९ पुस, जनकपुरधाम । अत्यधिक जाडोका कारण धनुषा हंसपुर नगरपालिका-२ बघचौडाका ६२ वर्षीय बौएलाल सदा रातभर निदाउन सक्दैनन् । पातलो चादर ओढेर परालमा सुत्ने सदालाई त्यत्तिले जाडो छल्न मुस्किल पर्छ । चिसोले निद्रा नपरेपछि उनी राति नै घुर बालेर ताप्छन् ।
‘हामी गरिब मान्छे । भरपेट खान त मुस्किल छ । ओढ्ने-ओच्छ्याउने कहाँबाट ल्याउनु ?,’ मंगलबार मध्याह्न आँगनमा बसेर धान छान्दै गरेका उनले दुखेसो पोखे, ‘तल पराल ओछ्याउँछु । माथि पातलो चादर ओढ्छु । यसले जाडो थेग्दैन । धेरै जाडोले निद्रा नलागेपछि घुर ताप्छु । जिउ तताएर फेरि सुत्ने प्रयास गर्छु ।’
सदाकी श्रीमती सनेचरी देवी पनि ओछ्याउने-ओढ्नेको अभावमा जाडोले कठ्यांग्रिन्छिन् । ऐलानी जग्गामा खर-परालको छानो भएको १५ वर्ष पुरानो घर जीर्ण भई ढल्ने अवस्थामा पुगेको छ । त्यही घरमा सदा दम्पतीको गुजारा चलिरहेको छ ।
खेतमा झरेका धानका बाला बढारेर सफा गरी कुटेको चामल खाएर दुवैजनाको साँझ-बिहान कट्छ । उनीहरूका लागि एउटा न्यानो कम्बल किन्नसमेत पैसा छैन ।
त्यही बस्तीका केही मुसहर परिवारका घर जनता आवास कार्यक्रमअन्तर्गत मधेश सरकारले बनाइदिएको छ । तर सदा दम्पतीलाई जाडो छल्न घुर र परालकै भर छ ।
उनका कान्छा छोरा रामशरणको परिवारका ६ जना सदस्य पनि अर्को फुसकै घरमा पराल र एउटा कम्बलको सहारामा रात काटिरहेका छन् । स्थानीय र प्रदेश सरकारले आफूहरूबारे कहिल्यै नसोचेको भन्दै सदाले कठ्यांग्रिएर रात काट्न बाध्य भएको गुनासो गरे ।
उनकै छिमेककी ६५ वर्षीया केसोदेवी सदा पनि दिउँसो करिब १२ बजेतिर अँगेनामा घुर ताप्दै थिइन् । घुर करिब निभिसकेको थियो । चादर ओढेर घुर नजिक बसेकी केसोदेवीसहित उनका सात जनाको परिवार पराल र एउटा कम्बलको भरमा गुजारा चलाइरहेको छ ।

‘जाडो धेरै छ । पराल र एउटा कम्बलका भरमा सात जना सुत्छौँ । धेरै जाडो भए परालै ओढ्छौं, नभए घुर तापेर जाडो भगाउँछु,’ उनले आफ्नो पीडा सुनाइन् ।
छिमेकी राजकिशोर सदाको अवस्था पनि उस्तै छ । उनको टाउकोमाथि ओतका लागि च्यातिएको प्लास्टिक मात्र छ । तीनतिर च्यातिएका कपडाले घेरिएको ठाउँमा पराल ओछ्याएर एउटा पातलो कम्बल ओढी उनी सुत्छन् ।
‘यहाँ बुबा सुत्नुहुन्छ । घरभित्र भतिज र बुहारी सुत्छन् । अर्को ठाउँमा म र आमा सुत्छौँ । अरू कुनै उपाय छैन,’ छोरी भुली सदाले सुनाइन् ।
जाडोमा स्थानीय ६५ वर्षीया दुःखनी सदाको पनि दिन-रात उस्तै छ । आफन्तले दिएको एउटै कम्बल परिवारको जाडो छल्ने सहारा बनेको छ । जसोतसो सुत्छन् । तर जिउमा लगाउने न्यानो लुगा, चादरबाहेक केही छैन ।
‘कुटुम्बले ओढ्ने कम्बल नदिएको भए कति गाह्रो हुन्थ्यो । पराल र यही कम्बल जाडो काट्ने सहारा हो,’ दुःखनीले भनिन्, ‘ओढ्ने-ओछ्याउने यही पातलो चादर हो । यसले जाडो जाँदैन । धेरै जाडो भयो भने घुर ताप्छु ।’

बौएलाल, केसो देवी र दुःखनी सदा मात्र होइनन् । आवश्यकताअनुसार जाडोमा ओढ्ने-ओछ्याउने तथा लगाउने कपडाको अभाव सिंगो बस्तीमा छ । यसले वृद्धदेखि बालबालिकासम्म जाडोमा कठ्याङ्ग्रिन थालेका छन् । कतिपय बालबालिकाका खुट्टामा चप्पलसमेत छैन ।
यी बस्ती उदाहरण मात्र हुन् । तीन दिनदेखि मधेशमा अत्यधिक चिसो बढेको छ । बिहानको समयमा शीतलहर चल्छ । मधेशका प्रायः प्रत्येक स्थानीय तहमा यस्तै दलित तथा विपन्न बस्ती छन् । ओढ्ने, ओछ्याउने र लगाउने न्यानो कपडाको अभावमा जाडो बढ्दै जाँदा जनजीवन कष्टकर बनेको छ । तर उनीहरूलाई लक्षित गरी स्थानीय र मधेश सरकारले खासै तयारी गरेको देखिँदैन ।
तराई मधेशमा शीतलहर बढेपछि कैयौँ स्थानीय तहले विद्यालहरूमा जाडो बिदा दिएका छन् ।
हंसपुर नगरपालिकाका मेयर प्रदीप यादवले भने आफ्नो पालिकाका दलित बस्तीमा ओढ्ने-ओछ्याउनेको अभाव नरहेको दाबी गरे । उनले केही घरपरिवारमा मात्रै समस्या रहेको बताए ।
‘जाडोमा ओढ्ने र न्यानो कपडाको थोरैलाई मात्र अभाव छ । जाडो छल्न दाउरा वितरणको तयारी गर्दैछौँ । कम्बल खरिदबारे अब बस्ने बैठकले निर्णय गर्छ,’ उनले भने ।
प्रतिक्रिया 4