News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा २०२३ देखि औषधिको पत्तीमा रातो लाइन लागू गरिएको छ, जसले डाक्टरको सल्लाहबिना औषधि प्रयोग नगर्न चेतावनी दिन्छ।
- रातो लाइन मुख्य रूपमा एन्टिबायोटिक औषधिमा पाइन्छ र यसले औषधिको दुरुपयोग रोक्न तथा स्वास्थ्य जोखिम कम गर्न मद्दत गर्छ।
हामी प्राय औषधि सेवन गर्छौं, तर कहिलेकाहीँ तिनको खोल तथा बट्टामा रहेको रातो रङको लाइनमा ध्यान दिँदैनौं । ध्यान दिए पनि औषधिको पत्तीमा भएको रातो लाइन प्याकेजिङको एक भाग हो, सुन्दरता बढाउनका लागि जस्तो लाग्न सक्छ हामीलाई । तर त्यो रातो लाइनले सुन्दरता होइन एकदमै विशेष सन्देश दिन्छ । यो संकेत हो- उक्त औषधि डाक्टरको परामर्शबिना प्रयोग गर्न मिल्दैन र बिनासल्लाह प्रयोग गर्दा स्वास्थ्यका लागि खतरनाक हुन सक्छ ।
यो रातो लाइन मुख्य रूपमा भारत र नेपाल जस्ता देशहरूमा लागू गरिएको नियमन हो, जसले औषधिको दुरुपयोग रोक्न मद्दत गर्छ । नेपालमा यो २०२३ देखि लागू भएको हो । विशेष गरी एन्टिबायोटिक औषधिहरूमा रातो धर्का लगाउने निर्णय औषधि व्यवस्था विभागले गरेको थियो ।
रातो रेखाको मुख्य अर्थ
औषधिको पत्ता वा प्याकेटमा बनेको रातो लाइन अर्थ हो – उक्त औषधि डाक्टरको परामर्शबिना बिक्री गर्न वा प्रयोग गर्नुहुँदैन । यदि कुनै फार्मेसिस्टले डाक्टरको पुर्जीबिना यस्तो औषधि बेच्छ भने, उसले कानुन उल्लंघन गरेको ठहर्छ र कानुनी कारबाही हुन सक्छ । आफैं निर्णय गरेर खानु हुँदैन भन्ने कुरा यो रेखाले चेतावनी दिन्छ ।
धेरैले यसलाई डिजाइन ठान्छन्, तर वास्तवमा यो सुरक्षा सुविधा हो । ताकि औषधि सही तरिकाले र सुरक्षित रूपमा प्रयोग होस् । यो लाइन सामान्यतया ठाडो रूपमा हुन्छ ।
यसले फार्मेसीहरूलाई पनि जिम्मेवार बनाउँछ र औषधिको ट्रयाकिङमा सहयोग गर्छ ।
कस्तो औषधिमा हुन्छ यो रातो लाइन ?
