४ माघ, पोखरा । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले गण्डकी प्रदेशका ११ जिल्लामा १८ वटा क्षेत्रका उम्मेदवार टुंग्याएको छ । एमालेबाट प्रतिनिधि सभाको टिकट पाउनेमा उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङदेखि गुण्डा नाइके चक्रे मिलन (मिलन गुरुङ)सम्म छन् ।
२०४३ सालदेखि चुनाव लड्दै आएका पृथ्वीसुब्बा फेरि एकपटक लमजुङबाट प्रतिस्पर्धा गर्ने भएका छन् भने पर्वतमा पदम गिरी पनि तेस्रो पटक प्रतिस्पर्धामा उत्रिने भएका छन् । कास्की क्षेत्र नम्बर ३ बाट दोस्रो पटक पनि दामोदर बैरागीले टिकट हात पारेका छन् ।
२०७९ मंसिरको चुनावमा टिकट पाएर हार बेहोरेका नवलपुरको क्षेत्र नम्बर २ मा तिलबहादुर महत, बागलुङ क्षेत्र नम्बर क्षेत्र नम्बर २ मा मञ्जु शर्मा चालिसे र म्याग्दीका हरिकृष्ण श्रेष्ठले पनि फेरि टिकट हात पारेका छन् ।
मनाङमा अघिल्लो पटक हार खेपेका पोल्देङ छोपाङ गुरुङलाई एमालेले यसपटक पनि प्रतिस्पर्धामा उतार्ने निर्णय गरिसकेको छ ।
गोरखामा आरसी लामिछाने र गुण्डा नाइके चक्रे मिलन दुबै नयाँ उम्मेदवार हुन् भने केही यसअघि प्रदेश सांसद भएका, प्रदेशमा उम्मेदवार बनेका, पालिका हाँकिरहेकासम्म छन् ।
पृथ्वीसुब्बा आठौं पटक उम्मेदवार
संघीय मन्त्री, गण्डकी प्रदेशको मुख्यमन्त्री हुँदै संघीय सञ्चारमन्त्री बनेर जेनजी आन्दोलनबाट सत्ताच्यूत भएका पृथ्वीसुब्बा गुरुङ फेरि लमजुङबाटै उम्मेदवार बनेर प्रतिस्पर्धा गर्ने भएका छन् ।
एमालेको ११ औं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीसँगै उभिएर सर्वाधिक लोकप्रिय मत ल्याउँदै उपाध्यक्ष जितेका पृथ्वी सुब्बा नयाँको खोजी भइरहँदा फेरि मत माग्न उत्रिँदैछन् ।
२०४३ सालमा लमजुङ क्षेत्र २ बाट जनपक्षीय उम्मेदवार बनेका पृथ्वीसुब्बा ७ पटक चुनाव लडिसकेका छन् र जेजनी आन्दोलन पछिको परिस्थितिमा आठौं पटक अग्निपरीक्षामा उत्रिँदैछन् । यहाँ माओवादी, कांग्रेससँगै यसपटक प्रमुख प्रतिस्पर्धी रास्वपा बन्ने नेताहरुको भनाइ छ ।
कास्कीमा युवा नेता पाखा
कास्कीमा नेकपा एमालेबाट क्षेत्र नम्बर १ मा बैनबहादुर अधिकारी क्षेत्री, क्षेत्र नम्बर २ मा कृष्ण थापा र क्षेत्र नम्बर ३ मा दामोदर बैरागीले टिकट हात पारेका छन् । अघिल्लो चुनावमा ३ वटै क्षेत्रमा विजय हासिल गरेको एमालेबाट जेनजी आन्दोलनपछिको परिस्थितिमा यसपटक को उम्मेदवार होला भन्ने निकै चासोका साथ हेरिएको थियो ।
कास्की क्षेत्र नम्बर २ मा एमालेका सदाबहार उम्मेदवार कृष्ण थापाले टिकट हात पारेका छन् । रविन्द्र अधिकारीले ह्याट्रिक गरेको यो क्षेत्रमा पछिल्लो पटक विद्या भट्टराई उपनिर्वाचनसहित लगातार २ पटक विजयी भएकी थिइन् ।
यसपटक युवा नेता रश्मि आचार्यले टिकट पाउने चर्चा निकै थियो । तर, ती सबै अनुमानहरुलाई गलत साबित गर्दै हरेक चुनावका चलाख उम्मेदवारको परिचय बनाएका पूर्व मेयर तथा सांसद कृष्ण थापाले टिकट पाएका छन् ।
