+
+
Shares

वाम आँखामा कांग्रेसको विशेष महाधिवेशन

आज कांग्रेस मध्यमार्गी छैन, वामतिर फर्किएको मात्र पनि छैन बरू यो त वाम यात्रामा नै छ। तर, गगन थापाहरूले अघि बढाउन खोजेको राजनीतिक प्रस्तावनाले यो मार्गको स्वामित्व लिन्छ कि अस्वीकार गर्छ? यसमा चर्चा आवश्यक छ।

युवराज चौलागाईं युवराज चौलागाईं
२०८२ पुष ३० गते ११:५६
Photo Credit : AI Generated

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गगन थापाले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा समसामयिक राजनीतिक प्रस्ताव पेस गरेका छन् जसले पार्टीको नयाँ दिशा निर्धारण गर्ने सम्भावना राख्छ।
  • उनले कांग्रेसलाई अहिले साहस होइन सम्झौता, आदर्श होइन अवसरवाद, निष्ठा होइन भ्रष्टाचारको पर्यायका रूपमा बुझिएको बताउँदै पार्टी सुधारका लागि नयाँ अवधारणा प्रस्तुत गरेका छन्।
  • गगनको प्रस्तावमा समाजवादको चर्चा छैन भने संवैधानिक उदारवादलाई कांग्रेसको आधारभूत सिद्धान्त बनाउने प्रस्ताव गरिएको छ जसले पार्टीको वैचारिक दिशामा प्रश्न उठाएको छ।

२०६२/६३ सालको जनआन्दोलन सफल भएपछि खुला रूपमा माओवादी काठमाडौँ आउनुभन्दा अगाडि म केही साथीहरू सहित काठमाडौँ आइसकेको थिएँ। त्यसबेला म अखिल क्रान्तिकारीको केन्द्रीय कोषाध्यक्ष थिएँ। गगन थापा नेविसंघका महामन्त्री थिए। विद्यार्थी सङ्गठनहरूका संयुक्त बैठकहरूमा हाम्रा भेटघाट भइबस्थे।

जनआन्दोलनताका आम जनताका लागि एकातिर माओवादीहरू एजेण्डा र सङ्घर्षका कारण कौतूहलका विषय थिए भने अर्कातिर गगन थापा लगायतका केही युवाहरू उनीहरूका विचार र सक्रियताका कारण चर्चा र आकर्षणका विषय थिए। गणतन्त्रको चर्को वकालत गरिरहेका हाम्रा लागि सहरमा गणतन्त्रका सुरिला नारा लगाउने गगन थापाहरू प्रिय थिए। उनीहरूलाई पार्टीले कारबाही गर्दा वा उनीहरूले गणतन्त्रको पक्षमा माहोल बनाउँदै गर्दा विद्रोही भूमिगत युवाहरू त्यसमा आफ्नो छाया देख्थे। त्यसै बेलादेखि गगन थापा मेरा लागि प्रिय छन्। उनको स्पष्टवादिता, आँट र समय चिन्न सक्ने खुबी प्रेरक छ।

पछिल्लो चरण उनै गगन थापा फेरि एक पटक चर्चामा छन्। नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन उनको अग्रसरता र नेतृत्वमा चलिरहेको छ। जेनजी आन्दोलनपश्चात् पार्टीहरूको दिशा र दशाको बारेमा अनेक कोणबाट बहस भइरहेको र पुराना पार्टीहरूप्रति एक प्रकारले दिग्दारी प्रदर्शन भइरहेको परिप्रेक्ष्यमा उनले विशेष महाधिवेशनको जोखिम मोलेर नयाँ पहल लिएका छन्।

गगनको पहलले सिङ्गै नेपाली कांग्रेसलाई नयाँ दिशा दिन सक्छ कि फुट विभाजनतिर लिएर जान्छ – त्यो अझै यकिन भइसकेको अवस्था छैन। तैपनि, देशको पुरानो दल नेपाली कांग्रेस उनको विचार र नेतृत्वमा अघि बढोस् भन्ने उनका शुभेच्छुकहरू उल्लेख्य सङ्ख्यामा देखिएका छन्। उनलाई मेरो तर्फबाट पनि शुभकामना छ।

