१ मंसिर, जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिका-२ पुरन्दाहामा आइतबारदेखि सर्प महोत्सव सुरु भएको छ ।
सर्पको महत्व बुझौं, सहअस्तित्वलाई सम्मान गरौं, संरक्षणमार्फत भविष्य सुरक्षित गरौं’ भन्ने मूल नाराका साथ कल्चरल भिलेजमा दुई दिवासीय सर्प महोत्सव भइरहेको छ ।
मिथिला वाइल्ड लाइफ ट्रष्ट र सेभ द लाइफको संयुक्त आयोजनामा भइरहेको महोत्सवको उद्घाटन सर्पदंश उपचारविद् डा. छविलाल थापाले गरेका थिए ।
सर्पको महत्वबारे नागरिकमा चेतना फैलाउन र सहअस्तित्वको वातावरण सिर्जना गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको आयोजक संस्था मिथिला वाइल्डलाइफ ट्रस्टका अध्यक्ष देवनारायण मण्डलले बताए ।
सर्प र पर्यावरण तथा वातावरणबीचको सम्बन्ध, जैविक विविधता संरक्षणमा सर्पको भूमिका, सर्प र मानवबीच द्वन्द्व न्यनीकरण, सर्पको पर्यावरणीय, चिकित्सकीय, धार्मिक तथा सांस्कृतिक महत्व उजागर महोत्सवले हुने उनको भनाइ छ ।
महोत्सवमा सर्पको प्रजाती, विष लाग्ने वा नलाग्ने सर्प, सर्पको जीवनचक्र, सर्पदंशको उपचार प्रक्रिया र उद्धारसम्बन्धी जानकारी दिने स्टलहरु राखिएको छ ।
विभिन्न विद्यालयले पनि सर्पको बारेमा जानकारी गराउने उद्देश्यले प्रदर्शनी स्टलहरु राखेका छन् , जसको जानकारी त्यस विद्यालयका विद्यार्थीले गराउने गर्छन् ।




प्रतिक्रिया 4