+

एनपीएल २०२५ : ब्याटिङमा विदेशी अनि बलिङमा नेपालीको वर्चश्‍व

२०८२ मंसिर  १९ गते १३:३३ २०८२ मंसिर १९ गते १३:३३

प्रतियोगितामा हालसम्म आइपुग्दा ब्याटिङमा विदेशी खेलाडी अगाडि देखिएका छन् । बलिङमा भने ठीक विपरीत अवस्था छ, नेपाली खेलाडीको वर्चश्‍व छ ।

एनपीएल २०२५ : ब्याटिङमा विदेशी अनि बलिङमा नेपालीको वर्चश्‍व

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपीएल क्रिकेट २०२५ मा सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज र विराटनगर किङ्स प्लेअफमा पुगेका छन्।
  • प्रतियोगितामा ब्याटिङमा शीर्ष ५ खेलाडीमध्ये ४ जना विदेशी छन् भने बलिङमा शीर्ष ५ मध्ये ४ जना नेपाली खेलाडी छन्।
  • एडम रोसिङटनले २५८ रन बनाएर ब्याटिङमा शीर्ष स्थान लिएका छन् भने सन्दीप लामिछानेले १२ विकेटसहित बलिङमा अग्रता लिएका छन्।

१९ मंसिर, काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपीएल क्रिकेट २०२५ मा हालसम्म २४ खेलहरू सकिएका छन् । लिग चरण अब समाप्त हुने क्रममा छ र तीन टोलीको प्लेअफ स्थान पनि पक्का भइसकेको छ ।

सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज र विराटनगर किङ्स प्लेअफमा पुगिसकेका छन् । अब एक स्थानका लागि चार टोलीहरू प्रतिस्पर्धामा छन् ।

टिमहरू पिलेअफमा पुग्नका लागि खेलाडीहरूको प्रदर्शन पनि महत्वपूर्ण हुन्छ । केही खेलाडीहरूले टिमका लागि राम्रो प्रदर्शन गर्दै प्लेअफमा पुर्‍याएका छन् भने केहीले व्यक्तिगत रूपमा राम्रो प्रदर्शन गर्दागर्दै टिमले भने राम्रो गर्न सकेको छैन ।

यस्तै प्रतियोगितामा हालसम्म आइपुग्दा ब्याटिङमा विदेशी खेलाडी अगाडि देखिएका छन् । बलिङमा भने ठीक विपरीत अवस्था छ, नेपाली खेलाडीको वर्चश्‍व छ ।

प्रतियोगितामा सबैभन्दा धेरै रन बनाउने शीर्ष ५ खेलाडीमध्ये ४ जना विदेशी छन् भने १ जना मात्र नेपाली ब्याटर छन् । गत संस्करण पनि ब्याटिङमा विदेशी खेलाडीकै दबदबा थियो ।

यस संस्करणमा हालसम्म पोखरा एभेन्जर्सका इंग्लिस विकेटकिपर ब्याटर एडम रोसिङटन २५८ रनसहित शीर्षस्थानमा छन् । ६ खेल खेलेका उनले एक शतक पनि बनाएका छन् । उनको औसत ५१.६० को छ ।

रोसिङटनले कर्णाली याक्सविरुद्धको खेलमा शानदार ब्याटिङ गर्दै अविजित १०८ रनको पारी खेलेका थिए । यसबाहेक उनले एक अर्धशतक पनि बनाएका छन् ।

यस्तै ब्याटिङ चार्टको दोस्रो स्थानमा कर्णाली याक्सका स्कटिश खेलाडी मार्क वाट छन् । उनले ६ खेलमा एक शतक र एक अर्धशतकसहित २४२ रन बनाएका छन् । लुम्बिनी लायन्सविरुद्धको खेलमा उनले एनपीएलकै कीर्तिमानी शतक बनाएका थिए, जसको मद्दतमा कर्णालीले एकपक्षीय रूपमा खेल जितेको थियो ।