यसअघि गण्डकी प्रदेश सभाको सांसद छँदै राजीनामा दिएर पोखरा महानगरको मेयर लड्न गएका थापा एमाले पृष्ठभूमिबाटै आएका एकीकृत समाजवादीका धनराज आचार्यसँग नमीठो पराजय बेहोरेका थिए । कास्कीमा चतुर नेताको परिचय बनाएका थापासँगै युवा नेता रश्मि, मीनाकुमारी गुरुङलगायत आकांक्षी थिए ।
कास्की क्षेत्र नम्बर ३ मा फेरि पनि दामोदर बैरागीले नै टिकट पाएका छन् । खगराज निकट मानिएका बैरागीलाई पनि कास्कीमा कमजोर उम्मेदवारका रुपमा हेरिएको छ । यसअघि गठबन्धनका तर्फबाट माओवादी नेता रामजीप्रसाद बराललाई उनले पराजित गरेका थिए भने रास्वपा पनि प्रमुख प्रतिस्पर्धी थियो ।
यसपटक कांग्रेस, नेकपा र रास्वपाबीच नै प्रमुख प्रतिस्पर्धा हुने देखिएको छ । एमालेका लोकप्रिय पात्रले टिकट नपाएको गुनासो कार्यकर्ताको छ । एमाले नेता जगत विक, राजीव पहारी, सीता गिरी वली, माधव बास्तोलालगायत यहाँ आकांक्षी थिए ।
ह्याट्रिक गर्ने दाउसहित पर्वतमा पदम
एमालेबाट पर्वतमा ह्याट्रिक मार्ने दाउसहित नेता पदम गिरीले नै टिकट हात पारेका छन् ।
पर्वतमा पुराना नेतालाई विस्थापित गर्दै कांग्रेस नेता अर्जुन जोशीलाई पराजित गरेर संसद छिरेका पदमलाई अध्यक्ष ओलीले मन्त्रीदेखि प्रमुख सचेतकसमेत बनाए । यसपटक पनि उनैलाई रोजेका छन् ।
२०७४ सालमा पहिलो पटक टिकट हात पारेका गिरीले तत्कालीन नेकपाबाट जोशीलाई हराएका थिए भने २०७९ मंसिरमा एक्लैले गठबन्धनका जोशीलाई दोस्रोपटक हराएका थिए ।
यसपटक भने गिरीप्रति राष्ट्रिय सभाका पूर्वअध्यक्ष गाणेश तिमिल्सिना समूह गिरीसँग असन्तुष्ट छ भने अन्य नेताले पनि पाखा परेको महसुस गरेका छन् । एमाले नेता विकास लम्साल, पदमपाणि शर्मा, राजु पौडेललगायत नेताहरु आकांक्षी थिए । जिल्लाकै एमाले नेताहरु धेरै असन्तुष्ट रहेको स्रोत बताउँछ ।
पदमसँग नेकपाका युवा उम्मेदवार मनोहरी तिमिल्सिनाले प्रतिस्पर्धा गर्नेछन् । उनी संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयमा काम गरेका थिए । पर्वतमा प्रमुख प्रतिस्पर्धी कांग्रेस, नेकपा र रास्वपा हुने अनुमान छ ।
तनहुँमा ओलीको रोजाइँ भगवती र केदार
तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय सभा सदस्य तथा पूर्वमन्त्री भगवती न्यौपानेले एमालेको टिकट पाएकी छन् । भानु नगरपालिकाको मेयरमा पराजित भएर पनि न्यौपानेले राष्ट्रिय सभा छिर्ने मौका पाएकी थिइन् ।
उपल्लो सदन राष्ट्रिय सभामा कार्यकाल सकिएलगत्तै तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा छिराउने योजनासहित एमाले अध्यक्ष ओलीले भगवतीलाई नै टिकट दिएका छन् । भगवतीलाई ओलीले सामान्य प्रशासनमन्त्री बनाएका थिए । उनी पनि जेनजी आन्दोलनकै क्रममा ओलीसँगै सत्ताच्यूत हुन पुगेकी थिइन् ।
