+
एनपीएल २०२५ :

एनपीएलमा यस्तो रह्‍यो राष्ट्रिय टोलीका खेलाडीको प्रदर्शन

२०८२ मंसिर  २८ गते १४:२४ २०८२ मंसिर २८ गते १४:२४

पछिल्लोपटक राष्ट्रिय टोलीबाट खेलेका खेलाडीहरूमध्ये केहीले शानदार प्रदर्शन गर्दा केहीले भने अपेक्षा अनुसारको प्रदर्शन गर्न सकेनन् । त्यसैगरी केही खेलाडीले उत्कृष्ट प्रदर्शन गरेर राष्ट्रिय टोलीको ढोका पनि ढक्ढक्याएका छन् ।

एनपीएलमा यस्तो रह्‍यो राष्ट्रिय टोलीका खेलाडीको प्रदर्शन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई हराएर उपाधि जितेको छ।
  • रोहित पौडेलले १० खेलमा २७६ रन र १० विकेट लिएर सर्वोत्कृष्ट नेपाली खेलाडी घोषित भएका छन्।
  • सन्दीप लामिछानेले ९ खेलमा १७ विकेट लिएर सर्वाधिक विकेट टेकरको अवार्ड पाए र सर्वोत्कृष्ट बलर बने।

२८ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण शनिबार सम्पन्न भयो । फाइनलमा सुदूरपश्चिम रोयल्सलाई हराएर लुम्बिनी लायन्सले उपाधि जितेको थियो ।

प्रतियोगितामा सर्वोत्कृष्ट नेपाली खेलाडी लुम्बिनीका रोहित पौडेल घोषित हुँदा लुम्बिनीकै नामिबियन बलर रुबेन ट्रम्पलमन प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए ।

समग्रमा हेर्दा केही नेपाली खेलाडीहरूले शानदार प्रदर्शन गर्दा केहीका लागि भने प्रतियोगिता त्यति सम्झनलायक रहेन ।

नेपाली राष्ट्रिय टोलीले पछिल्लोपटक वेस्ट इन्डिजसँगको टी२०आई श्रृंखला अनि त्यसपछि टी-२० विश्वकप छनोट खेलेको थियो । त्यसबेला राष्ट्रिय टोलीमा रोहित पौडेल, कुशल भुर्तेल, आसिफ सेख, आरिफ सेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, आदिल आलम, लोकेश बम, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुल्सन झा, नन्दन यादव, सन्दीप लामिछाने, शाहब आलम र ललित राजवंशी खेलेका थिए ।

यी खेलाडीहरूमध्ये केहीले शानदार प्रदर्शन गर्दा केहीले भने अपेक्षा अनुसारको प्रदर्शन गर्न सकेनन् । त्यसैगरी केही खेलाडीले उत्कृष्ट प्रदर्शन गरेर राष्ट्रिय टोलीको ढोका पनि ढक्ढक्याएका छन् ।

एनपीएलमा यी राष्ट्रिय टोलीका खेलाडीहरूको प्रदर्शन कस्तो रह्‍यो त ? आज खेलाडीहरूको प्रदर्शनबारे कुरा गर्नेछौं ।

रोहित पौडेल : नेपाली राष्ट्रिय टोलीका समेत कप्तान रहेका रोहित पौडेलले यसपटक लुम्बिनी लायन्सलाई एनपीएलको उपाधि दिलाए । प्रतियोगितामा शानदार पुनरागमन गरेर प्लेअफमा स्थान बनाएको लुम्बिनीले फाइनलमा सुदूरपश्चिमलाई हराएर उपाधि जित्दासम्म रोहितले शानदार प्रदर्शन गरे । उनी प्रतियोगितामा फेरि पनि सबैभन्दा धेरै रन बनाउने नेपाली खेलाडी बने । उनले १० खेलमा २७६ रन बनाएका थिए भने बलिङबाट १० विकेट पनि लिएका थिए । सुदूरपश्चिमविरुद्धको फाइनलमा उनले ह्‍याट्रिक नै लिएका थिए ।

दीपेन्द्रसिंह ऐरी : एनपीएलमा लगातार दोस्रोपटक उपविजेता बनेको सुदूरपश्चिम रोयल्सका कप्तान रहेका अलराउण्डर दीपेन्द्रसिंह ऐरीलाई उपाधिबाहेकको कुरा गर्दा एनपीएल फलदायी नै रह्‍यो । उनको टिमको प्रदर्शनसँगै प्रतियोगिताभर उनी पनि प्रतियोगिताभर ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटै पक्षमा शानदार देखिएका थिए । फाइनलमा चुकेपनि दिपेन्द्रले प्रतियोगितामा ९ खेलमा १६२ रन बनाउँदा ९ विकेट पनि लिए । ११ क्याच पनि लिए र २ डाइरेक्ट हिट रनआउट पनि गरे ।

