News Summary
Generated by OK AI. Editorially reviewed.- अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास), नेपाल शाखाको अध्यक्षमा चलचित्र निर्देशक ऋषि लामिछाने निर्वाचित भएका छन्।
- मंगलबार सम्पन्न दोस्रो अधिवेशनले लामिछानेको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
- इनासले विश्वभर नेपाली कला, साहित्य, संस्कृति र भाषा प्रवर्धनमा भूमिका निर्वाह गर्ने जनाएको छ।
काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास), नेपाल शाखाको अध्यक्षमा चलचित्र निर्देशक ऋषि लामिछाने निर्वाचित भएका छन् ।
मंगलबार राजधानीमा सम्पन्न शाखाको दोस्रो अधिवेशनले लामिछानेको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चुनेको छ । उपाध्यक्षमा अभिनेता रमेश उप्रेती, अभिनेत्री रेजिना उप्रेती र गायक युवराज चौलागाईं निर्वाचित भएका छन् ।
फिल्मका निर्माण नियन्त्रक शंकर पाण्डे महासचिव र राजिन पनेरु सचिव पदमा निर्वाचित भए । कोषाध्यक्षमा चलचित्र वितरक रत्न श्रेष्ठ चुनिए ।
सदस्यहरूमा खुमन अधिकारी, एलिना चौहान, पूर्णबहादुर लामा, दिनेश काफ्ले, प्रियङ्का प्रसाईँ, गौतम मानन्धर, सहारा पाण्डे, दीपा रेग्मी पन्त, ऋतु कँडेल र शिवम अधिकारी निर्वाचित भएका छन् । अधिवक्ता सेमन्तमणि खेराल प्रमुख निर्वाचन आयुक्त थिए ।
इनासको ग्लोबल समिति प्रतिनिधि (जीसीआर) पदमा सञ्चारकर्मी विष्णु शर्मा चयन भएका छन् ।
इनास नेपाल शाखाका निवर्तमान अध्यक्ष एवम् एसिया संयोजक समेत रहेका गीतकार दयाराम पाण्डेयको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख आतिथ्यता इनास ग्लोबल अध्यक्ष अर्जुनप्रसाद काफ्लेले गरेका थिए ।

अध्यक्ष काफ्लेले संस्थाले विश्वब्यापी फैलिएको संस्थाकोे सञ्जालमार्फत नेपाली कला प्रवर्धनमा भूमिका निर्वाह गर्ने बताए । कला, साहित्य, संस्कृति, भाषा, खेलकुदजस्ता विधालाई समेटेर तिनको विकास र प्रवर्धनमा आफ्नो कार्यकालले त्यसका लागि पहल गर्ने जानकारी उनले दिए ।
काफ्लेले संस्थाले गैरआवासीय नेपाली संघ (एनआरएनए) को दोस्रो र तेस्रो पुस्तालाई नेपाली भाषा सिकाउने गरी नेपाली पाठशालाको स्थापना गर्दै कार्य अगाडि बढाएको समेत जानकारी दिए ।
सन् २०२५-२०२७ कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित लामिछानेले आफू र आफ्नो कार्यसमितिले विधानको मर्मअनुसार कार्य गर्दै विश्वभर रहेका नेपाली कलाकारको भावनालाई कदर गर्ने गरी आगामी कार्ययोजना तय गर्ने प्रतिबद्धता व्यक्त गरे ।
इनास नेपाल शाखाको वर्तमान कार्यसमितिभित्र चलचित्र, गीतसंगीत, भाषा, साहित्य, खेलकुद, कलाकारिता, पत्रकारितालगायत बहुविधाका विशेषज्ञको प्रतिनिधित्व रहेको र यसलाई आवश्कताअनुसार परिष्कृत गर्दै लैजान आफूहरू प्रतिबद्ध रहेको जानकारी एसिया संयोजक पाण्डेयले दिए ।
कार्यक्रममा इनासका संरक्षक नीता श्रेष्ठ, ग्लोबल कोषाध्यक्ष रूपा न्यौपानेलगायतले शुभकामना मन्तव्य दिएका थिए ।
इनास विश्वभर छरिएका नेपाली कलाकारको हकहितका पक्षमा काम गर्ने र संसारभरि नेपाली संस्कृति, भाषा, साहित्य, कलाकारिता आदिलाई पुर्याउने गरी सन् २०१२ मा पोल्याण्डमा स्थापना भएको सामाजिक संस्था हो । यसको हालसम्म झण्डै ७३ देशमा आफ्नो शाखा स्थापना भइसकेको छ ।
प्रतिक्रिया 4