रास्वपाका स्वर्णिम वाग्लेले जितेको यो क्षेत्रमा एमाले यसै पनि कमजोर थियो । एमालेका किसान श्रेष्ठले बाहेक यो क्षेत्रमा कांग्रेस र २०६४ मा माओवादी विजयी भएको थियो । अहिले पनि रास्वपाबाट स्वर्णीम नै उम्मेदवार हुने निश्चित जस्तै छ भने कांग्रेस र माओवादी पनि प्रमुख प्रतिस्पर्धी हुँदा न्यौपानेका निम्ति सहज नभएको नेताहरुको भनाइ छ ।
क्षेत्र नम्बर २ मा एमाले नेता केदार सिग्देलले टिकट पाएका छन् । २०७४ सालमा तत्कालीन नेकपाबाट चुनाव जिते पनि केदार लोकप्रिय पात्र होइनन् । उनी यसअघि प्रदेश सभामै कांग्रेसका जीतप्रकाश आलेसँग पराजित भएका थिए ।
कांग्रेस, माओवादीसँगै यसपटक रास्वपाले पनि यो क्षेत्रमा चुनावी अभियान थालिसकेको छ । यसअघि संघीय सांसद भएर प्रदेशम सभा निर्वाचनमा हार बेहोरेका केदारलाई मतदाता पक्षमा पार्न कठिन रहेको कतिपय नेताहरुको भनाइ छ ।
गोरखामा चक्रे र आरसी
नेकपा एमालेको कमजोर क्षेत्र मानिने गोरखा यसपटक पनि चर्चामा छ । यसअघि तत्कालीन माओवादी अध्यक्ष प्रचण्डको रोजाइ बनेको गोरखा क्षेत्र नम्बर २ मा यसपटक गुण्डा नाइके चक्रे मिलन (मिलन गुरुङ)ले टिकट पाउँदा देशभर चर्चाको विषय बनेको छ ।
ज्यान मार्ने उद्योगदेखि विभिन्न मुद्दामा पटक पटक पक्राउ परेका, हप्ता असुलीदेखि अभद्र व्यवहारसम्मका अपराधमा संलग्न रहेका गुण्डा नाइकेको चक्रेलाई टिकट दिइएको भन्दै एमालेको आलोचनासमेत भइरहेको छ ।
यो क्षेत्रमा बाबुराम भट्टराईको राम्रो पकड छ भने उनैले प्रचण्डलाई यसअघि गोरखा २ मा साथ दिएका थिए । नेकपाबाट अहिले लेखनाथ न्यौपाने उम्मेदवार छन् भने रास्वपाबाट महामन्त्री कविन्द्र बुर्लाकोटी फेरि पनि उम्मेदवार हुने निश्चित छ । यो क्षेत्र सधैं पेचिलो हुने भए पनि एमाले सधैं कमजोर थियो । यसअघि अब्दुस मियालाई एमालेले टिकट दिए पनि निकै कम मत ल्याएका थिए ।
गोरखा क्षेत्र नम्बर २ मा आरसी लामिछानेले टिकट पाएका छन् । एमाले केन्द्रीय सदस्यसमेत रहेका लामिछानेलाई नयाँ पात्रका रुपमा गोरखामा जनाधारका कारणले पनि सकस पर्ने बिगतका नतिजाहरुले देखाएको छ । विद्यार्थी नेता हुँदै एमालेको राजनीतिमा आएका लामिछानेले कांग्रेस र माओवादीको प्रभाव क्षेत्रमा प्रतिस्पर्धा गर्ने भएका हुन् ।
स्याङ्जामा लोकप्रियपात्र छान्दा मीनबहादुर र पालिका अध्यक्ष खिम
नेकपा एमालेले स्याङ्जामा टिकट दिँदा यसपटक लोकप्रिय पात्र हेरेको नेताहरुको दाबी छ । स्याङ्जा क्षेत्र नम्बर १ मा गण्डकी कमिटी उपाध्यक्ष मीनप्रसाद गुरूङ र क्षेत्र नम्बर २ मा कालीगण्डकी गाउँपालिका अध्यक्ष खिमबहादुर थापालाई टिकट दिएको हो ।
मीनप्रसादले २०७४ सालमा गण्डकी प्रदेश सभातर्फ जितेका थिए । २०७९ मंसिरको चुनावमा संघको टिकट मागेका मीनप्रसादले प्रदेशको टिकट नलिने बताएका थिए । उनको ठाउँमा पछि सीता सुन्दासले टिकट हात पारेर जितेकी थिइन् ।
मुक्तिनाथ विकास बैंकको सञ्चालक समितिको नेतृत्व गरेका, जनजाती समुदायमा बढी भिजेका र स्वभावका हिसाबले पनि सबैसँग सन्तुलित व्यवहारका कारण मीनप्रसादलाई बलियो उम्मेदवारका रुपमा हेरिएको छ ।