यो रातो धर्का मुख्य रूपमा एन्टिबायोटिक्समा पाइन्छ । अर्थात्, ती औषधिहरू जसले ब्याक्टेरियालाई मार्ने वा तिनको वृद्धि रोक्ने काम गर्छन् । उदाहरणका लागि, एमोक्सिसिलिन, सिप्रोफ्लोक्सासिन, एजिथ्रोमाइसिन जस्ता अधिकतर चलाइरहने एन्टिबायोटिकहरूमा समेत यो लाइन देखिन्छ । यी औषधिमा विशेष सावधानी चाहिन्छ किनकि गलत तरिकाले प्रयोग गर्दा फाइदा होइन, हानि हुन्छ ।
यो लाइनको उद्देश्य गम्भीर अवस्थामा मात्र, डाक्टरको सल्लाहमा प्रयोग गरियोस्, ताकि अनावश्यक प्रयोगले साइड इफेक्ट र प्रतिरोध ननिम्तियोस् भन्ने हो । यसबाहेक चिकित्सकसको सिफारिस चाहिने अन्य औषधिहरू जस्तै स्टेरोइड्स, एन्टी–डिप्रेसेन्ट्स, पेन किलर, मानसिक रोगको औषधि वा हृदय रोगका औषधिहरूमा पनि यो चिन्ह हुन सक्छ । तर नेपालमा मुख्य फोकस एन्टिबायोटिकहरूमा छ ।
एन्टिबायोटिक प्रतिरोध र जोखिम
जब एन्टिबायोटिकलाई सही निदान वा निर्देशन बिना प्रयोग गरिन्छ, तब शरीरमा केही ब्याक्टेरिया बाँकी रहन्छन् । यी बाँकी ब्याक्टेरिया पछि बलियो बन्न सक्छन् । यसअघि प्रयोग भएको औषधिलाई प्रतिरोध गर्ने क्षमता यिनीहरूले बनाइसकेका हुन्छन् । त्यही औषधिबाट तिनलाई मार्न सकिँदैन, र झन् शक्तिशाली औषधि चाहिन्छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार, २०२५–२०५० सम्ममा विश्वव्यापी रूपमा ३ करोड ९० लाख मृत्युहरू एन्टिमाइक्रोबियल रेसिस्टेन्सबाट हुन सक्छन्, र नेपाल जस्ता विकासशील देशहरूमा यो जोखिम उच्च छ । त्यसैले यो रातो रेखाले दिएको संकेत बुझेर त्यही अनुसार औषधिको प्रयोगमा सचेत हुनु जरुरी छ । नेपालमा पोल्ट्री फार्मिङ जस्ता क्षेत्रहरूमा पनि अनावश्यक एन्टिबायोटिक प्रयोगले एन्टिमाइक्रोबियल रेसिस्टेन्स बढाइरहेको छ ।
यसलाई बेवास्ता गर्दा के हुन्छ ?
यदि कसैले डाक्टरको सल्लाह बिना रातो लाइन भएको औषधि खायो भने, औषधिले काम नगर्न सक्छ, स्वास्थ्य बिग्रन सक्छ वा साइड इफेक्ट देखिन सक्छ । कहिलेकाहीँ संक्रमण झन् बढ्छ, वा अन्य औषधिसँग प्रतिक्रिया हुन्छ । यसबाहेक, गलत प्रयोगले इन्फेक्सनको उपचार झन् कठिन हुन्छ । नेपालमा धेरै बिरामीहरूले अस्पताल पुग्नुअघि नै एन्टिबायोटिक प्रयोग गरेका हुन्छन्, जसले एन्टिमाइक्रोबियल रेसिस्टेन्स बढाउँछ र उपचारलाई महँगो तथा जटिल बनाउँछ । यसबाहेक, सुपरबग्स जस्ता प्रतिरोधी संक्रमणहरूले अस्पतालमा लामो समय बस्नुपर्ने वा मृत्युको जोखिम बढाउँछ । त्यसैले औषधिको खोत तथा बट्टामा भएको यो रातो लाइनको सुरक्षा चेतावनीलाई बेवास्ता गर्नु भविष्यमा खतरनाक सावित हुन सक्छ ।
सही तरिका कसरी सतर्क रहने ?
औषधि लिँदा सधैं पत्तीमा रातो लाइन हेर्नुपर्छ र बुझ्नुपर्छ यसको हुनु नै एउटा संकेत हो । यदि औषधिमा रातो लाइन छ भने, त्यो सल्लाहबिना आफू पनि खानु हुँदैन र अरूलाई पनि दिनुहुँदैन । खानु अघि अनिवार्य रुपमा डाक्टरको सल्लाह लिनुपर्छ ।
डाक्टरले दिइएको कोर्स पूरा गर्नुपर्छ, बीचमा औषधि बन्द गर्नुहुँदैन ।
कुनै पनि नयाँ औषधि प्रयोग गर्नु हुँदैन । साथै सधैं प्रमाणित फार्मेसीबाट मात्र लिनुपर्छ ।
प्रतिक्रिया 4