+
+
Shares

प्रहरीको मिलेमतोमा २९ वटा नक्कली दुर्घटना खडा गर्दै बीमाको ८१ लाख ठगी

प्रहरी–बीमाका कर्मचारीसहित ३० फरार, १ पक्राउ

सवारी दुर्घटना भएपछि बीमा वापतको रकम पाउन अनिवार्य प्रहरी रिपोर्ट चाहिन्छ । नक्कली दुर्घटना खडा गर्दा प्रहरी रिपोर्ट नबन्ने भएपछि प्रहरी इन्स्पेक्टरकै हस्ताक्षर कीर्ते र प्रहरी कार्यालयको लेटरहेड समेत कीर्ते गरेको पाइएको छ ।

नारायण अधिकारी नारायण अधिकारी
२०८२ पुष २९ गते २१:५१

२९ पुस, काठमाडौं । प्रहरी कर्मचारीकै मिलेमतोमा नक्कली दुर्घटना खडा गरेर करिब एक करोड रुपैयाँ बराबर ठगी गरेको पाइएको छ ।

प्रहरी वृत्त नयाँ बानेश्वरले एक अनुसन्धानका क्रममा प्रहरी कर्मचारीकै मिलेमतोमा कीर्ते कागजात खडा गर्दै नक्कली दुर्घटना देखाएर बीमा वापतको रकम ठगी गरेको खुलेको छ ।

यो प्रकरणको अनुसन्धान गरेर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

प्रहरी, बीमाका कर्मचारीदेखि चालक, गाडी धनी समेतका व्यक्ति गरी ३१ जनाविरुद्ध कीर्ते र ठगीको कसुरमा मुद्दा दायर भएको छ ।

न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको इजलासमा प्रतिवादीको बयान चलिरहेको छ । बयान सकिएपछि थुनछेक बहस हुनेछ । त्यसपछि साधारण तारेख वा धरौटीमा रिहा तथा पुर्पक्षका लागि कारागार चलाउने मध्ये एक आदेश आउने छ ।

१ पक्राउ, प्रहरी–बीमाका कर्मचारीसहित ३० फरार

यो प्रकरणमा ३१ जनालाई प्रतिवादी बनाइए पनि पर्साको ठोरी गाउँपालिका–१० घर भएका ४४ वर्षीय हरि बुढाथोकी मात्रै पक्राउ परेका छन् । उनलाई १ पुसमा जडिबुटीबाट प्रहरी वृत्त नयाँ बानेश्वरले पक्राउ गरेको थियो । उनै पक्राउ परेपछि यो प्रकरणको अनुसन्धान सुरु भएको थियो ।

उनको साथबाट त्यतिबेला नक्कली दुर्घटना खडा गरिएको कागजात समेत प्रहरीले बरामद गरेको थियो ।

बुढाथोकी पक्राउ परेपनि यो प्रकरणका ३० प्रतिवादी भने फरार छन् । प्रहरी वृत्त नयाँ बानेश्वरमा कार्यरत प्रहरी हवल्दार तथा दोलखाको कालिन्चोक गाउँपालिका–६ घर भएका ४० वर्षीय धु्रव शाही समेत फरार छन् ।

अन्य फरारहरुमा काठमाडौंकै बा १५ प ९६५० नम्बरको सवारीका धनी ३२ वर्षीय सुसन घिमिरे, बाराको निजगढ घर भएका प्रदेश–३–०२–०१० प २२८० नम्बरको सवारीका धनी मनोज कुमार आचार्य, ललितपुर घर भएका बागमती प्रदेश–०२–०५० प ५८०९ नम्बरको सवारीका धनी गंगा महर्जन, ललितपुर नै घर भएका बागमती प्रदेश–०२–०५० प ५८०९ नम्बरको सवारीका धनी कुलबहादुर महर्जन, ललितपुर नै घर भएका बागतमती प्रदेश–०२–०२१ प ६४७८ नम्बरको सवारीका धनी २९ वर्षीय प्रवीन महर्जन, ललितपरकी २९ वर्षीया निरुसा महर्जन फरार छन् ।

बा ४८ प ३८७१ नम्बरको सवारीका धनी विनोद डंगोल, ललितपुरका ३० वर्षीय पुकार महर्जन, ललितपुरका ३६ वर्षीय निरोज महर्जन, काठमाडौंका ४२ वर्षीय सुशील अर्याल, सिन्धुपाल्चोकका ४७ वर्षीय दयानाथ धिताल, पर्साका २९ वर्षीय जबिर हुसेन अन्सारी, पर्साकै २७ वर्षीय सृजन पाण्डे, काठमाडौं गोठाटारका हरिप्रसाद गौतम, सोलुखुम्बुका सुदीप कार्की, गुल्मीकी २७ वर्षीया सुमित्रा अर्याल पनि फरार छन् ।