यो क्षेत्रबाट कांग्रेसका राजु थापाले चुनाव जित्दै आएका छन् । कांग्रेसभित्र विभाजनको असरसमेत देखिँदा जितिन सक्ने आंकलन एमालेले गरेको छ ।
अहिले यो क्षेत्रमा रास्वपाबाट धनञ्जय रेग्मी उम्मेदवार हुने चर्चा छ । उनले २ महिना अघिदेखि नै चुनावी केन्द्रित गतिविधि गर्दै आएका छन् ।
स्याङ्जा क्षेत्र नम्बर २ मा एमालेले कालीगण्डकी गाउँपालिका अध्यक्ष खिमबहादुर गुरुङलाई लोकप्रिय उम्मेदवारका रुपमा अगाडि सारेको छ । दोस्रो पटक पनि पालिका अध्यक्ष जितेर गाउँँपालिका महासंघको केन्द्रीय महासचिव बनेका खिमबहादुरलाई एमालेले टिकट दिएको हो । उनले पालिकाबाट राजीनामा दिएर चुनावमा होमिने तयारी गरेका छन् ।
२०७४ सालमा गोपालमान श्रेष्ठलाई हराउँदै यो क्षेत्रबाट पद्मा अर्यालको शक्तिशाली उदय भएको थियो । अहिले अर्यालको नाम समानुपातिकको बन्द सूचीमा छ । २०७९ मंसिरको चुनावमा उनी कांग्रेस नेता धनराज गुरुङसँग पराजित भएकी थिइन् । पद्मा घट्दो लोकप्रियता र पालिकाबाटै राजीनामा दिएर चुनावमा उठ्दा प्रतित्युत्पादक पनि हुन सक्ने आशंका छन् ।
नवलपुरका भागीरथ र तिलक
नेकपा एमालेले यसपटक नवलपुर क्षेत्र नम्बर १ मा भागीरथ सापकोटालाई उम्मेदवार बनाएको छ । उद्योगी व्यवसायीको क्षेत्रमा काम गर्दै आएका सापकोटालाई एमालेले यसपटक टिकट दिएको हो ।
गैँडाकोटका पूर्व नगरप्रमुख छत्रराज पौडेलले आफ्नो नाम फिर्ता लिएपछि सापकोटाको नाम पहिलो नम्बरमा र दोस्रो नम्बरमा रविन्द्र अधिकारीको नाम सिफारिस भएको थियो । रविन्द्रको नाम बढी चर्चामा भए पनि सापकोटाले टिकट पाएका हुन् ।
यो क्षेत्रबाट कांग्रेसका सशांक कोइरालाले जित हासिल गरेका थिए भने उनको निकटतम प्रतिस्पर्धी एमालेकै कृष्णप्रसाद पौडेल थिए । रास्वपाका गण्डकी सभापति राजन गौतमले पनि लोकप्रिय मत ल्याएका थिए ।
नवलपुर क्षेत्र नम्बर २ मा भने यसपटक पनि तिलबहादुर महत (तिलक)ले नै टिकट हात पारेका छन् । यसअघि कांग्रेसका विष्णुकमार कार्कीसँग पराजित महत २०७४ सालमा भने सोही क्षेत्रबाट विजयी भएका थिए ।
नेकपा एमालेको केन्द्रीय सदस्य र नवलपुर इन्चार्जसमेत रहेका महतलाई खगराजले मुख्यमन्त्री भएपछि गण्डकीको दुग्ध विकास बोर्डको उपाध्यक्ष बनाएका थिए । तर, नियुक्ती नै विवादित बन्न पुगेको थियो । पछि सरकारले बोर्ड नै खारेज गरिदिएको थियो । यसपटक सो क्षेत्रमा कांग्रेस, नेकपासँगै रास्वपा नै प्रमुख प्रतिस्पर्धी देखिएको छ ।
बागलुङमा हिरा र मञ्जु
बागलुङमा क्षेत्र नम्बर १ मा एमालेका हिराबहादुर केसी र २ मञ्जुदेवी शर्मा चालिसेले टिकट हात पारेका छन् । हिरा ११ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएका थिए भने चालिसे ओली प्यानलबाट केन्द्रीय सदस्य चुनिएकी थिइन् ।