विशेष महाधिवेशनमा गगन थापाले पेस गरेको समसामयिक राजनीतिक प्रस्ताव आम सञ्चारका माध्यमहरूमा सार्वजनिक भएसँगै तिनलाई मैले पनि कौतूहलका साथ पढेँ। मलाई लाग्यो विशेष महाधिवेशन त नेपाली कांग्रेसको भइरहेको छ तर कांग्रेससँगै दलहरूको भूमिका, देशको अवस्था र वर्तमान व्यवस्था तथा भविष्यको मार्गबारे यसलाई अनेक कोणबाट बहस गर्न जरुरी छ।

सेन्टर लेफ्ट‘ कांग्रेस

नेपाली कांग्रेस वैचारिक दर्शनका हिसाबले मध्यमार्गी (सेन्ट्रिस्ट) दल हो। तर पछिल्लो दशकमा यो दलले सेन्टर–लेफ्ट दलका रूपमा भूमिका निर्वाह गर्‍यो। तर कांग्रेस त्यसै वा रहरले मध्य वाम कित्तामा आएको चाहिँ होइन। कांग्रेसलाई यस कित्तामा उभ्याउने पछिल्लो नेता दिवंगत गिरिजाप्रसाद कोइराला हुन्। चरम दक्षिणपन्थीको छवि बनाएर २०४७ सालपछि राष्ट्रिय राजनीतिमा उदाएका कोइराला जीवनको उत्तरार्द्धमा वाम रुझानमा पुग्न बाध्य भए।

तत्कालीन दरबारबाट दल र नेताहरूमाथि भएका अमर्यादित व्यवहार, राजाको पटक-पटकको धोका र बेइमानी अनि माओवादी आन्दोलनको तीव्र दबाबका बीच गिरिजाप्रसाद कोइरालाले कांग्रेसलाई मध्यमार्गमा टिकाइराख्न सकेनन्। राजनीति यसरी तीव्र ध्रुवीकरणमा गयो कि उनले सेन्टर टू लेफ्ट कदम चाल्न अपरिहार्य बन्यो।

सार्वजनिक भए अनुसारको गगन थापाले विशेष महाधिवेशनमा पेस गरेको समसामयिक राजनीतिक प्रस्ताव पठनीय छ। गगनले आजको कांग्रेसको सटीक शल्यक्रिया गरेका छन्। त्यहाँ उनी भन्छन्– अहिले कांग्रेसलाई साहस होइन सम्झौता, आदर्श होइन अवसरवाद, निष्ठा होइन भ्रष्टाचारको पर्यायका रूपमा बुझिन्छ।

आफ्नो र राजाको घाँटी जोडिएको बताउने बीपीका सहोदर भाइ, संवैधानिक राजतन्त्र छाडे दल त्याग गर्न तयार कृष्णप्रसाद भट्टराई लगायत हजारौँ नेता-कार्यकर्ताका सहयोद्धा र आफैंले कठोर वामविरोधी छवि बनाएका कोइरालाले ती सबैलाई एकैपटक छेउ लगाएर विद्रोही माओवादीसँग १२ बुँदे समझदारी मात्र गरेनन्, अनेक क्रान्तिकारी कदमहरूका नेता र सहयोगी बने।

विद्रोही नेता प्रचण्डसँग उनको गहिरो दोस्ती बन्यो। त्यही ‘मुभ’ को जगमा २०४७ सालको संविधान खारेज भएर अन्तरिम संविधान बन्यो। उनकै मार्ग पछ्याउँदै सुशील कोइराला र शेरबहादुर देउवाहरूले नेपाली कांग्रेसलाई अघि बढाए। कांग्रेस समेतको सक्रियता र स्वामित्वमा गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशीता, सामाजिक न्याय सहितको समाजवादको गन्तव्य साधेको लोकतन्त्र संविधानको प्रबन्ध बन्यो।

आज कांग्रेस मध्यमार्गी छैन, वामतिर फर्किएको मात्र पनि छैन बरू यो त वाम यात्रामा नै छ। तर, गगन थापाहरूले अघि बढाउन खोजेको राजनीतिक प्रस्तावनाले यो मार्गको स्वामित्व लिन्छ कि अस्वीकार गर्छ? यसमा चर्चा आवश्यक छ।

गगन लेफ्ट टू राइट सिफ्ट चाहन्छन्?

सार्वजनिक भए अनुसारको गगन थापाले विशेष महाधिवेशनमा पेस गरेको समसामयिक राजनीतिक प्रस्ताव पठनीय छ। गगनले आजको कांग्रेसको सटीक शल्यक्रिया गरेका छन्। त्यहाँ उनी भन्छन्– अहिले कांग्रेसलाई साहस होइन सम्झौता, आदर्श होइन अवसरवाद, निष्ठा होइन भ्रष्टाचारको पर्यायका रूपमा बुझिन्छ।

दल सुधार मार्फत कार्यमूलक लोकतन्त्रको परिकल्पना गरेका उनले कांग्रेस सुधारका लागि छड्के प्रवेश लगायतका नयाँ अवधारणा ल्याएका छन्। आरक्षित निर्वाचन क्षेत्रका लागि ‘सिंगल रोटेशनल रिजर्भ्ड कन्स्टिच्युएन्सी’ अवधारणा अघि सारिएको छ तर यसको व्याख्या छैन। यसलाई समावेशी समानुपातिक प्रणालीको विकल्प र प्रत्यक्ष निर्वाचित प्रणालीकै निरन्तरताका रूपमा व्याख्या गरिएको हो कि जस्तो देखिन्छ जुन संवेदनशील सवाल हो। साथै उनले वर्तमान सङ्कट र विगतका कमजोरीहरूप्रति आत्मालोचना सहित क्षमायाचना गरेका छन् र सच्चिने प्रतिबद्धता व्यक्त गरेका छन्।

तर, सच्चिने केमा? विचारमा कति, नीतिमा कति, कार्यक्रममा कति। अन्य कुराहरूमा उनका कुरा सीधा र बुझिने खालकै छन् तर उनमा वैचारिक अलमल देखिन्छ। के गगन थापा विचारमा सेन्टर टू लेफ्ट यात्रारत कांग्रेसलाई फर्काएर सेन्टर टू राइट यात्रामा लैजान चाहन्छन्? गगनको प्रस्तावकै आधारमा भन्दा त्यस्तो आधार देखिन्छ। त्यसका प्रशस्त सङ्केतहरू कांग्रेसको विशेष महाधिवेशनबाट पारित राजनीतिक प्रस्तावमा पाइन्छ।

के हुन् त ती सङ्केतहरू?

पहिलो कुरा, नेपालको संविधानले जोड दिएर अगाडि सारेको समाजवादबारे गगनको प्रतिवेदनमा एक शब्द पनि छैन। कांग्रेस स्वयंको विचारको आधार प्रजातान्त्रिक समाजवाद हो। बीपी कोइराला समाजवादको मान्यतामा आजीवन रहे, उनको भारतीय लगायतको अन्तर्राष्ट्रिय संस्थागत हिमचिम र संलग्नता समाजवादी कित्तामै रह्यो। नेपालको संविधानमा समाजवाद शब्द त्यत्तिकै परेको होइन भन्ने कुरा गगन थापा र विशेष महाधिवेशनलाई थाहा नहुने कुरा होइन।

पार्टीको वैचारिक परम्परा र मुलुकको संविधानमा समेत लिपिबद्ध रहेको समाजवाद हासिल गर्न गगन थापा पार्टी मार्फत के गर्न चाहन्छन् त? उनको दस्तावेजमा यो कतै चर्चा छैन। अर्का महामन्त्री विश्वप्रकाश शर्माले पेस गरेको संगठनात्मक प्रतिवेदनमा समाजवादको चर्चा नभएको होइन तर शर्मा स्वयम्ले मूल नेताका रूपमा अघि सारेका नेताबाट नआएर राजनीतिक दस्तावेजमा नभई सङ्गठनात्मक कार्यक्रममा त्यसरी आउनु स्वाभाविक देखिँदैन। यसबाट गगन स्वयं र विशेष महाधिवेशनको समाजवादप्रतिको प्रतिबद्धतामा स्वाभाविक प्रश्न उठ्दछ।

दोस्रो, गगन थापाले आफ्नो राजनीतिक प्रस्तावमा संवैधानिक उदारवादलाई नेपाली कांग्रेसको आधारभूत सिद्धान्त बताएका छन्। यहाँ ख्याल गर्नु पर्ने कुरा के छ भने संविधानमा भएको समाजवादबारे चर्चै नगरेर राज्यका मूल दस्तावेजहरूमा नसमेटिएको उदारवादलाई संवैधानिक बनाउन जोड गरिएको छ। यो एक गम्भीर विषय हो।

वास्तवमा उदारवाद समाजवाद विरोधी विचारधारा हो। भन्दै र मान्दै आएको समाजवादबारे एक शब्द नबोलेर उदारवादको चर्चामा जब कुनै दल विशेष अतिरिक्त रूपमा मोहित छ भने त्यसको अर्थ के हो भनेर धेरै घोत्लिरहनु पर्दैन। अर्थ प्रष्टै छ कि उदारवाद र समाजवाद सँगसँगै जान सक्दैनन्। गजबको कुरा त के छ भने उदारवादको वकालत गर्ने चर्चित चिन्तक फ्रान्सिस फुकुयामा समेत आज उदारवादको आलोचकका रूपमा खडा छन्।

भूराजनीतिक कोणबाट हेर्दा आजको दिनमा नेपाली राजनीतिमा उदारवादको वकालत अमेरिकी प्रभावलाई निम्ता हो। जेनजी आन्दोलनपछि नेपालमा बढ्न खोजिरहेको दक्षिणपन्थी रुझान गगन थापाको उदारवादी जस्केलाबाट अति दक्षिणपन्थी भएर निस्किने सम्भावना ज्यादा देखिन्छ। यसमा पश्चिमा शक्ति खासगरी अमेरिकाको सद्भाव र सहयोग राम्रैसँग उपलब्ध हुने आकलन अहिल्यै गर्न सकिन्छ। तर उदारवादी राजनीति र अर्थनीति छिमेकी भारतले अवलम्बन गरेको प्रतिस्पर्धात्मक एवं सहकार्यको संघीय लोकतन्त्रको मान्यता र चीनको समाजवादी मान्यताका बीच टिक्न नसक्ने वैचारिक मान्यता हो।

तेस्रो कुरा, राजनीतिक प्रस्तावमा गगन थापा संघीयतावादी कम, केन्द्रवादी ज्यादा देखिन्छन्। नेपालको संघीयता कार्यान्वयनका समस्याहरूबारे उनले ज्यादै कम र सतही चर्चा गरेका छन्। प्रदेश र स्थानीय तहहरूको सबलीकरणबारे उनी प्रष्ट र मुखर लाग्दैनन्।

संघले बनाउनै पर्ने कानुन बनाएर प्रदेशहरूलाई नदिएको हुनाले आज संघीयताको अभ्यास भीरको चिण्डो जस्तो हुन पुगेको छ। प्रहरी ऐन, निजामती कर्मचारी ऐन, यातायात सम्बन्धी ऐन लगायत दर्जनौँ कानुन, राम्रो नियत र असल अभ्यासको अभावमा प्रदेशहरूलाई काम गर्न गाह्रो भइरहेको छ। वित्तीय संघीयताको हालत पतला छ। यस्तो गम्भीर विषयमा मौनता सामान्य हो भनेर पत्याउन सकिँदैन।

चौथो कुरा, धनी र गरिबका बीचको बढ्दो आर्थिक सामाजिक खाडल र त्यसको समाधानबारे विशेष महाधिवेशन मौन छ। पछिल्ला प्रतिवेदनहरू अनुसार नेपालमा धनी र गरिबका बीचको असमानताको खाडल तीव्र रूपमा बढ्दै गइरहेको छ। दक्षिण एशियाका मात्र देशहरूको अध्ययनले नेपालमा त्यस्तो ग्याप सबभन्दा चर्को रहेको पाइएको छ। जलवायु परिवर्तन, शिक्षा, स्वास्थ्य र आप्रवासनमा असमानता, बेरोजगारी र पेशागत सङ्कटहरूले धनीलाई झन् धनी र गरिबलाई थप गरिब बनाउँदै लगेको अध्ययनहरूले पुष्टि गरेका छन्।

कांग्रेसले विचारमा दक्षिणपन्थ समात्यो भने त्यसले कांग्रेस र मुलुक दुवैलाई हित गर्दैन। त्यस्तो अवस्था आएमा वामपन्थी शक्तिहरूका बीच नयाँ शिराबाट एकताको बाटो भने खुल्न सक्छ।

सन् २०२२ मा विश्व बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालका १० प्रतिशत धनाढ्यहरूको हातमा देशको ५७ प्रतिशत सम्पत्ति थुप्रिएको छ भने गरिब ४० प्रतिशत जनता सँग जम्मा १० प्रतिशत मात्र कूल सम्पत्तिको हिस्सा रहेको छ। यो औसत तथ्याङ्कबाट जात, लिङ्ग वा क्षेत्र विशेषको अध्ययन गर्दा आर्थिक असमानताको अवस्था दर्दनाक देखिन्छ।

यसका अलावा, राजतन्त्रबारे विशेष महाधिवेशन हलमा विषय उठेको कुरा सार्वजनिक भयो। धर्म निरपेक्षताका विरुद्धमा जिम्मेवार नेताहरूबाट विशेष महाधिवेशन भइरहेकै समयमा सार्वजनिक भएका अभिव्यक्तिहरू पनि गम्भीर नै लाग्दछन्। यी र यस्ता विषयहरूले दल र मुख्य नेताहरूको परिवर्तन र प्रगतिशील मान्यताहरू प्रतिको प्रतिबद्धताबारे स्वाभाविक रूपमा प्रश्न उठ्दछन्।

अपेक्षा र सुझाव असी वर्ष हाराहारीको घामपानी खेपेको नेपाली कांग्रेसले जीवनमा यो समेत जम्मा दुई वटा विशेष महाधिवेशन गरेको प्रसङ्गले मात्र पनि यस आयोजनाको संवेदनशीलतालाई बुझाउँछ। यसले त्यस दलमा बदलाव ल्याउने र त्यसको दीर्घकालीन प्रभाव पर्ने कुरा हामी जस्ता बाहिरियाहरूले आकलन गर्न सक्छौँ। नेपाली कांग्रेस कस्तो बनाउने भन्ने कुरा कांग्रेसकै नेता कार्यकर्ताहरूमा अन्तरनिहित सार्वभौम अधिकारको कुरा हो तर, ती विचार र नीतिको उल्टो प्रभाव देश र समाजमा नपरोस् भन्ने हाम्रो चाहना हो।

नेपाली कांग्रेस दक्षिणपन्थी दिशामा गयो भने नेपालका वामपन्थी शक्ति सँगको उसको लय बिग्रन्छ। त्यसले आजको संविधान र व्यवस्था चर्मराउन थाल्छ। त्यहाँबाट देश फेरि ध्रुवीकरणको दिशामा जान सक्छ। त्यसपछि फणा फिजाइरहेको दक्षिणपन्थी शक्ति र भूराजनीतिको चंगुलमा देश पस्न कत्ति पनि बेर लाग्दैन।

आजको व्यवस्थाका प्रगतिशील प्रावधानहरू मध्ये कयौँमा विशेष महाधिवेशनको प्रतिबद्धता स्वागतयोग्य छ। तर माथि चर्चा भइसकेका केही विषयमा विशेष महाधिवेशन पछि हटेको, मौन रहेको वा अन्यथा सङ्केत गरेको छ, त्यसले देशलाई फाइदा गर्दैन।

कांग्रेसले विचारमा दक्षिणपन्थ समात्यो भने त्यसले कांग्रेस र मुलुक दुवैलाई हित गर्दैन। त्यस्तो अवस्था आएमा वामपन्थी शक्तिहरूका बीच नयाँ शिराबाट एकताको बाटो भने खुल्न सक्छ।

(३० पुस २०८२)

लेखक
युवराज चौलागाईं

नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य रहेका लेखक समसामयिक विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?