कुशल भुर्तेल : राष्ट्रिय टोलीका ओपनिङ ब्याटर रहेका भुर्तेलले पोखरा एभेन्जर्सको कप्तानी गरेका थिए । यसपटक पनि टिमलाई प्लेअफमा पुर्‍याउन त सकेनन् । तर गत संस्करणभन्दा केही राम्रो प्रदर्शन भयो । उनको व्यक्तिगत प्रदर्शनको कुरा गर्नुपर्दा उनले ७ खेलमा २ अर्धशतकसहित १५६ रन बनाए । प्रतियोगिताको सुरुवाती दुई खेलमा राम्रो लयमा देखिएका उनले त्यसपछि दुई खेलमा डकआउट भएपछि ब्याटिङमा राम्रो गर्न सकेनन् । बलिङमा उनले ५ विकेट लिए ।

आसिफ शेख : राष्ट्रिय टोलीका अर्का ओपनिङ ब्याटर रहेका आसिफ साविक विजेता जनकपुर बोल्ट्सको मार्की खेलाडी थिए । प्रतियोगिताको पहिलो खेलमा अर्धशतक बनाएका उनले त्यसपछि राम्रो ब्याटिङ गर्न सकेनन् । ७ खेलमा उनले १०५ रन बनाए । ३ खेलमा उनी डकआउट भएका थिए ।

आसिफ शेख

कुशल मल्ल : गत संस्करण प्लेअफमा पुगेको चितवन राइनोजका कप्तान रहेका कुशल मल्लले यसपटक टोलीलाई प्लेअफमा लान सकेनन् । प्रतियोगितामा उनको ब्याट अपेक्षा अनुसार भने चल्न सकेन । उनले ७ खेलमा ३० नटआउटको उच्च स्कोरसहित १३५ रन बनाए । १ विकेट मात्र लिन सके ।

सन्दीप जोरा : उपाधि विजेता टोली लुम्बिनी लायन्सका ब्याटर सन्दीप जोराले अपेक्षा अनुसारको प्रदर्शन गर्न सकेनन् । उनलाई सुरुवाती ३ खेलमा ओपनरका रूपमा खेलाएर त्यसपछि मध्यक्रममै फिर्ता पठाइएको थियो । उनले १० खेलमा २८ को उच्च स्कोरसहित ११५ रन मात्र बनाए ।

लोकेश बम : विराटनगर किङ्सबाट खेलेका लोकेश बमलाई एनपीएल ठीकठाक रह्‍यो । टप अर्डरमा मार्टिन गप्टिल, फाफ डुप्लेसी, जर्ज मन्सेजस्ता खेलाडीसँग क्रिज शेयर गरेका उनले पहिलो खेलमै ७२ रनको पारी खेलेका थिए । त्यसपछिका ८ खेलमा ९८ रन बनाए । समग्रमा ९ खेलमा १७० रन बनाए ।

आदिल आलम : अक्सनमा आठवटै टोलीबाट अधिकतम १५ लाख रूपैयाँमा बोली लगाइएका आदिल लक्की ड्र मार्फत काठमान्डु गोर्खाजमा अनुबन्ध भएका थिए । यद्यपी अपेक्षा अनुसारको प्रदर्शन भने हुन सकेन । उनले ८ खेलमा ९३ रन मात्र बनाउन सके ।

सोमपाल कामी : नेपाली राष्ट्रिय टोलीका नियमित पेस बलिङ अलराउण्डर सोमपालका लागि एनपीएल मध्यम रह्यो । गत संस्करणमा प्लेअफमा पुगेको उनको टोली कर्णाली याक्स यसपटक लिग चरणबाट अगाडि बढ्न सकेन । उनले प्रतियोगितामा ७ खेलमा ९ विकेट लिए । उनले ब्याटबाट ७ खेलमा ५१ रन बनाए ।

करण केसी : नेपाली टोलीका अर्का बलिङ अलराउण्डर करणका लागि एनपीएल राम्रो रह्‍यो । यसपटक उनको कप्तानीमा काठमान्डु गोर्खाजले प्लेअफसम्मको यात्रा तय गर्‍यो । करणले ८ खेलमा १३ विकेट लिएका थिए भने ब्याटबाट ८ खेलमा ४९ रन बनाए । करण टोलीका लागि सर्वाधिक विकेट लिने खेलाडी रहे ।

शाहब आलम : काठमान्डु गोर्खाजलाई प्लेअफमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेका शाहब आलमको प्रदर्शन यसपटक राम्रो रह्‍यो । कप्तान करण केसीसँगै उनले टोलीका लागि संयुक्त रूपमा सर्वाधिक १३ विकेट लिए । उनले एक खेलमा कीर्तिमानी ह्‍याट्रिकसहित ६ विकेट लिएका थिए ।

