News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहबीच ७ बुँदे सम्झौता भएको छ।
- सम्झौताप्रति फिल्म, संगीत, टेलिभिजन र कन्टेन्ट क्रिएटरहरूले स्वागत र शुभकामना दिएका छन्।
- कलाकारहरूले सम्झौताले देशमा समृद्धि र सुशासन ल्याओस् भनी आशा व्यक्त गरेका छन्।
काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहबीच भएको ७ बुँदे सम्झौतालाई लिएर मनोरञ्जन वृत्तबाट पनि प्रतिक्रिया आइरहेको छ ।
फिल्म, संगीत, टेलिभिजनदेखि कन्टेन्ट क्रिएटरसम्मले यो सम्झौताको स्वागत गरेका छन् । कतिपयले सम्झौताको भविष्य र यसको वैचारिकीमा प्रश्न गरेका छन् ।
बालेन-रविको उक्त सहमतिको मस्यौदा बनाउन सुरुदेखि नै कलाकार नै सक्रिय रहेको कुरा स्पष्ट छ । सहमति जुटाउन जुटेका बालेन निकट कुमार ब्यञ्जनकार चलचित्र र संगीत क्षेत्रका मिडिया संयोजक हुन् भने उनी फिल्म निर्माता पनि हुन् । हालै रिलिज भएको फिल्म ‘झरीपछिको इन्द्रेणी’ को निर्माणमा पनि उनको संलग्नता छ ।
रास्वपा नेता असिम शाह फिल्म निर्माता तथा निर्देशक हुन् । उनका दाई आसिफ शाह गायक, निर्माता तथा अभिनेता हुन् । निश्चल बस्नेत त चर्चित निर्माता र निर्देशक भैहाले ।
यो समग्र पृष्ठभूमिमा अहिलेका चर्चित कलाकारले रवि-बालेन सहमतिको स्वागत गर्दै शुभकामना दिइरहेका छन् । अभिनेता तथा निर्माता दीपकराज गिरीले सहमतिको कार्यान्वयनमा शंका गर्दै विकल्प खोज्न नपरोस् भन्दै शुभकामना दिएका छन् ।
गिरी लेख्छन्, ‘२००७ सालमा काग्रेस, २०४६ सालपछि काग्रेस र एमाले । ६२ , ६३ मा माओबादी । जनताले हरेकपल्ट परिवर्तनको आवाजलाई साथ दिएकै हुन् ! पटक–पटक अनेकौ विकल्पहरूको प्रयोग भयो ! तर देशले सोचे जस्तो गति लिन सकेन ! यो पछिल्लो मिलनपछि मुलुकले फेरी अर्को विकल्प खोज्नु नपरोस सबै साथीहरूलाई शुभकामना….!!!!’
अभिनेता तथा निर्माता निर्मल शर्मा लेख्छन्, ‘अब देश समृद्धितर्फ अघि बढ्छ भन्नेमा आशावादी छु ।’
अभिनेता रमेश उप्रेती लेख्छन्, ‘यो सम्झौता निस्वार्थ देश र जनताको हितमा समर्पित हुनेछ भन्ने पूर्ण आशा लिएको छु, बधाई अनि शुभकामना ।’
सहमतिको सूत्रधार मानिएका निर्देशक बस्नेत लेख्छन्, ‘देशको लागि सँगै ।’
अभिनेत्री स्वस्तिमा खड्का लेख्छिन्, ‘म नेपाल हाँसेको हेर्न चाहन्छु ।’
अभिनेत्री प्रियंका कार्की लेख्छिन्, ‘आशा ।’ अभिनेता नाजिर हुसेन लेख्छन्, ‘म नेपाल हाँसेको हेर्न चाहन्छु ।’ सहमतिको सूत्रधार मानिएका रास्वपा नेता तथा फिल्म निर्देशक असिम शाहले पनि लेखेका छन्, ‘म नेपाल हाँसेको हेर्न चाहन्छु ।’
फिल्म निर्माता तथा अभिनेता रविन्द्रसिंह बानियाँ लेख्छन्, ‘१ र १ मिलेर २ होइन, ११ बनोस् ।’
अभिनेत्री मनिषा कोइराला लेख्छिन्, ‘विकल्प अनुहारमा होइन, दृष्टि र मूल्यमा हो ।’
गायिका एलिना चौहान लेख्छिन्, ‘अब के होला, जे होला राम्रो होला ।’
संगीतकार दीपक शर्मा लेख्छन्, ‘हामी २ प्रकारका छौं । एक प्रकार : देशमा पुरानै तरिकाले चलिरहोस, त्यसैबाट मलाई फाइदा पुगिरहेको छ । अर्को प्रकार : हुँदैन, पुराना नेताको नजिक हुनेको मात्र देश हैन सबैमा समान सुशासन भएर देश समृद्धि तरिकाले अगाडि जानुपर्छ, त्यसको लागि नयाँ सोचका युवाहरू आउनुपर्छ । नोट : साँच्चिकै देश राम्रो भएको हेर्न चाहनेहरूका लागि यो समायोजन सुखद छ ।’
कलाकार जयकिसन बस्नेत लेख्छन्, ‘रवि लामिछानेले एकपटक फेरि मन जित्यो, बालेन शाहले त जिति नै रहेका थिए ।’
अभिनेत्री केकी अधिकारी लेख्छिन्, ‘यो एकता सदैव नेपाल र नेपालीको हितका लागि अगाडि बढोस् । हार्दिक शुभकामना !!’
गायक युवराज चौलागाईं लेख्छन्, ‘देश र जनताले खोजेको परिवर्तन आउने छ भन्ने आशा । बधाई तथा शुभकामना ।’
अभिनेता कमलमणी नेपाल लेख्छन्, ‘यो यात्राले देशलाइ सुशासनको बाटोमा डोर्याउने काम गरोस् । कसैले नि गाँस बास कपासका लागि मर्न नपरोस् । देश समृद्ध बनोस । सबै इमान्दार भएको हेर्न पाइयोस ।’
गायक शिव परियार लेख्छन् : ‘देश अब हामीले मिलेर बनाउँनु पर्छ भन्ने सवालमा देशका युवाहरु फुटेको भन्दा जुटेकै राम्रो ।’
प्रतिक्रिया 4