सिन्धुपाल्चोककी २५ वर्षीया प्रजुना भण्डारी, गोठाटारका ३३ वर्षीय जयराम चापागाईं, सिन्धुपाल्चोकका ४२ वर्षीय रोमश्वर भण्डारी, पर्साका निरबहादुर भण्डारी, दोलखाका शिव खड्का, गौरीबहादुर बुढाथोकी, खिनबहादुर थपलिया, उर्मिला थापा, सफल सुवेदी पनि फरार छन् ।

रामेछापका लक्ष्मण तामाङ, काठमाडौंका पवन भट्ट, दोलखाका रामबहादुर कार्की, नेपाल माइक्रो इन्सुरेन्स फाइनान्सका कर्मचारी ललितपुर घर भएका विकेश कुँवर पनि फरार छन् ।

इन्स्पेक्टरको हस्ताक्षर कीर्ते गर्दै बन्थ्यो दुर्घटनाको रिपोर्ट

सवारी दुर्घटना भएपछि बीमा वापतको रकम पाउन अनिवार्य प्रहरी रिपोर्ट चाहिन्छ । नक्कली दुर्घटना खडा गर्दा प्रहरी रिपोर्ट नबन्ने भएपछि प्रहरी इन्स्पेक्टरकै हस्ताक्षर कीर्ते र प्रहरी कार्यालयको लेटरहेड समेत कीर्ते गरेको पाइएको छ ।

यसरी प्रहरीको लेटरहेड र इन्स्पेक्टरको हस्ताक्षर कीर्ते गर्दै धमाधम नक्कली दुर्घटना खडा गरेर रकम निकालेको पाइएको छ । नक्कली कागजात खडा गरी २९ वटा नक्कली दुर्घटना देखाएर २७ वटा दुर्घटनाको बीमा वापतको रकम दिएको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले बताए ।

उनका अनुसार २७ वटा नक्कली दुर्घटनाबाट बीमा वापतको ८१ लाख रुपैयाँ बुझेर ठगी गरेको पाइएको छ ।

अहिले हिरासतमा रहेका हरि बुढाथोकी २०५६ सादेखि गाडी चलाउँदै आएका व्यक्ति हुन् । उनको बा २ ख ७८१४ नम्बरको मिनिबस समेत छ । अहिले उक्त बसमा चालक राखेर उनले चलाउँदै आएका छन् ।

यही क्रममा उनको करिब एक वर्षअघि नेपाल माइक्रो इन्स्योरेन्सका कर्मचारी विकेश कुँवरसँग इन्स्योरेसन्सकै शिलशिलामा चिनजान हुन्छ । प्रहरी स्रोतका अनुसार त्यसपछि यी दुईले नक्कली दुर्घटना खडा गरेर बीमाको रकम हत्याउने योजना बनाउँछन् ।

पक्राउ परेका हरिको बयानअनुसार उनका काम सवारी धनी खोज्ने र सवारीको व्यस्थापन गर्ने हुन्छ । अनि प्रहरी रिपोर्ट बनाउने पुलिसको खोजी हुन्छ । सोही क्रममा उनीहरु अहिले फरार रहेका नयाँ बानेश्वर वृत्तका हवल्दार ध्रुव शाहीको सम्पर्कमा पुग्छन् ।

अनि यसरी पेश भएका कागजातका आधारमा बीमा कर्मचारी कुँवरले रकम निकासाका लागि अनुमति दिने काम गरेको देखिएको प्रहरीले बताएको छ ।

त्यसपछि उनीहरु नक्कली दुर्घटना खडा गर्दै बी एण्ड सी मा उपचार गराएको देखाउने र बीमा रकमका लागि प्रहरी रिपोर्ट समेत बनाउँदै पेश गरेर रकम निकाल्ने गरेको देखिएको प्रहरीले बताएको छ ।

यसका लागि उनीहरुले १ वैशाख २०८१ देखि ३० भदौ २०८२ सम्म नयाँ बानेश्वरमा कार्यरत इन्स्पेक्टर श्याम खनाल, बरिष्ठ सई रामहरि कार्कीको हस्ताक्षर कीर्ते गरेको पाइएको छ ।

यसरी प्रहरीको लेटरहेडदेखि हस्तारक्षसम्म कीर्ते गरेको पाइएको प्रहरीले बताएको छ । उनीहरुलाई ८१ लाख ठगीको बिगो कायम गर्दै ठगी र लिखतसम्बन्धी कसुरमा मुद्दा चलाइएको छ ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?