८ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता भई नेपाल र नेपालीको शिर उच्च राख्न सफल टोलीलाई बालुवाटारमा बोलाएर बधाई ज्ञापन गरेकी छिन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा खेलाडी र अफिसियलसमेतलाई बोलाएर उनले पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा इतिहास रचेकोमा बधाई दिएकी छिन् ।
नेपाली खेलकुदकै लागि ऐतिहासिक उपलब्धि र गौरवको विषय भन्दै उनले नेपाली दृष्टिविहीन महिला क्रिकेट टोलीलाई अझै उत्तरोत्तर प्रगतिको कामना पनि गरिन् ।
‘यो तपाईंहरूको कडा परिश्रम, सामूहिक भावना र दृढ संकल्पका कारण प्राप्त उपलब्धि हो,’ प्रधानमन्त्रीले भनिन्, ‘तपाईंहरू हरेक खेलाडी र अफिसियल यस उपलब्धिको जस पाउनका लागि हकदार हुनुहुन्छ । र, अर्कोपल्ट च्याम्पियन बन्ने गरी लाग्नुहोस् ।’
उनले अघि भनिन्, ‘एकदमै राम्रो कुरा हो । आफ्नै पहलमा यहाँहरूले जुनस्तरको प्रतिभा देखाउनुभयो, त्यो एकदमै सह्राहनीय छ । त्यसमा सरकारले पनि केही लगानी गर्न सकेको अवस्थामा अझै प्रगति हुने रहेछ । सरकारका तर्फबाट के गर्न सकिन्छ, त्यस विषयमा म सम्बन्धित मन्त्रालय र निकायहरूसँग छलफल गर्छु ।’
प्रशिक्षक पुरनसिंह खत्री र कप्तान गीता पौडेल नेतृत्वको नेपाली टोली हालै श्रीलंकामा भएको प्रतियोगितामा दोस्रो भएको थियो ।
उनीहरूले साधनस्रोतले सम्पन्न मुलुकका टोलीलाई पनि जितेर दोस्रो हुन सकेको र सरकारको साथ पाएमा च्याम्पियनसमेत बन्न सक्ने बताए ।
प्रतिक्रिया 4