शाहब आलम

सन्दीप लामिछाने : सन्दीप लामिछानेका लागि एनपीएल राम्रो रह्‍यो । उनको कप्तानीमा विराटनगर किङ्सले पहिलोपटक प्लेअफमा स्थान बनायो । यद्यपी पहिलो र दोस्रो क्‍वालिफायरमा पराजित भउर फाइनल भने पुग्न सकेन । उनले प्रतियोगितामा ९ खेलमा १७ विकेट लिएर सर्वाधिक विकेट टेकरको अवार्ड पाए । उनीसँगै लुम्बिनीका शेर मल्ल र सुदूरपश्चिमका अविनाश बोहराको पनि १७ विकेट रहेपनि इकोनोमीका आधारमा सन्दीप शीर्षमा रहे । सन्दीप प्रतियोगिताको सर्वोत्कृष्ट बलर बनेर पल्सर बाइक जिते ।

नन्दन यादव : कर्णाली याक्सबाट खेलेका नन्दनको प्रदर्शन मध्यम रह्‍यो । उनले ७ खेलमा १० विकेट लिए । अपेक्षा अनुसारको सफलता भने पाउन सकेनन् ।

ललित राजवंशी : गत संस्करण शानदार प्रदर्शन गरेर सर्वोत्कृष्ट बलर घोषित भएका ललितले यसपटक भने राम्रो गर्न सकेनन् । ललितले प्रतियोगितामा सबै खेल पनि खेल्न पाएनन् । ५ खेल खेलेका उनले ४ विकेट मात्र लिन सके ।

गुल्शन झा : एनपीएलमा कर्णाली याक्सबाट खेलेका गुल्शनका लागि एनपीएल मध्यम रह्‍यो । उनले प्रतियोगितामा ७ खेलमा ११० रन बनाएका थिए । प्रतियोगितामा धेरै बलिङ नगरेका उनले ३ विकेट मात्र लिए । उनको टिम कर्णाली याक्स यसपटक लग चरणबाटै बाहिरिएको थियो ।

आरिफ शेख : सुदूरपश्चिम रोयल्सबाट खेलेका आरिफका लागि एनपीएल राम्रो रह्‍यो । उनको टोली लगातार दोस्रोपटक फाइनलमा पुग्दा उनले पनि राम्रो खेले । उनले प्रतियोगिताभर ९ खेलमा १८६ रन बनाएर टोलीका लागि दोस्रो सर्वाधिक रन बनाउने खेलाडीका रूपमा रहे । मध्यक्रममा उनले क्रिजमा टिकेर खेल्दै ब्याटरहरूलाई साथ दिएका थिए ।

राष्ट्रिय टोलीमा पछिल्लो समय नरहेका तथा डेब्यू नै गर्न बाँकी केही खेलाडीहरूले एनपीएलमा राम्रो प्रदर्शन गरेका छन् । लुम्बिनी लायन्सलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका शेर मल्ल तीमध्ये सबैभन्दा उत्कृष्ट रहे ।

गत संस्रकण जनकपुर बोल्ट्सबाट खेलेर उपाधि जितेका शेरले यसपटक लुम्बिनीबाट खेलेर उपाधि जिते । उनका लागि व्यक्तिगत रूपमा पनि यस संस्करणको एनपीएल गज्जब रह्‍यो ।

उनले आफ्नो मिस्ट्री स्पीनमार्फत विपक्षीको टप अर्डर कोल्याप्स गर्ने काम गरेका थिए । १० खेलमा १७ विकेट लिएका उनी प्रतियोगिताको इमर्जिङ खेलाडी बन्दै पल्सर बाइक उपाधि जिते ।

शेर मल्लसँगै लुम्बिनीका खेलाडीहरू

यसअघि यू-१९ र नेपाल ए बाट खेलेका शेरले राष्ट्रिय टोलीबाट खेल्न बाँकी छ, त्यसको लागि दाबेदारीको बलियो संकेत भने दिइसकेका छन् ।

यस्तै सुदूरपश्चिम रोयल्सका टप अर्डर ब्याटर विनोद भण्डारीले पनि एनपीएलमा शानदार प्रदर्शन गरे । ९ खेलमा २ अर्धशतकसहित २६४ रन बनाएका उनी सुदूरका सर्वाधिक रनकर्ता तथा समग्र प्रतियोगिताकै दोस्रो सर्वाधिक रनकर्ता बने । सुदूरकै पेस बलर अविनाश बोहराले ९ खेलमा १७ विकेट लिएर संयुक्त रूपमा सर्वाधिक विकेट लिने खेलाडीका रूपमा रहे । इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट घोषित भए ।

यता विराटनगर किङ्सका बसिर अहमदको प्रदर्शन पनि राम्रो रह्‍यो । उनले ९ खेलमा १९१ रन बनाए ।

 

एनपीएल एनपीएल २०२५ नेपाली क्रिकेट खेलाडी
लेखक
प्रतिक भट्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय