाली चुनौतीहरूले घेरिएका छन् । सबै शक्तिहरूका अगाडि बीजेपी र जेडीयू भारी बनेको छ । आरजेडी तेस्रो नम्बरमा खस्किएको छ।

यसको स्पष्ट सन्देश हो- महागठबन्धनका वाचा र मतदाताका आकांक्षा मेल खाएनन्। बरू, एनडीएले बिहारको भविष्य बदल्ने आशा सञ्चार गर्न सक्यो ।
महागठबन्धनले मत चोरी, बेरोजगारी, भ्रष्टाचार र आर्थिक मन्दीका नारा दिएर संस्थापनलाई निशाना बनाइरह्यो तर, आफूले बनाउन चाहेको बिहार कस्तो हो भन्ने स्पष्ट र एउटै सन्देश दिन सकेन । जति दियो, जसरी दियो त्यसलाई मतदाताले पत्याएनन् ।
गठबन्धन राजनीतिको प्रमुख समस्या हो – समयमै भागबन्डा र एजेन्डामा एकरूपता । चुनावी प्रचार सुरु हुनुअघि नै गठबन्धनको तस्बिर पनि स्पष्ट भयो । सँगै, चुनावी नतिजाले बदल्ने बिहारको भविष्य पनि ।
किनकि एनडीएले कुशल राजनीतिक इन्जिनियरिङ र व्यवहारिक गठबन्धन बनाइरहँदा विपक्षी महागठबन्धन आन्तरिक खिचातानी र कमजोर राजनीतिक व्यवस्थानबाट ग्रस्त थियो ।बिहार चुनावको नतिजाले भनेको छ- दलको चुनावी रणनीति, मतदाताको पहिचान र अपेक्षाहरूले चुनावी परिणामहरूलाई आकार दिएको हो ।
जंगलराज विरुद्ध सुशासनको भाष्य
एनडीएले ‘जङ्गलराज’ को डरलाई जीवित राख्न सक्यो । त्यसरी नै चुनावी प्रचार गर्यो । जबकि यो निकै पुरानो कुरा हो । प्रधानमन्त्री मोदी र अमित शाहदेखि योगी आदित्यनाथसम्मले आफ्नो हरेक र्यालीमा विधिको शासनविरुद्धको पुरानो बिहारका दृश्यहरू बताइरहे ।
बारम्बार दोहोऱ्याइने यी कथाहरूले लालु राजपछि जन्मेका युवा मतदाताहरूको मन पनि बदल्यो । जबकि उनीहरूले लालु राज देखेकै थिएनन् । एनडीएले विकासका साथसाथै सुरक्षित वातावरण दिन सक्ने पार्टी आफू नै भएको स्पष्ट पार्यो ।

यसलाई विरासतको बोझ पनि भन्न सकिन्छ । कुनै चुनावमा विरासत शक्ति बनिदिन्छ भने कुनैमा बोझ । लालुको विगतका कारण समाजका शिक्षित युवाले तेजस्वी यादवलाई ‘पुरानो राजनीति’ को प्रतिनिधि ठानिदिए। यादव समुदायकै युवाहरूले रेडिटमा अपिल गरे – ‘जातिवादभन्दा माथि उठौं, तर तेजस्वीजस्ता अनपढ नेतालाई नचुनौं।’
जोखिम मोलेनन् मतदाताले
बिहार जति बदलिएको छ, यो रफ्तारलाई निरन्तरता दिने पक्षमा मतदाताले मत व्यक्त गरे । केन्द्र र राज्यले ल्याएका कल्याणकारी योजनाहरूबाट लाभान्वित विशाल मतदाता पंक्तिले यसमा तलमाथि हुनसक्ने सम्भावित जोखिम व्यहोर्न चाहेनन् । उनीहरूले आफ्नो हित रक्षाको यही अवस्थालाई निरन्तरता दिन चाहे । समाजको तल्लो तहमा रहेको यो वर्ग कुनै पनि विरोधको लहरबाट प्रभावित बनेन ।
जातिमा टिकेको बिहारको राजनीतिमा जातीय सन्तुलन राख्न पनि आरजेडी चुक्यो । आरजेडीको भोट बैंक मुख्य रूपमा मुस्लिम-यादव समीकरणमा निर्भर छ, तर यो चुनावमा यादव उम्मेदवारहरूको अधिकताले ‘यादव राज फर्कनेछ’ भन्ने डर समाजमा पैदा गर्यो।

यसबाट आरजेडीबाट पिछडिएका जातिहरू (ईबीसी-ओबीसी) त टाढा भए नै, सँगै यादव समाजमा पनि असन्तुष्टि बढ्यो। चुनावी लहर आफ्नो पक्षमा पार्नुका साथै चुनावका सानातिना प्राविधिक तयारीमा पनि एनडीएले आफूलाई अब्बल उतार्यो । भाजपाको संगठनात्मक संयन्त्रको दक्षताले सिटहरूको सानो अन्तरलाई निर्णायक जितमा बदल्यो।
एनडीएले बुथ व्यवस्थापन, मतदाता परिचालन र कार्यकर्ताको सक्रियताको सवालमा विपक्षीलाई निकै पछि छाड्यो। कतिपय ठाउँमा यही कुशल परिचालन नै जितका लागि निर्णायक बन्यो ।
(भारतीय सञ्चारमाध्यमहरूको सहयोगमा)
प्रतिक्रिया 4