केसी र चालिसे दुबै जना यसअघिको चुनावमा हार बेहोरेका पात्र हुन् । केसी २०७० को दोस्रो संविधानसभा निर्वाचन र २०७९ को प्रदेशसभा अन्तरगत बागलुङ क्षेत्र नं. १ (क) मा टिकट हात पारे पनि पराजित भएका थिए ।
दोस्रो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका उमेदवार हरि बहादुर खड्का र प्रदेशसभा निर्वाचनम नेपाली कांग्रेसकै दिपेन्द्रबहादुर थापासँग उनले हार बेहोरेका थिए । चालिसे २०७९ को संसदीय निर्वाचनमा गठबन्धनका उमेदवार देवेन्द्र पौडेलसँग प्रतिस्पर्धा गरी पराजित भएकी थिइन् । चुनावअघि चालिसे कांग्रेसबाट टिकट नपाएपछि एमाले प्रवेश गरेर उम्मेदवार बनेकी थिइन् ।
म्याग्दीमा फेरि पनि हरिकृष्ण
नेकपा एमालेले म्याग्दीमा फेरि पनि हरिकृष्ण श्रेष्ठलाई टिकट दिएको छ । यसअघि २०७९ को चुनावमा पनि उम्मेदवार रहेका श्रेष्ठ कांग्रेसका खमबहादुर गर्बुजासँग पराजित भएका थिए ।
करिब ४ हजार मतान्तरले चुनाव पराजित श्रेष्ठलाई नै एमालेले आगामी चुनावको उम्मेदवार बनाएको छ । श्रेष्ठ म्याग्दीका व्यवसायी समेत हुन् । नेकपा विभाजनमा एमाले अध्यक्ष सम्हालेका श्रेष्ठ विद्यार्थी आन्दोलनबाट राजनीतिमा लागेका हुन् ।
एमाले गण्डकी प्रदेश कमिटीमा सचिवालय सदस्यसमेत बनेका श्रेष्ठ २०५४ सालमै अथुङ्गे गाविस अध्यक्षमा निर्वाचित भएका थिए । म्याग्दीमा व्यवसाय र राजनीतिमा होमिएका श्रेष्ठका लागि पनि यसपटकको चुनाव जितका निम्ति सजिलो नभएको नेताहरु बताउँछन् ।
एकमात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा विद्यार्थी नेता प्रकाश पौडेलसहितको नाम सिफारिस भएको थियो ।
मुस्ताङमा ईन्द्रधारा, मनाङमा पोल्देन
२०७४ सालमा प्रतिनिधि सभामा जित हासिल गर्दै संघीय संसदमा बेलाबेला चर्चामा आइरहने नेता प्रेम तुलाचन २०६९ मा कांग्रेसका २८ वर्षीय उम्मेदवार योगेश गौचनसँग पराजित भएका थिए । यसपटक सो क्षेत्रमा नेता ईन्द्रधारा विष्टलाई एमालेले उम्मेदवार बनाएको छ ।
२०७४ सालमा मुस्ताङ प्रदेश सभा १ बाट चुनाव जितेर सांसद बनेको ईन्द्रधारा अघिल्लो चुनावमा सोही क्षेत्रमा कांग्रेसका नम्डु गुरुङसँग पराजित भएका थिए ।
सांसद हुनुभन्दा अघि स्वतन्त्र रुपमा लोमान्थाङ गाउँपालिका अध्यक्षमा झिनो मतान्तरले हारेका विष्ट प्रदेश सभामा एक जित, एक हारपछि प्रतिनिधि सभाको उम्मेदवारका रुपमा एमालेले उभ्याएको छ ।
मुस्ताङमा विष्ट लोकप्रिय नेतामै गनिने भएपनि अहिले एमालेको लोकप्रियता घटेको र भूगोल पनि फरक भएकाले प्रतिस्पर्धा को हुन्छ भन्ने कुराले अर्थ राख्ने नेताहरुको भनाइ छ ।
मनाङबाट पोल्देन छोपाङ गुरुङले टिकट पाएको एमाले गण्डकीका सचिव धनञ्जय दवाडीले बताएका छन् । मनाङमा ठूलो स्याउ फार्म चलाएका छोपाङ यसअघि पनि प्रतिस्पर्धामा थिए ।
यसअघि एमालेबाट २०७४ सालमा छोपाङ विजयी भएका थिए भने २०७९ मा कांग्रेसका टेकबहादुर गुरुङसँग उनै छोपाङ पराजित भएका थिए । यसपटक पनि एमालेका निम्ति मनाङ अनुकुल जिल्ला अझै नदेखिएको बताइन्छ ।
प्रतिक्रिया 4