तेस्रो स्थानमा चितवन राइनोजका इंग्लिस खेलाडी रवि बोपारा छन् ।  उनले ६ खेलमा ३ अर्धशतकसहित २३६ रन बनाएका छन् । चौथो स्थानमा पनि अर्का इंग्लिस खेलाडी बेन चार्ल्सवर्थ छन् । उनले ७ खेलमा एक अर्धशतकसहित १९७ रन बनाएका छन् । पाँचौं स्थानमा सुदूरपश्चिम रोयल्सका विनोद भण्डारी छन् । उनले ६ खेलमा १८६ रन बनाएका छन् ।

यसबाहेक कर्णाली याक्सका प्रियांक पान्चाल १८१ रन, लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल १७४ रन, विराटनगर किङ्सका बसिर अहमद १६८ रन, विराटनगरकै लोकेश बम १६२ रन अनि काठमन्डुका जोन सिम्पसन १५४ रनसहित क्रमश: छैटौं, सातौं, आठौं, नवौं र दशौं स्थानमा छन् ।

खेलाडीले व्यक्तिगत रूपमा राम्रो प्रदर्शन गरेपनि पोखरा, लुम्बिनी र चितवन प्लेअफमा पुग्न संघर्षरत छन् भने कर्णाली याक्स बाहिरिसकेको छ । सुदूरपश्चिम रोयल्स, विराटनगर र काठमान्डु गोर्खाज भने प्लेअफमा पुगेका छन् ।

बलिङमा नेपाली अगाडि

बलिङतर्फ भने शीर्ष ५ खेलाडीमध्ये ४ नेपाली र १ विदेशी खेलाडी छन् । शीर्ष ४ बलर नै नेपाली खेलाडी हुन् । शुक्रबारसम्म शीर्ष ४ बलरकै १२ विकेट छ ।

विराटनगर किङ्सका सन्दीप लामिछाने, सुदूरपश्चिम रोयल्सका अविनाश बोहरा, काठमान्डु गोर्खाजका दुई बलर शाहब आलम र करण केसी समान १२ विकेटसहित शीर्ष चारमा छन् । काठमान्डुकै मिलिन्द कुमारले १० विकेट लिएका छन् ।

सन्दीपले ६ खेलमा ५ को इकोनोमीले १२ विकेट लिँदा उनको बेस्ट बलिङ फिगर ४-११ को छ । यस्तै अविनाशले लगभग ७ को इकोनोमीमा १२ विकेट लिँदा उनको बेस्ट बलिङ फिगर ४-३० को छ ।

शाहब आलमले भने बिहीबार भएको पोखरा एभेन्जर्ससँगको खेलमा ह्‍याट्रिकसहित एक्लै ६ विकेट लिएर कीर्तिमान समेत बनाएका थिए जसले उनको विकेट संख्या पनि ७ खेलमा १२ पुर्‍याएको थियो । शाहबले ६.३३ को इकोनोमीमा बलिङ गरेर बेस्ट बलिङ ६-२५ छ ।

काठमान्डुका कप्तान करण केसीले ७ खेलमा ७.२८ को इकोनोमीले १२ विकेट लिएका छन् । उनको बेस्ट बलिङ फिगर ४-३० को छ । मिलिन्दले ६ खेलमा ६.१३ को इकोनोमीले १० विकेट लिएका छन् ।

यस्तै हर्मीत सिंह ६ खेलमा ९ विकेट, नन्दन यादव ६ खेलमा ९ विकेट, रन्जित कुमार ६ खेलमा ८ विकेट, स्कट कुग्लेइन ६ खेलमा ८ विकेट र सोहेल तनभिर ५ खेलमा ८ विकेटसहित क्रमश: छैटौं, सातौं, आठौं, नवौं र दशौं स्थानमा छन् ।

एनपीएल एनपीएल क्रिकेट एनपीएल २०२५
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय