News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकी दूतावासले माघमा चितवन, नेपालगन्ज र काठमाडौंमा 'क्रिएटर्स मेला २०२६ : भिजन टु भेन्चर' आयोजना गर्ने भएको छ।
- मेलाले डिजिटल सामग्री सर्जकलाई दीर्घकालीन पेसाकर्म विकासका लागि मार्गचित्र प्रदान गर्ने र नेपालको रचनात्मक अर्थतन्त्र सुदृढ पार्ने उद्देश्य राखेको छ।
- काठमाडौँको कार्यक्रममा छनोट भएका क्रिएटर्सले शीर्ष कर्पोरेट नेतृत्वकर्तासमक्ष आफ्ना व्यावसायिक उद्यम पिच गर्ने 'पिच टु सक्सेस' मुख्य आकर्षण हुनेछ।
काठमाडौं । अमेरिकी दूतावासले यसवर्ष पनि ‘क्रिएटर्स मेला २०२६ : भिजन टु भेन्चर’ आयोजना गर्ने भएको छ । कार्यक्रममार्फत नेपालको रचनात्मक अर्थतन्त्रको वृद्धिलाई तीव्रता दिने आशा दूतावासले व्यक्त गरेको छ ।
यस वर्षको संस्करणमा डिजिटल सामग्रीको सृजनामार्फत दिगो पेसागत व्यवसायतर्फ अघि बढ्नेबारे चर्चा हुनेछ । विभिन्न सहरमा गरिने यो कार्यक्रमको आयोजना चितवनमा माघ ३ गते, नेपालगन्जमा माघ १० गते र काठमाडौँमा माघ १६ र १७ गते आयोजना हुनेछ ।
यस वर्षको विषयवस्तु ‘भिजन टु भेन्चर’ डिजिटल कथावाचन र उद्यमशिलताको खाडल पुर्नेतर्फ लक्षित रहेको विज्ञप्तिमा उल्लेख छ । प्रविधि, डिजिटल प्लेटफर्मबाट हुने आयआर्जन र डिजिटल व्यवसाय विकासमा रहेको अमेरिकी विज्ञतालाई समाहित गर्दै यस मेलाले डिजिटल सामग्रीका सर्जक ‘क्रिएटर्स’ लाई आफ्नो प्रभावलाई दीर्घकालीन पेसाकर्मका रूपमा विकास गर्न मार्गचित्र प्रदान गर्ने जनाइएको छ ।
‘क्रिएटर्स मेला २०२६ ले नेपालको रचनात्मक अर्थतन्त्रलाई सुदृढ पार्ने अमेरिकी प्रतिबद्धतालाई दर्शाउँछ’ दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्करले भने, ‘नेपालभर ज्ञान, सीप र सञ्जाललाई बढवा दिँदै हामी उद्यमशीलता र रोजगारी सिर्जनालाई टेवा पुर्याउँदै छौँ ।’
उनले नेपाली क्रिएटर्सलाई स्थानीय प्रभावका लागि मात्र नभई अमेरिकी व्यावसायिक साझेदार तथा विश्वव्यापी बजारमाझको सफलताका लागि तयार पार्न लागिएको बताए । ‘मेलाले गहन आर्थिक सम्बन्ध र साझा समृद्धिलाई प्रोत्साहित गर्नेछ’ हार्करले भने । मेलामा ५० भन्दा बढी क्रिएटर्स, औद्योगिक विशेषज्ञ र कलाकारको उपस्थिती हुने जनाइएको छ ।
सहभागीले गायक सज्जनराज वैद्य, अभिनेत्री प्रियङ्का कार्की, अभिनेता आयुष्मान् जोशी, टु बी गेमर, भ्लगर लेक्स लिम्बू, गायक नितेशजङ्ग कुँवर, डान्सर कविता नेपाली, गायक याबेश थापा, अभिनेता सोनाम तोप्देन, श्रीशेष मानन्धर र नेपाल एट्थ वन्डर लगायत अन्य थुप्रै प्रभावशाली आवाजमार्फत सिक्ने र प्रस्तुतिको अनुभव लिने अवसर पाउनेछन् ।
अन्तरक्रियात्मक कार्यशाला र प्यानल छलफलमार्फत उनीहरूले आफ्नो डिजिटल उपस्थितिले देशब्यापी पारेको प्रभावको अनुभव पनि बाँड्नेछन् ।
काठमाडौँमा हुने कार्यक्रमको मुख्य आकर्षण ‘पिच टु सक्सेस’ हुनेछ जसको केन्द्रमा उद्यमीको आगामी पुस्ता रहनेछ । छनोटमा परेका क्रिएटर्सले आनन्द बगरिया (निम्बस), क्याबिनेट श्रेष्ठ (अग्नि समूह) र विशाखा खड्का कुँवर (एनसेल) लगायतका नेपालका शीर्ष कर्पोरेट नेतृत्वकर्ताको प्यानलसमक्ष आफ्ना व्यावसायिक उद्यमबारे प्रत्यक्ष रूपमा बताउनेछन् ।
डिजिटल मेलाको सुरुवात सन् २०२३ देखि भएको थियो । मेलाको चौथो संस्करण सन् २०२६ को ‘भिजन टु भेन्चर’ पहलले क्रिएटर अर्थतन्त्रको व्यावसायिकीकरण गर्न र नेपालभर आर्थिक वृद्धिलाई टेवा पुर्याउने आशा दूतावासले लिएको विज्ञप्तिमा जनाइएको छ ।
प्रतिक्रिया 4