News Summary
Generated by OK AI. Editorially reviewed.- एमच्याम नेपालले अमेरिकाको वासिङटन डीसीमा १ डिसेम्बरमा अमेरिकी लगानीका सम्भावनाबारे छलफल गरेको छ।
- एमच्यामले जलविद्युत् क्षेत्रमा १० अर्ब अमेरिकी डलर लगानीको सम्भावना रहेको उल्लेख गरेको छ।
- दुवै पक्षले अमेरिका–नेपाल जलविद्युत् लगानी वेबिनार आयोजना गर्ने र अमेरिकी लगानीकर्तालाई रोड–शो सञ्चालन गर्ने सहमति गरेका छन्।
१९ मंसिर, काठमाडौं । अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल (एमच्याम नेपाल) ले अमेरिकाको वासिङटन डीसीमा नेपालमा अमेरिकी लगानीका सम्भावनाबारे छलफल गरेको छ ।
यूएस कमर्सियल संस्थाहरूको सहयोगमा अमेरिकन चेम्बर अफ कमर्सको केन्द्रीय कार्यालयमा १ डिसेम्बरमा भएको छलफलमा अमेरिकाको डिपार्टमेन्ट अफ स्टेट, डिपार्टमेन्ट अफ कमर्स, कमर्सियल सर्भिसेस यूएस चेम्बर अफ कमर्सका प्रतिनिधि सहभागी भए ।
त्यस अवसरमा द्विपक्षीय व्यापार, आर्थिक कूटनीति, ऊर्जा, सञ्चार तथा सूचना प्रविधि, विकसित प्रविधि, उत्पादनमूलक क्षेत्र र सेवामूलक उद्योगमा हुन सक्ने साझेदारी, सहकार्य र सम्भावनाबारे चर्चा गरिएको एमच्याम नेपालले जनाएको छ ।
छलफलमा एमच्यामले नेपालमा निजी क्षेत्रका लागि लगानीको ठूलो सम्भावना रहेको उल्लेख गर्दै जलविद्युत् क्षेत्रमा मात्रै १० अर्ब अमेरिकी डलर लगानीको सम्भावना प्रस्तुत गरेको थियो ।
एमच्याम नेपालका संस्थापक अध्यक्ष अजित शाहले अमेरिकन चेम्बर अफ कमर्स इन नेपालको स्थापना विभिन्न अमेरिकी कम्पनीको सहयोगमा भएको उल्लेख गरे ।
उनले एमच्याम नेपाल दुवै देशका लगानीकर्ताका लागि बलियो र प्रभावकारी माध्यम रहेको बताए । नेपाल र अमेरिका दुवै देशलाई फाइदा हुने गरी व्यापार र लगानीको ठूलो अवसर नेपालमा रहेको उल्लेख गर्दै शाहले ऊर्जा र प्रविधि, डिजिटल नवप्रवर्तनसँगै अन्य क्षेत्रमा पनि ठूलो अवसर रहेकोमा जोड दिए ।
शाहले दुवै देशले व्यापार र लगानी बढाउन देखिएका नियामकीय चुनौती, अवरोध हटाउन पनि जरुरी रहेको धारणा राखे । उनले नेपालमा रहेको अमेरिकी दूतावासले एमच्यामलाई गरेको सहयोगप्रति धन्यवाद समेत दिए । यसमार्फत नेपालमा अमेरिकी लगानी बढावा दिन सहयोग पुगेको उनको भनाइ थियो ।
त्यस अवसरमा अमेरिकी अधिकारीहरूले नेपालमा भएको नीतिगत सुधार प्रयासको प्रशंसा गरेका थिए । यूएस चेम्बर अफ कमर्सका निर्देशक प्याट्रिक पिटले भने, ‘नेपाल सरकारले आईसीटी क्षेत्रमा देखाएको नीतिगत सुधार निकै राम्रो छ, सरकारले नेपाली कम्पनीलाई अमेरिकामा सब्सिडायरी कार्यालय खोल्न पनि बाटो खुलेको छ, यसले अमेरिकी निजी क्षेत्रलाई थप लगानी गर्न सहज भएको छ ।’
उनले पूर्वानुमान योग्य नियम, पारदर्शी कानुन तथा निरन्तर कार्यान्वयन अमेरिकी लगानीकर्तालाई आकर्षित गर्ने मुख्य तत्त्व भएको बताए ।
‘यस्ता अवसरका लागि नेपाल क्रमश: महत्त्वपूर्ण बजारका रूपमा उदाइरहेको छ, हामी नेपालले अमेरिकी व्यवसायहरू सफल हुन सक्ने वातावरण अझ सुदृढ गर्दै साझेदारी सहितको समृद्धिमा योगदान पुर्याउने अपेक्षा गर्छौं,’ उनले भने ।
कार्यक्रममा एमच्याम नेपालले नेपालमा शतप्रतिशत नवीकरणीय ऊर्जा उत्पादन, डेटा सेन्टर र उच्च क्षमताका कम्प्युटिङ सुविधाका लागि रणनीतिक अवसर प्रस्तुत गरेको थियो ।
नेपालमा करिब ९२ प्रतिशत जलविद्युत् क्षमता अझै अविकसित अवस्थामा रहेको र यस क्षेत्रमा शतप्रतिशत वैदेशिक लगानीको अनुमति पनि रहेको बताइएको थियो ।
अमेरिकी पक्षले पनि क्षेत्रीय ऊर्जा सुरक्षामा नेपालले गर्न सक्ने योगदान तथा दीर्घकालीन, दिगो लगानीको सम्भावनाप्रति चासो व्यक्त गरेको थियो ।
साथै, दुवै पक्षले अमेरिका–नेपाल जलविद्युत् लगानीको वेबिनार आयोजना गर्ने, अमेरिकाका विभिन्न सहरमा लगानीकर्ताले रोड–शो सञ्चालन गर्ने र अमेरिकी लगानीकर्तालाई बैंकयोग्य ऊर्जा परियोजनाको पोर्टफोलियो तयार गर्ने सहमति पनि भएको थियो ।
यसमार्फत एमच्याम नेपालको ‘अनुदानदेखि व्यापारसम्म’ भन्ने दृष्टिकोण अझ समृद्ध भएको बताइएको छ । यसबाट दुवैतर्फ लगानी र व्यापार विस्तार मार्फत दुवै देशको समृद्धि अभिवृद्धि गर्ने लक्ष्यसाथ अगाडि बढाउन सहयोग पुग्ने उल्लेख छ ।
प्रतिक्रिया 4